Sunday, April 28, 2024

-->

बाटो छेकिँदा भताभुंग भएको भुजुङयात्रा

ग्रामीण पर्यटन क्षेत्रमा घुम्न, रमाउन र अध्ययन तथा सरसहयोग गर्न टाढा–टाढाबाट विद्यार्थीहरू जाने क्रम बढेको छ। तर लामो तयारीसहित हिँडेका पाहुनाले समुदायबाट सूचना नपाउँदा यस्तोसम्म कष्ट आइपर्छ!

बाटो छेकिँदा भताभुंग भएको भुजुङयात्रा
अध्ययन भ्रमणमा सहभागी टोली। तस्वीरहरू सौजन्य: बिना चापागाईं।

हामीलाई सामाजिक कार्य (स्नातक तह चौथो वर्ष) को पाठ्यक्रमअनुसार आदिवासी समुदायको अध्ययन गर्न ग्रामीण, अर्ध–ग्रामीण वा शहरी क्षेत्रमा स्थलगत भ्रमणका लागि जानुपर्ने थियो। तर उपयुक्त स्थान छनोटमा भने अन्योल भइरहेको थियो। केही दिनको विचारविमर्शपछि लमजुङ, गोरखा, नुवाकोट, धादिङ लगायतका सम्भावित ठाउँहरूबारे बुझ्न थाल्यौँ।   

बहुसंख्यक विद्यार्थीको आग्रहअनुसार पाँच दिन लामो अध्ययन शिविरका लागि ग्रामीण पर्यटनसँगै आदिवासी गुरुङ संस्कृतिका लागि प्रख्यात लमजुङ जाने निधो गरियो। लमजुङको पनि कुन ठाउँ जाँदा ठीक होला भनेर ठम्याउन भने अझै पनि गाह्रो परिरहेको थियो। त्यत्तिकैमा कार्यालय पुगेर यस विषयमा छलफल गर्दा एक सहकर्मी दाइले अध्ययनका लागि लमजुङस्थित क्व्होलासोथार गाउँपालिकाको भुजुङ गाउँ जानु उत्तम हुने सुझाव दिए। 

उनले भुजुङमा अध्ययन गर्न मिल्ने विषयवस्तुबारे बताउँदै आफू त्यहाँ गएका बेला खिचेका केही तस्वीरहरू पनि देखाए। त्यसको भोलिपल्ट क्याम्पसमा शिक्षकलाई भेटेर भुजुङका तिनै तस्वीरहरू मोबाइलमा देखाउँदै त्यस ठाउँबारे सुनेजति विवरण बतायौँ। हाम्रो सल्लाहअनुसार शिक्षक र विद्यार्थीको सहमतिमा भुजुङ जाने निश्चित भयो। 

गुरुङ गाउँ भुजुङको गन्तव्य पक्का गरेर सोही अनुसार तयारीका कामहरू अघि बढाइयो। २५ दिन अघिदेखि नै स्थानीय तहका जनप्रतिनिधिलाई पनि त्यहाँको समुदायमा हामीले गर्ने क्रियाकलापहरूबारे जानकारी गरायौँ। सडकको अवस्था, मौसम, होमस्टेको संख्या, लागत आदि यावत् विषयहरूबारे यथेष्ट सूचना लिएर पक्कापक्की गरियो। सम्पूर्ण तयारी पूरा भएपछि फागुन तेस्रो हप्ता भ्रमणमा निस्कने मिति पनि तोकियो।

भुजुङ ताकेर थालेको यात्रा र अड्चन
पद्मकन्या बहुमुखी क्याम्पसको चमेना गृहमा बिहानको खाजा खाइसकेपछि निस्किने तयारी गरियो। अन्ततः बिहान करिब ९ बजे १३९ विद्यार्थीले भरिभराउ पाँच वटा बस बागबजारबाट गन्तव्यतर्फ प्रस्थान गरे। बसभित्र रमाइलो गर्दै शुरू भएको नाचगानमा अधिकांश साथीहरू रमाउन थाले। कतिपय साथीले ‘गुगलࡆ’ गर्दै भुजुङको बारेमा नयाँ–नयाँ जानकारीहरू खोजिरहेको देख्दा त्यस ठाउँप्रतिको अभिरुचि कति उच्च थियो भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो। 

