Sunday, May 05, 2024

-->

५ वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्ने एमके अग्रवालः को हुन्, कसरी उम्किन्छन्?

साढे ३३ किलो सुन–काण्ड अनुसन्धान गर्न सरकारले बनाएको समितिले ‘एमके’ भनिने मोहनकुमार अग्रवालको समूहले पाँच वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो। तर उनी कारबाहीको दायरामै आएनन्।

५ वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्ने एमके अग्रवालः को हुन् कसरी उम्किन्छन्

काठमाडौँ– करिब ६ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करहरूले काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा पुर्‍याएपछि एकाएक गायब भयो। विमानस्थलमा भित्रिएको सुन त्यहाँबाट गाडीमै बाहिरिँदासम्म सरकारी निकाय यसबारे चुपचाप थिए। तर नयाँ बानेश्वर क्षेत्रबाट त्यो सुन गायब भएपछि भने त्यो सुन तस्करी गर्ने समूहका नाइकेमध्येका एक, चुडामणि उप्रेती ‘गोरे’ले सुन गायब बनाएको भन्दै भरिया सनम शाक्यलाई काठमाडौँबाट अपहरण गरे। 

उनलाई अपहरण गरी धरान पुर्‍याइयो। गोरेको समूहले शाक्यलाई यातना दिएर हत्या गर्‍यो।

त्यो सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका कर्मचारी सानु बन र पुण्यप्रसाद लामाले पाएका थिए। उनीहरूबाट शाक्यले त्यो सुन बुझेका थिए। त्यहीक्रममा नयाँ बानेश्वरको रत्नराज्य माध्यामिक विद्यालय नजिकैबाट सुन गायब भएको थियो। अपहरण गरी धरान पुर्‍याइएका शाक्यको यातना दिएर हत्या हुँदासम्म यता थाइ एयरका कर्मचारी बनको पनि विमानस्थल परिसरभित्रै ट्यांकरको ठक्करबाट मृत्यु भइसकेको थियो। यो घटनामा पक्राउ परेका प्रेमलाल चौधरी तत्कालीन महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। यी दुवै थप शंकास्पद घटना थिए।

एक जनाको हत्या र दुई जनाको शंकास्पद मृत्यु भएपछि यो प्रकरण थप गम्भीर बन्यो। यो घटनाको अनुसन्धानमा प्रहरीले तत्कालीन अतिरिक्त महानिरीक्षक (एआईजी) बमबहादुर भण्डारीको नेतृत्वमा अनुसन्धान गरिरहेको थियो। एसएसपीले नेतृत्व गर्ने तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले पनि यो घटना अनुसन्धान गरिरहेको थियो। तर सरकारले यतिमा चित्त बुझाएन। 

सरकारले यो प्रकरण अनुसन्धान गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गर्यो। त्यसपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भयो। 

पौडेल नेतृत्वको यही समितिले साढे ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख नाइके ‘एमके अग्रवाल’ भनिने मोहनकुमार अग्रवाल भएको निष्कर्ष निकालेको थियो। त्यसअघि यो प्रकरणका प्रमुख व्यक्तिको रुपमा चुडामणि उप्रेती ‘गोरे’को नाम चर्चामा आए पनि सुन तस्करीमा लगानी गर्ने व्यक्ति अग्रवाल थिए। गोरे उनकै समूहका सदस्य थिए जसको जिम्मेवारी तस्करीको सुन ओसारपसार गर्नु थियो। यही समूहले विदेशबाट तस्करी गरेर ल्याएको सुन भारतसम्म पुर्‍याउँथ्यो। 

“२०७४ माघ ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुनका लगानीकर्ता मोहनकुमार अग्रवाल नै भएको पक्राउ परेकाहरूले दिएको बयान र अनुसन्धानका क्रममा संकलन भएका तथ्य–प्रमाणबाट पुष्टि भएको हो,” तत्कालीन समितिका एक सदस्यले भने, “पक्राउ परेका तत्कालीन राप्रपा नेता भुजुङ गुरूङ, गोरे, व्यापारी विमल पोदारलगायतको बयान र यो समूहले गायब भएको सुन खोज्ने क्रममा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएर खिचेका भिडियो अग्रवाललाई नै पठाएका थिए।”

गायब भएको सुन खोज्ने क्रममा गोरेको समूहले यातना दिएर सुन बोक्ने भरियाका रुपमा चिनिने सनम शाक्यलाई २०७४ फागुन १८ गते हत्या भएको थियो। १९ गते उनको शव गाडीमा भेटिएको थियो। छानबिन समितिले शाक्यलाई यातना दिएको भिडियो गोरेले अग्रवाललाई पठाएको प्रमाण नै फेला पारेको थियो।

यो पनि: ‘इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी: के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण?

