Thursday, May 02, 2024

-->

खस्किँदो महिला फुटबल: राखेप र एन्फाबीच सुल्झिएन प्रशिक्षक विवाद, घरेलु प्रतियोगिता पनि शून्य

राष्ट्रिय महिला टोलीका लागि एन्फा र राखेपले फरक प्रशिक्षक नियुक्त गरेपछि शुरू विवादले फुटबल प्रशिक्षण नै प्रभावित भएको त छ नै, एन्फासँग महिला फुटबललाई उकास्न कुनै घरेलु प्रतियोगितासमेत छैन।

खस्किँदो महिला फुटबल राखेप र एन्फाबीच सुल्झिएन प्रशिक्षक विवाद घरेलु प्रतियोगिता पनि शून्य

काठमाडौँ- नेपालभन्दा करिब १४ वर्ष ढिला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको बंगलादेशसँग गत वर्षसम्म महिला फुटबलमा सम्झनलायक उपलब्धि थिएनन्। बंगलादेशले एकपटक साफ च्याम्पियनसिपको फाइनल र दुईपटक सेमिफाइनल खेल्नु नै ठूलो उपलब्धि थियो।

भारत र नेपालजस्ता बलिया टोलीका कारण बंगलादेश छायामा पर्दै आएको थियो। नेपाल र भारतसँग छिटपुटरूपमै भए पनि जापान, थाइल्यान्ड, ताजिकिस्तान, उज्वेकिस्तान, कतार, कुवेत, इन्डोनेसिया, अस्ट्रेलिया र दक्षिण कोरियाजस्ता बलिया टोलीसँग खेलेको अनुभव छ। तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सन् २०१० देखि मात्रै पाइला टेकेको बंगलादेशले त्यस्तो अवसर बिरलै पाएको छ।

लगानीकर्ताको खोजीमै १२ वर्ष बिताएको बंगलादेशको महिला फुटबलले अहिले उचाइ लिन थालेको छ। पछिल्लो समय बंगलादेशले भारत र नेपाललाई पराजित गर्दै यू–१९, यू–२० र सिनियर महिला साफ च्याम्पियनसिप उपाधि जितेको छ।

नेपाली राष्ट्रिय महिला टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी पछिल्लो समय बंगलादेशको फुटबलमा देखिएको परिवर्तनको श्रेय उसले गरेको लगानी र युवा टोलीलाई जाने बताउँछिन्। उनी भन्छिन्, “बंगलादेशको स्तर बढेको छ। हामीले भर्खरै खेलेको दुई मैत्रीपूर्ण खेलमा पनि उनीहरू हाबी भए। उनीहरूसँग युवा खेलाडी छन्। ती खेलाडीले ९० मिनेट नथाकिकन खेल्न सक्छन्।”

नेपालले गत महिना ढाकामा साफको साविक विजेता टोली बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। नेपाल पहिलो खेलमा साफ विजेता बंगलादेशसँग १-१ को बराबरीमा रोकिएको थियो। दोस्रो खेल पनि शून्य गोलको बराबरीमा सकिएको थियो। उक्त खेल भने ‘टाइब्रेकर’बाट नतिजा निकालिएको थियो। वैकल्पिक गोलरक्षक अन्जना रानामगरले टाइब्रेकरमा दुई प‍ेनाल्टी बचाएपछि नेपाल ४–२ गोलअन्तरले विजयी हुँदै उपाधि उचाल्यो।

आठपटकको भेटमा नेपाललाई बराबरीमा समेत रोक्न नसकेको बंगलादेशले गत वर्ष साफको फाइनलमा ३-१ गोलले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि बंगलादेशले दुवै खेलमा नेपाललाई बराबरीमा रोक्यो। पहिलो खेलमा त नेपाल हारनजिक पुगिसकेको थियो। तर इन्ज्युरी समयमा सावित्राले गोल गरेपछि हारबाट जोगियो। 

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलको उपाधि जिते पनि उत्साहजनक प्रदर्शन भएन। यसको मुख्य कारण हो महिला फुटबलप्रतिको बेवास्था। फुटबलमा आमुल परिवर्तन ल्याउने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष भएका पंकजविक्रम नेम्वाङको नेतृत्वले अहिले ग्रासरुट फुटबलको विकास गर्न ‘ए’ र ‘बी’ डिभिजनका १० क्लबसँग मिलेर यू–१६ लिग सञ्चालन गरिरहेको छ। महिला लिगलाई भने पूर्णतया बेवास्था गरिएको सावित्रा बताउँछिन्। 

