Saturday, April 27, 2024

-->

'सुवर्णभूमि' अन्तर्राष्ट्रिय ट्रान्जिट विमानस्थल

तत्कालीन अधिराजकुमार १५ लाख रूपैयाँ ‘पारिश्रमिक’का लागि एक क्विन्टल सुनको भरिया भएका थिए। गत साता भरिया नै पक्राउ परे। नेपाली जति प्रभावशाली भए पनि ‘भरिया मात्रै त होइनन्?’ भन्ने प्रश्न उब्जिएको छ।

सुवर्णभूमि अन्तर्राष्ट्रिय ट्रान्जिट विमानस्थल

“डन का इन्तजार तो ११ मुल्कों कि पुलिस कर रही है, मगर एक बात समझ लो– डन का पकडना मुस्किल हि नहीं , नामुमकिन है...”

सन् १९७८ मा प्रदर्शित हिन्दी सिनेमा ‘डन’को उल्लिखित संवाद बलिवुडको प्रभाव क्षेत्रहरूमा आज पनि उत्तिकै चर्चित छ, जति १९७०–८० को दशकमा थियो। पहिला अमिताभ बच्चन र २००६ मा शाहरूख खानजस्ता आफ्ना समयका ‘सुपरस्टार’हरूले निभाएका कालजयी पात्र डन उच्च नैतिकता भएका ‘सुग्घर’ हिरो भने थिएनन्, ‘एन्टी हिरो’ थिए। डनको खास ‘जागिर’ थियो ‘पपिताबजारी’, अर्थात् सुन तस्करी। त्यही कारणले ११ मुलुकका पुलिस, जसमध्ये नेपाल पनि सम्भवत एक थियो, डनको ‘इन्तजार’ गरिरहेका थिए।

उही दशकको ‘कालीचरण’को ‘सारा शहर मुझे लायन का नाम से जानता है’ डायलग ५० वर्षपछि पनि उत्तिकै चर्चित छ भने, ‘दिवार’को ‘मेरे पास गाडी है, बंगला है, बैंक ब्यालेन्स है, तुम्हारे पास क्या है?’ पनि बलिवुड प्रभावित क्षेत्रमा बिम्बकै रूपमा प्रयोग भइरहेको छ।
डनजस्तै जञ्जिरमा तेजाको भूमिकामा देखिने अजित हुन् वा दिवारका ‘एंग्री योङम्यान’ विजय (अमिताभ बच्चन)– दुवैको धन्दा छ सुनसहितको तस्करी।

दिवारमा त निर्माता/निर्देशक यश चोपडा विजयको कथा बुन्दा हाजी मस्तानबाट प्रभावित सुनिए। मस्तान सन् १९७० को दशकमा बम्बईमा सबैभन्दा प्रभावशाली डन थिए। बम्बई बन्दरगाहमा कामदार (कुली)सँग हप्ता असुल्ने शेर खान पठान ग्याङलाई रामधुलाई गरी उदाएका मस्तानले सुनलगायतका तस्करीमार्फत बम्बईमा वर्चश्व कायम गरेका थिए– दाउद इब्राहिमले चित नखुवाएसम्म। धन्दा ‘कालो’ भए पनि सर्ट, पाइन्ट, जुत्ता, गाडी सबै सेतो लगाउने उनको पहिरनलाई धेरै कालो धन्दावालाले पछ्याए। फरार अवस्थामै पहिलो संविधानसभाको चुनाव जितेर चर्चामा आएका हाम्रै बबन सिंह पनि सेतो पहिरनप्रेमी थिए। मस्तानसहितका सबै ग्याङलाई पछि पारेका दाउदले मस्तानकै पदचाप पछ्याए।