समितिले छानबिन अघि बढाउनसाथै अग्रवाल परिवारसहित भारत पुगेका थिए। छानबिन अघि बढ्दै जाँदा अग्रवालको सुनसरीको धरान र काठमाडौँको अनामनगरमा घर रहेको खुल्यो। उनीसँग भारतीय नागरिकतासमेत रहेको प्रमाण समितिले फेला पारेको थियो। त्यसपछि नेपाली र भारतीय दुवै नागरिकता रहेका अग्रवाल नै साढे ३३ किलो सुन प्रकरणका नाइके भएको निष्कर्ष निकाल्दै समितिले उनलाई पक्राउ गर्न टोली खटायो। उनलाई पक्रन प्रहरीको टोली दिल्ली र गोवासम्म पुग्यो। तर अग्रवाललाई पक्राउ गर्न सकेन। 

“मोहनकुमार अग्रवाल नै सुन तस्करीका मुख्य लगानीकर्ता भएको टुंगोमा पुगेपछि उनलाई पक्रन हामीले टोली खटायौँ। तर भारतीय प्रहरीले सहयोग गरेन। आफ्नै नागरिक भएकाले पनि होला, उनीहरूले यसमा चासो नै दिएनन्,” तत्कालीन समितिका अर्का सदस्यले भने, “उनलाई पक्राउ गरेर नेपाल ल्याउन नसकेपछि यो प्रकरणको अनुसन्धान जरोसम्म पुग्न सकेन।” 

अग्रवाललाई भारतबाट पक्राउ गरेर ल्याउन नसकेपछि नेपाल प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत् ‘रेड नोटिस’ पनि जारी गरेको थियो। तर त्यसपछि पनि अग्रवाल पक्राउ परेनन्। 

समितिका ती सदस्यका अनुसार सुन गायब भएपछि अग्रवालले गोरेलाई नै नियन्त्रणमा लिएर हराएको सुन छिटो खोज्न दबाव दिएका थिए। गोरेले जुनसुकै हालतमा हराएको सुन लिएर आउने वाचा गरेपछि अग्रवालले उनलाई छोडेका थिए। पछि सुन खोज्ने क्रममा गोरेले आफ्नै समूहका सदस्यहरूलाई पनि यातना दिएको अनुसन्धान अधिकृतहरू बताउँछन्। “हराएको सुनको खोजी तीव्र पारेको देखाउन गोरेले हरेक गतिविधिका भिडियो बनाएर अग्रवाललाई पठाउने गर्थे, ती प्रमाण हामीले अदालतमै बुझाएका थियौँ,” ती सदस्यले भने।

अदालतले सफाइ दिएपछि सुटुक्क उपस्थित भएका थिए अग्रवाल 
सनम शाक्य हत्या प्रकरणसमेत जोडिएको यो प्रकरणको मुद्दा मोरङ जिल्ला अदालतमा दायर भएको थियो। जिल्ला अदालतले थुनछेक बहसका क्रममा प्रारम्भिक सुनुवाइ गर्दासम्म अग्रवाल भने फरार सूचीमा थिए। उनलाई प्रहरीले ‘रेड नोटिस’ जारी गरेको थियो। उनी त्यतिञ्जेल लुकेर बसेका थिए।

प्रारम्भिक सुनुवाइ हुँदा यो प्रकरणमा जोडिएका केही व्यक्ति पक्राउ परेका थिए भने केही फरार थिए। पक्राउ परेकाहरूलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गर्‍यो। त्यसमध्ये केहीलाई उच्च अदालतले पछि साधारण तारेखमा रिहा गरेको थियो। पछि जिल्ला अदालतले यो मुद्दामा फैसला सुनाउँदै सनम शाक्यको हत्या प्रकरणमा जोडिएका आठ जनालाई सजाय तोकेर सुन प्रकरणमा जोडिएका अरु सबैलाई सफाइ दिएको थियो। 