“महिलाको व्यवसायिक फुटबल लिग छैन। अहिले एन्फाले पुरुष यूथ टोलीको लागि समेत यू–१६ लिग गरिरहेको छ। तर महिलाका लागि केटाहरूको जस्तो लिग छैन, म्याच एक्स्पोजर छैन। त्यसतर्फ एन्फाले ध्यान दिइरहेको छैन,” सावित्रा भन्छिन्।

फुटबलको सर्वोच्च निकाय फिफाले बंगलादेश सरकारलाई सन् २००३ मा महिला खेलको विकासलाई प्राथमिकता दिन आग्रह गरेको थियो। उक्त आग्रहपछि बंगलादेशलले पश्चिम बंगालको भारतीय फुटबल संघसँग सहयोग मागेको थियो। भारतीय फुटबल संघले तीन खेलको मैत्रीपूर्ण प्रतियोगिताका लागि २० खेलाडीको टोली बंगलादेश पठायो। त्यहाँका धार्मिक कट्टरपन्थीहरूले भने महिला फुटबलको कडा विरोध गरे। महिला फुटबल अपमानजनक र अश्लील भन्दै प्रतियोगितालाई भाँड्ने प्रयास गरे।

विरोधका बाबजुद जेसोरमा भएको पहिलो खेलमा १० हजार समर्थक उपस्थित थिए। तर बढ्दो सुरक्षा चिन्ताका कारण दोस्रो खेल मिरपुरको खाली रंगशालामा खेलाइयो। प्रदर्शनले तीव्रता पाएपछि पश्चिम बंगाल टोली अन्तिम खेल नखेली स्वदेश फिर्ता भयो। दुवै खेलमा पराजय बेहोरे पनि बंगलादेशमा महिला फुटबलको 'झिल्को' बल्यो। यो झिल्को दुई दशकमा ज्वालामा परिणत भएको छ।

बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय खेल भने सन् २०१० जनवरी २९ मा ढाकामा नेपालविरुद्ध नै खेलेको थियो। बंगलादेश र नेपाल दक्षिण एसियाली खेलकुद अन्तर्गतको खेलमा प्रतिस्पर्धा गरेका थिए। 

त्यसको एक वर्षपछि बंगलादेशले महिला लिग शुरू गर्‍यो। त्यसअघि सन् २००७ देखि नै महिला फुटबल विकास र प्रवर्द्धन गर्न फिफाको ‘भिजन एशिया’ कार्यक्रमअन्तर्गत विद्यालय प्रतियोगिताहरू आयोजना गर्दै आएको थियो। बंगलादेश फुटबल महासंघ (बीएफएफ)को प्रयासका कारण महिला फुटबलमा पनि सर्वसाधारणको चासो बढ्यो। ग्रासरुट कार्यक्रमहरूदेखि घरेलु प्रतियोगितासम्ममा महासंघले पुरूष टोलीलाई झैँ प्राथमिकतामा राख्यो। सन् २०१२ मा महिला फुटबलको लागि व्यापक संरचना निर्माण गर्न थाल्यो।

राष्ट्रिय महिला लिगबाहेक महासंघले प्रतियोगितालाई बलियो बनाउन देशका सबै कुनाका खेलाडीहरूलाई आकर्षित गर्न र राष्ट्रिय टोली बलियो बनाउन बंगमाता शेख फजिलातुन्नेसा मुजिब गोल्डकप पनि आयोजना गर्न थाल्यो। यहीँबाट जन्मिए अन्तर्राष्ट्रिय खेलाडी  सविना खातुन, कृष्णरानी सरकार, मारिया मण्डा र सन्जिदा अक्तारलगायतका अन्तर्राष्ट्रिय खेलाडी।

