Saturday, April 27, 2024

-->

उपाधिको ३८ वर्ष लामो भोक तोड्ने लक्ष्यमा नेपाल

फिफाको वरियतामा ७४औँ स्थानमा रहेको जोर्डन र ९३औँ स्थानमा रहेको गुआमबाहेक अन्य टोली नेपालभन्दा तुलनात्मक रूपमा कमजोर मानिन्छन्। त्यसैले यसपटक उपाधि जित्ने टोलीको दह्रो आत्मविश्वास छ।

उपाधिको ३८ वर्ष लामो भोक तोड्ने लक्ष्यमा नेपाल

काठमाडौँ– “स्वाभाविक रूपमा आफ्नो खेल खेल्यौँ भने हाम्रो जित्ने चान्स छ। त्यसैले यसपटक उपाधिका साथ घर फर्किने प्रयास रहन्छ।” नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापोले  वाफ (पश्चिम एशियाली फुटबल महासंघ) महिला च्याम्पियनसिप २०२४ खेल्न जानुअघि गत शुक्रबार यो उद्घोष गरेकी हुन्।

सोही उपाधिको लक्ष्य पछ्याउँदै नेपाली टोली अहिले साउदी अरब पुगेको छ। मंगलबारदेखि शुरू भएको प्रतियोगितामा नेपालले बुधबार सिरियासँग खेल्दै आफ्नो अभियान थाल्ने छ। अन्जिला भन्छिन्, "यसपटक वरियतामा समान रहेका टोलीहरूसँग भिड्दै छौँ। उनीहरूले पनि नेपालविरुद्ध पहिलो पटक खेल्ने छन्।"

उनले भनेजस्तै साउदी अरबले पहिलो पटक आयोजना गरेको यस प्रतियोगिता नेपालका लागि उपाधिको खडेरी तोड्ने सुनौलो अवसर हुने छ। यस प्रतियोगितामा आयोजक साउदीसहित लेबनान, गुआम र जोर्डनसँग कठिन मानिएको समूह ‘ए’ मा परेको छ। अर्को समूहमा नेपालसहित इराक, प्यालेस्टाइन र सिरिया रहेका छन्।

समूहमा उत्कृष्ट हुने दुई/दुई टोली सेमिफाइनलमा पुग्ने छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा ७४औँ स्थानमा रहेको जोर्डन र ९३औँ स्थानमा रहेको गुआमबाहेक अन्य टोली नेपालभन्दा तुलनात्मक रूपमा कमजोर मानिन्छन्। त्यसैले यसपटक उपाधि जित्नेमा उनी आत्मविश्वासी देखिन्छिन्।

प्रशिक्षणको क्रममा कप्तान अन्जिला।

झन्डै चार दशकको उपाधि भोक
सन् १९८० को मध्यमा राष्ट्रिय महिला टोली बनाएको नेपालले करिब पाँच वर्षपछि मात्रै एएफसी महिला च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने अवसर पाएको थियो। रमा सिंहको कप्तानीमा मैदान उत्रिएको नेपालले सन् १९८६ डिसेम्बर १४ मा आयोजक हङकङसँग पहिलो खेल खेलेको थियो। तर नेपाल १–० गोल अन्तरले पराजित भयो। समूह ‘बी’ मा रहेको नेपाल थाइल्यान्डसँग ५–० र इन्डोनेसियासँग ६–० गोलअन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो।

उक्त टोलीले सन् १९८९ र १९९९ को प्रतियोगितामा पनि सहभागिता जनाएको थियो। तर सबै खेलमा नेपाल जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो। त्यसक्रममा हङकङसँग तीन, इन्डोनेसियासँग आठ, थाइल्यान्डसँग पाँच र जापानसँग २८ गोल खाएको नेपालले उज्वेकिस्तानसँग भने पहिलो गोल गरेको थियो। सन् १९९९ नोभेम्बर १६ मा भएको खेलमा नेपाल ६–१ गोल अन्तरले पराजित भए पनि पेमा लामाले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएकी थिइन्। 

