Thursday, May 02, 2024

-->

एपीएफले महिला फुटबलर 'रिलिज' नगरेपछि राष्ट्रिय टोली संकटमा

'ए' डिभिजनबाट रेलिगेसनमा परेको एपीएफले खेलमा मिलेमतो भएको भन्दै एन्फामा उजुरी दिएको थियो। उक्त उजुरीमा छानबिन नभएपछि क्लबमा आबद्ध महिला खेलाडीलाई एपीएफले राष्ट्रिय टोलीका लागि रिलिज गरेको छैन।

एपीएफले महिला फुटबलर रिलिज नगरेपछि राष्ट्रिय टोली संकटमा

काठमाडौँ- महिलाको राष्ट्रिय फुटबल टोलीले असार २८ र ३१ गते बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसपछि असोज पहिलो हप्ता १९औँ एशियाली खेलकुद खेल्नेछ। एशियाली खेलकुदकै तयारीका लागि नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। 

उक्त प्रतियोगिताका लागि २२ खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत आइतबार बन्द प्रशिक्षणमा बोलाएको थियो। मुख्य प्रशिक्षक अनन्त थापाले प्रशिक्षणमा बोलाएका २२ मध्ये ११ खेलाडी सशस्त्र प्रहरीको एपीएफ क्लबमा आबद्ध छन्। तर, शहीद स्मारक 'ए' डिभिजन लिगका क्रममा एन्फासँग भएको विवादका कारण एपीएफले खेलाडी रिलिज नगर्दा राष्ट्रिय टोलीमा अनुभवी र प्रभावशाली फुटबलर नहुने जोखिम बढेको छ।

एपीएफमा आबद्ध गोलकिपर एञ्जिला तुम्बाप्पो राष्ट्रिय टोलीकी कप्तान हुन्। नेपालका लागि सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी पनि एपीएफमै छिन्। मिडफिल्डर रेनुका नगरकोटी, सरू लिम्बु, अनिता बस्नेत, प्रिती राई, अनिता केसी र सबिता रानामगर पनि उक्त क्लबमा छन्। यस्तै, डिफेन्स लाइन सम्हालिरहेका हिराकुमारी भुजेल, गीता रानामगर र निशा ठोकर एपीएफबाटै खेल्छन्।

मुख्य प्रशिक्षक थापा भने बुधबार अपरान्हबाट खेलाडीहरू प्रशिक्षणमा आउने दाबी गर्छन्। उनी भन्छन्, "मैले सबै खेलाडीलाई प्रशिक्षणमा बोलाएको छु। उनीहरूले आज (बुधबार) अपरान्हबाट प्रशिक्षणमा आउने बताएका छन्।"

एन्फा प्रवक्ता सुरेश शाह भने प्रशिक्षणमा एपीएफका खेलाडी सहभागी हुने जानकारी अहिलेसम्म एन्फालाई प्राप्त नभएको बताउँछन्। राष्ट्रले खेल्ने प्रतियोगिता भएको कारण आफूहरूले पटकपटक खेलाडी रिलिज गर्दिन आग्रह गरे पनि एपीएफले आनाकानी गरेको उनको भनाइ छ। अनुभवी खेलाडी राष्ट्रिय टोलीमा नहुँदा गलत सन्देश जाने भएको कारण सहमति खोज्ने प्रयास गरिरहेको प्रवक्ता शाह बताउँछन्।

खेलाडीहरू भने आफूहरू दुई संस्थाको चेपुवामा परेको गुनासो गर्छन्। अन्तर्राष्ट्रिय प्रतियोगिता नजिकिँदै गर्दा पर्याप्त अभ्यास र मैत्रीपूर्ण खेल आवश्यक भए पनि बिनागल्ती आफूहरूलाई खेलबाट बञ्चित गर्न थालिएको उनीहरूको गुनासो छ। “हामी खेलाडी हौँ, हामीलाई एपीएफ र एन्फाबीचको लडाइँ के हो भन्नेमा सरोकार छैन। तर, दुई संस्थाबीच सहजीकरण नहुँदा हामी चेपुवामा परेका छौँ। हामीलाई रिलिज गर्दिए खेल्न तयार छौँ,” एक खेलाडीले भनिन्।

के हो विवाद?
शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत संकटा र फ्रेन्डस क्लब तथा थ्री स्टार र चर्च ब्वाइजबीचको खेलमा मिलेमतो भएको भन्दै एपीएफले छानबिन गर्न माग गरेको थियो। जेठ २३ र २४ गते भएका ती खेलमा मिलेमतो हुँदा रेलिगेसनमा परेको एपीएफको दाबी छ। अन्तिम खेलअगाडि नै चर्च ब्वाइज लिग विजेता भइसकेको थियो भने, फ्रेन्डस, थ्री स्टार र एपीएफबीच रेलिगेसनबाट जोगिने प्रतिस्पर्धा थियो।

