Monday, April 29, 2024

-->

गोवाको सिंगल मल्ट ह्विस्की र नेपालमा ‘प्रिमियम’ रक्सीको सम्भावना

ह्विस्कीका धेरै प्रकार भ‌ए पनि सिंगल मल्टको विशेष स्थान छ। अरू ह्विस्की विभिन्न ठाउँमा बनाएर मिसाइन्छन् भने सिंगल मल्ट एउटै ठाउँ र अझ एउटै फ्याक्ट्रीबाट बनाइएको हुन्छ।

गोवाको सिंगल मल्ट ह्विस्की र नेपालमा ‘प्रिमियम’ रक्सीको सम्भावना

दुई महिनाअघि आफ्ना विद्यार्थीका साथ भारतको गोवा जाने अवसर मिल्यो। तीनदिने गोवा बसाइँमा हामी बागा समुद्री तट खुब राम्रोसँग घुम्यौँ। एउटा समुद्री तट नेपालको पोखराको पर्यटकीयस्थलभन्दा कयौँ गुणा ठूलो रहेछ भनेर अनुमान लगाउन सकियो। गोवामा रहँदा त्यहाँको पल जन भन्ने सिंगल मल्ट ह्विस्कीको कारखाना घुम्न गयौँ। डेढ घण्टा जतिको शैक्षिक भ्रमणका क्रममा हामीले ह्विस्की कसरी बनाइँदो रहेछ भन्ने थाहा पायौँ।

पहिले त ह्विस्की कसरी बन्छ भन्नेबारे छोटोमा चर्चा गरौँ। ह्विस्की जौबाट बन्छ। विभिन्न जातका जौको विभिन्न ठाउँमा खेती गर्न सकिन्छ। भारतको हिमाचल प्रदेशमा खेती गरेको जौको प्रयोग पौल जन ह्विस्कीले गर्ने रहेछ। जौबाट चिनी तथा अरू सहज कार्बोहाइड्रेट निकाल्न जौलाई टुसाउन दिनुपर्छ। यो प्रक्रियालाई ‘मल्टिङ’ भन्छन्। मल्टिङलाई रोक्न पिटको धुवाँ अथवा उच्च तापक्रमको प्रयोग गर्न सकिन्छ। पिटको प्रयोग हुँदा पिटेड ह्विस्की बन्छ। टुसा पलाएको जौलाई टुक्रा–टुक्रा पारिन्छ र कार्बोहाइड्रेटलाई चिनीमा परिणत गरिन्छ। यो प्रक्रियालाई ‘म्यासिङ’ भनिन्छ। म्यासिङपछि ‘फर्मेन्टेसन’ गरिन्छ, जसमा खमिर (इस्ट)को प्रयोग गरिन्छ। यो प्रक्रियाबाट चिनी रक्सीमा परिणत हुन्छ। रक्सीलाई अरू तत्त्वबाट छुट्याउन ‘डिस्टिलेसन’ गर्नुपर्ने हुन्छ। रक्सीलाई बाफ बनाएर छुट्टै जम्मा गर्नुपर्ने हुन्छ। 

डिस्टिलेसनका तीनचार चरण हुन्छन्। शुरू–शुरूमा मेथेनजस्ता मिसावट पनि आउँछन्। धेरै पटक यही प्रक्रिया दोहोर्‍याएर आ‌एको रक्सीलाई ‘मेच्योरेसन’ गर्नुपर्छ। फरक ठाउँमा मेच्योरेसन गरेका रक्सीको स्वाद फरक पर्न आउँछ। मेच्योरेसनमा ओक‌उडको काठबाट बनाएको भाडामा रक्सीलाई राख्ने गरिन्छ। रक्सीमा ओक‌उडका तत्त्व मिसिन्छन्। वातावरणमा भ‌एका रसायन पनि रक्सीमा मिसिन्छन्। रक्सी पनि केही मात्रा बाहिर वातावरणमा हराउँछ। मेच्योरेसन जाडो ठाउँमा धेरै समय गर्नुपर्ने हुन्छ, गर्मी ठाउँमा कम गरे पनि हुन्छ। गोवामा एक वर्ष मेच्योरेसन गर्ने चलन रहेछ। मच्योरेसन गर्नका लागि ठूलो र अग्लो भवन आवश्यक पर्छ। यहाँ तह–तहमा राखेका बेरलको अनगिन्ती चाङ हुन्छ। वातावरणमा रक्सीको गन्ध आइरहेको हुन्छ। माथि छत हुन्छ, एसीको भने प्रयोग हुँदैन।

