Thursday, May 02, 2024

-->

घरेलु प्रतियोगिता शून्य, लक्ष्य विश्वकपको

एन्फाले आगामी चार वर्षभित्र महिला फुटबलको विश्वकप खेल्ने लक्ष्य राखेको छ, तर त्यसअनुसार कार्ययोजना छैन। महिला फुटबल घरेलु प्रतियोगिताबिहीन छ भने, दुई वर्षदेखि राष्ट्रिय लिग हुन सकेको छैन।

घरेलु प्रतियोगिता शून्य लक्ष्य विश्वकपको

काठमाडौँ- पुरूषको तुलनामा महिला फुटबल पछ्याउनेको दर्शक विश्वभरि नै कम भएको मानिन्छ। नेपालमा भने अवस्था फरक छ। गत वर्ष भदौमा नेपालमै भएको साफ महिला च्याम्पियन्सिपअन्तर्गत बंगलादेशविरुद्धको फाइनलमा घरेलु टोलीको समर्थनका लागि करिब १६ हजार दर्शक त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगे। पेरिस ओलम्पिक-२०२४ को छनोट अन्तर्गत गएको चैत अन्तिम साता नेपालमै भएको भियतनामविरुद्धको खेल हेर्न पनि करिब आठ हजार दर्शक उपस्थिति भए।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२७ र २०३१ को फिफा महिला विश्वकप खेल्ने ‘मिसन’ बनाएको छ। तर, लक्ष्यलाई सफलतासम्म पुर्‍याउन महिला फुटबलमा घरेलु गतिविधि शून्य छ। पुरुष फुटबलको तुलनामा महिला फुटबल ज्यादै कम भएको राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी बताउँछिन्।

“एउटा ‘फ्रेन्ड्ली म्याच’ र लिग खेल्न पनि एक वर्षै कुर्नुपर्ने स्थिति छ, त्यो पनि कहिले हुँदैन। यस्तै स्थिति रहिरह्यो भने पुरूषझैँ महिला खेलाडी पनि भटाभट नविदेशिएलान् भन्न सक्ने अवस्था छैन,” सावित्रा भन्छिन्।

पुरूष फुटबल टोली अहिले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा व्यस्त छ। ८० भन्दा बढी पुरूष खेलाडी लिगमा व्यस्त छन्। आगामी जेठ २७ गते लिग सकिएपछि पनि उनीहरू फुटबलमै व्यस्त हुनेछन्। पुरुषको राष्ट्रिय टोलीले जेठ ३२ गते मनिलामा फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि, भारतमा असार ६ गतेदेखि हुने साफ च्याम्पियन्सिपमा भाग लिनेछ। 

तर, महिलाको लिग हुने कि नहुने एन्फाले जानकारी गराएको छैन। घरेलु प्रतियोगिता नहुँदा राष्ट्रिय टोलीको निर्माणमा नै असर पर्ने सावित्रा बताउँछिन्। 

“पछिल्लो समय भारत, बंगलादेश र भुटानले फुटबलमा लगानी बढाइरहेका छन्। घरेलु फुटबल बलियो बनाएर युवा खेलाडी उत्पादन गरिरहेका छन्। यसको नतिजा हामीले देख्यौँ नि,” उनी भन्छिन्, “साफमा कमजोर रहेको भुटानले पुरूष टोलीलाई बराबरीमा रोक्यो। भारत र बंगलादेश पनि बलियो हुँदै गइरहेको छ। फुटबलको घरेलु संरचना यही अवस्थामा रहिरहने हो भने नेपालको महिला टोलीलाई पनि भुटानले नरोक्ला भन्न सकिँदैन।”

खिन्न खेलाडी
नेपालले सन् १९८६ देखि नै महिलाको अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो। त्यसयता नेपालले विश्वपकप, एशिया कप र ओलम्पिक छनोट पनि खेल्दै आएको छ। तर, साफ र सागमा जस्तो अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धात्मक खेल देखाउन सकेको छैन। साफको पाँचै संस्करणसम्म उपविजेतामा समिति नेपाली टोलीले सागमा पनि उस्तै नतिजा निकालेको छ। सागका तीन प्रतियोगितामा नेपाल उपविजेतामै सीमित छ। सन् २०२२ को साफबाहेक अन्य प्रतियोगितामा पनि नेपालको उपाधि जित्ने लक्ष्यमा भारत नै तगारो बन्दै आएको छ।

