Monday, April 29, 2024

-->

नवनागरिकको भोगाइ
एकैदिन दुई नागरिकता लिँदा निमोठिएको उत्साह

नयाँ नागरिकता पढ्दै जाँदा 'आमाको नाम' लेखिएको लाइनमा पुगेपछि नराम्रोसँग झस्किएँ। मलाई फनफनी रिंगटा लाग्यो। ती कर्मचारीले पहिले भनेजस्तै मलाई 'आमाबिनाको नागरिक' बनाइदिएका रहेछन्।

एकैदिन दुई नागरिकता लिँदा निमोठिएको उत्साह

"अब त म पनि नागरिक हुन पाउने भएँ। आहा! क्या रमाइलो लागेको छ बाबा," नागरिकता बनाउने दिन बिहानको ठिक ११ बजे जिल्ला प्रशासन कार्यलय चितवनको गेटअगाडि पुगेपछि मैले उत्साहित हुँदै बाबासँग भनेँ। 

२०७९ चैतको अन्तिम दिन थियो। बाबा मेरो कुरा सुन्दै मुसुमुसु हाँस्नुभयो। प्रशासन कार्यालयको अग्लो भवनभित्र पुगेपछि मैले देखेँ- भुईंतलाको दायाँपट्टि नागरिकता बनाउने शाखा रहेछ। त्यहाँको एउटा ठूलो झ्यालअगाडि मजस्तै नागरिकता बनाउन आउनेहरूको निकै लामो लाइन थियो। भित्रपट्टि कोठाको बीचतिर एकजना हजुरबुबा उमेरका कर्मचारी कुर्सीमा बसेर सही गर्दै हुनुहुन्थ्यो। उहाँको नजिकै उस्तै उमेरका दुई जना म्यामहरू झ्यालतिर फर्केर नागरिकता बनाउन आउनेहरूको निवेदन जाँच्न व्यस्त देखिनुहुन्थ्यो।

मैले नागरिकता लिँदा प्रचलित 'नेपाल नागरिकता प्राप्ति ऐन २०६३' को दफा ८ को उपदफा १ मा यस्तो लेखिएको थियो- वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले तोकिएको अधिकारीसमक्ष देहायका कागजातका प्रतिलिपि संलग्न राखी निवेदन दिनुपर्नेछ: 

(क) बाबु वा आमा वा आफ्नो वंशतर्फबाट तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र 

(ख) जन्मस्थान र नाता खुल्ने गरी गाउँपालिका वा नगरपालिकाले गरिदिएको सिफारिस

त्यस्तै, नेपाल नागरिकता नियमावली २०६३ को नियम ३ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि पनि बाबा र मैले पढेका थियौँ। त्यसको उपनियम १ अनुसार वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निम्न दुई वटा प्रमाणसहितको निवेदन दिए पुग्थ्यो।

(क) बाबु वा आमा वा आफ्नो वंशतर्फबाट तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र,

(ख) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र

त्यसभन्दा बढी प्रमाण सहितको निवेदन लिएर हामी प्रशासन कार्यालय पुगेका थियौँ। झन्डै एक घण्टा पर्खिएपछि मेरो पालो आयो। सबैभन्दा पहिले नागरिकता बनाउन चाहिने अनिवार्य कागजपत्रहरू झ्यालमै बसेका म्यामहरूलाई देखाउनुपर्ने रहेछ। बाबाले ती कागजपत्रको फाइल त्यहाँका दुईमध्येकी एकजना म्यामको हातमा राखिदिनुभयो। उहाँले सबै केलाएर हेरिसकेपछि चर्को आवाजमा भन्नुभयो, "एसईईको सर्टिफिकेट पनि चाहिन्छ, नत्र बन्दैन।" 

अनि उहाँले त्यो फाइल बाबाको हातमा फ्यात्त फालिदिनुभयो। उहाँको चर्को आवाज र रुखो व्यवहारले मलाई एकदम खिन्न महसुस भयो। पहिलो पटक, त्यो पनि देशको नागरिक बनेको प्रमाणपत्र लिन गएको सरकारी कार्यालयमा त्यस्तो भोग्नुपर्ला भन्ने मेरो कल्पनामा पनि थिएन।

