Friday, April 26, 2024

-->

लगानी दैनिक १०० रुपैयाँ, लक्ष्य एशियाडमा स्वर्ण!

साउदी अरबमा आयोजित विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स–२०२२ मा सिर्जनाले विश्व वरीयतामा दोस्रो र तेस्रो स्थानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन्। चीनमा हुने एशियाडमा पनि उनको लक्ष्य स्वर्ण नै छ।

लगानी दैनिक १०० रुपैयाँ लक्ष्य एशियाडमा स्वर्ण
प्रशिक्षणका क्रममा सिर्जना घिसिङ। तस्वीरहरू: किसन पाण्डे/उकालो

काठमाडौँ– १९औँ एशियन गेम्स (एशियाड) अन्तर्गत पारा तेक्वान्दोमा सहभागी हुने तरखर गरिरहेकी सिर्जना घिसिङलाई कसैले लक्ष्य सोधिहाले मुस्कुराउँदै जवाफ दिन्छिन्, “स्वर्ण ल्याउने हो।”

मकवानपुरमा जन्मिएकी सिर्जनाको मिहिनेत र प्रतिभा स्वर्ण दाबी गर्न योग्य छ। पछिल्ला प्रतियोगिताका नतिजाले पनि उनलाई स्वर्णको दाबेदार बनाएको हो। पारा तेक्वान्दोमा पाँच वर्ष बिताएकी उनले भाग लिएका पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये तीनमा पदक ल्याएकी छन्। 

सिर्जनले ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगितामै रजत ल्याएकी थिइन्। बहराइनमा आयोजित चौँथो एशियाली पारा युथ गेम्स–२०२१ मा उनले के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ तौल समूहमा रजत पदक जितिन्। त्यसपछि, डब्लूटी प्रेसिडेन्ट कप एशिया रिजन–२०२२ मा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ तौल समूहमा पनि रजत नै जितिन्।

साउदी अरबको रियादमा आयोजित विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स–२०२२ मा उनले विश्व वरीयतामा दोस्रो र तेस्रो स्थानमा रहेका जेसिका गार्सिया र नासिमेन्तो क्रिस्टिथिनलाई पराजित गर्दै स्वर्ण जितिन्। करिब एक वर्षदेखि उनी चीनको हाङ्झावमा हुने एशियाली खेलकुदअन्तर्गत पारा तेक्वान्दोको तयारी गरिरहेकी छन्।

बिहान ६ देखि ८ बजेसम्म सिर्जना प्रशिक्षणमा पसिना बगाउँछिन्। उनलाई कविराज नेगी लामाले प्रशिक्षण दिन्छन्। यसबाहेक बेलुका कहिले घर र कहिले सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा पनि प्रशिक्षण गर्छिन्। 

पछिल्लो समय भने उनलाई आर्थिक समस्याले पिरोल्दै आएको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण समस्या भइरहेको उनी बताउँछिन्। “यही प्रतियोगिताका लागि भनेर अन्य देशले क्याम्प राख्छ। हाम्रोमा क्याम्प राख्न शुरूआत गरेको खै त?” उनी भन्छिन्, “परिवार पाल्न कमाउनुपर्छ, पढाइ पनि छाड्नु भएन। त्यसैले खेलमा फोकस नै गर्न सकिरहेको छैन।”

तीन वर्षअघि घरेलु भूमिमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा प्रशिक्षक लामा र मनिराज विष्टको भेट भएको थियो। प्रशिक्षक विष्टले सिर्जनाको प्रतिभा देखिसकेका थिए। उनले लामालाई सिर्जनाबारे जानकारी दिएका थिए। 

त्यसपछि लामाले चासो राखेर प्रशिक्षणका लागि काठमाडौँ बोलाएका हुन्। त्यतिबेला उनी मकवानपुरमा सहकारीमा काम गर्दै पढाइलाई जारी राखिरहेकी थिइन्। 

काठमाडौँमा स्नातक अध्ययन र रोजगारी पनि गरिरहेकी उनलाई तेक्वान्दो संघले दैनिक १०० रुपैयाँ भत्ता दिने गरेको छ। उनी तीन वर्षदेखि तेक्वान्दो संघले मासिक ३ हजार उपलब्ध गराइरहेको हो। त्यस रकमले प्रशिक्षणका लागि आउजाउ र डाइट खर्चसमेत पुर्‍याउनु पर्छ।

