Monday, April 29, 2024

-->

अमेरिकामा क्यान्सरको अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिक

अध्ययनको लागि अमेरिका पुगेका डा. दिग्विजय राजा महत म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा क्यान्सरसम्बन्धी अनुसन्धानरत छन्। नेपालमा उच्च प्रविधिको क्यान्सर अनुसन्धान प्रयोगशाला बनाउने उनको सपना छ।

अमेरिकामा क्यान्सरको अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिक
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– “प्रायः सबै निदाइरहेका हुन्थे। अमेरिकाको सुनसान बाल्टिमोर शहरमा म भने रातभरि रेस्टुरेन्टबाट पिज्जा घरघरमा पुर्‍याउँथे। आफैसँग कलेजमा पढ्ने साथीको घरमा समेत पिज्जा पुर्‍याएको छु। जबकि त्यो बेला सडकमा अन्य युवाबीच लुटपाट र हानाहान भइरहेको देखेर मन चिसो हुन्थ्यो,” आफ्नो सपना पूरा गर्न विगतमा बिरानो शहरमा गरेको संघर्ष सम्झिँदा डा. दिग्विजय राजा महत भावुक भए।

आफ्नो अध्ययन खर्च जुटाउन उनी हप्ताको १०५ घण्टासम्म काम गर्थे। पिज्जा पुर्‍याउने मात्र नभई ‘ट्रक स्टप’मा पनि उनले काम गरे जहाँ उनी साँझ ६ देखि बिहान ६ बजेसम्म १२ घण्टासम्म ठूला–ठूला लरी ट्रकमा तेल भर्थे। उनी त्यतिबेला बाल्टिमोरस्थित टोसन विश्वविद्यालयमा बायो–इन्फरम्याटिक्स, बायोकेमेस्ट्री र मोलिक्युलर बायोलोजी पढ्दै थिए।

तनहुँको ढोरफिर्दीमा जन्मिएका महत काठमाडौँमा आईएस्सी सकेर ‘गोल्ड मेरिट’ छात्रवृत्ति पाएपछि ५० प्रतिशत शुल्क तिर्नुपर्ने गरी स्नातक पढ्न अमेरिका गएका थिए। विश्वविद्यालयमा बुझाउनुपर्ने त्यही आधा शुल्क र आफ्नो नियमित खर्च जुटाउन उनले काम गर्नुपरेको थियो। लाखौँ खर्च गरेर विदेश पुगेका महतलाई घरबाट पैसा माग्न सम्भव थिएन। त्यसकारण उनी काम गर्दै जसोतसो पढाइ खर्च जुटाउँथे।

प्रथम वर्षमा नै महतले आफ्ना एक प्राध्यापकबाट अर्निथोलोजी (पक्षी विज्ञान) प्रयोगशालामा चराको अनुसन्धान गर्ने प्रस्ताव पाएका थिए। परीक्षामा आफूले लेखेको जवाफबाट प्रभावित भएका प्राध्यापकले त्यस्तो प्रस्ताव राखेको उनले बताए। 

“जाँचमा लेखेको एउटा उत्तर प्रोफेसरलाई मन परेछ। उहाँले त्यहीँ जाँच्नुभएको कापीपछाडि कम सी मी इन माई अफिस (मलाई मेरो अफिसमा आएर भेट) भनेर लेख्नुभएको थियो”, उनले भने, “अफिसमा पुगेपछि उहाँले मलाई डु यु वान्ट टु वर्क विद मी (तिमी मसँग काम गर्न चाहन्छौ?) भनेर सोध्नुभयो। अनुसन्धान कुन विधामा गर्ने थाहा भइसकेको थिएन। तर पनि दंग परेर फर्म भरेँ।” 

त्यस परियोजनामा आवेदन अवसर पाए पनि अनुसन्धानकै काम गर्न भने उनले पाएनन्। किनभने त्यो अनुसन्धान अमेरिकाकै संघीय छात्रवृत्ति कार्यक्रमअन्तर्गत पर्ने भएकाले त्यहीँका विद्यार्थीले मात्र पाउने नियम थियो।

स्नातक तहको दोस्रो र तेस्रो वर्षमा महत ‘आउटस्ट्यान्डिङ जुनियर बायोलोजी मेजर अवार्ड’का लागि ‘कम्प्टन एन क्रुक अवार्ड’ र ‘आउटस्ट्यान्डिङ सिनियर बायोलोेजी मेजर अवार्ड’का लागि ‘बायोलोजी अलुम्नाई छात्रवृत्ति’ प्राप्त गर्न सफल भए। स्नातक सकिने बेलामा उनलाई एकदमै माया गर्ने प्रोफेसर एल स्कट जोन्सनले अनुसन्धान गर्ने अवसर पनि दिए।

यसले उनलाई आफ्नो ज्ञान र अनुसन्धान सीप थप विस्तार गर्न प्रेरित गर्‍यो। स्नातक सकिएपछि उनले कर्नेल विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) गर्न आवेदन गरे। आशा नै नगरेको भए पनि त्यो स्वीकृत भयो। त्योसँगै उनले पूर्ण छात्रवृत्ति र मासिक अध्ययनवृत्ति पनि पाए। 