मैले टुलुटुलु बाबाको अनुहारतिर हेरिरहेँ। उहाँले वंशजको आधारमा नागरिकता बनाउन वडा कार्यालयबाट लिएको सिफारिस, जन्मदर्ताको कागज र बाबु वा आमामध्ये एक जनाको नागरिकता ल्याए पुग्ने भनेर कानूनले तोकेको र ती सबै कागजात जुटेकाले सर्टिफिकेट राख्न आवश्यक नठानेको जवाफ दिनुभयो। सँगसँगै जन्म मिति नबिग्रियोस् भनेर सर्टिफिकेट हेर्नु परेको हो भने कलेज नजिकै पर्ने र त्यहाँबाट अभिलेख ल्याउन सकिने पनि बताउनुभयो। 

प्रत्युत्तरमा कर्मचारी म्यामले उस्तै रुखो स्वरमा भन्नुभयो, "ए तपाईं कानून पढेर पो आउनुभएको? कुन कागज किन चाहिन्छ आफैँ जान्ने भए नागरिकता बनाउन किन यहाँ आउनुपर्थ्यो र? 

बाबाले उहाँलाई सोध्नुभयो, "अब के गर्नुपर्‍यो त्यो भन्नुहोस् न त।" 

त्यसपछि उहाँले त्यस दिन बन्दै गरेका नागरिकतामा सही गर्दै बसेका हजुरबुवा उमेरका कर्मचारीलाई भन्नुभयो, "सर, उहाँ त कानूनको जानकार हुनुहुँदोरहेछ, कानूनले भनेजति कागज पुगेको छ भन्नुहुन्छ। उहाँलाई तपाईंले नै बुझाइदिनुपर्‍यो।"

ती पाका कर्मचारीले भित्र बोलाउनुभयो। बाबा र म उहाँको अगाडि फाइल लिएर उभियौँ। ओल्टाइपल्टाई हेरेपछि उहाँले एसईईको सर्टिफिकेटको प्रतिलिपि वा कलेजले प्रमाणित गरेर दिएको सिफारिसबिना कुनै हालतमा प्रक्रिया अघि नबढ्ने जवाफ दिनुभयो। अनि मलाई त्यहीँ छाडेर बाबा म पढ्ने कलेजतर्फ लाग्नुभयो। त्यसबेला मध्यान्हको ठीक १२ बजेको थियो।  

म प्रशासन कार्यालयमा यताउता टहल्दै बसिरहँदा मेरै उमेरका अरू पनि कति साथीहरू र तिनका अभिभावकलाई त्यो झ्यालबाट उस्तै रुखो वचनका साथ फर्काइएको देखेँ। कसैसँग शैक्षिक प्रमाणपत्र खोजिएको थियो, कसैसँग जन्मदर्ताको सक्कल त कसैसँग आमाबाबुको विवाहदर्ता प्रमाणपत्र। बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका एक जना अभिभावकसँग जिल्लामा बसोबास गरेको प्रमाणका लागि जग्गाको लालपुर्जाको फोटोकपि मागियो। जसको निवेदनमा जुन कागज छैन त्यही नभई हुँदैन भनेजस्तो मलाई लाग्यो।

नागरिकता शाखाको भित्तामा टाँसिएको सूचनामा पनि नागरिकता लिन जुटाउनुपर्ने प्रमाणमा गाउँपालिका वा नगरपालिकाको सिफारिसबाहेक बसाइँसराइको प्रमाणपत्र, बसोबास गरेको ठाउँको लालपुर्जाजस्ता अनेक कागजहरूसमेत चाहिने सूची देखेँ। त्यो देखेर मलाई लाग्यो- कलेजको अभिलेख आएपछि फेरि के के पुगेन भनेर थप दु:ख पो दिने हुन् कि! 

