Friday, May 17, 2024

-->

आरती साह मृत्यु प्रकरण: प्रहरीको अनुसन्धानमाथि शंका गर्दै काठमाडौँमा पीडित परिवारजनको धर्ना

पैसाको लेनदेनबाट मुद्दा मिलापत्र गराई घटना सामसुम पार्ने प्रयास भइरहेको पीडित परिवारको आशंका छ। तर, गरिब भए पनि पैसासँग न्यायको सौदाबाजी नगर्ने उनीहरूले अडान लिएका छन्।

आरती साह मृत्यु प्रकरण प्रहरीको अनुसन्धानमाथि शंका गर्दै काठमाडौँमा पीडित परिवारजनको धर्ना
माइतीघरमा धर्ना दिँदै आरतीकी आमा निर्मलादेवी, भाइ धिरज, बहिनी मनिषा र ठूलीआमा रञ्जनादेवी। तस्वीर : कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ- आइतबार दिउँसो २ बजे काठमाडौँको माइतीघरस्थित सडकमै खाना खाइरहेका जनकपुरका सन्तोष साहलाई उनकै भाञ्जा धीरजले छाता ओढाएर छहारी दिँदै थिए। परिवारका आठ सदस्यलाई लिएर न्यायको खोजीमा काठमाडौँ आएका सन्तोष टन्टलापुर घाम, हावाहुरी र वर्षात् छल्दै माइतीघरको खुला आकाशमा सरकारसँग न्याय माग्दै पाँच दिनदेखि धर्ना बसिरहेका छन्।

सन्तोषको परिवारले लिएको एउटा ब्यानरमा आफ्नी मृत भाञ्जी आरती साह र अर्कोमा मुद्दा कमजोर पार्न खोजेको आरोप लागेका प्रहरी अधिकृतहरूको तस्वीर छ। आरतीका लागि न्याय र आरोपित प्रहरी अधिकारीहरूलाई सजाय दिनुपर्ने यो परिवारको माग छ। जनकपुरमा न्याय पाउने आशा मरेको भन्दै असार १ गते उनीहरू काठमाडौँ आइपुगेका हुन्।

जनकपुर–९ थापाचोककी २२ वर्षीय आरती साहको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो। उनलाई श्रीमान् मोतीलाल, ससुरा मदनमोहन, सासु रेनुदेवी र देवर रवि साहले हत्या गरेको भन्दै उनीहरूलाई कारबाही सुनिश्चित नहुँदासम्म घर नफर्किने सन्तोषको अडान छ।

आरतीका भाइबहिनी धीरज र मनिषा पनि न्याय नपाएसम्म घर नफर्किने बताउँछन्। दिउँसो घाम छल्न उनीहरू छाता ओढेर बस्छन् भने राति पानी परेको बेला छेउछाउका रेष्टुँरा र क्याफेको छानामुनि ओत लाग्छन्।

“हामी तबमात्र घर फर्किन्छौँ जब मेरी भाञ्जीले न्याय पाउँछिन्। जनकपुरमा पनि कम्ती संघर्ष गरेनौँ तर त्यहाँबाट न्याय पाउनुको सट्टा आफ्नै ज्यान असुरक्षित देखेपछि हामी काठमाडौँ आएका हौँ” सन्तोष भन्छन्, “यहाँबाट न्याय पाउने आशा छ।”

आरतीका मामा सन्तोष साह। तस्वीर : कृष्पा/उकालो

आरतीको मृत्युको घटना यस्तो थियो
जेठ ७ गते साँझ ६:२० भएको थियो। आरतीका बुबा विनोदप्रसाद साहको मोबाइल बज्यो। ‘तपाईंकी छोरीलाई सञ्चो नभएर काव्या हस्पिटलमा ल्याएका छौँ। उनी अचेत अवस्थामा छिन्। तपाईं हेर्न आउनुस्,’ आरतीकी ससुरा मदनमोहन साहले फोनमा भने।

यति सुन्नेबित्तिकै विनोदले जनकपुरमै पढ्न बसेकी कान्छी छोरी मनिषालाई सम्पर्क गरेर तुरुन्त अस्पताल जानू भने। आफू बस्ने ठाउँबाट नजिकै रहेको अस्पतालमा मनिषा १५ मिनेटमै पुगिन्। दिदी आरतीलाई उनले अस्पतालको शय्यामा अचेत अवस्थामा पल्टेको देखिन्। शरीरमा घाउचोट थिए। नजिक गएर खुट्टा छामिन्। शरीरमा कुनै चाल थिएन।

त्यसपछि आत्तिएकी उनले डाक्टरलाई सोधिन्, ‘के भएको हो मेरी दिदीलाई?’

