Friday, May 10, 2024

-->

वर्षात‍्को आगमनसँगै महानगरका सडक धराप बन्दै (भिडिओ)

सडक विभागले राष्ट्रिय राजमार्ग र रणनीतिक सडकमात्रै आफू मातहत रहेको बताउने गरेको छ। त्यसैले धेरैजसो सडक स्थानीय तहअन्तर्गत छन्। तर, काठमाडौँका स्थानीय तहलाई आफूमातहतको सडकको अवस्थाबारे थाहा नै छैन।

वर्षात‍्को आगमनसँगै महानगरका सडक धराप बन्दै भिडिओ
काठमाडौँको सडकमा यस्ता दृश्य बाक्लै देखिन थालेका छन्। तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ– मेलम्ची खानेपानी आयोजना, विद्युत् प्राधिकरण र ठेकेदारबीच सडक बिगार्न र भत्काउन प्रतिस्पर्धा नै चल्छ। उनीहरूले बिगारेको र भत्काएको सडक मर्मतमा सम्बन्धित निकायले लामो समयसम्म चासो नै दिँदैनन्। सरोकारवाला निकायबीच समन्वयन नहुँदा सडकमा खाल्डाखुल्डी बढेको छ। अझ वर्षाको पानीले टम्म भरिएका खाल्डाखुल्डीमा सवारी साधनको पांग्रा पर्दा दुर्घटना बढेका छन्।

“यो बाटो प्रायः सधैँजसो नै हिँडिन्छ। तर, खाल्डोमा खुट्टा नपुगेर लड्न पुगेँ। यो बाटोचाहिँ बनाइदिएको भए हुन्थ्यो,” पानीपोखरी मार्गबाट सामाखुसीतर्फ जाँदै गरेका तुलसीराम खत्रीले उकालोसँग भने।

सरकार परिवर्तनसँगै सरोकारवाला मन्त्रीले खाल्डाखुल्डी पुर्न निर्देशन दिन्छन्। गत पुस २५ गते तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँमा खाल्डाखुल्डी परेका तथा ठेकेदारले बीचमै अलपत्र पारेका सडकको अनुगमन गरेका थिए। बिहानै मन्त्रालय र विभागका अधिकारी साथै आयोजना प्रमुखहरू लिएर सडक हेर्न पुगेका उनले खाल्डाखुल्डी पुर्न र ठेकेदारलाई ताकेता गरी निर्माण पूरा गराउन निर्देशन दिएका थिए। अनुगमनको क्रममा मन्त्री श्रेष्ठले कसैलाई कुनै प्रभावमा परेर छुट नदिने भन्दै सचेत गराएका थिए।

अहिले उनी मन्त्रालय परिवर्तन गरेर गृहमा पुगिसकेका छन्। तर, उनले दिएको निर्देशन भने ६ महिना पूरा हुन लागिसक्दा पनि अझै कार्यान्वयन भएको छैन। जसले गर्दा सडकमा सवारी साधन हाँक्नै गाह्रो भइरहेको खत्री बताउँछन्। विषेशगरी काठमाडौँमा सवारी चाप बढी हुने नयाँ बानेश्वर, गौशाला, चाबहिल, बालाजु, वनस्थली, पानीपोखरी, नक्साल, सीतापाइला लगायतका क्षेत्रमा बढी नै खाल्डाखुल्डी छन्। यस्ता सडकमा गाडी गुडाउँदा खाल्डामा परेर आर्थिक क्षति बेहोर्नुपरेको वनस्थली चोकमा भेटिएका ट्याक्सी चालक हिमाल श्रेष्ठ सुनाउँछन्।

“वर्षाको बेला गाडी फर्काउन खोज्दा सीतापाइलाको खाल्डोमा चक्का छिर्‍यो। जस्तोतसो वरपरका मान्छेको सहयोगमा गाडी निकालेँ। केही हजार खर्च गर्नुपर्‍यो,” उनी भन्छन्, “उपत्यकामा धुवाँधुलोको समस्या सधैँ रहिरहन्छ। तर, वर्षात्को समयमा पनि खाल्डाखुल्डी नपुरिदिँदा सडक झनै जोखिमपूर्ण हुँदै गइरहेको छ।”

हातमा लसुनको पोको बोक्दै सामाखुसी रानीबारीस्थित खोला छेउको हिलाम्मे सडक हिँडिरहेकी शारदा पण्डितको भोगाइ पनि उस्तै छ। सडक लामो समयसम्म नबन्दा दुःख त उस्तै छ, झन् ढलले गर्दा बसिसक्नु नभएको उनले बताइन्। “ढलको व्यवस्थापन नहुँदा वर्षौँदेखि घरमा खोला पस्ने गरेको छ। बाटो हिलाम्मे हुँदा हिँडडुल गर्न सधैँ मुस्किल हुन्छ,” उनले भनिन्।

सडक विभागले राष्ट्रिय राजमार्ग र रणनीतिक सडक मात्रै आफू मातहत रहेको बताउने गरेको छ। त्यसैले सडक पूर्वाधार सबैभन्दा बढी स्थानीय तहअन्तर्गत रहने गरेका छन्। तर, काठमाडौँका स्थानीय तहलाई आफूमातहतको सडकको अवस्थाबारे थाहा नै छैन। यसअघि सडकका खाल्डाखुल्डी, ठाउँ ठाउँमा फुटेका ढललगायत पूर्वाधार आकस्मिक मर्मतसम्भार गर्न महानगरले ‘टास्क फोर्स’ नै बनाएको थियो। महानगरको सार्वजनिक निर्माण विभागले अघिल्लो वर्षको जेठ ३० गतेबाट ‘पूर्वाधार एम्बुलेन्स सेवा’ शुरू गरेको थियो।

उक्त ‘पूर्वाधार एम्बुलेन्स’ केही समय काठमाडौँ महानगरका गल्ली गल्लीमा गुडेको देखिन्थ्यो। अहिले ती एम्बुलेन्स खाल्डाखुल्डी परेका ठाउँमा पुगेको देख्न पाइँदैन। यद्यपि, आफूहरूले सडक सुधारका काम गरिरहेको बताउँछन् महानगरका सूचना अधिकारी नवीन मानन्धर। अहिले बर्खाको बेला भएको कारण सडकमा खाल्डाखुल्डी र ढलको समस्या बढी देखिएको बताउने मानन्धर महानगरले अधिकांश ठाउँमा यो समस्या समाधान गरेको दाबी गर्छन्।

“बर्खाको बेला अतिवृष्टि हुनु स्वाभाविक हो। त्यस्तो अवस्थामा सडकमा ढल लगायतका कारणले ट्राफिकमा अवरोध सिर्जना भइरहेको छ। अधिकांश ठाउँमा यो समस्यालाई समाधान गरिसकेका छौँ,” उनी भन्छन्, “महानगरले यी समस्याहरूलाई उच्च प्राथमिकतामा राखेर जोखिम न्यूनीकरण तथा दुर्घटनापछि उद्धार गर्ने गतिविधि अगाडि बढाइरहेको छ।”

भिडियो


 


सम्बन्धित सामग्री