संघले गरिरहेको यही १०० रुपैयाँ लगानीमा उनले स्वर्णको आशा गरिहरहेकी छन्। “पहिलो प्राथमिकता त स्वर्ण नै हो। तर स्वर्ण ल्याउनेजस्तो लगानी गर्न नै सकेको छैन,” उनी भन्छिन्, “१०० रुपैयाँले त अवस्य पुग्दैन, तर पुर्‍याउनुपर्ने बाध्यता छ।”

एशियाडमा उनलाई वरीयता सुधार्ने मौका पनि छ। विश्व वरीयतामा शीर्ष ६ मा पर्न सफल भइन् भने उनी सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिकको छनोट प्रतियोगिता खेल्न पाउने छिन्। उनी अहिले सातौँ स्थानमा छिन्। 

स्वतः जुरेको अवसर
१९औँ एशियाडका लागि पारा तेक्वान्दोमा छनोट हुन सजिलो थिएन। यूएईको शारजाहमा आयोजित छनोट प्रतियोगिता पार गरेपछि मात्रै चीनसम्म जाने ढोका खुला हुने समीकरण थियो।

शारजाहमा भएको के–४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजी तौल समूहमा रञ्जना धामीले छनोट पार गर्नै सकिनन्। उनी सेमिफाइनलमा काजकिस्तानकी मिलानासँग १८–१६ ले पराजित हुँदै तेस्रो भइन्।

कविराज नेगी लामासँग सिर्जना।

शीर्ष दुई स्थानमा रहने खेलाडी मात्र एशियाडमा छनोट हुने प्रावधान थियो। तर पारा ओलम्पियन पलेशा गोवर्द्धन र सिर्जनाले छनोट खेल खेल्नै परेन। विश्व वरीयताका आधारमा रञ्जनाभन्दा अगाडि नै पलेशा र सिर्जना एशियाडमा छनोट भए।

पलेशा टोकियो ओलम्पिक र सिर्जना एशियन युथ गेम्स तथा र डब्लूटी प्रसिडेन्ट कप एशियन रिजनमा गरेको प्रदर्शनका आधारमा छनोट भएका हुन्। त्यति बेला पलेशा विश्व वरीयताको नवौँ र सिर्जना १०औँ स्थानमा रहँदै स्वतः छनोट भएका हुन्। पछिल्लो वरीयतामा पलेशा छैटौँ स्थानमा छिन्।

पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ तौल समूहमा र सिर्जनाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। सिर्जना प्रतियोगिताको नतिजाबारे चिन्तित छिन्।

“अहिले भइरहेको प्रशिक्षणले त पुग्दा पनि पुग्दैन। बिहान, दिउँसो र बेलुका तीन टाइम प्रशिक्षण गर्नैपर्छ,” उनी भन्छिन्, “प्रतिस्पर्धीहरू यही प्रतियोगिताका लागि भनेर डबल ट्रेनिङ गरिरहेका छन्। विदेश भ्रमणमा पनि छन्। हामीलाई पनि यस्तो प्रबन्ध मिलाइदिए स्वर्ण ल्याउनेमा अझ ढुक्क हुन्थेँ।”

पलेशाको सहभागिता अनिश्चित
प्रशिक्षक लामाले एशियाडमा पारा तेक्वान्दोबाट स्वर्ण पदककै आशा गरेका छन्। उनले नै थप प्रशिक्षणका लागि सातदोबाटोस्थित तेक्वान्दो संघको हल मिलाइदिएका हुन्।

पछिल्लो समय भने लामालाई खेलाडीको सहभागिताकै पिरलो छ। गत वर्ष टोकियो ओलम्पिकमा पदकनजिक पुगेर चुकेकी पलेशाको एशियाडमा सहभागिता अनिश्चित छ। 

“आफैँले सिकाएको भएर पलेशाले स्वर्ण नै ल्याउँछिन् भन्नेमा शतप्रतिशत आशा थियो। तर उनी प्रशिक्षणमा नआएको लगभग तीन महिना भइसक्यो,” प्रशिक्षक लामा भन्छन्, “सिर्जनासँग पनि स्वर्णको आशा छ। तर पनि प्रतियोगितासम्म नेपाल बस्छिन् कि बस्दिनन् भन्न सक्ने अवस्था छैन।”

पलेशा इन्जिनियरिङ गर्ने भनेर प्रशिक्षणमा आउन छाडेको लामा बताउँछन्। सिर्जना पनि वैदेशिक रोजगारीको खोजीमा रहेको उनको भनाइ छ।