सुनसहितका तस्करी गर्ने तस्करलाई नै खलनायकको रूपमा प्रस्तुत गर्ने बलिवुड सिनेमा चलिरहेका बेलाको नेपालको अवस्था बुझ्न हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’को एउटा प्रसंग सान्दर्भिक हुन आउछ। २०३३ सालको प्रवेशिका परीक्षा फेल भएर फुर्सदिलो भएका उनी मनाङे व्यापारीको भरिया बनेर बैंकक गएको प्रसंग रोचक ढंगले उल्लेख गरेका छन्। त्यति बेला विदेश बसेर आउने नेपालीलाई तीन तोला सुन, तीन जोर लुगा, छाता र जुत्ता ल्याउने छुट थियो। बैंकक एक साता बसी फर्किने बेला मनाङे साहुले तीन वटा सर्ट, डबल पाइन्ट, ज्याकेट लगाइ त्यति नै संख्यामा बोकाए। अनि, आँखामा रेबन चस्मा ढल्काउँदै हातमा बेरुवा औँठी तथा सिक्री लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको उनले लेखेका छन्। 

“सुन, घडी र चस्मा विमानमा चढ्नासाथ आफूले लिएर ल्यान्ड गर्ने बेलामा पुनः लगाउन दिएका थिए। विमानस्थलमा एकएक पोलिथिन झोलामा एक कार्टुन ५५५ चुरोट र एउटा रेड लेबलको बोतल बोक्न लगाइयो। विमानस्थलबाट बाहिरिएर मिनीबस चढ्नासाथ फेरि ती सामान आफूले राखे। लगाएका लुगाचाहिँ ठमेलको एउटा घरमा पुर्‍याएर फुकाल्न लगाइयो,” उनले लेखेका छन्।

भारतमा हाजी मस्तानजस्ता तस्करको रजगज रहँदाताका नै ‘सप्लाई साइड’को रूपमा नेपालमा सुन भित्र्याइ भारत पठाउने धन्दा चलेको थियो। विदेश गएर फर्किंदा एक जनालाई तीन तोलासम्म सुन भन्सार छुटमा ल्याउने सुविधा थियो। यसैले व्यापारीले हुलका हुल युवालाई हङकङ, बैंकक लगेर सुन बोकाइ ल्याउँथे। मान्छे लगेर खुद्राखुद्रा गरी सुन भित्र्याई थोकमा निकासी गर्ने धन्दा मात्र थिएन, राजपरिवारबाटै थोकमा सुन भित्र्याउने धन्दा हुन्थ्यो भन्ने बुझ्न अच्युतकृष्ण खरेलको आत्मकथा पल्टाउनुपर्ने हुन्छ। 

“अधिराजकुमार धिरेन्द्र हङकङ हुँदै काठमाडौँ आउने क्रममा थिए। हङकङमै छँदा उनको पैसा सकिएछ। खर्च गर्नै समस्या परेपछि उनले भरत गुरुङ (अंगरक्षक)लाई भनेछन्, ‘सुन लिएर जानुपर्‍यो।’ गुरुङले सुन तस्करीमा संलग्न विभिन्न व्यक्तिसँग सम्पर्क गरे। कसैको एक किलो, कसैको दुई किलो गरी झण्डै एक क्विन्टल सुन जम्मा भयो। सुन बोकेर ल्याइदिएबापत धीरेन्द्रलाई १५ लाख रूपैयाँ दिने सहमति भयो। धीरेन्द्र तस्करीमा संलग्न भरियाझैँ आफ्नो सवारीमा एक क्विन्टल सुन बोकेर काठमाडौँ आए। यता विमानस्थलमा धीरेन्द्र सवारी भएपछि जाँच गर्ने हिम्मत कसको! जाँच गर्नुपर्ने भन्सारले केही गरेन भने, प्रहरीको त कुरै भएन।”

उल्लिखित प्रसंग दरबारको अन्तर्कलहको उपजस्वरूप धीरेन्द्र शाहबाट अधिराजकुमारको पगरी खोसेर उनका चम्चा/बेल्चालाई कारबाही गर्ने क्रममा गुरुङका साथै डीबी लामा (अवकाशप्राप्त प्रहरी महानिरीक्षक)लाई सैनिक हिरासतमा राखिएपछि बयान लिने क्रममा गुरुङले खरेललाई सुनाएका थिए। दरबारमा रानी ऐश्वर्य र अधिराजकुमार धीरेन्द्र भाउजु–देवर कलह चुलिएपछि धीरेन्द्र निकटका गुरुङ र लामालाई थुनेर तस्करीलगायतका विवादमा पारिएको थियो। धीरेन्द्रको ब्रिटिश महिलासँग प्रेम सम्बन्ध खुलासा भएपछि दरबारमा रडाको शुरू भएको खरेलका साथै डीबी लामाले पनि आफ्नो आत्मकथामा लेखेका छन् ।