स्थानीय सरकारले गरेको सिफारिस ल्याइसकेपछि नानाथरी कागजात किन खोज्ने होला भनेर खुल्दुली जाग्यो। अझ नागरिकता बनाउन जग्गा जमिनको लालपुर्जा मागेर फर्काइएको देख्दा त छक्कै परेँ। जग्गाजमिन र घरघडेरी जोड्ने कुरा त मानिसको आर्थिक क्षमता, परिस्थिति र इच्छामा भर पर्छ नि। नेपाल आमाकै काखमा जन्मिएर पनि जीवनमा लागेको खडेरीको कारण घडेरी जोड्न नसकेका मानिसहरू चाहिँ नागरिक बन्नै पाउँदैनन् त? यही प्रश्न मेरो कच्चा दिमागमा मडारिइरह्यो। 

भित्रको वातावरणले अत्तालिएपछि म कार्यालय बाहिरको प्रतीक्षालयमा निस्केर बाबालाई पर्खिइरहेँ। गएको एक घण्टापछि कलेजले दिएका प्रमाण लिएर बाबा आइपुग्नुभयो। अब त कागजपत्र पुग्यो, नागरिकता बन्ने भयो भनेर उत्साही हुँदै म पनि उहाँसँगै नागरिकता शाखामा पुगेँ। तर कर्मचारी हजुरबुवाको कुर्सी खाली थियो। १ बजिसकेको रहेछ। कतै खाजा खान जानुभयो होला भन्ने सोचेर हामीले उहाँलाई पर्खियौँ। बनिसकेका कतिपय नागरिकता उहाँको हस्ताक्षरको पर्खाइमा थिए। झ्यालबाहिर धेरै मानिस उहाँकै बाटो हेरिरहेका देखिन्थे। 

साढे एक बजेतिर त्यो शाखाका सबै कर्मचारी खाजा खान निस्किए। बाहिर पर्खनेहरू पनि लाखापाखा लागे। बाबा र म त्यही कोठाको एउटा जगेडा कुर्सीमा पालैपालो बसिरह्यौँ। साढे दुई बजेतिर अरू सबै जना काममा फर्किए। तर ती हजुरबुवा आउनुभएन। अरू कर्मचारीसँग सोध्दा उहाँ काम परेर बाहिर जानुभएको जवाफ पायौँ।   

झन्डै तीन घन्टा कुर्दा पनि उहाँ आइपुग्नुभएन। हामी जस्तै लामो समयसम्म उहाँकै पर्खाइमा बस्ने धेरै जना हुनुहुन्थ्यो। त्यतिका मानिसको समय बर्बाद पारेर कहाँ जानुभएको होला?

उहाँको बाटो हेर्दाहेर्दै दिउँसो ४ बज्नै लाग्यो। तैपनि आउँदै आउनुभएन। त्यसपछि त्यहाँकै एकजना म्यामसँग फोन नम्बर मागेर बाबाले उहाँलाई कल गर्नुभयो। उहाँले आउँदैछु भनेर फोन काटिदिनुभएछ। फेरि दोहोर्‍याएर बाबाले फोनमा सोध्नुभयो, "तपाईं जानुभएको कहाँ हो, हामीलाई सूचना चाहियो। नत्र खोजतलास गर्न कार्यालय प्रमुख (सीडीओ) लाई अनुरोध गर्छौं।" 

बाबाले त्यति भन्नेबित्तिकै उहाँ त्यही शाखासँग जोडिएको अर्को कोठाबाट हडबडाउँदै फुत्त निस्किनुभयो। फेरि तुरुन्तै फर्केर भित्र छुटेको टोपी लगाएर मिलाउँदै आउनुभयो। 

"दिनभर यतिका मानिसलाई पर्खाएर तपाईं कहाँ के गर्दै हुनुहुन्थ्यो?" बाबाले उहाँलाई सोध्नुभयो। तर उहाँ केही बोल्नुभएन। 

हामीले उहाँको मागअनुसारका सबै कागजपत्र बुझायौँ। केहीबेर घोरिएर फाइल पल्टाएपछि उहाँले भन्नुभयो, "आमाको सक्कली नागरिकता खोई?"

आफ्नो सक्कली नागरिकतासहित स्वयं उपस्थित बाबा र आमाको नागरिकताको प्रतिलिपि भएपछि फेरि पनि उहाँलाई त्यहाँ नभएको थप प्रमाण चाहिएछ। त्यसपछि बाबा उहाँसँग केही नबोली फाइल लिएर सरासर अर्को कोठामा जानुभयो। म पनि उहाँको पछि पछि लागेँ। 

सँगैको ठूलो कोठाभित्र ढाकाटोपी र कोट लगाएर एक जना सर बसिरहनुभएको थियो। उहाँलाई भेटेर बाबाले भन्नुभयो, "यति कागजले छोरीको नागरिकता बनाउन प्रमाण पुग्छ कि पुग्दैन हेरिदिनुहोस् त।" 

