Monday, April 29, 2024

-->

देशलाई पदक दिलाएर शालीन खुशी मनाइरहेकी एरिका

उनले एशियाली खेलकुदका लागि चीन उत्रिँदासम्म पनि जित्छु भन्ने आत्मबल आर्जन गर्न सकेकी थिइनन्। आफूभन्दा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्दा यी १९ वर्षीया किशोरीको मनोविज्ञानले कसरी काम गर्‍यो होला?

देशलाई पदक दिलाएर शालीन खुशी मनाइरहेकी एरिका

काठमाडौँ– नेपाली खेल इतिहासमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता मानिएको एशियाली खेलकुद प्रतियोगिता अन्तर्गतको करातेमा पहिलोपटक भाग लिँदा धादिङकी एरिका गुरुङ ‘प्रेसर’मा देखिन्थिन्। 

त्यसका धेरै कारण थिए। एशियाली खेलकुद प्रतियोगितामा सहभागी नहुँदै उनको टोलीबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पदकको आशा गरेका थिए। विगतका धेरै प्रतियोगितामा नेपाललाई ‘वास आउट’ हुनबाट करातेले नै जोगाएका कारण उनीबाट आशा गर्नु स्वाभाविक पनि थियो। 

त्यसैले कराते टोलीलाई भेट्नासाथ घिसिङ भनिहाल्थे, “यसपटक तपाईंहरूबाट मैले धेरै आस गरेको छु। व्यवस्थापनमा के के गर्नुपर्छ त्यो सबै म मिलाइदिन्छु। तर पदक आउने गरी खेल्नुपर्‍यो।” उनले भनेझैँ बलियो तयारी गरेर चीन पुगेको मोहम्मद आलम, विप्लवलाल श्रेष्ठ, सन्तोष श्रेष्ठ, सोनिम मानन्धर, निरुपा तामाङ, सविना श्रेष्ठ र एलिसा मगरको टोलीले घिसिङको अपेक्षा भने पूरा गर्न सकेन। 

विभिन्न तौल समूह र विधामा सहभागिता जनाएका उनीहरूसँग एशियाली खेलकुदको अनुभव पनि थिएन। टोलीमा सामेल सबैले यही प्रतियोगितामा नै ‘डेब्यु’ गरेका थिए। कोही पहिलो चरणबाटै बाहिरिए भने विप्लव अन्तिम समयमा पुगेर पनि पदकबाट बञ्चित भए। त्यसैले यसपटक कराते पदकविहीन हुने आकलन गरिएको थियो। त्यस्तोमा सबैको आशा भने कसैको आँखामा नपरेकी १९ वर्षीया खेलाडी एरिकामा थियो। घिसिङसँग वाचा गरेकाले पनि उनले जसरी पनि देशलाई पदक दिनुपर्ने ‘प्रेसर’ लिएकी थिइन्।  

त्यही कारण अलि दबिएको आत्मविश्वासका साथ कोर्टमा ओर्लिएकी एरिकासँग अन्तर्राष्ट्रिय खेलको पर्याप्त अनुभव थिएन। उनले चीन ओर्लिनुअघि इन्डोनेसियामा भएको ‘एशिया सितोरियो कराते च्यापियनसिप यू–२१’ खेलेर स्वर्ण पदक हात पारेकी थिइन्। त्यहीँबाट हौसिएकी एरिकाले चीन उत्रिँदा भने जित्छु भन्ने भरपुर आत्मबल आर्जन गर्न सकेकी थिइनन्। सकेसम्म राम्रो प्रदर्शन गर्छु भन्ने अठोट मात्रै उनको मगजमा थियो। यस्तो अवस्थामा आफूभन्दा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्दा १९ वर्षीया किशोरीको मनोविज्ञानले कसरी काम गर्‍यो होला?