चर्च ब्वाइजविरुद्ध जेठ २३ मा भएको खेलमा भिसा अवधि सकिएका पिटर सेगुन र अजयी मार्टिन्सलाई थ्री स्टारले खेलाएको अर्को उजुरी पनि एन्फामा परेको छ। ती खेलाडीको नक्कली श्रम स्वीकृति बनाएर मैदान उतारेको एपीएफको दाबी छ। उक्त उजुरीबारे सुनुवाइ नभएको भन्दै एपीएफले खेलाडी रिलिज गर्न अस्वीकार गरेको हो। 

एपीएफ खेलकुद विभागका एक उच्च अधिकारीले भने, “दुई टोलीले एकअर्काको पोस्टमा गोल हाने पो फुटबल हुन्छ। तर, रेलिगेसनबाट बच्न एक टोलीले मात्रै विपक्षीको पोस्टमा गोल हानिरहने प्रवृत्ति देखियो। फुटबलको लागि यो दुर्भाग्य हो। यसलाई रोक्नुपर्छ भनेर हामीले एन्फालाई पटकपटक भन्यौँ, तर कुनै चासो नदिएपछि महिला खेलाडीलाई रोकेर दबाब सिर्जना गरेका हौँ।”

यद्यपि, आफूहरू खेलाडीले खेल्न पाउनुपर्ने पक्षमा रहेको ती अधिकारीले बताए। नियमविपरीत भएको खेलको निष्पक्ष छानबिन गरी फिफा, एएफसीको 'कोड अफ कन्डक्ट' तथा 'इन्टिग्रिटी' नियमानुसार आवश्यक कारबाही गर्नुपर्ने मागबाट पछि हट्न सक्ने अवस्था नरहेको उनले बताए। 

“एन्फालाई आफ्नो दायित्व सम्झाइदिएका हौँ। तर, एन्फा दायित्वबाट परपर भाग्दैछ। यसले हामीलाई मात्रै होइन, नेपाली फुटबललाई समेत धुमिल बनाउँछ। अहिले कारबाही भएन, छानबिन भएन भने अपराध गर्नेले त सधैँ गरिरहन्छ। त्यसैले हाम्रो माग पूरा नभएसम्म हामी पछाडि हट्दैनौँ,” उनले भने।

एन्फा प्रवक्ता शाह भने उजुरीमाथि छानबिनको तयारी गरिरहेको बताउँछन्। “यसमा समय लाग्छ नि, उहाँहरूले यो कुरा बुझिदिनु पर्ने हो। हामी अनुसन्धान गर्दैछौँ, अहिलेका लागि खेलाडी पठाइदिनुस्, प्रशिक्षण गर्न ढिला भयो भनिरहेका छौँ,” उनी भन्छन्।

एन्फाले खेलाडी रिलिज गर्नेबारे सहजीकरण गरिदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई पनि अनुरोध गरेको प्रवक्ता शाहले बताए। एन्फा महासचिव किरण राईले मंगलबार सदस्यसचिव घिसिङलाई भेटेर एपीएफसँग सहजीकरण गर्दिन आग्रह गरेका थिए। उक्त भेटपछि घिसिङले एपीएफसँग वार्ता गर्ने वचन दिएको शाह बताउँछन्। 

एन्फाले पनि राष्ट्रिय टोलीका खेलाडीलाई प्रशिक्षणमा आउन निर्देशन दिएको छ। “यो क्लबस्तरीय प्रतियोगिता होइन। राष्ट्रको सवाल छ, राष्ट्रले सहभागिता जनाउने प्रतियोगिता भएको कारण एपीएफले सहजीकरण गरिदिनुपर्ने हो,” उनी भन्छन्।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा राष्ट्रिय टोलीको तयारीका लागि खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा क्लबले अनिवार्य रिलिज गर्नुपर्ने बताउँछन्। यसमा क्लब र एन्फाले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ।

“राष्ट्रिय टिममा क्लबबाटै खेलाडी जाने हो। एन्फा आफैँले खेलाडी उत्पादन गरेर राष्ट्रिय टोली निर्माण गर्ने होइन। एन्फा पनि कुनै स्थानमा लचिलो हुनुपर्छ,” पूर्वअध्यक्ष शेर्पा भन्छन्, “तर, एन्फाको व्यवहार अहिले त्यस्तो देखिएन। ढिलासुस्ती र उदासिनताको कारण अहिलेको घटना सिर्जित भएको हो। यसलाई उनीहरू दुवै मिलेर सुल्झाउनु पर्ने हो।”