रुक्माङ्गत कटवालले आत्मकथामा आफू हङकङको ‘पोष्टिङ’मा छँदा धीरेन्द्रसहित राजपरिवारका सदस्यहरूको ओहोरदोहोर चलिरहने उल्लेख गरेका छन्।   

“हाम्रो सरकार (धीरेन्द्र) भलाद्मी हुनुहुन्छ,” भरत गुरुङले मलाई भन्नुभयो, “हामी मिलेर व्यापार गरौँ।”

“तिमीलाई जर्नेल बनाउँदैनन्,” उहाँले भन्नुभयो, “व्यापार गर्‍यौ भने कमसेकम दुईचार पैसा कमाइ हुन्छ।”

अब धीरेन्द्रको व्यापार के थियो माथि उल्लेख भइसकेकै छ। 

लामाको ‘सुनौलो सम्बन्ध’ देखिने प्रसंग पनि खरेलकै आत्मकथाबाट– “एक दिन शौचालयमा बेवारिसे सुन भन्सार कर्मचारीले फेला पारेछन्। १८ वटा ठूल्ठूला टुक्रा रहेछन्– १०–१२ तोलाको। सुन भन्सार, गुप्तचर र प्रहरीले आपसमा भाग लगाएछन्। प्रहरीको भागमा ६ टुक्रा सुन परेछ। साँझ डीएसपी प्रतापकुमार बान्तवाले त्यही ६ टुक्रा सुन मणि गुरुङ भन्ने इन्सपेक्टरमार्फत आईजीपी लामाकहाँ पुर्‍याएछन्। पाँच/छ हप्ता पुरानो घटना सामसुम भएको विश्वास दिलाएपछि लामाले ढुक्कै सुन बुझ्नुभएछ।”

त्यहीताका एक दिन लामाले ‘डीएसपी बान्तवालाई भरत गुरुङले खोजेको छ’ भन्दै भेट्न पठाउँछन्। भरतले सुन पास गर्ने काममा सहयोग गर्न अनुरोध गरेछन्। बान्तवाका लागि यो परिकल्पनाभन्दा टाढाको कुरा थियो। “सर, भरत गुरुङ त सुन पास गर्न सहयोग गर भन्छ,” फर्केपछि बान्तवा सुनाउँछन्। लामा बोल्दैनन्। बान्तवाले विमानस्थलमै कार्यरत इन्सपेक्टर रामबहादुर केसीलाई भनेपछि उनले उपाय सुझाउँछन– फ्लाइट आउने बेला खाजा खान निस्किने। आखिर एयरपोर्टभित्रै समाउने काम प्रहरीको नभई भन्सारको हो। बान्तवाले त्यसै गरे। सुन तस्करीलाई अनदेखा गरिरहे।  

नेपालमा यसरी भित्रिने सुनको ‘बम्बई कनेक्सन’ थियो भन्ने अनुमान गर्न सकिन्छ। जमिम हत्याको छानबिन गर्न गठित आयोगमा प्रकाश टिवडेवालले गरेको बयानअनुसार मोतीलाल बोहरा आईजीपी छँदा (२०४९–५३) विमानस्थलमा तस्करीको जिम्मेवारी जमिमले पाएका थिए। टिवडेवाल अगाडि भन्छन्, “नेपालमा आउने सुन अनिश इब्राहिम (दाउदका भाइ)ले दुबईबाट पठाउने गर्थ्यो। त्यस समय जमिम शाहले तस्करीको सम्पूर्ण व्यस्थापन गर्थे। सबै सुन व्यापारीले दाउदका लागि काम गर्छन्।”

