Saturday, April 27, 2024

-->

पारलम्पिक पुग्ने लक्ष्य बोकेका तेक्वान्दोका तीन खेलाडी

अमिर ब्लोन र भरतसिंह महता पहिलो पटक पारलम्पिक खेल्ने लक्ष्यका साथ छनोट प्रतिस्पर्धाको तयारी गरिरहेका छन्। दुई वर्षअघि नै पारलम्पिक खेलेकी पलेशा गोवर्धन भने भर्खरै चीन पुगेकी छन्।

पारलम्पिक पुग्ने लक्ष्य बोकेका तेक्वान्दोका तीन खेलाडी
तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ– दुई वर्षअघि जापानमा भएको टोकियो समर पारलम्पिक–२०२० मा पलेशा गोवर्धनले पहिलो पटक सहभागिता जनाएकी थिइन्। पारलम्पिकमा सहभागी हुन उनी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले प्रदान गर्ने ‘वाइल्ड कार्ड’मा भर परेकी थिइन्। यस पटक भने पलेशासहित तीन जना पारा तेक्वान्दो खेलाडी वाइल्ड कार्डको निर्णय हुनुअघि नै छनोट पार गर्ने तयारीमा छन्। 

पलेशा, अमिर ब्लोन र भरतसिंह महता के–४४ विधा (एउटा हातको कुहिनाभन्दा तलको भाग नहुने) अन्तर्गत यही वर्ष हुने पेरिस पारलम्पिक खेल्ने लक्ष्यमा छन्। त्यसका लागि छनोट खेल खेल्न उनीहरू चैत १ गते चीनको ताइयाङ शहर प्रस्थान गर्ने छन्। त्यहाँ चैत ३ देखि छनोट प्रतियोगिता हुँदैछ।
समर ओलम्पिकमा के–४४ विधाअन्तर्गत ५८ केजीमुनिको तौल समूहमा पदक जित्न चुकेकी पलेशाबाहेक अन्य दुई खेलाडी नयाँ हुन्। पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका मकवानपुरका अमिर करिब तीन वर्षदेखि पारा तेक्वान्दो खेल्दै आइरहेका छन्। उनी अर्का पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङलाई पछ्याउँदै काठमाडौँ आइपुगेका थिए।

अमिर र भरत सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा कविराज नेगी लामासँग प्रशिक्षण गरिरहेका छन्। “मैले यसअघि कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको छैन। अनुभव नभएको कारण अलिकति हडबडिने र आत्तिने त भइ नै हाल्छ। तर आफूले सकेको बेस्ट दिन्छु भन्नेमा निश्चित छु,” उनी भन्छन्।

अमिर ब्लोन (बायाँ), प्रशिक्षक कविराज नेगी (बीच) र भरतसिंह महता

अमिर यति आत्मविश्वासी देखिनुको एकै कारण हो, पलेशा र सिर्जना। साउदी अरबको रियादमा भएको ग्रान्ड प्रिक्समा ऐतिहासिक स्वर्ण, एशियन युथ पारा खेलकुदमा रजत र प्रेसिडेन्ट कप एशिया क्षेत्रमा कास्य जितेकी सिर्जना यसै वर्ष अस्ट्रेलिया पलायन भइसकेकी छन्। चीनमा बसेर अध्ययन गर्ने पलेशाले छनोट खेल्ने पक्का भएसँगै केही दिनअगाडि उतै फर्किएकी छन्। अमिरले लामो समय तेक्वान्दो एकेडेमी हलमा पलेशा र सिर्जनासँग प्रशिक्षण गरेका थिए।

“सिनियर प्लेअरहरूसँग बसेर ट्रेनिङ गर्ने मौका पाएको छु। कसरी खेल्ने भन्ने कुरा उहाँहरूबाट सिक्न पाएको छु। त्यसैले लक्ष्य प्राप्त गर्न यसपटक सबै कुरा मिलेको छ,” उनी भन्छन्।

पेरिस पारा ओलम्पिक छनोट खेल्न लामो समयदेखि आफूहरूले तयारी गरेको अमिर बताउँछन्। उनी के–४४ अन्तर्गत पुरुष ५८ केजीमुनिको खेलमा प्रतिस्पर्धा गर्दैछन्।

हरेक बिहान साढे ६ देखि ९ बजे र बेलुका ५ देखि ७ बजेसम्म उनी अर्का साथी भरतसँगै प्रशिक्षण गरिरहेका छन्। समय कम भएको कारण उनीहरूले वैदेशिक प्रशिक्षण लिन पाएनन्। प्रशिक्षक कविराजले आफूहरूलाई चाहिनेभन्दा बढी नै समय दिएर प्रशिक्षण गराइरहेको उनी सुनाउँछन्। “गुरू (कविराज)ले बिहान बेलुका केही नभनी हाम्रो लागि धेरै गर्नुभएको छ। भ्याउनु भएन भने कल गरेर आफैँ यसरी ट्रेनिङ गर्नु भनेर भन्नुहुन्छ। उहाँले जति गर्नुभएको छ त्यो हामीलाई पर्याप्त छ जस्तो लाग्छ, त्यसैले लक्ष्य भेटिन्छ,” उनी भन्छन्।

भरत पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै छन्। पुरूष ६३ केजीमुनि प्रतिस्पर्धा गर्न लागेका भरतसँग अमिरजस्तो लामो समय खेलेको अनुभव छैन। उनले तेक्वान्दो खेल्न थालेको करिब ६ महिना मात्रै भयो। पारा तेक्वान्दोकी पूर्वखेलाडी सीता भण्डारीमार्फत तेक्वान्दोमा जोडिएका दार्चुलाका भरत ‘ह्वाइट बेल्ड’ मात्र हुन्। प्रायः खेलाडीले प्रारम्भिक अवस्थामा घुँडाभन्दा माथि ‘किक’ हान्न नसक्ने भए पनि आफू पेटमा किक हानेर ‘प्वाइन्ट’ जोड्ने सक्ने स्थितिमा पुगिसकेको उनको भनाइ छ।

