Thursday, May 16, 2024

-->

कांग्रेसमा नयाँ विकासक्रम, देउवालाई राष्ट्रपतिमा अघि सार्नेबारे छलफल

माओवादीको समर्थन र एमालेको सम्भावित ‘मूभ’बारे ढुक्क हुन नसकेको कांग्रेसमा त्यसका लागि सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिमा अघि सार्नेबारे छलफल शुरू भएको छ।

कांग्रेसमा नयाँ विकासक्रम देउवालाई राष्ट्रपतिमा अघि सार्नेबारे छलफल

काठमाडौँ– अन्तिम घडीमा आफ्नै कारणले संघदेखि प्रदेशसम्मका सत्ता गुमाएर विपक्षी कित्तामा पुगेको नेपाली कांग्रेसले अब सम्पूर्ण शक्ति नयाँ राष्ट्रपतिमा केन्द्रित गरेको छ। आउँदो फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवारको मनोनयन-पत्र दर्ता गर्नुपर्ने छ। मनोनयनको मिति नजिकिएपछि कांग्रेसमा राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउँदा परिस्थिति अनुकूल बन्छ भन्नेबारे सघन छलफल शुरु भएको छ।

त्यो छलफलमा अप्रत्याशित रूपमा सभापति शेरबहादुर देउवाको नामले प्रवेश पाएको छ।

सोमबार बिहानसम्म कांग्रेसमा फरक खालको जोडघटाउ भइरहेको थियो। त्यसको कारण आइतबार साँझको बैठक थियो। आइतबार साँझ बालुवाटारमा सभापति देउवासहितका कांग्रेस नेताहरूले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो छलफल गरेका थिए। छलफलका क्रममा दाहालले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आश्वासन मात्र दिएका थिएनन्, सोमबार अपराह्न बोलाइएको पदाधिकारी बैठकबाट माओवादी केन्द्रले यसबारे निर्णय गर्नेसमेत बताएका थिए।

कांग्रेसबाट त्यतिञ्जेल राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम मात्र चर्चामा थियो।

निर्धारित समयमा सोमबार अपराह्न माओवादीको पदाधिकारी बैठक बस्यो, तर दाहालले भनेजस्तो निर्णय भएन। बरु राष्ट्रपतिमा ‘राष्ट्रिय सहमतिका लागि अधिकतम पहल गर्न अध्यक्ष दाहाललाई जिम्मा दिने’ निर्णय गर्‍यो।

राष्ट्रपतिको निर्वाचन र त्यसका लागि गर्नुपर्ने मनोनयन संघारमा आइपुग्दा पनि आफूलाई सघाउने आश्वासन दिएको माओवादी केन्द्रको औपचारिक निर्णय तत्कालै नआउने संकेत देखिएपछि कांग्रेसले यसअघि राष्ट्रपतिमा चर्चामा रहेका पौडेल र सिटौलाको साटो देउवालाई नै अघि सार्नेबारे छलफल शुरु गरेको हो। “हाम्रो अहिलेसम्मको प्रयास सभापतिलाई यो संसद्को आधा कार्यकाल भए पनि प्रधानमन्त्री बनाउने थियो,” कांग्रेसका एक पदाधिकारीले सोमबार साँझ उकालोसँग भने, “अब चाहिँ राष्ट्रपतिमा उहाँलाई नै अघि सार्ने कि भनेर हामीले छलफल शुरु गरेका छौँ।”

उनले आइतबार बिहानदेखि यो विषयमा छलफल गरिरहेको बताए।

आइतबार राति बालुवाटारमा भएको कांग्रेस नेताहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले आफूले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निधो गरेको, तर वर्तमान सत्ता गठबन्धन भत्कन नदिन एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्न सक्ने संकेत आफूले पाएको उल्लेख गर्दै त्यसो हुँदा आफू ‘अप्ठेरोमा पर्ने’ बताएका थिए। दाहालको संकेत ‘माधव नेपाललाई नै अगाडि सारिए आफूले दायाँबायाँ गर्न नमिल्ने’ भन्ने थियो।