अदालतले सफाइ दिने फैसला सुनाएपछि अग्रवाल भारतबाट सुटुक्क नेपाल आएका थिए। 

यो पनि: 'सुवर्णभूमि' अन्तर्राष्ट्रिय ट्रान्जिट विमानस्थल

२०७८ मंसिर २७ गते उनी मोरङ जिल्ला अदालतमा उपस्थित भएका थिए। कानून व्यवसायीसहित अदालतमा उपस्थित भएकै दिन थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटी बुझाएर उनी तत्कालै रिहा भए। जबकि, असोज १९ मै जिल्ला अदालतले यो मुद्दामा अन्तिम सुनुवाइ गर्दै सनम शाक्य हत्यामा जोडिएका बाहेक सबैलाई सफाइ दिएको थियो। सफाइ पाउनेमा अग्रवाल पनि थिए। 

“अनुसन्धान शुरू हुँदा नै उनले अनेक चलखेल गरेका थिए, मुद्दा दर्ता भएपछि पनि फैसला आफ्नो पक्षमा पार्न चलखेल गरिरहे। हत्या कसुरमा आठ जनालाई सजाय तोकिएर सुन प्रकरणमा सबैले सफाइ पाएपछि उनलाई सहज भयो,” समितिका सदस्य रहेका एक प्रहरी अधिकृत भन्छन्, “त्यसपछि उनी सुटुक्क अदालतमा उपस्थित भए। इजलासले धरौटीमा छाड्न आदेश दिएपछि धरौटी बुझाएर रिहा भए।” 

समितिले अनुसन्धानका क्रममा २०७५ जेठ २५ गते अग्रवालको अनामनगरस्थित घरमा छापा मारेको र कामदारलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसक्रममा केही नगद, सुन र चाँदी बरामद भएको थियो। छापा मार्दा तस्करी गरेर ल्याएको सुन संकलन गर्ने लगायतका काम त्यही घरमा हुने गरेको प्रमाण भेटिएको समितिका सदस्यहरूले बताएका थिए। उनीहरूका अनुसार अग्रवालले तस्करीको सुन र चाँदीको रेकर्डसहित विभिन्न व्यक्तिका नामसमेत टिपेका कागजात त्यहाँ फेला परेका थिए। 

पाँच वर्षमा ३८ क्विन्टल सुन तस्करी
काठमाडौँ र धरानमा घर भएका, नेपाल र भारत दुवै देशको नागरिकता बोकेका एमके अग्रवाल काम चाहिँ के गर्छन्? व्यापारिक वृत्तमा उनी आफूलाई ज्वेलर्स सञ्चालकका रूपमा चिनाउँथे।

उनको परिवार नै काठमाडौँमा सुनको व्यापार गर्थ्यो। २०७२ सालमा भूकम्प जानु अघिसम्म काठमाडौँको न्यूरोडमा उनको सुन पसल रहेको, पछि उनले पसल बेचेर सुन तस्करीको धन्दा शुरू गरेको उनको ‘कारोबार’बारे जानकार एक प्रहरी अधिकृतले बताए। 

“दाजुभाइ नै सुन व्यापारी थिए, पछि एमकेले सुन व्यवसाय छाडेर सुनको तस्करी मात्र गर्न थाले। विदेशबाट सुन तस्करी गरेर ल्याउने, केही नेपालमै व्यापारीलाई बेच्ने र धेरैजसो भारततर्फ पुर्‍याउने काम गरे,” ती प्रहरी अधिकृतले भने, “उनका दाइ भने अहिले पनि न्युरोडमा ज्वेलर्स चलाउँछन्।” 

यो पनि: सुन तस्कर छुटाउन मन्त्रिपरिषद् नै थियो सक्रिय, छानबिन समितिमाथि अर्थमन्त्रीको दबाब

साढे ३३ किलो सुन प्रकरणमा एमके फरार रहेका बेला प्रहरीले उनका दाजु पवनकुमार अग्रवाललाई पक्राउ गरेको थियो। पछि बोलाउँदा हाजिर हुने सर्तमा उनलाई छाडेको थियो। 

साढे ३३ किलो सुन तस्करीको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले अग्रवालको समूहले पाँच वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै करिब ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो। त्यसबेला पक्राउ परेकाहरूले दिएको बयान, बैंक विवरण तथा समितिले संकलन गरेका कागजातबाट उनको समूहले यो परिमाणमा सुन तस्करी गरेको निष्कर्ष निकालिएको थियो।

समितिले यही निष्कर्ष तत्कालीन प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा पनि समेटेको थियो। राज्य–संयन्त्रकै जानकारीअनुसार पनि साढे ३३ किलो सुन तस्करी अग्रवाल मुछिएको पहिलो प्रकरण थिएन।