यस्ता क्षमता र प्रतिभावान् खेलाडी जन्माउन नेपाली फुटबलमा पनि बंगलादेशको झैँ बलियो लिग आवश्यक रहेको सावित्रा बताउँछिन्। “बंगलादेशले घरेलु फुटबल बलियो बनाएर युवा खेलाडी उत्पादन गरिरहेको छ। यसको नतिजा हामीले देखेका छौँ। तर, नेपालमा व्यावसायिक महिला लिग नै छैन," उनी भन्छिन्, "हामीले सिधै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छौँ। ब्वाइजहरूको झैँ उमेर समूहमा महिला लिग भए राष्ट्रिय टोलीलाई गर्ने अझै राम्रा खेलाडी आउँथे।”

विवादको दलदलले ओरालो लाग्दै फुटबल
विगतको तुलनामा पछिल्लो समय महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता बाक्लै सहभागिता जनाएको छ। यू–२० टोली गत माघमा साफ च्याम्पियनसिप उपविजेता बनेको थियो। यो टोली एएफसी यू–२० महिला एशियन कपको दोस्रो चरणको छनोटमा पनि सहभागी भयो। यू–१७ टोलीले बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा सहभागिता जनायो।

सिनियर टोलीले पनि भारत र बंगलादेशसँग चार मैत्रीपूर्ण खेल खेल्यो। साफ च्याम्पियनसिप र पेरिस ओलम्पिकको एशिया छनोटअन्तर्गत पहिलो चरणमा भियतनामसँग खेल्यो। साफबाट फरवार्ड अमिषा कार्की, मिडफिल्डर दीपा शाही र डिफेन्डर समीक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यू गरे। त्यसअघि, भियतनामविरुद्धको खेलबाट प्रीति राई, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला विक र सिर्जना सिंहले एकैपटक डेब्यू गरेका थिए। 

यी खेलाडीले पर्याप्त घरेलु प्रतियोगिता खेल्नै पाएका छैनन्। उनीहरूले अन्तिमपटक २०७८ चैतमा राष्ट्रिय महिला लिग खेलेका थिए। त्यसपछि कोरोना महामारीले लिग भएन। यसैबीच एन्फामा नयाँ नेतृत्व आयो तर महिला लिग खेलाउनै सकेन। घरेलु फुटबल नहुँदा महिला टोलीको प्रदर्शन ओरालो लाग्न थालेको छ।

साफको सेमिफाइनलमा भारतलाई १–० ले पराजित गरेको नेपालले त्यसपछिका दुई मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेन। साफको उपाधि भिडन्तमा पहिलोपटक ३–१ गोलअन्तरले बंगलादेशसँग पराजित भयो। बंगलादेशसँग भएका अरू दुवै मैत्रीपूर्ण खेल पनि बराबरीमा टुंगिए। पेरिस ओलम्पिक छनोटअर्न्तगतका दुवै खेलमा भियतनामसँग पराजित भयो। 

युवा टोलीको प्रदर्शन उत्तिकै निराशालाग्दो रह्यो। एएफसी यू–२० महिला एशियन कप छनोटको पहिलो चरणमा प्यालेस्टाइनलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको नेपाली टोलीले म्यानमार, चीन र चाइनिज ताइपेईविरुद्ध गोल गर्न सकेन। साफ यू–१७ मा पनि नेपालले भुटनाबाहेक अन्य टोलीलाई हराउनै सकेन।

एन्फाभित्र देखिएको आन्तरिक समस्याले खेलाडीहरूको प्रदर्शनमा कतिसम्म असर गर्न सक्छ भन्ने छर्लंग देखिएको फुटबल जानकारहरू बताउँछन्। एन्फा निर्वाचनमा कर्माछिरिङ शेर्पाको पराजयसँगै देखिएका विभिन्न गुटबीचको द्वन्द्व र क्लबसँग बढेको दूरीका कारण महिला फुटबल गतिविधि अगाडि बढ्न सकेको छैन। अझ नयाँ स्वरूपमा गर्ने भनिएको लिगका लागि एन्फाले ‘ए’ डिभिजन क्लबहरूसँग प्रस्ताव नै राख्न सकेको छैन। 

जसकारण खेलाडीहरूले बलियो मानसिकतासहित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको राष्ट्रिय टोलीका प्रशिक्षक अनन्तराज थापा बताउँछन्। “हामीसँग खेल्नुअघि बंगलादेशले डेढ महिनादेखि प्रशिक्षण गरिरहेको थियो। तर हामीले विभिन्न समस्याको कारण तीन दिनभन्दा बढी प्रशिक्षण गर्न पाएनौँ। जसले गर्दा राम्रो नतिजा निकाल्न सकेनौँ,” उनी भन्छन्।