वामदेव गृहमन्त्री हुँदा सुनको तस्करी गर्न सानेपामा घर लिएर अफिस सञ्चालन गरे पनि कारोबारमा आफूलाई संलग्न नगराइएको बयान उनले दिएका छन्। उक्त समयमा सुनको लाइनवाला समूहले सरकार बनाउने ढाल्नेसम्मको काम गरेको उनले बयान दिएका थिए। “जमिमले पहिले दाउदसँग मिलेर सुनको व्यापार गर्थ्यो,” टिवडेवाल बयानमा भन्छन्, “वामदेव गौतम र खुमबहादुर खड्काको संरक्षणमा सुन तस्करी हुन्थ्यो।”

पञ्चायतकालकै अरू घटना पनि रोचक छन्। सुर्खेतबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा २०४२ फागुन २२ गते साढे २२ किलो सुनसहित विमानस्थलमा पक्राउ परे। त्यसबखत विमानस्थल सुरक्षा प्रमुख रहेका प्रहरी निरीक्षक कुवेरसिंह राना (महानिरीक्षक भई सेवानिवृत्त)का अनुसार, बुढाले हङकङबाट सुन ल्याउँदैछन् भन्ने भरपर्दो सुराक प्राप्त भइसकेकाले प्रहरी सतर्क  थियो। सहयोगीले बुढालाई अँगालो हालेर सुमसुम्याउँदा ज्याकेटको भित्रपट्टि सुनका बिस्कुट राखेर सिलाएको फेला परेको थियो, २२ किलो सुनको भारीले बुढाको ज्यान लचक्क लच्किएको थियो। बुढाले नजिकिँदै गरेको चुनावमा खर्च गर्नपर्छ भनेर नेताहरूले नै हङकङबाट सुन ल्याउन सल्लाह दिएको बयान दिएका थिए। 

बुढा राष्ट्रिय पञ्चायतबाट निलम्बित त भए, दुई महिनापछि भएको राष्ट्रिय पञ्चायतको चुनावमा पुनः निर्वाचित भए। बुढाले भोट माग्दा ‘गाउँका दिदीबहिनीहरूलाई गहना बनाइदिउँला भनेर विदेशबाट सुन ल्याउन खोज्दा पुलिसले समात्दियो’ भन्दै अब जिताए गहना दिइछाड्ने प्रतिबद्धता जनाई भोट मागेको किस्सा पनि छ।           

प्रजातन्त्रको बेला
सूर्यबहादुर थापा नेतृत्वको सरकार छँदा एक दिन युवा, खेलकुद तथा संस्कृतिमन्त्री शरदसिंह भण्डारी झण्डावाल गाडी चढेर आइजीपी क्वार्टर आउनुभयो। एउटै सोफामा आधा–एक घण्टा बस्दा पनि खासै कुरा नगरेपछि मैले नै भनेँ, ‘तपाईं मलाई केही भन्न आउनुभएको थियो हैन?’ उहाँले पनि नजिकिँदो चुनाव (२०५६)को बहाना बनाउँदै ‘विमानस्थलबाट हुने सुन तस्करीमा आँखा चिम्लिदिनुपर्‍यो’ भन्नुभयो। 

ठाडै इन्कार गरेपछि जोडजोडले हाँस्नुभयो। भन्नुभयो, ‘तपाईं कसले भनेको मान्नुहुन्छ त? किशुनजीले भने गर्नुहुन्छ?’ 

जवाफ दिएँ, ‘भनाएर त हेर्नुस्।’

फेरि भन्नुभयो, ‘गिरिजाबाबुले भन्नुभए गर्नुहुन्छ?’

‘पहिला उहाँहरू दुवैलाई भनाएर त देखाउनुस्, गर्ने–नगर्ने त्यही बेला थाहा हुन्छ।’ 

केही दिनपछि गिरिजाबाबुसँग भेट हुँदा ‘हेर त, मलाई त्यो शरदसिंह तपाईंलाई भन्दिनुस् भन्न आएका थिए।’

मुलुकमा संसदीय व्यवस्थालाई बदनाम गराउने कालखण्ड (२०५० को दशक) को यो कथा पनि खरेलकै आत्मकथाबाट हो। उनले उल्लेख गरेको कालखण्डमा सुन तस्करी उत्कर्षमा थियो। सरकार बन्ने र तखता पलट भइरहने त्यो कालखण्डमा सांसद किनबेच, बैंकक घुमाउने आदि प्रयोजनमा पनि सुन तस्करले ‘फाइनान्स’ गरे।

