Thursday, May 02, 2024

-->

जुरा घुम्न जाने कुरा!

जुराका पहाडमा खेलिहिँडेका बथानका बथान हरिणहरू हेर्नुको मजा अविस्मरणीय हुन्छ। सिंगो टापुमा एउटा-एउटा पब, पसल, हुलाक, पेट्रोल पम्प र डिस्टिलरी छन्। बस्नका लागि एउटा होटलसहित केही कटेज छन्।

जुरा घुम्न जाने कुरा

ह्विस्की पारखीहरूले पक्कै पनि ‘जुरा’ शब्द सुनेको हुनुपर्छ। बजारमा निकै आकर्षक बोतलमा पाइने यो सिंगल माल्ट ह्विस्की प्रचलित छ। वास्तवमा जुरा भनेको स्कटल्याण्डको अनेकन टापुहरूमध्ये ठूलो एक टापुको नाम हो। जुरा टापुमा पाइने ६ र १२ सिंगे तथा राता मृगहरू संसारभरि प्रख्यात छन्। 

सन् १८३१ तिर करिब १३१२ मानिस बसोबास गर्ने यो टापुमा अहिले केवल २४० जना हाराहारीमा मात्र बसोबास गर्दछन्। यहाँ मृगहरू भने ६ हजारभन्दा बढी छन्। यो ठाउँमा भ्रमणमा धेरै पर्यटक पुग्ने गरेका छन्। 

बेलायत एउटा सिंगो टापु हो। यो देशका तीन राज्यहरूको भूमि अन्य देशसँग जोडिएको छैन। यसभित्र पनि अनेकन साना ठूला टापु छन्। छुट्टै राज्य स्कटल्याण्डभित्र पश्चिमी तटमा अवस्थित लामो र साँघुरो जुरा टापु मुख्य भूमिबाट केवल ६० माइल (९६.५ किमि) टाढा भए पनि बिल्कुल छुट्टै ठाउँजस्तो लाग्छ। यो टापु २९ माइल लामो र सात माइल चौडा छ। पश्चिम क्षेत्र जंगल र लगभग निर्जन छ। जुराभित्र गेलिकमा 'द माउन्टेन अफ द साउन्ड', 'द माउन्टेन अफ गोल्ड' र 'द सेक्रेड माउन्टेन' गरी तीन ठूला पहाड छन्। घना वन, शान्तिपूर्ण चरण क्षेत्र र तुफानी समुद्र यहाँका विशेषता हुन्।

संसारको तेस्रो ठूलो सामुद्रिक भुमरी जुरामा भएको कारण जलविहारका लागि पनि पर्यटकहरू पुग्छन्। करिब तीन घन्टाको डुंगा सयरबाट ज्वारले पार्ने भुमरी नजिक पुगेर अवलोकन गर्न सकिन्छ। तर यसको लागि उचित मौसमको चयन गर्नुपर्छ। समुद्रको उत्तरी भेगबाट ठूलो मात्रामा आएको पानी साँघुरो क्षेत्रमा प्रवेश गर्दा ठूलो भुमरी पर्छ। 

यो जुरा र स्कार्बाबीचको करिब एक माइल क्षेत्र हो। यसलाई कोरिभेरेकनको खाडी र ‘साउण्ड अफ जुरा’ पनि भन्ने गरिन्छ। त्यहाँ जान आइतबार, मंगलबार र बिहीबार बिहान ९ देखि १२ बजेसम्म डुंगा पाइन्छ। १६ वर्षभन्दा माथिका लागि ७० पाउण्ड र मुनिका लागि ४० पाउण्ड शुल्क लाग्छ। यो यात्रामा सेतो समुद्री चीलहरूको बासस्थान पनि देख्न सकिन्छ।

यहाँ प्रख्यात बेलायती लेखक जर्ज अरवेल केही वर्ष (१९४६-४९) बसेको बार्नहिल कटेज पनि देख्न सकिने छ। उनले सन् १९४८ मा चर्चित पुस्तक १९८४ को लेखन तथा सम्पादन यही घरमा बसेर गरेका थिए। एनिमल फार्मसहित केही उत्कृष्ट पुस्तकका लेखकको खास नाम चाहीँ एरिक आर्थर ब्लेयर हो। यही भुमरीमा परेर उनको झण्डै मृत्यु भएको थियो। उनीसहित अन्य दुई जना सवार डुंगा डुबे पनि पौडेर बाहिर आउन सफल भएका थिए र माछा मार्ने मानिसहरूको सहयोगमा घर पुगेका थिए। सन् १९४९ मा लण्डनमा ४६ वर्षकै कलिलो उमेरमा उनको मृत्यु भएको थियो। 