त्यसयता नेपाली टोलीले ८४ अन्तर्राष्ट्रिय र तीन प्रदर्शनीसहित ८७ खेल खेलिसकेको छ। पाँच पटक साफ, सन् २०१९ मा भारतमा आयोजना भएको महिला गोल्डकप र सोही वर्ष किर्गिस्तानमा आयोजित नादेज्दा कपमा नेपाल उपविजेता भइसकेको छ। यस्तै, तीन पटक दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल तृतीय भएको रेकर्ड छ। तर उपाधि भने हासिल गर्न सकेको छैन।

यसपटक टोलीमा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीसँगै नेपालको उमेर समूहबाट खेलिसकेकी फरवार्ड चन्द्रा भण्डारी, मिडफिल्डर सरस्वती हमाल र डिफेन्डर सविना चौधरी नयाँ अनुहारको रूपमा थपिएका छन्।

अनिता बस्नेत

त्यसमाथि अन्जिला, गीता राना, दीपा शाही, प्रीति राई, रश्मिकुमारी घिसिङ र अमृता जैसीजस्ता आधा दर्जन खेलाडीसँग भारतमा लिग खेलिरहेको अनुभव भएको कारण राम्रो नतिजा आउने कप्तान अन्जिला बताउँछिन्। यस प्रतियोगितामा राम्रो प्रदर्शन गरे अर्को पटक पनि बोलाउने सम्भावना भएको कारण उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ। 

“हामी ६ जनाजति भारतमै खेलिरहेका थियौँ। तीन दिन हामीले नेपाल आएर अभ्यास गर्‍यौँ। टिममा सबैजना प्लेअर राम्रै छन्,” उनी भन्छिन्, “यो राम्रो अवसर हो। यसपटक राम्रो गर्‍यो भने अर्को पटक पनि बोलाउँछ होला। त्यसैले राम्रै गर्नुपर्छ।”

रेनुका र सरुको अभाव
चोटको कारण यसपटक अनुभवी दुई खेलाडी रेनुका नगरकोटी र सरु लिम्बूले भने प्रतियोगिता गुमाएका छन्। २५ अन्तर्राष्ट्रिय खेल खेलिसकेकी रेनुका महिला टोलीको पूर्वकप्तानसमेत हुन्। यद्यपि उनी गत असारदेखि घाइते छिन्। एशियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहँदा रेनुका घाइते भएकी थिइन्। प्रशिक्षणको क्रममा लडेपछि उनको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको थियो। चोटको शल्यक्रिया गरिसकिएको छ। उनी घाइते भएपछि अन्जिलाले कप्तानी गर्दै आएकी छन्।

मिडफिल्डर सरु गत असोज पहिलो साता १९औँ एशियाली खेलकुदअन्तर्गत भियतनामविरुद्धको खेलमा घाइते भएकी थिइन्।

मिडिफिल्डर सरु लिम्बु।

भियतनामविरुद्धको खेलको ३५औँ मिनेटमा घाइते भएकी सरुको बायाँ खुट्टाको एसीएल र मिनिस्क्समा चोट लागेको छ। उनी करिब पाँच महिना मैदानबाहिर रहनेछिन्। दुवै अनुभवी खेलाडी भएको कारण उनीहरूको अभाव खड्किने मुख्य प्रशिक्षक राजेन्द्र तामाङ बताउँछन्। यद्यपि नयाँ खेलाडीले उमेर समूहमा राष्ट्रको प्रतिनिधित्व गरिसकेको कारण केही सहज हुने उनको भनाइ छ। 

“एशियन गेम्समा सरुको खेल हेर्दा एकदमै हाइ थियो। उसको इन्डुरेन्स पावर राम्रो थियो। मिडफिल्डर भए पनि जता पनि भ्याइदिने स्वभाव थियो। खेलिरहेको मान्छे नहुँदा अभाव त खड्किन्छ। तर त्यस्तै मान्छे बनाउने कोसिस गरिरहेको छु,” प्रशिक्षक तामाङ भन्छन्।

फिट्नेस र तालमेलमा डर
‘प्लेइङ सेट’का मुख्य सात जना खेलाडी बाहिर हुँदा तालमेलमा कमी हुनसक्ने डर प्रशिक्षक तामाङमा रहेको छ। यसपटक मुख्य फरवार्ड सावित्रा भण्डारी पनि युरोपियन लिग खेल्न फ्रान्स पुगेको कारण योजना राम्रो बनाउन नपाएको उनी सुनाउँछन्।