सर्र फाइल पल्टाएर सबै कागजात हेरेपछि उहाँले सजिलैसँग भन्नुभयो, "वंशजको नागरिकता लिने रहेछ, प्रमाण पर्याप्त छ।" 

बाबा त्यहाँबाट जानुभयो र अघि आमाको सक्कल नागरिकता माग्ने हजुरबुवालाई बोलाएर त्यहीँ ल्याउनुभयो। उहाँलाई देखाउँदै त्यो कोठाका सरले बाबासँग भन्नुभयो, "नागरिकता दिने उहाँले हो, के के चाहिन्छ हेरेर बनाइदिनुहुन्छ। उतै जानुस्।"

त्यसपछि हामी फेरि नागरिकता फाँटतिर नै फर्कियौँ। निस्केपछि ढोकामा लेखिएको नाम पढेँ। ती सर सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा हुनुहँदो रहेछ। 

फर्केर आफ्नो कार्यकक्षमा पुगेपछि उनै हजुरबुबालगायत त्यहाँका सबै कर्मचारीहरू चिच्याउन थाले, "हामीले भनेको नपत्याएर हाकिमलाई कुरा लगाउन जाने? त्यस्तो पनि हुन्छ? आमाको सक्कली नागरिकता छैन भने छोरीको नागरिकता आमाबिनाको बन्छ।"

कर्मचारीको त्यस्ता कुरा सुनेर म स्तब्ध भएँ। बाबाले पनि नागरिकतासम्बन्धी कानूनमा भएका व्यवस्था सम्झाउँदै केही तर्कहरू दिनुभयो। अन्तिममा कर्मचारीहरू सबैले भने, "ल, नागरिकता बन्छ तर एकछिन बाहिर गएर बस्दै गर्नुस्।" 

हामी ढुक्क भएर बिहान उभिएकै झ्यालबाहिर पर्खिइरह्यौँ। त्यसबीचमा पालोमा बसेका सबैको नागरिकता बन्यो। कर्मचारीहरूले तयार भएका नागरिकता चरणवद्ध रूपमा सहीछाप गराएर सम्बन्धित मानिसको नाम लिँदै बाँडिरहे। म पनि आफ्नो नागरिकता पाउन व्यग्रतापूर्वक पर्खिइरहेँ। मभन्दा पछि रहेकासमेत सबैको बाँडेर सकिँदा पनि मेरो चाहिँ आएन। 

अरू सबै घर गइसकेपछि साँझ पाँच बज्नै लाग्दा अन्तिममा बल्ल मेरो नाम आयो। हामीसँग फोटो मागेर टाँसेर लगेपछि त्यसमा बिहानदेखि दु:ख दिइरहेका तिनै हजुरबुवाले सही गरे। अनि मेरो हातमा नागरिकता पर्‍यो। त्यसका प्रत्येक अक्षर नछुटाई उत्साहपूर्वक पढ्दै गएँ। 

'आमाको नाम' लेखिएको लाइनमा पुगेपछि नराम्रोसँग झस्किएँ। मलाई फनफनी रिंगटा लाग्यो। मेरो नागरिकतामा आमाको नाम लेख्नुपर्ने ठाउँमा तीन वटा क्रस चिन्ह थिए अर्थात् ती कर्मचारीले पहिले भनेजस्तै मलाई 'आमाबिनाको नागरिक' बनाइदिएका रहेछन्। 

त्यो हेर्दै बिहानदेखिका सब दृश्य सम्झिएँ। शुरूमा देख्दा मैले साँच्चै आफ्नै हजुरबुवा जस्तो ठानेको कर्मचारीको व्यवहारदेखि मलाई दिग्दार लागेर आयो। आफ्नो आमा हुँदाहुँदै मलाई उनीहरूले जानीजानी आमाबिनाको नागरिक बनादिएका थिए। आमाबिनाको सन्तान जन्मिन सम्भव होला?