कोरोना महामारीले नरोकेको भए गत वर्ष सेप्टेम्बर १० देखि २५ सम्म एशियाड भइसक्ने थियो। यो प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने तय भएको छ।

कोरोना महामारीकै कारण टोकियो ओलम्पिक–२०२० एक वर्ष धकेलिँदा पारा ओलम्पिक पनि त्यति नै पछाडि धकेलिएको थियो। त्यसको फाइदा पलेशाले उठाउन भ्याइन्। प्रशिक्षक लामासँगै पर्याप्त तयारी गरेर टोकियो पुगिन्। के–४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजी तौल समूहमा उनले दुई ‘बाउट’ जितेर इतिहास रचिन्। पलेशा कुनै पनि ओलम्पिकमा दुई बाउट जित्ने पहिलो नेपाली खेलाडी बनिन्। 

पहिलो खेलमै बेलायतकी बेथ मुनरोसँग पराजित भए पनि उनले रेपेचेजमा कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन्। रेपेचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारा र सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई पराजित गर्दै उनी फाइनलमा पुग्न सफल भइन्।

तर फाइनलमा चीनकी युजी लीलाई कडा टक्कर दिएकी पलेशा अन्त्यमा १२–९ को अन्तरमा खेल गुमाउँदै स्वर्णबाट बञ्चित भइन्। एशियाडमा भने पदक जित्ने उद्देश्यका साथ तयारी थालेको प्रशिक्षक लामा बताउँछन्। तर मंसिर यता पलेशा प्रशिक्षणमा नआउँदा उनी निराश छन्।

सरकारले गरेको न्यून लगानीका कारण खेलाडी पलायन हुने अवस्था आएको लामाको भनाइ छ। स्वयंसेवक प्रशिक्षकको रूपमा सन् २०१५ देखि तेक्वान्दो सिकाइरहेका लामा आर्थिक अवस्थाकै कारण खेलाडी जम्न नसकेको तर्क गर्छन्। 

“यति ठूलो प्रतियोगिता छ। विदेशमा लगेर केही तयारी गराउन पाएको भए राम्रो हुन्थ्यो। मैल त जे सिकेको हुँ, त्यही सिकाउने हो,” उनी भन्छन्, “तर अहिलेसम्म युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट केही सहयोग पाइएको छैन। पलेशा त गइन् नै, त्यसको असर सिर्जनालाई समेत पर्ला भन्ने चिन्ता छ।”

पारा तेक्वान्दोलाई बेवास्ता
एशियाडकै लागि भनेर १३औँ सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जिताएकी सन्तोषी श्रेष्ठ थप प्रशिक्षणका लागि इथिओपियाको राजधानी अद्दिस अबाबा पुगिसकेकी छन्। नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको समन्वयमा उनलाई विश्व एथलेटिक्समा परिचित एजेन्सी ग्लोबल स्पोर्टस कम्युनिकेसन्सले प्रशिक्षणको अवसर जुराइदिएको हो। उनको सम्पूर्ण खर्च ग्लोबल स्पोर्टसले बेहोर्ने छ। 

यता, एशियाडकै तयारीका लागि नेपाल भलिबल संघको निमन्त्रणमा प्रशिक्षक जान जोसे डी ब्रान्ट नेपाल आइपुगेका छन्। बेल्जियमका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका जानलाई अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीभी)को सहयोगमा नेपाल झिकाइएको हो। उनीसँग बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टोली हेरिसकेको अनुभव छ। 

लामा अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक हुन्। पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये चारमा नेपाललाई पदक दिलाएका उनी यस्तै सहयोगको प्रतीक्षामा छन्। अन्तर्राष्ट्रिय अभ्यासअनुसार गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत सबैको जिम्मेवारी लिएर सिर्जनालाई ‘मोटिभेट’सहित प्रशिक्षण दिनुपर्ने उनी बताउँछन्।

“सुतेकालाई उठाउन सकिन्छ, तर सुतेको नाटक गर्नेलाई उठाउन गाह्रो हुने रहेछ,” उनी भन्छन्, “अहिलेसम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट देशलाई १९ मेडल दिसक्यौँ। यसमा आशा गर्ने ठाउँ छ। तर खेलाडीलाई १०० रुपैयाँ लगानीले पुग्दैन।”


सम्बन्धित सामग्री