आफूले करिब तीन हप्ता बन्द प्रशिक्षण चलाएको तामाङ बताउँछन्। तर भारतमा लिग खेलेका खेलाडी तीन दिन मात्रै प्रशिक्षणमा सहभागी भएका थिए। सावित्रा नहुनु अनि भारतमा लिग खेलिरहेका खेलाडी पनि समयमा उपलब्ध नहुनुले आफूले खेलाउन खोजिरहेको सेटमा ‘अडप’ हुन नसकेको उनी बताउँछन्। 

टिममा ‘डेब्यु’ गर्न लागेको डिफेन्डर सविना चौधरी।

“डिफेन्डर सेट भइरहेको छ। सावित्रा नभएको कारण रणनीतिक रूपमा अलिकति कमजोर हुन्छ कि जस्तो लागिरहेको छ,” उनी भन्छन्। नेपालले एशियाली खेलकुद खेलेपछि कुनै प्रतियोगिता खेलेको छैन। अझ घरेलु फुटबल गेम नभएको त करिब तीन वर्ष नै पुग्न लागिसक्यो। अहिलेको राष्ट्रिय टोलीले उमेर समूहका टोलीसँग केही अभ्यास खेल खेलेर आफूलाई तयार पारेको हो। लामो समयसम्म प्रतियोगिता नहुँदा खेलाडीमा फिटनेसको समस्या देखिएको प्रशिक्षक तामाङ बताउँछन्। 

आफूले शुरूमा एन्फा टेक्निकल सेन्टर च्यासलमा प्रशिक्षण गराउँदा खेलाडीमा इन्डुरेन्स पावर, स्पिड र स्ट्रेन्थ नदेखेको उनी बताउँछन्। अझ राष्ट्रिय टोलीमा रहेका खेलाडी विभागमा रहेका कारण थप समस्या परेको उनी सुनाउँछन्। उनका अनुसार प्रतियोगिता नहुँदा विभागमा रहेका खेलाडीले दिनरात ड्युटी गर्नुपर्ने हुन्छ। त्यसले गर्दा प्रशिक्षण लिने मौका नपाउने उनी बताउँछन्।

“रातदिन ड्युटी गर्दा ट्रेनिङ गर्ने समय हुँदैन। ट्रेनिङ गरे पनि नर्मल मेथडमा काम गर्छौं। त्यसले इन्डुरेन्स आउँदैन। आठ दिन त सेलेक्सन फेज नै भयो। एक हप्ता इन्डुरेन्समा लगेँ। तर तीन दिनअगाडि मात्रै उनीहरूमा इन्डुरेन्स आएको हो,” उनी भन्छन्, “एशियाडपछि गेम नहुनु नै बिडम्बना रह्यो। अहिले पनि खेलाडीको फिटनेस लेभल हाइ छ भन्न मिल्दैन।” 

टिममा सामेल मिडफिल्डर अनिता केसी।

त्यसैले यसपटक धेरै ‘ट्याक्टिकल पार्ट’मा काम गरेको उनको भनाइ छ। यसअघि घरेलु मैदानमा भएका साफ च्याम्पियनसिप र भियतनामसँग भएको खेलमा ‘ट्याक्टिकल पार्ट’मै नेपाली टोली चुकेको उनी बताउँछन्। त्यतिखेर ‘टिम डिफेन्डिङ’को कमी भएको उनको भनाइ छ।

“हामीसँग गुड लिडर छैन। अर्को कुरा गोलकिपरको साइज राम्रो छैन। त्यसो हुँदा ֺ‘फ्रिकिक’मा पनि गोल हुने भयो, एअर बलमा पनि गोल हुने भयो। माथि नै ब्लक गर्दिए गोल त हुँदैनथ्यो नि! तर ओपन छोडिरहेको छ। त्यसलाई रोक्ने प्रयास गरेको छु,” उनी भन्छन्। 

आफ्नो समूहमा भएका इराक र सिरियाको अध्ययन गरिसकेको प्रशिक्षक तामाङ सुनाउँछन्। उनीहरूको ‘फिजिकल र ट्याक्टिकल’ कुरा राम्रो भएको उनी बताउँछन्। त्यसैले कुनै टोलीलाई कमजोर नआँकेको उनको भनाइ छ। 


सम्बन्धित सामग्री