खरेल नै दोस्रोचोटि आईजीपी भएपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ‘गृहमन्त्रीले केही कुरा भन्नुभएको छ रे, उहाँले भनेको गरिदिनुस न’ भनेका थिए। ‘गृहमन्त्रीज्यूले मलाई के गरिदे भनेको हजुरलाई थाहा छ नि?’ प्रधानमन्त्री केही बोल्दैनन्। 

मैले सिधै भनेँ, ‘दुई नम्बरीलाई सहुलियत दिने काम गर्न मिल्दैन।’

खरेलका अनुसार त्यसबखत भर्खरै पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको घरमा दुई सैनिकले निगरानी गरिरहेको फेला परेको थियो। त्यही घटना सुनाउँदै विगतमा डीबी लामा र प्रतापकुमार बान्तवालाई सैनिक अदालतमा मुद्दा चलाएको उदाहरण प्रस्तुत गरी ‘सेनाले तस्करलाई समातेर केरकार गरी सबैलाई फसाउन सक्छ, जेल जाने हामी हुन्छौँ’ भन्दै सम्झाएपछि तस्करीको लाइन दिने दबाबबाट आफू मुक्त भएको उल्लेख गरेका छन्।

मन्त्रीहरूले आफूबाट पार नलाग्ने देखेपछि विमानस्थलका केही खास प्रहरी अधिकृतलाई विश्वासमा लिएर तलबाटै काम चलाउन थालेको पनि उनले उल्लेख गरेका छन्। २०५५ वैशाख ४ गते चार लाख ६० हजार डलर नगद र ४० हजार डलरको चेकसमेत दीपेन्द्र ज्ञवाली पक्राउ परेपछि यसको खुलासा भयो। दाङतिर घर भएका इन्सपेक्टले ‘डिपार्चर वाक–थ्रू’ गेटसम्म एस्कर्ट गरी पुर्‍याइएका ज्ञवाली अन्तिम सुरक्षा जाँचमा पक्राउ परे। तर राजस्व अनुसन्धान, भन्सार, प्रहरी, गुप्तचर सबै मिलेर १ लाख डलर बेवारिसे देखाई ४ लाख डलर पास गरिएको थियो।       

अर्थमन्त्री हुँदा विमानस्थलबाट सुन तस्करीमा संलग्न भएका रवीन्द्रनाथ शर्मा मरणोपरान्त अदालतबाट दोषी ठहरिए। अर्थमन्त्री बहाल रहँदै उनले अखबारको अन्तर्वार्तामै सुन तस्करी भएको स्विकारेका थिए, र तस्करको नाम लिए आफ्नै ज्यान जोखिममा पर्ने बताएका थिए। लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा २०५३ फागुनमा अर्थमन्त्री बनेका उनी सूर्यबहादुर थापाको नेतृत्वमा समेत गरी १४ महिना अर्थमन्त्री थिए।   

२०४८ सालको निर्वाचनपछि बनेको सरकारले झिटीगुन्टा तथा भारी आदेश अन्तर्गत विदेशबाट फर्किंदा भन्सार छुटमा ल्याउन पाउने सुनको परिमाण तीन तोलाबाट ५० ग्राम पुर्‍याएको थियो। साथै, एक महिना विदेशमा बस्नेले (पछि ६ महिना गरिएको) भन्सार तिरेर १० किलोसम्म ल्याउन पाउने बनाएर मुलुकलाई सुन तस्करका लागि पञ्चायतभन्दा पनि ‘पवित्रभूमि’ बनाइएको थियो। सुन आयात गरी भारततर्फ चोरी निकासी गर्ने अघोषित सरकारी नीति नै थियो। सरकारले राजस्व पनि पाउने र भारुको पनि अभाव नहुने तर्क गरिन्थ्यो। 