डाक्टरले जवाफ दिए, "तपाईंकी दिदीको यहाँ ल्याउनुअघि नै मृत्यु भइसकेको थियो।"

आरती दुई महिने सुत्केरीसमेत थिइन्। डाक्टरको जवाफपछि आफूलाई थाम्न नसकेकी मनिषाले तुरुन्त गाउँमा रहेका बुबालाई फोनबाट आरतीको अवस्थाबारे सुनाइन्। धनुषाको नगराइन नगरपालिकामा पर्ने खिरखिरियाबाट हिँडेका विनोद आठ बजे काव्या हस्पिटल आइपुगे।

ससुरा मदनमोहनले अस्पताललाई आरतीले आत्महत्या गरेको बताएका थिए। तर आरतीको माइतीपक्ष त्यो कुरा पत्याउन तयार थिएन। सन्तोषका अनुसार आरतीका ससुराले फोन गर्दा आत्महत्या गरेको भनेका थिएनन्। उनले 'बिरामी भएकी आरती भर्‍याङबाट लडेर अचेत अवस्थामा छिन्' भनेका थिए।

विनोद हस्पिटल पुग्नुअघि नै मुजेलिया प्रहरी चौकीका प्रहरीहरू शवको मुचुल्का उठाउन आइसकेका थिए। मनदमोहन भने जतिसक्दो चाँडो शवलाई पोस्टमार्टमका लागि पठाउने हतारमा देखिन्थे।

“यदि त्यो हत्या नभएर आत्महत्या भएको भए मेरी दिदीका सासू, ससुरा र श्रीमान‍्लाई शोक महसुस हुन्थ्यो, आँखाबाट आँसु झर्थ्यो होला, तर उनीहरूको अनुहारमा त्यस्तो केही देखिएन। बरु शव अगाडि उभिएर उल्टै मेरै दिदीलाई गाली गर्दै थिए,” मनिषा भन्छिन्, “दिदीको जिउभरि नीलडाम र घाउचोट थिए। हामीलाई उनीहरूको कुटपिटबाट दिदीको हत्या भएको शंका लाग्यो। दिदीको श्रीमान‍्ले पनि आफ्नी आमासँग 'तपाईंले गरेर नै यत्रो घटना भएको हो' भनेर मेरै अगाडि भनेका थिए।”

प्रहरी आएदेखि आरतीको परिवारलाई शव हेर्न दिइएको थिएन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइयो। तर, राति अबेर भइसकेकाले त्यस दिन पोष्टमार्टम हुन सकेन।

भोलिपल्ट बिहान १० बजे नै जिल्ला प्रहरी कार्यालय, धनुषा पुगेका विनोदले चार जनाविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिए। तर कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश गौतमले कर्तव्य ज्यान मुद्दाको सट्टा आत्महत्या दुरुत्साहनको जाहेरी ल्याउन सल्लाह दिए। विनोद त्यसमा सहमत भएनन्।

त्यसको एक घण्टापछि डीएसपी गौतमले आरतीका श्रीमान् पक्षका तीन जनालाई बोलाए। माइती पक्षले कर्तव्य ज्यान मुद्दाको जाहेरी लिन आग्रह गरे पनि गौतमले पोस्टमार्टमको रिपोर्ट नआउन्जेल पर्खन भने। उनी शुरूदेखि नै आफूहरूप्रति आक्रामक देखिएको आरोप सन्तोषले लगाएका छन्।

पीडितले पोस्टमार्टमको रिपोर्ट पर्खिए। तर रिपोर्टमा मृत्युको कारण स्पष्टसँग खुलाइएको छैन। ‘ह्यांगिङ (झुन्डिएको, सम्भावित आत्महत्याको प्रकृति)’ भनेर पोस्टमार्टम रिपोर्टमा लेखिएको छ। यसले पीडित परिवारलाई झन् सशंकित बनायो। पोस्टमार्टम रिपोर्ट अस्पष्ट भएको भन्दै माइती पक्षले आरतीका श्रीमान्, ससुरा, सासू र देवरसमेत  चार जनाविरूद्ध जाहेरी नलिएसम्म शवको अन्त्येष्टि नगर्ने अडान लिए।