दुईपटक एएफसी एशिया कपको उपविजेता बनिसकेको भारत अहिले पहिलो रोजाइको टोली उतारेर नेपालसँग कुनै पनि प्रतियोगिता खेल्न चाहँदैन। पर्याप्त ‘एक्सपोजर’ बटुल्दै यही दशकमै विश्वकप खेल्ने लक्ष्य बुनेको भारतले आफूभन्दा बलियो टोली ब्राजिल, स्विडेन र अमेरिकालाई मैत्रीपूर्ण खेलमा प्रतिद्वन्द्वी बनाउन थालेको छ। 

सन् २०२४ मा हुने पेरिस ओलम्पिक छनोटको दोस्रो चरण पुगेको भारतले पाँच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिसकेको छ। भर्खरै महिला लिग पनि सकाएको छ। तर, आगामी चार वर्षमै विश्वकप खेल्ने लक्ष्य बुनेको नेपालको भने फुटबल गतिविधि शून्य छ। 

एन्फाले २०७७ सालअघि विभागीय र क्षेत्रीय टोलीहरूलाई समावेश गरेर महिला लिग गर्ने गरेको थियो। तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फाले महिला फुटबलको स्तर विकास गर्ने भन्दै ६ महिना सञ्चालन गर्नेगरी राष्ट्रिय महिला लिग खेलाउन थालेको थियो। लिगमा तीन विभागीयसहित उपमेयर कप लिगको शीर्ष चार टोली चन्द्रपुर, विराटनगर, वालिङ र चौदण्डीगढी नगरपालिकालाई समेटेर राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गराइएको थियो।

क्यामरून र भारतका खेलाडीसमेत अनुबन्ध गरेर लिग खेलाइएको थियो। अर्को वर्ष २०७८ सालमा पनि महिला राष्ट्रिय लिग खेलाइयो, तर बीचमै रोकेर एपीएफलाई विजयी घोषणा गरिएको थियो। चितवनमा पहिलो चरणको लेग २०७८ चैत ३० मा सकिएपछि वैशाख १५ देखि दोस्रो लेगको प्रतियोगिता विराटनगरमा गर्ने तय भएको थियो। तर, त्यो चक्र पूरा हुनै सकेन। एन्फाको यो शैलीले आफूहरूलाई दु:खी बनाएको राष्ट्रिय टोलीकी निवर्तमान कप्तान रेनुका नगरकोटी बताउँछिन्।

“फस्ट लेग गराएर सेकेन्ड लेग नगरिकन नै एक वर्षपछि विजेता घोषणा गर्दिनुभयो। विजेतालाई २० लाख दिने भनिएको थियो, त्यो पनि मुखले मात्रै भयो। अब लिग कहिले हुन्छ थाहा छैन। एउटा खेलाडीलाई खेल्न नपाउनु जतिको दु:ख त अरू केमा लाग्ला?” उनी भन्छिन्।

नेपालमा घरेलु फुटबल लथालिंग भएपछि अहिले नेपाली खेलाडी इन्डियन वुमन्स लिग (आईडब्लूएल) लाई विकल्प बनाउन थालेका छन्। विराटनगरमा करिब चार वर्षअघि भएको साफ च्याम्पियन्सिपमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा तामिलनाडुको सेथु एफसीले फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतलाई भित्र्याएको थियो।

यसपटक राष्ट्रिय टोलीबाट खेलिरहेकामध्ये यो वर्ष भर्खरै सकिएको आईडब्लूएलमा सावित्राले गोकुलम केरला र अनिताले लर्ड्स एफसीबाट खेलेका थिए। लिगमा सर्वाधिक गोलकर्ता भएकी सावित्रा अनुबन्ध गोकुलम केरलाले उपाधि जितेको छ।

उनीहरूबाहेक, गोलरक्षक एन्जिला तुम्बापोले सेथु, मिडफिल्डर सरू लिम्बुले किकस्टार्ट एफसी, डिफेन्डर रेशा पौडेलले स्पोर्ट्स ओडिसा र मिडफिल्डर रेनुका नगरकोटीले किकस्टार्ट एफसीबाट लिग खेले। अर्की मिडफिल्डर प्रीति राईले भने चोटको कारण लिग गुमाइन्।