एन्फाभित्र गुटहरूबीचको विवाद र महिला फुटबलप्रतिको बेवास्थाका कारण गत वर्ष काठमाडौँमै भएको साफ सकिएपछि कुमार थापाले प्रशिक्षकबाट राजीनामा दिए। त्यसयता अनन्तले नै महिला टोली सम्हाल्दै आएका छन्। उनको प्रशिक्षणमा नेपाली टोलीले ६ खेल खेलेको छ। तर बंगलादेशविरुद्ध टाइब्रेकरमा विजयी भएको बाहेक नेपाल जितविहीन छ।

एन्फाका केन्द्रीय सदस्य अनिल मल्ल संस्थामा आउनुपूर्व अध्यक्ष नेम्वाङले लगाएको परिवर्तनको नाराले विश्राम पाउनु, अवैधानिक, अनियमितता र मनपरीतन्त्रले पश्रय पाउनु लगायत कारणले फुटबल ओरालो लागिरहेको बताउँछन्। “परिवर्तनका सबै नाराले विश्राम पाएका छन्, फुटबलका लागि मरिहत्ते गर्ने सबैलाई ठगिएको छ। समय बर्बादीका साथै अवैधानिक, अनियमितता अनि मनपरितन्त्रको यात्रामा तल्लीन वर्तमान नेतृत्वको कार्यशैलीले नेपाली फुटबलको व्यवस्थापन र विकास दुवैलाई जरजर बनाएको छ,” उनी भन्छन्।

अहिले एन्फा चरम आर्थिक समस्यामा छ। अडिट गर्न ढिला गरेपछि फिफा र दक्षिण एशियाली फुटबल महसंघ (एएफसी)ले ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको छ। त्यसैले एन्फाले गत जेठ अन्तिममा सकिएको ‘ए’ डिभिजन लिगका १४ क्लबहरूलाई बक्यौता रकम चुक्ता गर्नसमेत सकेको छैन। यस्तै, ‘बी’ डिभिजनका १४ क्लबको बक्यौता रकम पनि बाँकी छ भने लिग अझै शुरू गर्ने छाँटकाट देखाएको छ। 

एन्फाले यो वर्ष महिला लिग गराउने सम्भावना नै छैन। सिनियर महिला फुटबलले अब असोज पहिलो साता चीनको होन्जाउमा आयोजना हुने १९औँ एशियाली खेलकुदमा सहभागिता जनाउने छ। यू–१७ टोलीले यूईएफए असिस्ट महिला च्याम्पियनसिप खेल्दैछ। त्यसपछि महिला फुटबलको कुन प्रतियोगिता हुन्छ भन्ने एन्फालाई समेत थाहा छैन।

यो पनि: घरेलु प्रतियोगिता शून्य, लक्ष्य विश्वकपको

चार वर्षपछि महिला विश्वकप खेल्ने सपना लिएर हिँडेको टोलीको अवस्था खस्किँदा यसलाई उकास्ने जिम्मेवारी पाएको एन्फा महिला संघ आफैँ विवादको सामना गरिरहेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यसमेत रहेकी एन्फा महिला संघ अध्यक्ष पेमा लामा र केन्द्रीय सदस्य सरिला श्रेष्ठबीचको विवाद अहिले उत्कर्षमा छ। 

बंगलादेश उड्नुअघि एकै टोलीमा दुई प्रशिक्षक नियुक्त भएपछि उनीहरूबीचको सम्बन्ध चिसिएको थियो। कर्माछिरिङ शेर्पाको कार्यकालमा नै महिला संघ हाँकेकी पेमा राखेपले नियुक्त गरेको महिला टोली मुख्य प्रशिक्षक अरुणा गुरुङ पक्षमा छिन्। तर अरुणाले भने बालगोपाल महर्जनसमेतको सहयोगमा प्रशिक्षण गराएकी थिइन्। 

यता, एन्फाले भने गत निर्वाचनमा सहयोग गरेको कारण विभागीय टोली सम्हालिसकेका अनन्त थापालाई प्रशिक्षक नियुक्त गरेको छ। केन्द्रीय सदस्य सरिला अनन्तको पक्षमा छिन्। महिला टोली लिएर बंगलादेश पनि अनन्त नै गएका थिए।