आफूले ओलम्पियन बन्ने मात्र नभई ‘गोल्ड मेडल’ नै ल्याउने लक्ष्य राखेको हुँदा छनोट पार पहिलो खुड्किलो भएको भरत बताउँछन्। “सुन पनि नचिन्ने देशमा हामीजस्तो अशक्त–अपांगता भएका प्रतिभालाई भने चिन्ने ठाउँ रहेछ। यो थाहा पाएपछि केही न केही गर्नुपर्छ, आमाबुबा र देशको लागि चिनिनु पर्छ भनेर लागिपरेको छु,” उनी भन्छन्, “सबैको लक्ष्य ओलम्पियन बन्ने हुन्छ तर मेरो लक्ष्य ओलम्पिकमा गोल्ड मेडलिस्ट बन्नु हो।”

पेरिस पारलम्पिकमा सहभागिता जनाउन सिर्जनाले छनोट खेल्नै नपर्ने अवस्था थियो। गत असोज–कात्तिकसम्म उनी के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजी तौल समूहको विश्व वरीयतामा १०९ अंकसहित सातौँ स्थानमा थिइन्। उनीभन्दा अगाडि मंगोलियाका सुरेन्जाव उलाम्बायर थिइन्। उनको अंक १६६ थियो।

साउदी अरबको रियादमा आयोजित विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स–२०२२ मा विश्व वरीयतामा दोस्रो र तेस्रो स्थानमा रहेका जेसिका गार्सिया र नासिमेन्तो क्रिस्टिथिनलाई पराजित गर्दै सिर्जनाले स्वर्ण जितेकी थिइन्। उनलाई चीनको हाङ्झावमा भएको एशियाली खेलकुदअन्तर्गत पारा तेक्वान्दोमा सोही उपलब्धि दोहोर्‍याउन सक्ने खेलाडीको रूपमा लिइएको थियो।

प्रशिक्षक कविराजका अनुसार एशियाली खेलकुदमा स्वर्ण जितेको भए उनको ४० अंक बढ्ने थियो। अन्य केही प्रतियोगितामा उनले कम्तीमा कास्य पदक ल्याइदिएको भए सिधै पेरिस पारलम्पिक खेल्न पाउने थिइन्। तर उनले आफ्नो करिअरभन्दा अस्ट्रेलिया रोजिन्। अहिले पनि विश्व वरीयतामा ८४ अंकसहित उनी नवौँ स्थानमा छिन्।

“नेपाली खेलाडीहरू सधैँ वाइल्ड कार्डमा जान्थे। संगिना वैद्य र दीपक विष्ट अपवाद भए। तर सिर्जना बसिदिएको भए र अलिकति वरीयता बढाउने प्रतियोगिता खेलाउन पाएको भए छनोट नै नखेली सिधै ओलम्पिकमा जाने इतिहास बन्थ्यो। उहाँ आफैँ विदेशिनु भयो,” कविराज भन्छन्।

यता, पलेशा भने गत असोज–कात्तिकसम्म के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ तौल समूहमा २५.९२ अंकसहित १५औँ स्थानमा थिइन्। गत कात्तिकमा भएको पारा एशियाली खेलकुदमा उनले ऐतिहासिक कास्य पदक जित्दै तीन स्थान सुधार गरिन्। अहिले ३६.५३ अंकसहित विश्व वरीयतामा ११औँ स्थानमा छिन्। यद्यपि पारलम्पिकमा छनोट हुन सजिलो नरहेको कविराज बताउँछन्।

पेरिस पुग्न छनोटमा दोस्रो र तेस्रो भएर पुग्दैन, प्रथम नै हुनुपर्छ। त्यसैले तीन जना खेलाडीले नै धेरै मिहिनेत गरिरहेको कविराजको भनाइ छ। उनको भरोसा भने पलेशासँग धेरै छ। किनभने उनीसँग ओलम्पिकको अनुभव पनि छ।

पलेशा जापानमा भएको पारलम्पिकको पहिलो प्रतिस्पर्धामा बेलायतकी बेथ मुनरोसँग २१–८ अंकले पराजित भएपछि उनी ‘रिपिचेज’ (कास्य पदकको प्रतिस्पर्धा) तिर धकेलिएकी थिइन्। रिपिचेजको क्वार्टरफाइनमा अमेरिकाकी ब्रियान्ना सालिनारालाई १०–० र सेमिफाइनलमा सर्वियाकी मारिजा मिसेभलाई २३–१५ ले पराजित गर्दै फाइनलमा स्थान बनाइन्। तर फाइनलमा विश्व वरीयतामा तेस्रो (अहिले चौँथो) नम्बरमा रहेकी चिनियाँ खेलाडी युजी लीसँग १२–९ अंकले पराजित हुँदै उनी पदकविमुख भइन्।

यद्यपि उनी ओलम्पिकमा दुई बाउट जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्। “अन्तिम १० सेकेन्डसम्म स्कोर ड्र थियो। त्यति समय होल्ड गर्न नसक्दा उनले पदक जित्न सकिनन्। (त्यहाँबाट) फर्केलगत्तै बहराइनमा भएको एशियन युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन्,” प्रशिक्षक कविराज भन्छन्, “लगातार पदक आइरहेको भएर उनी छनोट हुने विश्वास छ। अहिले उनी चीनमा छिन्। हप्तादश दिनको अवधिमा उनले अभ्यास गरिनन् भने ह्याम्पर पर्छ कि भन्ने डर छ।”


सम्बन्धित सामग्री