“कर्नेलमा ६ वर्षको पीएचडीपछि ठूलै ठाउँ ताकौँ भनेर म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा पोस्टडक्टोरल एसोसिएटका लागि आवेदन गरेँ। सौभाग्यले नोबेल पुरस्कार विजेता डा. फिलिप ए शार्पसँग शार्प ल्याबमा काम गर्ने मौका पाएँ। अहिले पनि गर्दैछु,” उनले उकालोसँग भने। 

बाल्यकालको असफल सपना
एमआईटीको शार्प ल्याबमा अनुसन्धान प्रशिक्षार्थीका रूपमा कार्यरत महत बाल्यकालदेखि नै अध्ययनशील थिए। उनी सधैँ कक्षामा प्रथम हुन्थे। उनका बुवालाई भने उनको क्षमताअनुसार विद्यालयले पढाउन सक्नेमा शंका लाग्थ्यो। बुवाको त्यही आशंका परीक्षणको सिलसिलामा १० कक्षा पढ्ने बेलासम्म आफूले ११ वटा विद्यालय परिवर्तन गरेको महतले बताए। 

“म हावामै पढे पनि जहिल्यै प्रथम हुन्थेँ। अनि बुवा चाहिँ यो विद्यालय यसलाई पुगेन भन्दै अर्को खोज्न थाल्नुहुन्थ्यो। त्यसरी हरेक वर्ष विद्यालय फेरेको सम्झना छ,” उनले भने।

एसएलसी उत्तीर्ण गरेपछि उनीे काठमाडौँ विश्वविद्यालयमा विज्ञानमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) पढ्नका लागि भर्ना भए। तर उनको रुचि संगीतमा थियो। तीन महिनासम्म लगातार कक्षा छाडेर अनामनगरमा रहेको म्युजिक नेपालको स्टुडियोमा गीत रेकर्ड गर्न गएको उनलाई सम्झना छ। त्यतिबेला एक जना साथीसँग मिलेर उनले एल्बम पनि निकालेका थिए। तर त्यो ‘फ्लप’ भएपछि संगीत आफ्नो लागि होइन रहेछ भन्ने सोचेर फेरि पढ्नतिर लागे।

आइएस्सी पास गरे पनि महतलाई मेडिकल डाक्टर बन्न मन थिएन। त्यही कारण जीवविज्ञान (बायोलोजी) विषय पढ्न आवेदन दिएर ५० प्रतिशत छात्रवृत्ति पाई अमेरिकातर्फ लागेका थिए।  

क्यान्सर अनुसन्धानप्रति रुचि
अमेरिकामा स्नातक तहको दोस्रो वर्षमा पढ्दै गर्दा आफ्नै आमा क्यान्सरसँग लडिरहेको थाहा पाएपछि क्यान्सर अनुसन्धानमा करिअर अघि बढाउने निर्णयमा पुगेको महत बताउँछन्। बाल्यकालमा विद्यालयका शिक्षकले भविष्यमा के बन्ने भनेर सोध्दा ‘वैज्ञानिक बन्छु’ भन्थे उनी। त्यसबेला जानेर–बुझेर नभई साथीहरूभन्दा फरक हुन मन लागेर वैज्ञानिक बन्छु भनेको उनले बताए। “विद्यालयमा सबै जनाले डाक्टर–इन्जिनियर बन्छु भन्थे। आफू अलग देखिन मात्र अरूभन्दा भिन्न उत्तर दिन्थेँ, शिक्षकलाई वैज्ञानिक बन्छु भन्थेँ,” उनले भने। 

आमालाई क्यान्सर देखिएको घटनाले भने महतलाई आफ्नो रुचिको क्षेत्र बुझेर सोहीअनुसार अगाडि बढ्न प्रेरित गर्‍यो। त्यसपछि बाल्यकालमा भनेजस्तै वैज्ञानिक अनुसन्धानतिर उनले योजनाबद्ध रूपमै कदम चाल्दै गए। स्नातक सकिएलगत्तै उनले क्यान्सर अनुसन्धानमा पीएचडी गर्नको लागि कर्नेल विश्वविद्यालयमा आवेदन दिए। त्यो स्वीकृत भएसँगै पढ्दै क्यान्सर सेन्टरमा इन्टर्नशिप गर्नका लागि पनि आवेदन दिए।

कोभिडको समयमा प्रमुख योगदान
महतले कोभिड–१९ महामारीको कठिन समयमा नेपालमा खोप ल्याउन उत्तिकै मिहिनेत गरेका छन्। उनका अनुसार नेपालमा कोभिडको खोप ल्याउन स्वास्थ्य मन्त्रालयले संघर्ष गरिरहेको थियो। सरकारका तर्फबाट खोप निर्माण कम्पनीहरूलाई आधिकारिक चिठी लेखिए पनि कुनै प्रतिक्रिया नआउँदा अन्योल भइरहेको थियो। त्यो अवस्थामा सरकारले देशबाहिर भएका नेपालीसँग सहयोग माग्ने क्रममा महत जोडिएका थिए।