जिल्ला प्रहरी कार्यालयअघि सडकमा सुतेर विरोध जनाउँदै मनिषा।

अन्ततः साँझ ५ बजेतिर जाहेरी दर्ता गर्न प्रहरी तयार भयो। प्रहरीकै सल्लाहमा भएको सहमतिपछि आरतीका श्रीमान् र ससुरामाथि मात्रै जाहेरी दर्ता भयो। लगत्तै आरतीको अन्त्येष्टि गरियो।

जाहेरी दर्तासँगै आरोपीहरू मोतीलाल र विनोद साहलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान शुरू गर्‍यो। तर, प्रहरीको अनुसन्धान निष्पक्ष नभएको सन्तोषको आरोप छ। प्रहरी कार्यालय जाँदा आफूहरूलाई गरिएको व्यवहार र शवको मुचुल्का उठाउने बेला माइती पक्षका मानिसलाई नराखेबाट प्रहरीमाथि अविश्वास पैदा भएको उनी बताउँछन्।

बारम्बार हिंसाको शिकार भइरहन्थिन् आरती
जनकपुरको मोडेल कलेजमा बीबीएस दोस्रो वर्षमा पढिरहेकी आरतीको २०७८ असार ३० गते मोतीलाल साहसँग मागी विवाह भएको थियो। मोती सम्पन्न परिवारका थिए भने आरती निम्न वर्गीय परिवारकी थिइन्। मोतीको जनकपुरमै तीनवटा घर छन्।

मोतीको चाहना अनुसार नै उनको परिवारले आरतीको परिवारसँग कुरा गरेर बिहेको सहमति गरेको थियो। त्यसपछि करिब २५ लाख रुपैयाँ खर्चेर जनकपुरमै उनीहरूबीच धुमधामसँग विवाह भयो। आर्थिक हैसियत कमजोर भए पनि आरतीको मावली पक्षले सहयोग गर्ने वचन दिएपछि उनीहरूको विवाह सम्भव भएको थियो। शुरूको वर्षमा आरती खुशी नै देखिन्थिन्। तर, विवाहको एक वर्ष बितेपछि मोतीको परिवारले थप दाइजो मागेर आरतीलाई मानसिक यातना दिन थालेको माइतीपक्षको भनाइ छ।

मामा सन्तोषका अनुसार आरती कैयौँ पटक भागेर माइत आउने गर्थिन्। आफू हिंसामा परेको उनी सुनाउँथिन् तर समस्या घरबाहिर नजाओस् भनेर आमाबुबा र मामाले आरतीलाई सम्झाएर पठाउँथे। "दु:खपीडा सहेर भए पनि मिलेर त्यहीँ बस भनेर मैले पनि कति चोटि भाञ्जीलाई सम्झाएको थिएँ," सन्तोष भन्छन्।

केटा पक्षले आरतीको परिवारलाई झुक्क्याएर विवाह गरेको सन्तोष बताउँछन्। “शुरूमा हामीलाई केटा इन्जिनियर हो भनियो। तर, उनी काठमाडौँमा नक्कली सर्टिफिकेटको धन्दा गर्दा रहेछन्। त्यसमाथि लागू पदार्थको दुर्व्यसनीमा फसेको हामीले पछि मात्र थाहा पायौँ,” उनी भन्छन्, “काठमाडौँमा फ्ल्याट लिएर बसे पनि उनले हाम्री भाञ्जीलाई कहिल्यै लगेर सँगै राखेनन्।”

आरतीकी बहिनी मनिषाले बताएअनुसार दिदीलाई पनि काठमाडौँमा आफैसँग किन राख्नुहुन्न भनेर सोध्दा मोतीलालले काठमाडौँ महँगो छ भनेर जवाफ दिने गर्थे। उनी नक्सालको भाटभटेनी पछाडि २५ हजार रुपैयाँको फ्ल्याटमा बस्ने गरेको मनिषाले बताइन्।