ह्विस्कीका धेरै प्रकार भ‌ए पनि सिंगल मल्टको विशेष स्थान छ। अरू ह्विस्की विभिन्न ठाउँमा बनाएर मिसाइन्छन् भने सिंगल मल्ट एकै ठाउँ र अझ एउटै फ्याक्ट्रीबाट बनाइएको हुन्छ। 

सिंगल मल्ट आम रूपमा महँगो हुन्छ। पौल जनको हकमा एक लिटरकै १५-२० हजार पर्छ। गोवाको पल जन खाली गोवामै मात्र खपत गर्न बनाइ‌एको ह्विस्की होइन, विदेशमा निर्यात गर्न बनाइ‌एको हो। ह्विस्कीको सबैभन्दा बढी निर्यात हुने देशचाहिँ स्कटल्यान्ड हो। ह्विस्कीको आविष्कार पनि यतै भ‌एको बताइन्छ। सयौँ स्कच ब्रान्डले बर्सेनि अर्बौंको रक्सी निर्यात गर्छन्।

नेपालमा पनि विभिन्न ठाउँमा रक्सीको उत्पादन हुन्छ। चितवनमा गोर्खा डिस्टिलेरी छ, जसले ठूलो मात्रामा बियर तथा अन्य रक्सी बनाउँछ। त्यस्तै मुस्ताङमा सानो स्तरको डिस्टिलरी छ, जसले स्याउबाट ब्रान्डी बनाउँछ। अहिलेसम्मका नेपाली डिस्टिलेरीको लक्ष्य नेपालमा नै रक्सी बेच्ने रहिआएको छ। एउटा नाम चलेको खुकुरी रम छ, जुन विदेशमा निर्यात हुन्छ। तर त्यो पनि एकदमै प्रिमियम (महँगो) रक्सी होइन। यार्सा, बन्दिपुर, सेतो बाघजस्ता केही ब्रान्ड छन्, जो महँगो रक्सी बेच्ने इच्छा राख्छन्। हामीकहाँ वार्षिक आउने १० लाख पर्यटकले एक बोतल प्रिमियम रक्सी आफ्नो साथ उपहार लगे भने पनि हामी सफल भ‌एको मान्नुपर्छ। हामीले विशेष ध्यान पुर्‍याउन सके, विदेशी तथा स्वदेशी लगानीकर्ता र विशेषज्ञ ल्याउन सके नेपालले पनि प्रिमियम रक्सी बनाएर प्रचुर मात्रामा निर्यात गर्न सक्छ कि भन्ने लाग्छ।

माथि बयान गरिएको ह्विस्की बनाउने प्रक्रियाका तीन स्थानमा नेपालले विशिष्ट प्रविधि प्रयोग गर्न सक्छ। पहिलो त जौ, अन्य अन्न तथा फलफूल नेपालमा विशिष्ट श्रेणीको उत्पादन गर्न सकिन्छ। यसको उदाहरण चिया खेतीमा देख्न सकिन्छ। इलामको गोर्खा चिया उद्योगले पहाडी भेगमा हुने चियाको पहिलो टुसाको विशेष संकलन र प्रशोधन गर्छ। यो चिया काठमाडौँमा बिक्ने चियाभन्दा कयौँ गुना मूल्यमा जर्मनीमा बिक्री हुँदो रहेछ। हिमाल, पहाड तथा तराईका कुनै पनि स्थानमा विशेष स्वाद भ‌एका विभिन्न अन्न र फलफूललाई विशेष महँगो पर्ने रक्सी उत्पादन गर्न प्रयोग गर्न सकिन्छ। डाबरले अहिले पनि हिमालयन एप्पल साइडर भिनेगर भनेर बेच्छ। हामी पनि मुस्ताङ र जुम्लामा फलेका स्याउको विशेष स्वाद हुने भ‌ए त्यसलाई रक्सीमा परिणत गरेर बेच्न सक्छौँ। 

दोस्रो, डिस्टिलेसनको प्रक्रियालाई विशिष्ट बनाउन सकिन्छ। हाम्रो मुस्ताङको स्याउबाट ब्रान्डी बनाउने प्रक्रिया एकदमै साधारण छ। ड्रममा राखेर फर्मेन्टेसन गरिन्छ अनि ५० वर्षभन्दा पुरानो डिस्टिलरीमा रिफाइन गरिन्छ। यस्तो प्रविधिको प्रयोग गर्दा सर्वप्रथम त रक्सी पिउन सुरक्षित नहुन पनि सक्छ, अर्को कुरा, रक्सीले उचित मूल्य पनि ल्याउन सक्दैन। त्यसैले रक्सीको फ्याक्ट्री खोल्दा उच्च प्रविधि नेपालमा ल्याउँदा उचित हुन्छ।