बंगलादेशबाट फर्किएपछि पनि एशियाली खेलकुदमा नेपाली टोली कसको प्रशिक्षणमा जाने भन्ने विवाद सुल्झिन नसकेको एन्फाका एक पदाधिकारीले बताए। “महिला फुटबल पछिल्लो समय लगातार डाउनफलमा छ। महिला फुटबललाई अगाडि लैजान हातेमालो गर्नुपर्ने बेला उहाँहरू चुनावको बेला गरेको सहयोगको गुण तिर्न लाग्नुभएको छ, जुन दुर्भाग्यपूर्ण हो,” ती पदाधिकरी भन्छन्।

राखेपले चीन जाने टोलीको तयारीदेखि सम्पूर्ण खर्च आफैँले बेहोर्ने छ। खर्च कटौती गर्न भन्दै राखेपलले अरुणालाई महिला टोलीको जिम्मेवारी दिएको थियो। तर एन्फाले भने आफ्नै प्रशिक्षक नियुक्त गरेर विवाद झिकेको ती पदाधिकारी बताउँछन्। जसकारण राखेपको प्रतिनिधित्व गर्दै आएका पेमा र अध्यक्ष नेम्वाङ पक्षकी सरिलाबीच विवाद चर्किएको उनको भनाइ छ। 

विवादका कारण खेलाडीहरू भने चिन्तामा छन्। देशमै खेलेर भविष्य बनाउने सपना देखेका खेलाडीहरूलाई कतै पुरूष खेलाडी झैँ विदेशिनुपर्ने त होइन भन्नेमा पनि उत्तिकै चिन्ता छ। “उहाँहरू यो गर्छौँ त्यो गर्छौँ त भन्नुहुन्छ। तर फुटबललाई मिलेर विकास गरौँ भन्नेमा उहाँहरूको जोड नै छैन। यसले गर्दा कहिले त फुटबल नै खेल्न नपाउने हो कि, या पुरूष खेलाडीझैँ विदेशिनुपर्ने पो हो कि भन्ने चिन्ता लाग्न थालेको छ,” राष्ट्रिय टोलीकी एक खेलाडी भन्छिन्। 

खेलाडीहरू पछिल्लो समय एन्फाको विवाद र खस्किँदो नतिजाबाट आजित भइरहँदा प्रवक्ता सुरेश शाह भने योजना बनाएर अगाडि बढ्नेबारे छलफल भइरहेको बताउँछन्। तर एन्फाले तोकेकै प्रशिक्षक चीन जाने उनको अडान छ। “संघले नै आफ्नो टोलीको प्रशिक्षक नियुक्त गर्ने हो। हामीले अनन्तज्यूलाई नियुक्त गरिसकेका छौँ। यस निर्णयबाट कुनै पनि हालतमा पछाडि हट्दैनौँ,” उनी भन्छन्।

महिला फुटबलले सम्भावना बोकेको कारण एन्फाले प्राथमिकतामा राखेको शाहको दाबी छ। महिला टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको अवसर मिलिरहेको र लिगबारे पनि चाँडै टुंगो लाग्ने उनको भनाइ छ। “हामी गम्भीर नै नभएका होइनौँ। मैले यसअघि पनि भनिसके हामी व्यवसायिक लिगमा प्रवेश गर्नुपर्छ। नगरपालिकाको टिमबीच भन्दा पनि ‘ए’ डिभिजन खेलिरहेका क्लबको महिला टोली बनाएर लिगलाई सुव्यवस्थित गर्नुपर्छ भन्नेतर्फ लागेका छौँ। यसले राष्ट्रिय टोलीलाई बलियो बनाउँछ,” उनी भन्छन्।

नेपालमा फुटबलका बाक्लो समर्थककै कारण पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाइरहेको छ। तर विवाद र नेपाली टोलीको खस्किँदो प्रदर्शनले ‘स्टार्टिङ’ पोइन्टबाट सँगै दैडिएका प्रतिस्पर्धी फिनिसिङ लाइनमा पुगिसक्दा पनि नेपाल जहाँको त्यहीँ हुने जोखिम रहेको खेलाडीहरू नै बताउँछन्।


सम्बन्धित सामग्री