पूर्वप्रधानमन्त्री डेभिड क्यामरून पनि पटकपटक जुरा पुगेका छन्। उनको श्रीमती सामन्था क्यामरुनका सौतेनी बुबा वर्तमान लर्ड विलियम एस्टोरको मुख्य बसोबास यतै भएकोले नियमित भेट हुने गरेको छ।

जुराको इतिहास धेरै प्रकारले हेब्रिड्सका अन्य टापुहरूसँग मिल्दोजुल्दो छ। केही समय यहाँ नोर्सेमनले ‘आइल अफ म्यान’बाट पनि शासन गरेको देखिन्छ। सन् ११५६ को इस्लेको प्रसिद्ध समुद्री युद्धमा सोमर्लेडहरू बलियो भएपछि नोर्स शक्ति समाप्त भयो। सोमर्लेडका वंशजमध्ये  क्लान डोनाल्डको प्रख्याति थियो। यिनीहरूलाई टापुका देवताको रुपमा लिने गरिन्थ्यो। प्रायजसो टापुहरू यिनीहरूको नियन्त्रणमा थियो। 

सन् १५०६ मा क्यामस एन स्टेकाको सन्धिले जुराको भूमि र शक्तिको सबै अधिकार ‘हाउस अफ क्याम्पबेल’को क्याडेट शाखालाई दिइयो। क्याम्पबेलको प्रभुत्व सन् १९३८ सम्म कायम रह्यो। जुराको अन्तिम चार्ल्स क्याम्पबेलले जुरा एस्टेट र घरहरू सब बेचेर त्यहाँबाट बसाइ सरेका थिए। 

जुरा पुग्न तीन वटा विकल्प छन्। पहिलो, ग्लास्गोबाट लोगान एयरमा इस्ले टापु जाने नियमित जहाज पाइन्छ। दोस्रो, केनाक्रेगबाट क्याल्म्याक फेरीद्वारा पोर्ट एलेन वा पोर्ट एस्काइगसम्म कार वा बाइकमा जान सकिन्छ। इस्ले पुगेपछि पोर्ट एस्काइगबाट फियोलिनसम्म करिब १० मिनेट फेरीमा जानु पर्छ। यो सेवा प्राय: बिहान ७.३० देखि बेलुकी ६.३० बजेसम्म सञ्चालनमा रहन्छ। अर्को विकल्प, वसन्त र गर्मी महिना (मार्चको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म) स्कटल्यान्डको तायवालिचको सानो र धेरै सुरम्य गाउँबाट १२ जना यात्रु अट्ने डुंगामा करिब ५० मिनेटमा जुरा पुग्न सकिन्छ। 

यसबाहेक १६ टनसम्मका व्यक्तिगत डुंगाहरू प्रयोग गरेर पनि जुरा जान सकिन्छ। यस्ता डुंगा बिसाउन टापुको सबैभन्दा ठूलो गाउँ क्रेगहाउस नजिक प्रतिरात १० पाउण्ड लिइन्छ। जुरामा पुगेर वरिपरि घुम्नका लागि बस र ट्याक्सी सेवा भए पनि आफ्नो अनुकूलमा निस्कन आफ्नै गाडी लिएर जानु उपयुक्त हुन्छ। लण्डनबाट गाडीमा पहिलो फेरीपोर्टसम्म पुग्न करिब ५२० माइलको यात्रा गर्नु पर्छ। बिचमा थकाइ मार्दै जाने हो भने बिहान ६ बजेतिर यात्रा शुरू गर्दा बेलुकी बास बस्न पुग्न सकिन्छ। 

जुराभरि एउटा मात्र बाटो छ, त्यो पनि एक लेनको। अर्को दिशाबाट आएको गाडीलाई बाटो दिन विभिन्न ठाउँमा रोकिनुपर्छ। ‘ए’ ८४६ नामाकरण गरिएको यो बाटोमा गाडी चलाउँदाको आनन्द बेग्लै हुन्छ। पहाडमा खेलिहिँडेका बथानका बथान हरिणहरू हेर्नुको मजा अविस्मरणीय हुन्छ। सिंगो टापुमा एउटा-एउटा पब, पसल, हुलाक, पेट्रोल पम्प र डिस्टिलरी छन्। बस्नको लागि एउटा होटलसहित केही कटेज छन्। 