तेस्रो, मच्योरेसन प्रक्रिया नेपालमा गरेको खण्डमा त्यसले पनि विशिष्टता थप्न सक्छ। गोवामा सिंगल मल्ट कारखाना गोवाको वातावरणमा मेच्योरेसन गराउन खोलिएको हो। त्यसबाहेक त्यहाँ पर्याप्त मात्रामा पानी पनि उपलब्ध थियो। नेपालको मुस्ताङमा या कुनै जंगल बीचको पहाडमा अथवा तराईको सालको जंगलको बीचमा ह्विस्की मेचोर गर्दा कस्तो नतिजा आउला, कसैलाई थाहा नभ‌एको कुरो भयो। नेपालका विशिष्ट रसायन मिलेको रक्सीको स्वाद कस्तो रहला? विभिन्न उचाइ र वातावरण भ‌एको नेपालमा शायद विशिष्ट रक्सी बन्न सक्छ होला।

यी त भ‌ए प्रिमियम रक्सी उत्पादनका प्राविधिक पक्ष। साँच्चिकै रक्सी बनाउँदैमा पुग्ने छैन। उत्पादित रक्सी विदेशी बजारमा बेच्न पनि सक्नुपर्छ। नेपाल र विदेशको नीतिले तथा शुरूआत गर्ने कम्पनीको अर्थ नीतिले व्यापार सफल हुन्छ कि हुँदैन, निर्धारण गर्नेछ। रक्सी उत्पादन विषयका विज्ञहरू नेपालमै भ‌एको खण्डमा काम शुरू गर्न सजिलो पर्नेछ। अहिलेका नेपाली उत्पादक र विदेशी उत्पादकले नेपालमा कारखाना खोल्नेबारे अनुसन्धान त गरेकै होलान्। नेपालको अर्थतन्त्र र खेती बुझेका नेपाली उत्पादक र विदेशमा व्यापार गर्न खप्पिस विदेशी उत्पादकबीच सहकार्य हुन सके अ‌झ उत्तम हुने थियो। 

सामान्य व्यापारको नियमअनुसार कुनै पनि व्यापार शुरू गर्नुअघि ५-६ वटा विषयमा ध्यान दिनुपर्छ; उत्पादित सामानको बजारको आकार, बजार बढ्ने सम्भावना, प्रतिस्पर्धी उत्पादन/ब्रान्ड, देश र विदेशका नीति नियमका फरक र सामान व्यापार गर्ने माध्यम। बजारको आकार हेर्दा संसारको महँगो रक्सीको व्यापारको तथ्यांक हेर्नुपर्ने हुन्छ। यो बजार हरेक वर्ष बढ्दो छ। युवाको खर्च गर्ने आम्दानी बढेकोले र पहिलेभन्दा अहिले सामाजिक रूपमा रक्सी पिउने विषय बढी मान्य भएकाले महँगो रक्सीको खपत समाजमा बढ्दो छ। हरेक वर्ष विश्वमा अर्बौं डलर बराबरको विश्वमा प्रिमियम रक्सी खपत हुने गर्छ। 

स्वादिला रक्सीको लोभलाग्दो बजारीकरण गर्न सक्दा पक्कै हामीले पैसा कमाउन सक्छौँ, तर हामीले विभिन्न स्थापित ब्रान्डका ह्विस्की, जिन, भोड्का, ब्रान्डी, टेकिला इत्यादिसँग भने संघर्ष गरिरहनुपर्नेछ। बजारमा टिक्न ब्रान्डिङको ठूलो महत्त्व हुने हुँदा पहिल्यै स्थापित ब्रान्डसँग सहकार्य गर्न सके काम सहज हुनेछ। बजार बुझेकासँग सहकार्यका रूपमा काम गर्दा बजार लिन सहज हुने छ। देश र विदेशका रक्सीसँग सम्बन्धित नियम कानून बुझ्नु र सोअनुसार काम गर्न सकिएला। नेपालमा खपत हुने गरिकन रक्सी उत्पादन गर्दा उच्च कर लाग्ने गर्छ। विदेश निर्यात हुनसक्ने उच्च गुणस्तरका रक्सीका उत्पादनमा कम कर लगाउन सके शायद नेपाली रक्सी उद्योग फस्टाउन सक्थ्यो।


भट्टराई काठमाडौँ विश्वविद्यालय,बायोटेक्नोलोजी विभागका उपप्राध्यापक हुन्।


सम्बन्धित सामग्री