उहाँहरूको यस्तो हर्कतले म छक्क परेँ। उहाँहरूलाई मेरी आमाको सक्कली प्रमाण चाहिएकै भए पनि जन्मदर्ता पेश गरेकै थिएँ। भन्दाभन्दै पनि नागरिकतामा आमाको नाम मेटाएदिएकाले मेरा आँखा रसाए। त्यो देखेर बाबाले पनि नियालेर हेर्नुभयो। त्यसपछि त्यो नागरिकताको प्रमाणपत्र लिएर उहाँ हत्तपत्त माथिल्लो तलामा रहेको सीडीओको कक्षतिर दौडनुभयो। मैले उहाँलाई पछ्याएँ। 

संयोगवश सीडीओसा'ब भर्‍याङबाट झर्दै हुनुहुँदो रहेछ। बाबाले उहाँलाई भर्खर बनेको मेरो नागरिकता देखाउँदै बाबुआमा दुवैका नागरिकता र जन्मदर्ताका प्रमाणसमेत बुझाउँदा पनि किन यस्तो नागरिकता बन्यो भनेर प्रश्न गर्नुभयो। लगत्तै नागरिकता शाखामा पुगेर सीडीओले जोडसँग चिच्याउँदै भन्नुभयो, "कसले हो नागरिकतामा आमाको नाम नराखेको?"

सीडीओलाई देखेपछि त्यहाँका हजुरबुवा अनि म्यामहरूले नतमस्तक हुँदै एकै स्वरमा भने, "नियतवश होइन, प्रिन्ट मिस्टेक भयो होला, तुरुन्तै सच्चाएर अर्को बनाइदिन्छौँ।"

दोहोर्‍याएर निर्देशन दिई सीडीओ जानुभयो। त्यसपछि त्यहाँका कर्मचारीले पहिलेको नागरिकता तत्काल फिर्ता गर्न आग्रह गरे। बाबाले उनीहरूको हैरानी दिने हर्कतको प्रमाणस्वरूप मोबाइलले त्यो नागरिकताको फोटो खिच्नुभयो (तस्वीरमा हेर्नुहोस् प्रमाण)। त्यो देखेर एक जना कर्मचारी डराउँदै खोस्नै आइपुगे। अनि हस्याङफस्याङ गर्दै त्यहाँका सबै मिलेर मेरो नागरिकताको अर्को प्रति बनाइदिए। 

बाबा र आमाको नामसहितको नागरिकता तयार भएपछि एक जनाले हामीसँग नयाँ फोटो मागेर टाँसे। त्यसमा दोस्रो पटक सही गर्ने बेला तिनै हजुरबुवा उमेरका कर्मचारी झ्यालबाट हामीतिर हेर्दै सुस्तसँग गुनगुनाउँदै थिए, "कस्तो ज्याद्रो मान्छे रहेछ, सीडीओ पो बोलायो।"

मलाई त्यसै क्षण महसुस भयो, हरेक दिन मजस्ता अनेक सपना लिएर देशको उपहारका रूपमा नागरिकताको प्रमाणपत्र लिन आउने कार्यालयका कर्मचारीको जवाफदेहिता र कर्तव्यनिष्ठता आमजनताप्रति नभएर ठूलाबडा हाकिमप्रति मात्र पो हुँदोरहेछ। राज्यको अनुहार र व्यवहार मानिने प्रशासन कार्यालयको यस्तै रूपले हामीजस्ता नवपुस्ताका युवालाई स्वदेशमा बस्न उकुसमुकुस लागेको त होइन? 

आफ्ना आमाबाबाको साथमा हुने मजस्ता भाग्यमानी सन्तानले त उमेर, योग्यता र प्रमाण पुगेपछि बाबासँगै गएर नागरिकता बनाउँदा यसरी निरुत्साहित हुनुपर्छ भने बाबुआमाविहीन बालबालिकाको हालत के होला?  

तिनै हजुरबुवा र उहाँजस्ता तमाम प्रशासकहरूलाई मेरो प्रश्न छ, "यो देशका अनाथ बालबालिकाको अभिभावक राज्य छ भन्ने अनुभूति दिलाउन तपाईंहरूबाट किञ्चित् सम्भव होला? प्रशासनमा बसेर हामीजस्ता जिज्ञासु नातिनातिना पुस्तालाई देशभित्र बस्नै मन नलाग्ने गरी दिनदिनै निराश पार्दा तपाईंहरूलाई कहिलेसम्म आनन्द मिल्छ?


सम्बन्धित सामग्री