लगभग तीन घण्टाको यात्रापछि पृथ्वी राजमार्गको कुरिनटार पुगेर खाना खाइयो। त्यहाँ आधा घण्टाको विश्रामपछि पुनः गन्तव्यतर्फ लाग्यौँ। भुजुङतिरको दूरी नजिकिएसँगै कौतुहलता पनि बढ्दै थियो। त्यही ठाउँ पुगेर सारा उत्सुकता मेट्न साँझसम्मका लागि धैर्यधारण गर्दै अघि बढ्दा समय बितेको पत्तै भएन। खानापछिको यात्रामा झपक्क निदाएर ब्युँझिँदा हामी लमजुङको सदरमुकाम बेसीशहर पुगिसकेछौँ। 

बेसीशहर प्रवेश मात्रै के गरेका थियौँ, विपरीत दिशाबाट फर्किंदै गरेको एउटा बसका चालकले हाम्रा लहरै अघि बढिरहेका बसहरूलाई रोके। उनले भुजुङ जाने मुख्य सडक पुनर्निर्माण भइरहेका कारण बन्द भएको र जानकारी दिए। त्यो बस पनि काठमाडौँकै अर्को एक क्याम्पसबाट अध्ययनको लागि विद्यार्थी लिएर गएको रहेछ। बसमा टाँसेको ब्यानर हेर्दा त्यसमा पनि स्नातक चौथो वर्षमै मनोविज्ञान विषय अध्ययनरत विद्यार्थी अध्ययन शिविरमा गएको थाहा भयो। बेसीशहरबाट भुजुङतर्फ जाने बाटो नपाएपछि उनीहरू फर्केर पोखरातर्फ लाग्दै रहेछन्।  

त्यो दृश्यसहित हठात् आइपरेको परिस्थितिले हामी द्विविधामा पर्‍यौँ। अलिकति आशा जगाउँदै भुजुङ जाने वैकल्पिक मार्ग भए/नभएको स्थानीयसँग बुझ्यौँ। छोँटो उकालो कटेपछि मूल मार्गसँग जोडिने अर्को एउटा बाटो रहेछ। तर त्यसतर्फ बस उकाल्न सम्भव भएन। समस्त विद्यार्थीका साथै पाँच जना शिक्षक र बसका १० जना चालक तथा सह–चालक सबै अलमलमा पर्‍यौँ। 

सडक पुनर्निर्माणको काम भइरहेको जानकारी समयमै पाएको भए भ्रमणको मिति सार्न वा फरक ठाउँ छान्न सकिन्थ्यो। अचानक आइपरेको व्यवधानबाट बिहान काठमाडौँबाट हिँड्दाका उज्याला अनुहारहरू अचानक फिका देखिन थाले। भुजुङका विद्यालयमा सहयोगका लागि खरिद गरिएका सामान (किताब, कापी, कलम, चकलेट, स्यानिटरी प्याड) र मायाको चिनो खेर जाने चिन्ता सबैले व्यक्त गर्न थाले। केही उपाय छ कि भनेर निरन्तर स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क गर्दा पनि विकल्प केही निस्केन। 

बेसीशहरका नगरप्रमुख गुमानसिंह अर्यालले बस छोडेर सानो बोलेरो जीप चढेर जाने सुझाव दिए। “बाटो भर्खर ढलान गरेको छ। बसको लागि केही गरी पनि खोल्न मिल्दैन। सबै जना मिलेर बोलेरोमै भुजुङ जानुहोस्। मैले भनेर केही लाग्नेवाला छैन र बस चल्दा पनि चल्दैन,” उनले भने।

