Saturday, April 27, 2024

-->

प्रहरीको मनोबल उकास्दै प्रविधि, ‘पुलिसिङ’ क्षमता पनि बढाउँदै

​​​​​​​‘हाइप्रोफाइल’हरू जोडिएका एकपछि अर्को अपराधका फाइल खोलेर प्रशंसा बटुलेको प्रहरीले पछिल्लो समय अपराध अनुसन्धानदेखि शान्ति सुरक्षा बहालीमा गर्न थालेको प्रविधि केन्द्रित निगरानीसमेत फलदायी बन्दैछ।

प्रहरीको मनोबल उकास्दै प्रविधि ‘पुलिसिङ’ क्षमता पनि बढाउँदै

काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले गत मंसिर ७ गते काठमाडौँ केन्द्रित आन्दोलन शुरू गर्दा सुरक्षा संयन्त्र, त्यसमा पनि नेपाल प्रहरीका निम्ति ठूलो टाउको दुखाइ बनेको थियो। जनजीवन अस्तव्यस्त तुल्याएर ‘व्यवस्था परिवर्तनको माहौल तयार पार्ने’ भन्दै प्रसाईंं समूहले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत व्यापक प्रचार गरेको थियो।

प्रसाईंंको आन्दोलन घोषणा भएपछि त्यसको प्रतिकारमा नेकपा एमालेको भातृ संगठन, युवा संघले पनि शक्ति प्रदर्शन गर्ने घोषणा गर्‍यो। पहिले प्रसाईंं समूहले माइतीघर मण्डलकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेको थियो। त्यसलाई बिथोल्ने भन्दै युवा संघले त्यहीँ कार्यक्रम गर्ने घोषणा गर्‍यो। तर सम्भावित मुठभेड आकलन गरेर काठमाडौँ प्रशासनले उनीहरू दुवैलाई माइतीघर मण्डलमा कार्यक्रम गर्ने अनुमति दिएन। प्रसाईं समूहलाई बल्खु र युवा संघलाई तीनकुने क्षेत्र तोकिदियो। 

फरक–फरक क्षेत्र तोक्दैमा मात्र सम्भावित संकट टरेको थिएन। प्रसाईं समूहको उद्देश्य नै अराजकता बढाउने भएकाले आन्दोलन अराजक हुन सक्ने आकलन गरेर सुरक्षा संयन्त्र चनाखो बनेको थियो। किनभने प्रसाईंं समूहले सरकार र राज्यसंयन्त्रसँग असन्तुष्ट र आक्रोशित भएका व्यक्ति र समूहसँगै गुजाराको संकट झेलिरहेका लघुवित्त पीडित तथा गाउँ–गाउँमा मौलाएको मिटरब्याज र सुदखोरहरूबाट पीडित मानिसहरूलाई समेत काठमाडौँ ल्याएका थिए। प्रसाईंं भनिरहेका थिए, “हामी यो विद्रोहबाट व्यवस्था परिवर्तन गरेरै छाड्छौँ।”

तर प्रसाईंको आन्दोलन पहिलो दिनमै निस्तेज बन्यो। त्यसमा प्रमुख भूमिका खेलेको थियो, उपत्यका प्रहरी कार्यालयको कमान्डमा जिल्ला प्रहरी परिसर काठमाडौँसहित मातहतका प्रहरी कार्यालयले प्रविधिको अधिकतम् प्रयोगसहित गरेको निगरानी र त्यसकै आधारमा मिलाएको सुरक्षा व्यवस्थाले। 

“दुर्गा प्रसाईं समूहको आन्दोलनलाई नियन्त्रण गर्न हामीले प्रविधिको सहयोगमा अवस्था विश्लेषण गर्दै त्यहीअनुसारको सुरक्षा तयारी गरेका थियौँ,” जिल्ला परिसर काठमाडौँका प्रमुख, एसएसपी भूपेन्द्रबहादुर खत्री भन्छन्, “सुरक्षा कमजोरी हुन नदिन र आन्दोलन तथा आन्दोलनकारीका हरेक मुभमेन्टलाई प्रविधिबाट निगरानी गरेका थियौँ।” 

