Monday, April 29, 2024

-->

होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर व्यवसायीले होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग गरेका छन्।

होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

वैशाख– होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर व्यवसायीले माग गरेका छन्। आइतबार मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाउँदै होटल तथा पर्यटन व्यवसाय संघ, पर्सा वीरगन्जले होटल व्यवसायलाई उद्योगसरह मान्यता दिलाउने पहलका लागि नीतिगत तथा विधिगत निर्णय अगाडि बढाउन आग्रह गरिएको हो।

होटेल तथा पर्यटन व्यवसायले उद्योगसरह मान्यता पाए उद्योगहरूलाई प्राप्त हुने सहुलियत र सुविधाले व्यवसाय तंग्रिन सहयोग पुग्ने ज्ञापनपत्रमा उल्लेख छ। “उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै चिन्हित गरिएको महत्त्वपूर्ण क्षेत्र रहेको ‘होटेल तथा पर्यटन व्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्दत मिल्ने छ,” विज्ञप्तिमा भनिएको छ।

होटल तथा पर्यटन व्यवसाय क्षेत्र झन्डै एक दशकदेखि मुलुकमा दे‍खिएका कुनै न कुनै समस्याको चपेटामा परेर त्यसको प्रभावलाई सामना गर्दै आइरहेको संघका अध्यक्ष हरि पन्तले सुनाए। २०७२ को भूकम्पले र लगत्तै साढे चार महिने नाकाबन्दसहित झन्डै ६ महिना चलेको मधेश आन्दोलनको प्रभावले होटल तथा पर्यटन व्यवसाय ठप्प बनाएपछि यसको असरबाट निस्किन आधा दशक समय लागेको उनको भनाइ छ।

“होटेल तथा पर्यटन व्यवसाय पुनः तंग्रिने प्रक्षेपण भइरहँदा देशमा भिजिट नेपाल २०२० कार्यक्रम पनि घोषणा भयो। विडम्बना, विश्वव्यापी कोरोना महामारीको प्रभावले सबै प्रयासहरूलाई सोतर बनायो,” पन्तले भने, “शुरू नहुँदै भिजिट नेपाल कार्यक्रम सरकारले घोषणा गरेर नै स्थगन गर्ने विकराल अवस्था आयो। कोरोनाकाल दोहोरिँदै लम्बियो र कतिपय होटल तथा रेस्टुरेन्ट बन्द भए, कतिपय ऋणमा डुबे, होटलमा रोजगारी संकुचनमा पर्‍यो।”

यावत् समस्या होटेल तथा पर्यटन व्यवसाय क्षेत्रले सामना गरिरहँदा तत्कालीन सरकारले सहुलियत र राहतको मलहम लगाउने काम नगरेको उनले गुनासो गरे।

मन्त्री रिजालले मुलुकको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण पाटोसँग जोडिएको विषय भन्दै यसका आवश्यक पहल गर्ने र विधिसम्मत बाटो निकाल्ने प्रयास गर्ने बताए। उनले होटल तथा पर्यटन व्यवसाय दर्ता पनि उद्योग दर्ता गर्ने निकायमै हुने भएकोले यसमा धेरै समस्या नआउने विश्वास व्यक्त गरे। देशलाई र आर्थिक क्षेत्रलाई सही दिशामा लैजान प्रतिबद्ध रहेकोले यस्ता विषयहरूको समाधान आफू र सरकार सकारात्मक रहेको उनको भनाइ छ।


सम्बन्धित सामग्री