भुजुङमा आवास पक्का गर्ने सामुदायिक होमस्टे समितिका अध्यक्ष ओम गुरुले एक रात बेसीशहरमा बसे दोस्रो दिन बाटो मिलाउने बताए। उनले भने, “तपाईंहरू आज त्यहीँ बेसीशहरमै बास बस्नुहोस्। हामी वार्ता गर्दैछौँ। भोलितिर केही बन्दोबस्त मिलाउँला।”

भुजुङको योजना बनाउँदा विद्यार्थीबाट सीमित बजेट संकलन गरेर भ्रमण तय गरिएको थियो। केही रकम सहयोग सामग्री खरिद गर्दा त केही बस रिजर्भलगायत अन्य कुरामा खर्च भइसकेको थियो। त्यसमाथि प्रतिव्यक्ति ८०० रुपैँया तिरेर बोलेरो गाडी रिजर्भ गरी झण्डै डेढ सय जना भुजुङ जान सम्भव थिएन। बेसीशहरमा बुझ्दा खाना र आवासखर्च उत्तिकै महँगो थियो। केही सोच्नै नसकी बिलखबन्दमा पो पर्‍यौँ। त्यही बेला केही स्थानीय बासिन्दाले सडक ढलान गर्ने भनेर धेरै पहिले नै सूचना निकालिएको बताए। त्यो जानकारी हामीलाई सत्कार गर्न बोलाएका भुजुङवासीले किन समयमै नदिएका होलान्?    

आकस्मिक योजनाका कारण ठेगाना बदल्नुपरेको ब्यानर। 

बेसीशहरका एक जानकार स्थानीयले भने, “सडक निर्माण कार्य हुँदैछ भनेर २०–२२ दिन अगाडि नै सूचना निकालिएको थियो। उहाँहरूलाई थाहा पनि थियो। तर पनि यस विषयमा जानकारी नदिनु गलत हो।”

त्यहीँकी अर्की एक महिलाले भुजुङ जाने ग्रामीण सडक तीन दिनअघि मात्र ढलान भएको बताइन्। “त्यति टाढादेखि आउने यति धेरै पाहुनालाई कम्तीमा ढलान भइसकेपछि जानकारी दिएको भए पनि हुन्थ्यो,” उनले भनिन्। 

सडक निर्माण कार्यहरू ठाउँ–ठाउँमा भइरहेका हुन्छन्। भुजुङजस्तो अध्ययनमूलक र पर्यटकीय स्थलमा त्यति ठूलो संख्यामा अध्ययन शिविरका लागि जान लागेका हामीलाई यथार्थ जानकारी गराउनुपर्ने दायित्व विशेषगरी पाहुन सत्कार गर्ने समुदायकै थियो। पूरा सूचनाको महत्व र अल्पसूचनाबाट परिआउने यस्तो अप्ठ्यारोबारे उनीहरूले खासै विचार पुर्‍याएजस्तो देखिएन। यो पक्ष हामीलाई पनि भविष्यका लागि ठूलो पाठ बन्न पुग्यो। 

पटक पटक प्रयास गर्दा पनि केही सीप लागेन। हामीले बीच बाटोमै अलपत्रजस्तै भयौँ। दिउँसो साढेँ चार बजे नै बेसीशहर पुगेर पनि राति ९ बजेसम्म अन्योलका बीच त्यहीँ अड्कियौँ। अन्तिममा त्यहाँबाट निराश भएर फर्कनुबाहेक हामीसँग अर्को विकल्प रहेन। त्यसपछि भुजुङ जाने सपना त्यहीँ अन्त्य गरेर आकस्मिक योजना बनाई तनहुँको बन्दीपुरतर्फ लाग्यौँ, जहाँ नयाँ चुनौतीको सामना गर्दै अध्ययन शिविरका निर्धारित कार्यक्रमहरू पूरा त गर्‍यौँ। तर बाटो छेकिँदा मताभुंग भएको भुजुङ जाने सपनाको भारीले भने गह्रुँङ्गोसँग थिचिरहेको छ। 


सम्बन्धित सामग्री