यसअघि, साफ च्याम्पियनसिपका लागि 'ए' डिभिजनका १० क्लबले खेलाडी रिलिज नगर्दा एक दिनको बन्द प्रशिक्षण गरेर पुरूष टोली फिलिपिन्स उडेको थियो। त्यहाँ एक मैत्रीपूर्ण खेल खेलेर टोली सिधै भारतको बैंग्लोर पुग्यो। पर्याप्त प्रशिक्षण गर्न नपाएको नेपाली टोली सन् २०१५ पछि पहिलोपटक समूह चरणबाटै बाहिरिएको छ।

विवादका कारण यसपटक महिला टोलीले पनि तयारीका लागि पर्याप्त समय नपाउने जोखिम बढेको छ। यसका लागि एन्फाले सहजीकरण गर्नुपर्ने शेर्पाको भनाइ छ। एपीएफले भनेजस्तो खेलमा केही शंका गर्ने आधार भएको पनि उनको दाबी छ। 

“विदेशी खेलाडीदेखि खेलको कुरासम्म शंका गर्ने आधार थिए। ती आधार लिएर जाँदा एन्फाले १० दिनभित्र समस्या समाधान गर्नुपर्ने हो। तर, समस्या समाधान नगर्दा एपीएफ भड्कियो," उनी भन्छन्, "एपीएफ भड्किनु स्वाभाविक पनि छ। एन्फाले ढिलासुस्ती नगरेको भए यो कुरा उहिल्यै सल्टिसक्थ्यो र राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको हुन्थ्यो।”

यू-२० टोली भए पनि खेलाउँछौँ: एन्फा
एन्फा र एपीएफ दुवै आफ्नो अडानमा हुँदा प्रशिक्षणमा बोलाइएका सबै खेलाडी राष्ट्रिय टोलीमा उपलब्ध रहने सम्भावना कम भएको छ। एन्फाले एपीएफबाट प्राप्त उजुरीमाथि कुनै छानबिन शुरू गरेको छैन। एपीएफले एन्फामा जेठ २८ गते उजुरी गरेको थियो।

उक्त उजुरीमाथि छानबिन नै नभएपछि एपीएफ एन्फासँग आमुन्नेसामुन्ने भएको हो। एन्फा पनि अनुभवी खेलाडीबिना नै राष्ट्रिय टोली बनाउने तयारीमा छ। एपीएफले खेलाडी रिलिज नगरे यू-२० टोली लगेर मैत्रीपूर्ण खेल र एशियाली खेलकुद खेलाउने एन्फाको तयारी छ।

यू-२० टोली एएफसी एशियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेल खेलेर जेठ २९ गते म्यानमारबाट स्वदेश फर्किएको थियो। एक पदाधिकारीका अनुसार प्रतियोगिताबाट नाम फिर्ता लिँदा महिला फुटबलमाथि नै अन्याय हुने अवस्था सिर्जना भएको कारण ‘ब्याकअप’को रूपमा यू-२० लाई तयारी अवस्थामा रहन एन्फाले भनिसकेको छ। 

“राष्ट्रिय टोलीका लागि खेलाडी छाड्दिन भनेर अत्तो थापेर हुन्छ? यसले के असर पर्छ भन्ने एपीएफले हेक्का राख्नुपर्दैन? यसरी हामीलाई गाह्रो बनाइरहे यू-२० टोली बोलाएर भए पनि तयारी गर्छौँ," ती पदाधिकारीले भने "अहिलेलाई कन्ट्रोभर्सी न्यूजमा किन जानु भनेर हामीले केही नभनेका हौँ। आवश्यक परे मैदान उत्रिन अर्को टोली तयार छ।”

यू-२० टोलीले पछिल्लो समय नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ। उक्त टोली गत माघमा बंगलादेशमा आयोजना भएको साफ महिला च्याम्पियनसिपमा उपविजेता भएको थियो। गएको जेठमा एएफसी छनोटको दोस्रो चरण खेलेको थियो। पहिलो चरणमा प्यालेस्टाइनललाई पराजित गरेको नेपाल दोस्रो चरणमा भने जितविहीन रह्यो। 

आफूभन्दा माथिल्लो वरीयतामा रहेका चीन, म्यानमार र चाइनिज ताइपेसँग नेपाल पराजित भएको थियो। यही टोलीका अधिकांश खेलाडी भविष्यमा सिनियर टोलीमा पुग्ने भएको कारण ‘एक्सपोजर’ दिलाउन भए पनि एन्फाले प्रतियोगितामा सहभागिता जनाउने ती पदाधिकारीले बताए।


सम्बन्धित सामग्री