२०७० असार २६ गते नेपाल प्रहरीको केद्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँको कोटेश्वरबाट बरामद गरेको ३५ किलो सुन बरामद गरेको थियो। अनुसन्धानका क्रममा त्यो सुनका मालिक पनि अग्रवाल नै भएको खुलेको थियो। त्यसबेला सीआईबीले उनसहित तीन जनालाई पक्राउ गरेको थियो। ३५ किलो सुन अग्रवालले नै तस्करी गरेको सीआईबीको निष्कर्ष थियो।

सीआईबीले अनुसन्धान सकेपछि उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भयो। काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले भने अग्रवाललाई सफाइ दियो। 

“राजस्व अनुसन्धान विभागमा बयान दिँदा अग्रवालले सुन आफ्नो होइन भनि कसूरमा इन्कार बयान गरेको। अग्रवालको हकमा पोल गर्ने निमा छिरिङ तामाङको बयान हेर्दा कतै सो सुन मोहनकुमार अग्रवालको होइन, घ्याम्जो लामाको हो भन्ने उल्लेख गरेको पाइन्छ भने कतै घ्याम्जोको होइन मोहनको भनेको पाइन्छ। त्यसैगरी सो सुनका सम्बन्धमा मोहन अग्रवालसँग के कुन व्यहोराबाट सम्पर्क भएको भन्ने व्यहोरा खुल्न आउँदैन,” अग्रवाललाई सफाइ दिने न्यायाधीश वाग्लेको फैसलामा उल्लेख छ, “नागा भोटेले सुन दिएको भन्ने निमाको बयान भएको अवस्थामा नागा भोटे र मोहनकुमार अग्रवालले कसरी सुनको रकम भुक्तानी गरेको भन्ने व्यहोरा मिसिलबाट खुल्दैन।” 

न्यायाधीश वाग्लेले गरेको फैसलामा ‘प्रतिवादी निमा छिरिङबाट बरामद भएको सुन वस्तुनिष्ठ रूपमा मोहनकुमार अग्रवालको हो भन्ने तथ्य मिसिलबाट पुष्टि भएको नदेखिँदा प्रतिवादी मोहनकुमार अग्रवालले आरोपित कसुरबाट सफाई पाउने ठहर्ने’ उल्लेख छ। 

सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन र अदालतमा दायर अभियोग–पत्रमा ट्रकचालक निमा छिरिङ तामाङले ३५ किलो सुन लिन खासा गएको, सो सुन सन्डुक भन्ने तिब्बती नागरिकले दिएको र आफूले नै गाडीको बम्परमुनि लुकाएर ल्याएको सो सुन काठमाडौँमा घ्याम्जो लामा, गाडीधनी ओमबहादुर बज्राचार्य र मोहनकुमार अग्रवाललाई दिन भनि ल्याएको बयान दिएको उल्लेख छ। अग्रवालले नै फोन गरेपछि आफू सुन लिन गएकोसमेत उनले बयानमा उल्लेख गरेका छन्। त्यस्तै गाडी धनी ओमबहादुर बज्राचार्यले चालकले सुन ल्याएर आफूलाई दिने र त्यसपछि उक्त सुन अग्रवाल र घ्याम्जो लामालाई दिने गरेको बयान दिएका थिए। 

अदालतले भने यो मुद्दामा अग्रवालसहित अन्य दुईजनालाई सफाई दियो, चालक निमा छिरिङ तामाङलाई भने ३ वर्ष ६ महिना कैद हुने ठहर गर्‍यो। तर निमा २०७० असार २६ देखि २०७३ चैत २६ गतेसम्म कैदमै रहेको, थुनामा बसेको अवधिबाट कैद सजाय कट्टा भइसकेकाले उनलाई पनि थुनामुक्त गर्न अदालतले आदेश भएको थियो। 

साढे ३३ किलो सुन प्रकरणमा पनि त्यस्तै भयो। अनुसन्धानका क्रममा तथ्यले पुष्टि गरे पनि उनी नै सुन तस्करीका नाइके हुन् भन्ने अदालतबाट ठहर भएन। कारण त्यो सुन नै भेटिएन। अहिले सुन तस्करीको चर्चा चुलिएका बेला प्रहरी अधिकृतहरूमाझ फेरि एमके अग्रवालकै चर्चा छ। एक प्रहरी अधिकृतले भने, “तथ्य, प्रमाण जुट्दा पनि उम्किन सक्ने उनको क्षमता हेर्दा उनी सजिलै कारबाहीको दायरामा आउँछन् जस्तो लाग्दैन।”


सम्बन्धित सामग्री