हुन पनि त्यसताका भारतमा सुनको माग यति बढी थियो कि, एक जनाले १० किलोसम्म ल्याउन पाउँदा पनि नपुगेर चोरी पैठारीसमेत हुन्थ्यो। कतिसम्म भने सुन तस्करी सहज बनाउन विमानस्थलको बत्ती रातभर काट्ने कामसमेत भएको थियो। २०५३ सालमा सुन लोड गरेर विमानस्थलबाट बाहिरिएको प्रहरीको गाडी ‘सुन ओभरलोड’ भई सिनामगंलमै विमानस्थल बाहिरपट्टि पंकचर भएको खबरहरू बाहिरिएका थिए। खरेल स्वयम् पनि सुनको भार थेग्न नसकी पंकचर भएको गाडीको ‘डिटेल’ आफूसँग रहेको र आत्मकथामा उल्लेख हुने सुनाउँथे। तर उनको आत्मकथामा यो प्रंसग छैन। एक क्विन्टल सुन बरामद भएको पर्सिपल्टको भेटमा सम्झाउँदा खरेलले गाडी नम्बरसमेत संकलन गरे पनि किताबमा उल्लेख नगरेको बताए, कारण खुलाएनन्।

मुलुकमा पुनश्चः राजा चाहने, हिन्दू राष्ट्रको अपेक्षा गर्ने कतिपयले पञ्चायतकाललाई ‘स्वर्णयुग’ भनिरहँदा सुनलगायतको तस्करीको लागि चाहिँ स्वर्णयुग नै थियो भन्ने त्यति बेलाको दरबारका निकै शक्तिशाली सैनिक सचिव ऋषिकुमार पाण्डेको जीवनी (अ.प्रा. रथी ऋषिकुमार पाण्डेको ऐतिहासिक जीवनी) को एउटा प्रसंगले पुष्टि गर्छ। अमेरिकाको लसएञ्जल्स ओलम्पिक (सन् १९८४) मा जाँदा राष्ट्रिय खेलकुद परिषदका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहलाई फुटबलमा लागुऔषधसहित अमेरिकी पुलिसले पक्राउ गरेको प्रसंग उनले उल्लेख गरेका छन्।

“त्यस बेला शरदचन्द्र शाहलाई अमेरिकी पुलिसले फुटबलमा ड्रग भरेर लगेको भेट्टायो। उसलाई पुलिसले जेल हाल्यो। गिरफ्तारीबाट अन्तर्राष्ट्रिय ओलम्पिकमा आएका राष्ट्रहरूमाझ नेपालको ठूलो बेइज्जत हुन गएको थियो। पछि यो कुरा परराष्ट्र च्यानलबाटै प्रमुख निजी सचिव नारायणप्रसादमार्फत राजामा बिन्ती चढाइएछ। आफ्नो देशको अन्तर्राष्ट्रियस्तरमा ठूलो बेइज्जत भएकाले राजाले अमेरिकास्थित तत्कालीन नेपाली राजदूत मेजर जनरल पदमबहादुर खत्रीलाई ‘हरकिसीमबाट यो काण्ड मिलाइ देशको इज्जत बचाउनु’ भन्ने म्यासेज गरिबक्स्यो। र खत्रीको कूटनीतिबाट शाह छुट्यो र सबैकुरा चुपचाप भयो।”

अघिल्लो साता एक क्विन्टल सुन बरामद भएपछि ‘भरिया होइन नाइके समात’ भन्ने माग चर्को छ। माथि उल्लिखित घटनाक्रमले नेपाली जति नै प्रभावशाली भए पनि ‘भरिया मात्रै त होइनन्?’ भन्ने प्रश्न उब्जिन्छन्। तत्कालीन अधिराजकुमारले  १५ लाख  रूपैयाँ ‘पारिश्रमिक’का लागि एक क्विन्टल सुनको भरिया भएका थिए। यस्तै, प्रजातन्त्रकालको सुन तस्करीमा पनि यहाँका ‘ठूलाबडा’ दाउद इब्राहिमको भरिया मात्रै भएको प्रकाश टिवडेवालले जमिम शाह हत्याको छानबिन गर्न गठित आयोगसमक्ष दिएको बयानले देखाउँछ।