“जसरी भए पनि म राम्रो खेल्छु, मनमा पछुतो लिएर फर्किन्नँ भन्ने मात्रै माइन्डमा थियो। त्यति ठूलो प्रतियोगिता जसमा मभन्दा सिनियर खेलाडीहरू एकपछि अर्काे गर्दै आउट हुँदा अलिक नर्भस त भइहालिन्छ नि,” उनी भन्छिन्।

खेलस्थलमा अभिव्यक्त हाउभाउले नै उनको कमजोर मनस्थितिको संकेत गरिरहेको थियो। निकै आशा गरिएकी यी किशोरीको सम्भावित प्रदर्शनलाई लिएर उनका अग्रज तथा गुरुहरू पनि केही चिन्तित देखिन्थे। विश्वको पाँचौँ वरियतामा रहेकी जापानकी युजिकी सावाएसँग एरिकाले क्वार्टरफाइनलमा खेलिन्। खेलअघि केही ‘नर्भस’ भएकी उनले युजिकासँग १–१ स्कोरको बराबरी गरिन्।

यो खेलमा एरिकाले नै पहिलो अंक प्राप्त गरेकी थिइन् जसले उनलाई अर्काे चरणमा पुग्ने बाटो खोलिदियो। खेल बराबरीमै टुंगिए पनि पहिलो अंक प्राप्त गरेको आधारमा उनी विजेता घोषित भइन्। त्यसपछि सेमिफाइनल पुगेकी एरिकालाई टक्कर दिने प्रतिस्पर्धी नै भएन। उनले हङकङकी हो काई यानलाई सजिलै ८–४ स्कोरले पराजित गरिन्। 

स्वर्णनजिक पुगेकी एरिकाले फाइनलमा भने पहिलेको लय समात्न पाइनन्। उनी काजखस्तानकी सोफिया बरुलत्सेभासँग ३–० स्कोरले पराजित भइन्। सोफियाको अगाडि एरिका कमजोर देखिनु अस्वाभाविक भने थिएन। उनी विश्व नम्बर एक खेलाडी थिइन् जसले सन् २०२० को टोकियो ओलम्पिकको स्वर्ण जितेकी थिइन्।

त्यसअघि उनले एशियन च्याम्पियनसिपमा दुई पटक स्वर्ण जित्दै राम्रो अनुभव बटुलेकी थिइन्। त्यसैले उनीविरुद्ध जित निकाल्नु अनुभवविहीन एरिकाका लागि सहज भने थिएन। तर अघिल्लो खेलमा पाएको जितले नै उनलाई बलियो आत्मबलको ऊर्जा थपेको थियो।

त्यही आत्मबलका साथ सक्दो प्रदर्शन गरेकी एरिकाले अनुभवी खेलाडीका अगाडि उपविजेतामै चित्त बुझाउनु पर्‍यो। “मैले सक्दो प्रयास गरेको थिएँ। तर प्रतिद्वन्द्वी मभन्दा बलियो र अनुभवी देखिइन्। स्वर्ण प्राप्त गर्ने लक्ष्य पूरा हुन सकेन,” उनी भन्छिन्। 

धादिङबाट काठमाडौँ हुँदै राष्ट्रिय टोलीमा
एरिकाको जन्मस्थल धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी रहेको नीलकण्ठ नगरपालिका–१३ मधुवनमा पर्छ। भर्खरै विकासको जग हाल्न थालेको मधुवन उनको बाल्यकालमा अहिलेजति सुविस्ताजनक पनि थिएन। भौगौलिक विकटताले गर्दा आधारभूत सेवासुविधा लिन पनि शहर नै धाउनु पर्ने भएपछि उनको परिवार एक दशकअघि नै राजधानी सरेको थियो। उनका बुबा विनोद र आमा रत्नले त्यो बेला लिएको निर्णयले नै एरिकालाई राष्ट्रिय टोलीसम्म पुग्ने बाटो खोल्यो। 