यहाँका मानिस एक परिवारको रूपमा बसेका छन्। साथसहयोग सुखदु:खमा सबै सरिक हुन्छन। विभिन्न चाडपर्वमा रमाइलो गर्नुको साथै ग्रीष्मकालीन १० किलोमिटर दौड र हाफ म्याराथन गरिन्छ। मंगलबार बेलुकी ७:३० बजेदेखि आउने पाहुनाहरूको स्वागतार्थ गीत संगीतसहित ‘ट्युन्स नाइट’ गर्ने चलन छ। वार्षिक रूपमा एउटा सांगीतिक महोत्सव पनि गरिन्छ। यस वर्ष यो मेला २७-२९ सेप्टेम्बरको लागि तय छ। जुरा पेरिस चर्चमा आइतबार प्राथना हुन्छ र आगन्तुकका लागि हप्ताभरि खुला हुन्छ। यहाँभित्र जुराको इतिहास झल्काउने फोटोहरू छन्। यसलाई स्थानीय संग्रहालयको रूपमा स्थापित गरिएको छ। 

यहाँ सम्पूर्ण कार्यक्रम गर्ने सामुदायिक जुरा हल क्रेगहाउसमा छ। गर्मी महिनामा हरेक बुधबार हलमा ‘क्राफ्ट फेयर’ आयोजना गरिन्छ। विवाह, जन्मदिनलगायत अन्य जमघटको लागि स्थानीयले यही हल भाडामा लिन्छन्। सन् २०१९ देखि भने अन्यत्र कार्यक्रम गर्न मार्कीको पनि व्यवस्था गरिएको छ। स्कट र निक्कीले आफ्नो बिबाहाको लागि भनेर खरिद गरेको मार्कीलाई व्यावसायिक रूपमा भाडामा दिन शुरू गरेका हुन्। त्यसैगरी, घुमफिरको लागि सवारी साधन नल्याउनेहरूलाई एउटा सार्वजनिक बस र केही ट्याक्सी छन्। 

खाना र चिया नास्ताको लागी दुई वटा ठाउँ छन्। जुरा होटलमा रहेको रेस्टूरेन्टमा समरमा लन्च १२ देखि २:३० बजेसम्म र डिनर ५:४५ देखि ८:३० बजेसम्म खुला रहन्छ। हिउँदमा भने समय अलि फरक रहन्छ। 

स्थानीय खानाका रूपमा समुद्रमा समातिएका माछाहरूको स्वाद लिन पाइन्छ। द एन्टेलर्स क्याफेमा चाहिँ ८ देखि ११:३० बजेसम्म ब्रेकफास्ट र दिउँसो १२ देखि ६ बजेसम्म लन्च पाइन्छ। आइसक्रिम र चिया तथा कफि पनि पाइन्छ। 

जुराको मुख्य आकर्षणको केन्द्र र आर्थिक उपार्जनको मुख्य आधार यहाँको डिस्टिलरी हो। प्रत्यक्ष वा परोक्ष रूपमा यहाँ बसोबास गर्ने सम्पूर्ण मानिस यस कम्पनीसँग सरोकार राख्छन्। सन् १८१० मा स्थापना भएको यस टापुको ह्विस्की डिस्टिलरीलाई सन् १८३१ मा आधिकारिक रूपमा लाइसेन्स दिइएको थियो र सन् १९०१ सम्म चलेको थियो। तर आर्थिक कठिनाइ र दुई ठूला युद्धहरूका कारण लामो समय भग्नावशेषको रूपमा थियो।

यहाँ बसोबास गर्नेहरूको सामूहिक प्रयासमा सन् १९६३ देखि पुन: सञ्चालनमा आएको छ। यसलाई सबैले आफ्नो घरको रूपमा स्याहारसम्भार गर्ने गरेका छन्। यहाँ आउने मानिसहरूलाई १५ पाउण्ड शुल्कसहित यहाँका सम्पूर्ण क्रियाकलापबारे जानकारी दिइन्छ। सन् २०१५ मा आइल अफ जुराको उत्तरी छेउमा जुरा फेरीबाट २५ माइल टाढा एलिसिया, क्लेयर र जर्जिना मिलेर लुसा जिन उत्पादन गर्न थालेका छन्। लुसा ग्लेनको पानी प्रयोग गरेर बनाइने यो जिन प्रख्यात भइरहेको छ। 

यहाँ आउनेहरू वन्यजन्तु हेर्ने, हाइकिङ, हिल वाकिङ, सी कायाकिङ, साइक्लिङ गर्न रुचाउँछन्। टार्बर्टमा प्राचीन खडा गरेजस्तो देखिने पत्थर तथा क्लेग क्यासलका भग्नावशेष जस्ता ऐतिहासिक स्थलहरूको अवलोकन पनि गर्छन्।

जंगल र धेरै जमेको पानी भएर हुनु पर्छ यहाँ लामखुट्टेभन्दा अलि सानो खालको कीरा र भुसुना बढी आउँछन्। यसले टोक्दा खिल परेर चिलाउने गर्छ। त्यस्तो खिल तुरुन्त निकालिएन भने पछिसम्म समस्या हुने भएकोले सावधानी अपनाउन सुझाव दिइन्छ।


सम्बन्धित सामग्री