काठमाडौँ प्रहरीले त्यस बेला पहिलो पटक ड्रोन क्यामरामार्फत निगरानी गरेर आन्दोलनमा प्रहरी परिचालन गरेको थियो। ड्रोन क्यामरामार्फत भइरहेको निगरानीलाई प्रहरी ‘कन्ट्रोल रुम’बाट हेरेर विश्लेषण गरिन्थ्यो र त्यसका आधारमा तत्कालै फिल्डमा प्रहरी परिचालन गरिन्थ्यो। यही कारण जति नै प्रयत्न गरे पनि आन्दोलन अराजक हुन पाएन। आन्दोलनकारीका गतिविधिलाई नियाल्न प्रहरीले त्यसबेला ‘बडी वार्म क्यामेरा’ पनि प्रयोग गरेको थियो। त्यसले आन्दोलनकारीका हरेक गतिविधिको सूक्ष्म निगरानी गर्न र दृश्य कैद गर्न सघाएको थियो।

परिणाम, सोचेभन्दा चाँडै आन्दोलन तितरबितर भयो। प्रसाईंले त्यसयता पटक–पटक आन्दोलनको धम्की दिइरहेका छन्, तर फेरि अराजकता मच्चाउने आँट गर्न सकेका छैनन्। 

गत फागुन २ गते जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भारतबाट ल्याएर बन्धक बनाइ राखिएका ११ जना भारतीय नागरिकलाई काठमाडौँबाट मुक्त गरायो। ‘अपरेसन डंकी’ नाम दिइएको विशेष अपरेसन चलाएर काठमाडौँ प्रहरीले भारतीय नागरिकलाई बन्धक बनाइ राखेको आरोपमा नौ जनालाई पक्राउ समेत गर्‍यो।

भारतीय मानव तस्कर गिरोहले अमेरिका लैजाने भन्दै उनीहरूलाई काठमाडौँ ल्याएर बन्धक बनाएको थियो। नेपाललाई ‘ट्रान्जिट’ बनाएर अमेरिका लैजाने आश्वासन दिँदै पन्जाब, हरियाणालगायत ठाउँबाट ल्याइएका उनीहरूलाई काठमाडौँमै बन्धक बनाइ राखिएको सूचना पाएपछि प्रहरीले ‘अपरेसन डंकी’ सञ्चालन गरेको थियो।

“नेपालमा भारतीय मानव तस्कर गिरोहले भारतीय नागरिकलाई नै बन्धक बनाएर राखेको सूचना आएपछि हामीले अपरेसन डंकी नाम दिएर रेस्क्यु अप्रेसन चलाएका थियौँ। त्यहीअन्तर्गत बन्धक बनाइएकाहरूलाई सकुशल उद्धार गरेर मानव तस्करीमा संलग्नलाई पक्राउ पनि गर्‍यौँ,” एसएसपी खत्री भन्छन्।  

प्रहरीले अपराध अनुसन्धानका लागि परिचालन गर्ने ‘कल्टिभेटेड सोर्स’बाट काठमाडौँमा भारतीय नागरिकलाई बन्धक बनाएर राखिएको सूचना पाएपछि शुरू गरिएको यो अपरेसनमा मुख्यतः प्रविधिकै सहयोग लिइएको थियो। “मानव तस्कर गिरोहले बन्धक बनाइएका व्यक्तिका परिवारसँग ह्वाट्सएपबाट रकम माग गर्ने, धम्क्याउनेलगायत गतिविधि गरिरहेको पत्ता लागेपछि हामीले त्यो गिरोहका मुभमेन्ट र गतिविधि ट्रेस गर्न शुरू गरेका थियौँ,” काठमाडौँ जिल्ला प्रहरी परिसरका एक अनुसन्धान अधिकृत भन्छन्, “बन्धक बनाउने गिरोहबारे सूचना पाएपछि उनीहरूको लोकेसन र मुभमेन्ट ट्रेस गर्ने लगायत काम प्रहरी कन्ट्रोल रुमबाट गरेका थियौँ।” 