एरिकाका बुवा ‘ट्रेकिङ गाइड’ हुन् भने आमा रत्न छोरीको लालनपालन र घरको रेखदेखमा व्यस्त हुन्छिन्। उनीहरू मनमैजुमा भाडामा बस्दै आएका छन्। एरिकाको डेरानजिकै मनमैजु डोजो छ। त्यहाँका साथीसंगीले पनि खेल्ने कारण उनलाई १० वर्षकै उमेरमै करातेप्रति बिशेष रुचि जाग्यो। सिक्दै गएपछि मनमैजु डोजोबाट नै उनले आफ्नो खेल करिअर शुरू गरिन्। एरिकाले रोजेको बाटोलाई परिवारले पनि पूर्ण साथ दियो। 

आफ्नो रुचि र क्षमतासँगै अभिभावकको साथ पाएर हौसिएकी एरिकाले गत वर्ष गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा सहभागी भइन् र ‘डेब्यु’ प्रतियोगितामै स्वर्ण पदक जितिन्। लगत्तै उनी एशियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोलीमा परिन्। त्यसपछि जेठ १७ गते भएको अन्तिम छनोटमा उनी पनि पर्न सफल भइन्। 

एशियाली खेलकुद प्रतियोगितामा भाग लिन चीन पुग्नुअघि नेपाली टोलीले इन्डोनेसियामा एशियन सितोरियो कराते च्याम्पियनसिप खेल्नुका साथै प्रशिक्षण पनि गरेको थियो। उक्त च्याम्पियनसिपमा स्वर्ण जितेकी उनले आफू एशियाली खेलकुद प्रतियोगितामा पनि पदकको दाबेदार रहेको छनक दिइसकेकी थिइन्। त्यहाँको प्रदर्शन आफ्ना लागि अनुभव बटुल्ने अवसर बनेको उनी बताउँछिन्।

“मुख्य तयारी एशियन गेमकै लागि थियो। हामीसँग एक्सपोजर थिएन। त्यसैले त्यहाँबाट बेनिफिट लिनुपर्छ भनेर गएको थिएँ। भाग्यवश स्वर्ण आयो,” उनी भन्छिन्, “त्यसले गर्दा आत्मविश्वास थपियो र एशियन गेममा पनि पदक नै आयो।” 

एशियाली खेलकुदमा करातेतर्फ नेपालले जितेको यो चौथो पदक हो। पछिल्लो पटक सन् २०१६ मा दक्षिण कोरियाको इन्चोनमा आयोजना भएको एशियाली खेलकुदमा करातेकी विमला तामाङले कास्य जितेकी थिइन्। त्यसअघि सीता राईले सन् १९९४ मा जापानको हिरोसिमामा सम्पन्न एशियाली खेलकुदमा कास्य नै हात पारेकी थिइन्। त्यसको चार वर्षपछि बैंककमा आयोजित प्रतियोगितामा समरबहादुर गोलेले करातेलाई कास्य पदक दिलाएका थिए। 

एशियाली खेलकुदमा रजत जितेसँगै एरिकाको पछाडि लाग्नेको भिड बढेको छ। नेपाल फर्किएको दुई साता पुग्न लागिसक्दा पनि उनलाई मानसम्मान दिएर हौसला थप्नेको कमी छैन। यसबाट आफूमाथि आशा बढेको महसुस उनले गरेकी छन्। सँगसँगै अब योभन्दा धेरै राम्रो प्रदर्शन गर्नुपर्ने प्रेसर थपिएको उनी बताउँछिन्। जित्ने दिनसम्म आफू १०० प्रतिशतमा पुगे पनि हारेपछि शून्यमै झर्नुपर्छ भन्ने हेक्का रहेको उनी सुनाउँछिन्।

“मसँगै चीन पुगेको टोलीको मिहिनेत मेरोभन्दा कम थिएन। तर उहाँहरू अहिले शून्यमा पुग्नुभएको छ। उहाँहरूले अब शून्यबाटै शुरूआत गर्नुपर्छ। म पनि भोलिको दिनमा त्यस्तै अवस्थामा नपुगुँला भन्न सकिँदैन। त्यसैले म यो सफलताबाट हौसिएको छैन,” उनले भनिन्।


सम्बन्धित सामग्री