प्रहरीबाट नै कुटिएको पीडित परिवारको आरोप
पीडित परिवारका अनुसार घटनाको २५औँ दिन जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयले आरोपीहरू सहित सरकारी वकिलकहाँ फाइल पठाइसकेपछि बयानका लागि भन्दै आरतीका भाइ धीरज र बहिनी मनिषालाई बोलाइयो। उनीहरूसँगै सपरिवार १२ बजे पुगे पनि २ बजे मात्रै बयान शुरू भएको मामा सन्तोषले बताए।

“प्रहीले बयान लिँदा हामीले बोलेअनुसार लेखिरहेको थिएन। बयानमा मेरा भञ्जाभाञ्जीले एउटा कुरा बोल्थे, त्यहाँ अर्कै कुरा लेखिन्थ्यो। त्यसमा असहमति जनाउँदा प्रहरीले हामीलाई गालीगलौज गर्‍यो,” सन्तोष भन्छन्, “मेरा भञ्जाले आफूले भनेअनुसार नै बयान लेख्न भनेपछि प्रहरीहरूले थप्पड बर्साउन थाले। त्यसको भिडियो खिचेकी भाञ्जी मनिषालाई डीएसपी गौतमले घाँटी समातेर भित्तामा ठड्याइदिए।

आरतीको न्यायका लागि आन्दोलनरत मनिषा। तस्वीर : कृष्पा/उकालो

प्रहरीले बुटले जथाभावी हानेका कारण भाञ्जीको रक्तस्राब भएको र त्यसको प्रमाणस्वरूप मेडिकल रिपोर्ट पनि आफूहरूसँग रहेको सन्तोषले बताए। भाञ्जीलाई बचाउन खोज्दा शुरूमा इन्स्पेक्टर र डीएसपीका सुरक्षा गार्डबाट आफूहरूमाथि कुटपिट भएको र पछि डीएसपीले समेत हातपात गरी हिरासत कक्षमा लगेर सात घण्टा थुनेको उनको आरोप छ।

डीएसपी गौतम भने बयान लिनेबेला आफू उपस्थित नरहेको र कुटपिट गरेको आरोप निराधार भएको बताउँछन्।

पीडित परिवारको मागअनुसार नै मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनको भनाइ छ। “म बयान लिने बेला त्यहाँ थिइन। पछि मात्रै भित्र झगडा भएको कुरा थाहा पाएँ। मलाई के कारणले उहाँहरूले आरोप लगाउनुभयो त्यो जानकारी भएन,” डीएसपी गौतम भन्छन्, “हाम्रो कार्यालयमा त्यस्तो कुनै खालको गतिविधि भएको छैन। हामी किन कुटपिट गर्थ्यौँ र?”

सन्तोषका अनुसार प्रहरीले उनीसहित आरतीका बुबाआमा र भाइबहिनी गरी पाँच जनालाई दिउँसो तीनदेखि राति १० बजेसम्म थुनेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक विश्वराज खड्कासँग आरतीकी आमाले माफी मागेपछि मात्र उनीहरू थुनामुक्त भएका थिए।

सन्तोषले बताएअनुसार थुनामुक्त भएलगत्तै उनीहरू अस्पताल पुगेका थिए। भोलिपल्ट बिहान ११ बजे डिस्चार्ज भए र त्यहाँबाट सोझै धर्ना दिन काठमाडौँ आए। “प्रहरीले नै कुटपिट गरेर थुनिसकेपछि त्यहाँ असुरक्षित महसुस गरेर न्यायका लागि काठमाडौँ आउने निर्णय गर्‍यौँ,” सन्तोष भन्छन्, “अब हामी यत्तिकै फिर्ता जाँदैनौँ। न्याय नपाएसम्म कुनै पनि शर्तमा पीडकसँग मिल्दैनौँ।”

पैसाको लेनदेनबाट मुद्दा मिलापत्र गराई घटना सामसुम पार्ने प्रयास भइरहेको आशंका पीडित परिवारले गरेका छन्। तर, गरिब भए पनि पैसासँग न्यायको सौदाबाजी नगर्ने आरतीका बाबुआमा र मामाले बताएका छन्।

यसैबीच धनुषा जिल्ला अदालतले मंगलबार भएको थुनछेक बहसपछि आरतीका श्रीमान् मोतीलाल र ससुरा मदनमोहन दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।


सम्बन्धित सामग्री