प्रविधिबाट प्राप्त संकेतका आधारमा सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको, त्यही टोलीले बन्धक बनाएर राखिएको क्षेत्र र घर पहिल्याएपछि त्यस आसपासमा उनीहरूले गर्ने गतिविधिमाथि निगरानी बढाएको पनि ती प्रहरी अधिकृतले बताए। “मुख्यतः प्रविधिको प्रयोगबाट अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहले बन्धक बनाएका व्यक्तिहरूलाई सकुशल मुक्त गराएको यो घटना हाम्रा लागि पनि नौलो थियो,” उनले भने, “सीमित स्रोतसाधनका बाबजुद पनि क्रस बोर्डर क्राइमलाई राम्ररी ट्याकल गर्न सकिन्छ भनेर हामीमा आत्मविश्वास बढाइदिने काम यो घटनाले गर्‍यो।”

फिल्डमा ‘डिभाइस’युक्त प्रहरी, कन्ट्रोल रुमबाट निगरानी
प्रविधिको सहायताले अपराध अनुसन्धान र प्रहरी अपरेसन दुवैमा प्रभावकारी नतिजा हात पारेपछि प्रहरीले काठमाडौँमा प्रविधि प्रयोगलाई दीर्घकालीन बनाउने अभ्यास शुरू गरेको छ। गएको बुधबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले जिल्ला प्रहरी परिसर काठमाडौँबाट यसको औपचारिक शुरूआत गरे। क्यामरासहितको प्रविधि प्रयोगबाट दुर्गा प्रसाईं समूहको आन्दोलनलाई सहजै व्यवस्थापन गर्न सकिएको अनुभवबाट सिकेर काठमाडौँ प्रहरीले शान्ति सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहितको इलेक्ट्रोनिक्स क्विक रेस्पोन्स टिम (ई–क्यूआरटी) परिचालन गरेको छ। 

पहिलो चरणमा काठमाडौँ जिल्लाभर ६० टिमलाई डिजिटल डिभाइससहित परिचालन गरिएको एसएसपी खत्री बताउँछन्। “क्विक रेस्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावरण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ट्र्याकिङ गर्न सकिने गरी विद्युतीय प्रणाली जडान गरिएको छ,” उनले भने, “प्रविधिमा आधारित यो अभ्यासले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न थप प्रभावकारी भूमिका खेल्ने हाम्रो विश्वास छ।”

नेपाल प्रहरीमा अपराध अनुसन्धान चुस्त बनाउन र शान्ति सुरक्षाका निम्ति प्रहरी अपरेसन व्यवस्थित बनाउन प्रविधिको प्रयोग अति न्यून छ। प्रविधि प्रयोगमा लगानी हुन सकेको छैन र त्यसलाई सरकारले प्राथमिकतामा पनि राखेको छैन। प्रहरीले वाहवाही बटुलेका प्रायः सफल अनुसन्धान मूलतः जनशक्तिको क्षमता र जोखिम लिने अग्रसरताका उपज हुन् भन्दा फरक पर्दैन। 