निवर्तमान कप्तान रेनुका एन्फाले पनि यस्तै लिग सञ्चालन गर्नुपर्ने बताउँछिन्। “मभन्दा पनि अन्य खेलाडी योङ छन्। सबैको राम्रो प्रदर्शन भएको कारण आगामी दिनमा राम्रो होला,” उनी भन्छिन्, “तर, नेपाल र भारतको लिगमा म  तुलना नै गर्न सक्दिनँ। भारत हामीभन्दा धेरै माथि छ। लिग नै धेरै भएर होला उनीहरूका खेलाडी धेरै छन्। हामीलाई पनि यस्तै लिग चाहिन्छ।”

भारतले पछिल्ला दुई दशकमा राष्ट्रिय खेलाडी उत्पादन गर्न उमेर समूहको प्रतियोगितालाई प्राथमिकतामा राखेको छ। अल इन्डिया फुटबल फेडेरेसनको मातहतमा रहेको भारतीय महिला फुटबल महासंघ (डब्ल्यूएफएफआई)ले केन्द्रीयस्तरमा यू-१७ टोर्नियो महिला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यसका साथै यू-१७ सब जुनियर, यू-१९ जुनियर र सिनियर महिला फुटबलको लिग पनि आयोजना हुन्छ। यी प्रतियोगितामा ३४ टोलीसम्मले सहभागिता जनाउँछन्।

तर, एन्फाले भने युथ प्रतियोगिता त के, सिनियर टोलीको घरेलु प्रतियोगिता पनि आयोजना गर्न नसकेको मिडफिल्डर सरू बताउँछिन्। “त्यसको (घरेलु प्रतियोगिता नहुनुको) प्रभाव त अस्तिको ओलम्पिक छनोटमा पनि देखियो नि। पर्याप्त खेल खेल्न पाएनौँ, अन्तर्राष्ट्रिय एक्सपोजर भएन, अभ्यास खेल पनि कम भयो। त्यसैले हामीले भियतानामसँग जित निकाल्न सकेनौँ। अब हामीले घरेलु लिग बलियो बनाउनुपर्छ,” उनी भन्छिन्।

नेपालमा लिग नहुँदा आफ्नो क्षमताअनुसर खेल देखाउन नपाएको उनको गुनासो छ। एन्फाले नियमित तालिकाअनुसार नै महिला लिग सञ्चालन गर्ने हो भने ‘फ्यान फलोइङ’सँगै खेलाडी संख्या र फुटबलको स्तर बढ्ने उनको बुझाइ छ।  

के छ एन्फाको तयारी?
नेपाली महिला राष्ट्रिय टिमका पूर्वप्रशिक्षकसमेत रहेका हरि खड्का यसअघि नै उमेर समूहको प्रतियोगिताका लागि आफूहरूले खाका बनाएको दाबी गर्छन्। तर, उक्त खाका कार्यान्वयन भएको छैन। यस्तो अवस्था सिर्जना हुनुमा लगानी अभाव नै प्रमुख कारण भएको उनको दाबी छ।

“कार्यक्रम कार्यान्वयन गर्न लगानी र प्राथमिकताको समस्या छ। क्लब तथा लगानीको क्षेत्रमा रहेकाले पनि महिला फुटबलमा चासो देखाए केही हुन्छ,” उनी भन्छन्। 

उमेर समूहलाई लक्षित गरेर घरेलु प्रतियोगिता सञ्चालन गर्ने छाटकाँट नदेखिए पनि सिनियरको मामिलामा भने गृहकार्य थालिसकेको एन्फा प्रवक्ता सुरेश शाह दाबी गर्छन्। पालिकालाई समेटेर यसअघि प्रतियोगिता आयोजना गर्दै आइरहेको भए पनि अब ‘ए’ डिभिजन खेलिरहेका क्लबहरूको महिला टोलीसमेत बनाएर फरक ढंगबाट लिग सञ्चालन गर्ने तयारी रहेको उनी सुनाउँछन्। यस्तो लिग पहिला भएको भन्दा फरक शैलीको हुने उनले बताए।

“यसअघि (लिगमा) नगरपालिकाका टिम सहभागी थिए। तर, एन्फाको नयाँ कार्यसमितिले नयाँ शैलीमा लिग आयोजना गर्ने तयारी गरेको छ। यसको प्रोसेस शुरू भइसक्यो,” प्रवक्ता शाह भन्छन्।


सम्बन्धित सामग्री