जे भए पनि जति नै ठूलो परिमाणमा सुन तस्करी भए पनि तस्कर न पञ्चायतकालमा दण्डित हुन्थे, न अहिले नै। बरामद/पक्राउ पनि आफँैमा विवादरहित हुन्नन्। कतै केही लाइन नमिल्दा पञ्चायतकालमा पनि बरामदी/पक्राउ हुन्थ्यो, प्रजातन्त्रमा पनि भयो, अहिले पनि भइरहेकै छ। विमानस्थल भन्सारमा प्रधानमन्त्रीको परिवारकै जोडमा पहिले वीरगन्ज भन्सारमा प्रमुख अनि अहिले विमानस्थल भन्सारको प्रमुख बनाइएका (बीचमा विष्णु पौडेल अर्थमन्त्री छँदा सरुवा गर्न खोजिए पनि प्रधानमन्त्रीकै कारण निरन्तरता पाएका) अरुण पोखरेल छन्। 

राजस्व अनुसन्धान विभागमा पनि उस्तै निकटका (उपसचिव र सहसचिवको रूपमा भरतपुर महानगरपालिकामा मेयर रेणु दाहाललाई सघाइसकेका) नारायण सापकोटा थिए, हालै झन् निकटका (पहिले वीरगन्ज भन्सार प्रमुख, अनि प्रधानमन्त्रीकै निजी सचिव बनाइएका) नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको प्रमुख बनाइएको केही दिनमै एक क्विन्टल सुन बरामद भएको छ। भन्सार प्रमुख पौडेल ४२ दिन लामो बिदामा गएका छन्, प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द पनि बिदामा। माथि उल्लेख गरिएको प्रसंगमा इन्सपेक्टर रामबहादुर केसीले डीएसपी प्रताप बान्तवालाई सुन पास हुने समयमा खाजा खान जान दिएको सल्लाहझैँ सुनिने रैछ। तर यस्ता कौतूहलको सही जवाफ आउन पनि सक्छ, नआउन पनि सक्छ।

इन्टरनेटमा उपलब्ध सामग्रीहरूका अनुसार सुनसहितको तस्करीमा केन्द्रित बम्बईका बाहुबलीहरूले सन् १९८० को दशकमा धन्दालाई ‘रियल स्टेट’तिर विविधीकरण गरेका थिए। त्यति बेलाको कानूनअनुसार घरमालिकले अदालतको आदेशबाट मात्र भाडावाललाई हटाउन सक्थ्यो। आदेशका लागि घरधनीले भाडावाललाई भन्दा पनि आफूलाई आवश्यक परेको कुरा शंकारहित तवरले पुष्टि गर्नुपर्थ्यो। यही झमेलाका कारण घरधनीले गुण्डाहरूलाई सस्तै दाममा घर बेच्न थाले। गुण्डाहरूले अब भाडावाललाई तर्साएर भाडावालबाट घर खाली गराइ पुराना घर भत्काएर नयाँ निर्माण गरी बेच्न थाले। 

यसमा तस्करीभन्दा आकर्षक कमाइ थियो। हामीकहाँ पनि नामुद  सुनतस्करहरू रियल स्टेटसहित व्यापारमा विविधीकरण गरेकै छन्। तैपनि ट्रान्जिटको रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० वर्षभन्दा लामो समयदेखि सुन तस्करी भइरहेको छ। बैंककको प्रख्यात विमानस्थल छ सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल, यो नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लागि एकदम फिट खान्छ।

अहिले ‘ब्रेकथ्रू’ भनिएको उपलब्धिबाट हौसिएर सम्बन्धित निकायहरूले सुन तस्करीको जालोलाई धेरै हदसम्म निष्प्रभावी बनाउँछन् कि फेरि पनि हरेस खान्छन्, त्यो समयले बताउला। चौतर्फी कारबाहीबीच असुरक्षा देखेर केही समयका लागि ‘अन्डरग्राउन्ड’ भएका भिन्न गोल्ड माफियाका टाउके भने आफूलाई डनको ठाउँँमा राखेर पक्कै सोचिरहेका होलान्– डन जख्मी है तो क्या हुआ, फिर भि डन है।


सम्बन्धित सामग्री