उपत्यका प्रहरी कार्यालय प्रमुख, एआईजी थापा असाध्यै सीमित स्रोत र साधनका बाबजुद प्रहरीले व्यावसायिक क्षमता बढाउँदै लगेको, त्यही क्रममा सीमित रूपमा हुन थालेको प्रविधि प्रयोगले प्रहरी पंक्तिको मनोबल उच्च बनाएको बताउँछन्। “भनिराख्नु पर्दैन, हामीसँग स्रोत र साधन असाध्यै सीमित छ। त्यसलाई नै परिचालन गरेर काम गर्ने हो,” उनले भने, “मुख्य कुरा प्रहरी पंक्तिको मनोबल हो। प्रहरी कर्मचारीको वृत्ति विकास र क्षमता अभिवृद्धिका केही कार्यक्रम अघि बढाइएकाले अब काममा नतिजा देखिन थालेको छ। प्रहरी प्रधान कार्यालयले शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धानलाई वस्तुनिष्ठ र तार्किक बनाउनकै लागि प्रविधिको प्रयोग बढाउँदै लगेपछि प्रहरीको मनोबल बढेको छ।” 

उनले त्यसकै लागि दुई वर्षे कार्ययोजना लागू गरिएको, मनोबल बढाउन वृत्ति विकास र प्रविधिको प्रयोगसँगै अन्य रचनात्मक काम पनि थालिएको बताए।

प्रहरी मनोबल उकासिएको प्रमाण
केही दिनअघि विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितहरू संसद् भवन प्रवेश गरेर नाराबाजी गरेको घटनाले ठूलै हलचल पैदा गर्‍यो। सभामुख देवराज घिमिरेले त्यो घटनाबाट संसद्को सुरक्षामै गम्भीर प्रश्न उठेको भन्दै गृहमन्त्रीदेखि प्रहरी प्रमुखसम्मको ध्यानाकर्षण गराएका थिए। यसले संसद् भवनको सुरक्षा जिम्मेवारी लिएको प्रहरीको सुरक्षा प्रबन्धमाथि समेत प्रश्न उठायो। तर जब संसद् भवनभित्र प्रवेश गरेका लघुवित्त पीडितहरू सुरक्षा कमजोरीका कारण नभई मूलतः गृहमन्त्री (तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ) कै दल नेकपा माओवादी केन्द्रका सांसदहरूले ‘भिजिटर पास’ दिलाएर संसद् भवन प्रवेश गरेको खुल्यो, यो प्रकरण यसै सामसुम भयो। 

सत्तासीन दल र नेताहरूका कारण प्रहरीले खेप्नुपरेको आलोचना बालकुमारी घटनाबाट छर्लङ्ग हुन्छ। वैदेशिक रोजगारमा दक्षिण कोरिया जान चाहने युवाहरूले कोरियाली भाषा परीक्षामा सामेल हुन पाउनुपर्ने मागसहित गरेको प्रदर्शन भड्किँदा गत पुस १३ गते बालकुमारीमा दुई युवाको मृत्यु भएको थियो। घटनालगत्तै ललितपुरका प्रहरी र प्रशासन प्रमुखलाई जिम्मेवारीबाट हटाइयो। त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले नै त्यो घटनामा तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको हर्कत प्रमुख रूपमा जिम्मेवार रहेको ठहर्‍यायो।

विभिन्न माग राखेर प्रदर्शनमा उत्रिने समूहमाथि प्रहरीले गर्ने व्यवहारलाई लिएर पनि प्रश्न उठ्दै आएको छ। सँगै पछिल्लो समय केही यस्ता घटना पनि छन् जसले प्रहरीको मनोबल उकासिएको देखाउँछन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले देखाएको आँट त्यसको उदाहरण हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजिएको त्यो संगठित प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री, बहालवाला सांसददेखि नेपाल सरकारका सचिवसमेतलाई पक्राउ गरेको थियो। राजनीतिक हस्तक्षेपले जर्जर बनेको ठानिने प्रहरीमा अपराध अनुसन्धानको क्षमता मरेको छैन भन्ने दृष्टान्तसमेत बनेको थियो यो प्रकरण।

तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको प्रकरणमा केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको घटना अर्को दृष्टान्त हो। यो प्रकरणमा प्रहरीले झन् ठूलो राजनीतिक दबाब सामना गर्नुपर्‍यो। अदालतले थुनामा नराख्न आदेश दिएपछि अरुण रिहा भइसकेका छन्। तर अनुसन्धान जारी राखेको सीआईबीले अरुणका दाइ तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, विनोदका अर्का भाइ वसन्त चौधरीलाई समेत अनुसन्धानको दायरामा तानेको छ। ललितानिवासको जग्गा हिनामिना प्रकरणको पछिल्लो फाइल पनि सीआईबीले नै खोलेको हो जुन प्रकरण अहिले काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।

एक पूर्वप्रहरी महानिरीक्षक राजनीतिक हस्तक्षेपले थिलथिलो बनेको प्रहरी संगठनमा अहिले पनि हस्तक्षेप उस्तै रहेको तर त्यसलाई चिरेर प्रहरीले काम गरिरहेको बताउँछन्। “सबैभन्दा धेरै राजनीतिक हस्तक्षेप नै प्रहरीमा छ तर प्रहरी आफैले आँट गरेर, कतिपय अवस्थामा स्वयं पहलकदमी लिएर अपराध अनुसन्धान र शान्ति सुरक्षा बहालीमा केही उदाहरणीय काम गरेर देखाएका छन्,” उनले भने, “हस्तक्षेप नहुने हो र कानून अनुसार काम गर्न पाउने हो भने प्रहरीको क्षमता योभन्दा अझ धेरै बढ्न सक्छ।” 

पर्याप्त स्रोत र साधन नहुँदा प्रहरीले निगरानी गर्ने काम सादा पोशाकका जनशक्तिकै भरमा गर्दै आइरहेको छ। प्रहरी प्रधान कार्यालयका एक अधिकारीले केही युनिटले प्रविधिबाट निगरानी गर्न शुरू गरे पनि मुख्यतः निगरानीको काम सादा पोशाकमा खटाइने प्रहरीमै निर्भर रहेको बताए। “कुनै घटना हुन नहोस् भनेर शहरमा भइरहेका विभिन्न गतिविधिमाथि निगरानी बढाउन, अपराध अनुसन्धानका क्रममा गुत्थी सुल्झाउन सादा पोसाकमा प्रहरी खटाउने गरिन्छ,” उनले भने, “स्रोत साधन पुग्दो भए अनुसन्धान र अपरेसन योभन्दा धेरै प्रभावकारी बनाउन सकिन्छ।”

पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी पछिल्लो समय प्रहरीले गरेको आँटले अपराधमा संलग्न ‘हाइप्रोफाइल’हरू हायलकायल बनेको बताउँछन्। “स्रोतसाधन निकै कम छ। सबैतिरको दबाब पनि प्रहरीले नै खेप्नुपर्छ। त्यसका बाबजुद पनि  ठूला–ठूला अनुसन्धान भएका छन्,” उनले भने, “धनी र ठूला व्यवसायीदेखि सरकारमै रहेका पार्टीका नेतासम्म पक्राउ परेका छन्। उच्च पदस्थ कर्मचारी पक्राउ परेर जेल पुगेका छन्।” 

प्रहरीभित्र काम गर्न सकिन्छ भन्ने आत्मविश्वास देखापरेको उनले टिप्पणी गरे। “अपराध अनुसन्धान मात्र होइन, शान्ति बहाली र दंगा नियन्त्रणमा समेत प्रहरीको हिजोभन्दा भिन्न अप्रोच देखिएको छ, यसले प्रहरी पंक्ति मात्र नभएर जनमानसमा पनि बेग्लै छाप छाड्न थालेको छ,” उनले भने, “अहिले केही युनिट र केही अफिसरले देखाएको अग्रसरता र त्यसलाई नेतृत्वबाट मिलेको ढाडसले जुन मोमेन्टम देखिन्छ यसलाई जोगाउँदै स्रोत साधन र अधिकतम प्रविधिमैत्री बनाउन सकियो भने अब्बल ‘पुलिसिङ’ अनुभूति गर्न सकिनेछ।”


सम्बन्धित सामग्री