Saturday, April 27, 2024

-->

सत्तापक्षबाटै नागरिकताको विषयमा राजनीतिकरण भइरहेको राजेन्द्र लिङ्देनको आरोप

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैँ गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

सत्तापक्षबाटै नागरिकताको विषयमा राजनीतिकरण भइरहेको राजेन्द्र लिङ्देनको आरोप

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको विषयमा सत्तापक्ष आफैँले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “नागरिकता विधेयकको प्रक्रियामा प्रतिपक्षहरूले विरोध गर्‍यो र त्यसमा आफ्नो फरक मत राखिराखेका छौँ, त्यसलाई अहिले सत्तापक्षले नागरिकताविहीन नेपालीहरूलाई भोट बैंकको रूपमा परिणत गर्ने अवसरको रूपमा उपयोग गर्न खोजेको देखियो।”

उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसद्मा ल्याउन पनि सरकारलाई दबाब दिए। त्यसको विषयवस्तुमा छलफल गरेर फास्ट ट्र्याकबाट विधेयक पारित गर्दा आफूहरूको कुनै आपत्ति नहुने अध्यक्ष लिङ्देनको भनाइ थियो।

अध्यक्ष लिङ्देनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैँ गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए।

उनले भारत र नागरिकता नपाएका नागरिकलाई खुशी बनाउने हिसाबले सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराए पनि पीडितलाई नागरिकता दिने मनसाय भने नराखेको पटक पटक दोहोर्‍याए।

अध्यक्ष लिङ्देनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरूलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसद्मा ल्याउन सरकारको ध्यानाकर्षण गराए।


सम्बन्धित सामग्री