बालुवाटारको बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, नेता सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङसँगै महामन्त्री गगन थापासमेत सहभागी थिए। त्यो बैठकमा सहभागी एक नेताले दाहालको त्यो भनाई ‘अर्थपूर्ण’ रहेको बताए।

दाहालले राष्ट्रपतिमा ओलीले नेपाललाई अघि सार्न सक्ने संकेत आफूले पाएको सुनाएपछि झस्किएका कांग्रेस नेताहरूले सोमबार बिहानैबाट नयाँ विकल्पबारे छलफल थालेका हुन् “हामीले दिनभरजसो राष्ट्रपति निर्वाचनबारे छलफल गर्‍यौँ। माओवादीले हामीलाई सघाउने कि नसघाउने भनेर निष्कर्ष निकालेन,” कांग्रेसका ती पदाधिकारीले भने, “अब सभापतिलाई नै आधा कार्यकाल प्रधानमन्त्री या राष्ट्रपति बनाउने गरी प्रस्ताव गर्‍यौँ भने माओवादीले हामीलाई सघाउँछ भन्ने हाम्रो बुझाई छ। यसबारे हामी थप छलफल गरिरहेका छौँ।”

देउवालाई राष्ट्रपतिमा अघि सारेमा उनी पार्टी राजनीतिबाट अलग हुनेछन्। यसको लाभ सबभन्दा धेरै कांग्रेसको संस्थापनइतर समूहलाई पुग्ने छ। त्यहीकारण पनि संस्थापनइतर समूहका नेताहरू यो छलफलमा बढी सक्रिय भएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए।

“माओवादीले राष्ट्रपतिमा हामीलाई सघाउने आश्वासन दिएको छ, तर हामी ढुक्क छैनौँ। किनभने आजसम्म पनि उसले त्यसबारे निर्णय गरेन। त्यही भएर हामीले विकल्पबारे छलफल थालेका छौँ,” उनले भने।

ती केन्द्रीय सदस्यले सोमबार बिहान सभापति देउवानिवास धुम्बाराही र पछि काठमाडौँकै एक होटलमा कांग्रेस नेताहरूले यसबारे छलफल गरेको बताए। छलफलमा संस्थापन र संस्थापनइतर दुवै समूहका नेताहरू सहभागी थिए। 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने राष्ट्रपतिको उम्मेदवारबारे कांग्रेसमा छलफल नै नभएको दाबी गरे। “अब छिटोभन्दा छिटो पार्टीको बैठक बस्छ, त्यसले नै नाम टुंगो लगाउँछ,” खड्काले भने।

आइतबारको बालुवाटार बैठकमा कांग्रेसलाई राष्ट्रपतिमा सघाउने मात्र होइन, एमालेलाई गठबन्धनबाट अलग्याएर कांग्रेस नेतृत्वमा रहेको तत्कालीन गठबन्धन ब्युँताउनेसम्मको छलफल भएको थियो। त्यसका लागि कांग्रेसका केही नेताले दाहाललाई ‘प्रधानमन्त्रीमा पाँच वर्षसम्मकै चिन्ता नगर्न’ भनेका थिए। यसबाट झस्केको एमालेले पनि सम्भावित रणनीति बनाइरहेको एक नेता बताउँछन्। “राष्ट्रपति पद हत्याउने र गठबन्धन भत्काउने कांग्रेसको प्रयासलाई हामी असफल पार्छौं,” एमालेका एक पदाधिकारीले भने, “हामीलाई माओवादीले गठबन्धन भत्काउने निर्णय गर्छ जस्तो त लाग्दैन, माओवादीले औपचारिक रूपमा त्यो निर्णय गरोस्, त्यसपछि हामी गर्छौं।”


सम्बन्धित सामग्री