त्यसपछि उनले खोप ल्याउने तरिका खोज्न थाले। कोभिडको खोप बनाउन सफल मोडर्ना कम्पनीका चार संस्थापकमध्येका एक जना महत कार्यरत भवनमै काम गर्थे। उनलाई महतले राति सुत्ने बेलामा नेपाललाई सहयोग गरिदिन अनुरोध गर्दै इमेल लेखे। त्यो इमेल पढेर ती संस्थापकले भोलिपल्ट बिहान ५ बजे नै मोडर्ना कम्पनीका उपाध्यक्षसँग भिडियो कलमार्फत भेटाइदिए। 

त्यसलगत्तै नेपालको स्वास्थ्य मन्त्रालयसँग पनि महतले कुराकानी गरे। प्रारम्भिक चरणको वार्ता सकारात्मक भए पनि अन्तिममा मोडर्नाले कुनै पनि विकासोन्मुख देशलाई खोप नदिने निर्णय गर्‍यो। किनकि मोडर्नाको मूल्य निर्धारण नीति देशहरूको कुल गार्हस्थ उत्पादन (जीडीपी) को सीमामा आधारित थियोे। नेपाललगायत विकासोन्मुख राष्ट्रलाई बेच्दा सस्तोमा बेच्नुपर्ने भएकाले उसले दिएन। 

पहिलो प्रयासमा खोप पाउन असफल भए पनि महतले हार मानेनन्। उनले आफ्नो नोबेल पुरस्कार विजेता प्रोफेसरसँग कुरा गरे। तिनले खोप उत्पादन गर्ने अर्को कम्पनी जोन्सन एन्ड जोन्सनका प्रमुखसँग स्वास्थ्य मन्त्रालयको सम्पर्क मिलाइदिए। मन्त्रालय र कम्पनीबीच वार्ता भएर खरिदको कुरा मिलेपछि अन्ततः नेपालमा खोप आइपुग्यो।

त्यति मात्र होइन। कोभिड संक्रमणका बिरामीको परीक्षण पर्याप्त मात्रामा हुन नसकिरहेको बेला नेपालमै रहेका स्वास्थ्यसम्बन्धी जानकार सुशील थापासँग मिलेर एमआईटीमै विकास भएको पद्दति क्रिस्पर (जसले धेरै जनाको छोटो समयमै परीक्षण गर्न सकिन्छ) लाई नेपाल ल्याउन उनी सफल भए। उनकै अनुरोधमा अनुदान सहयोगका रूपमा दुई लाख डलर बराबरको सामान नेपाल आइपुग्यो। 

नेपालमा योजना र शार्प ल्याबमा जारी अनुसन्धान
महतले सन् २०२० देखि थापालगायतका साथीहरूसँग मिलेर नेपालमा पनि क्यान्सरकै विधामा अनुसन्धानको काम गर्ने प्रयास गरिरहेका छन्। त्यसै क्रममा ललितपुरको हरिसिद्धिमा उच्च प्रविधियुक्त प्रयोगशाला विस्तार गर्न लागेको उनले बताए। “यस प्रयोगशालामा मोलिक्युलर टेस्ट (आणविक परीक्षण)हरू हुनेछन् जसले डीएनए र आरएनएमा भएका म्युटेसनहरूलाई पत्ता लगाउँछ। त्यही अनुसार बिरामीलाई औषधि दिन सकिन्छ,” महतले भने। 

उच्च प्रविधियुक्त प्रयोगशाला बनेमा देशकै लागि फाइदाजनक हुने उनले बताए। “आफ्नै देशमा परीक्षण हुन थालेपछि स्याम्पल इन्डिया वा अन्य राष्ट्रमा पठाउनु परेन। संकलन गरिएका स्याम्पललाई बिग्रिनबाट पनि जोगाउन सकिन्छ। परीक्षण अझ बढी भरपर्दो हुन्छ,” महतले भने, “यसबाट बिरामीको गोपनीयता पनि कायम रहने भयो। सबैभन्दा महत्वपूर्ण कुरा, परीक्षण लागत पनि केही हदसम्म कम हुन सक्छ।” 

नेपालमा प्रयोगशाला विस्तार गर्ने योजनासँगै एमआईटीको शार्प ल्याबमा आफ्नो अनुसन्धान पनि अघि बढाइरहेका उनी त्यहाँ अझै पनि प्रशिक्षार्थीको रूपमा कार्यरत छन्। यतिबेला दुईवटा महत्वपूर्ण विषयमा काम गरिरहेको बताउने उनी भन्छन्, “एउटा सेलको सबै आरएनए मापन गर्न सक्ने सिंगल–सेल प्रविधिको विकासमा काम गर्दैछु। अर्को चाहिँ, प्यांक्रियाटिक क्यान्सरले इम्युनोथेरापीलाई किन प्रतिक्रिया दिँदैन र दिने कसरी बनाउन सकिन्छ भन्नेमा पनि अनुसन्धान गरिरहेको छु।”


सम्बन्धित सामग्री