सन् १९५७ मा बनेको एउटा अमेरिकी सिनेमा छ– ‘ट्वेल्भ् एन्ग्री मेन’। एउटा १८ वर्षीय ठिटोमाथि आफ्नो बुवाको हत्या गरेको आरोप छ, अभियोजक र प्रतिवादी वकिलले आ-आफ्ना तर्क र प्रमाण पेश गरिसकेका छन्, अब त्यसका आधारमा १२ पूर्वनिर्धारित जुरी सदस्यहरूलाई यो तय गर्नु छ कि आरोपी दोषी हो या होइन। नियम यो छ कि ती १२ जनाको निर्णय– दोषी वा निर्दोष जे भए पनि– सर्वसम्मत हुनपर्यो। एक जना महिलालाई गवाहीका रूपमा ल्याइएको थियो र उनले हत्या गरेको नै देखेकै थिइन् भन्ने कुरालाई सबैभन्दा बलियो प्रमाणका रूपमा मानिएको थियो। तर एक सदस्य भन्छन्, "साक्षीको नाकको डाँडीको दुवैतिर केही दागजस्तो थियो, अर्थात् उनी चस्मा लाउँछिन्।" प्रश्न उठ्छ त्यसले के प्रमाणित गर्यो त? केही पनि गरेन, गर्योचाहिँ के भने दृष्टि नै कमजोर भएपछि हत्या भएको आफूले देखेको हो भन्ने गवाही शंकाको घेरामा पार्यो। त्यही सन्देहका आधारमा जुरी आरोपीका बारेमा एक मत हुन्छ कि आरोपित दोषी छैन।
केही टिप्पणीकारको जुरी प्रक्रियामा केही विमति छ, तथापि यो सिनेमा धेरै मानेमा अब्बल छ।
सिनेमामा जसरी दृष्टिदोष भएको व्यक्तिले ‘देखेको’ भन्ने दाबी प्रश्नको घेरामा पर्छ, आमजीवनमा पनि नैतिक प्रश्नको घेरामा रहेको व्यक्तिको निष्ठा शंकास्पद हुन्छ। विशेषगरी समाजका ती व्यक्तित्वहरूमा अझ बढी लागू हुन्छ, जो सार्वजनिक पद धारण गर्छन्। तर अनौठो के भने, नेपालमा भने उनै व्यक्तिहरू नैतिकताको पाठ बडो जोडतोडले पढाई रहेका हुन्छन्/छन्, जसको आफ्नै नैतिक धरातल कमजोर छ। उनै मानिसहरू आचरणका कुरा गरिरहेका छन्, सामाजिक व्यवहारमा जसमाथि प्रश्नैप्रश्न छन्।
मुद्दा कसलाई के आरोप लागेको छ भन्ने होइन। कुनै पनि समाज विभिन्न प्रकारका मान्छेहरू मिलेर नै बन्ने हो। राजनीतिज्ञ, नोकरशाह, व्यापारी, शिक्षक, पत्रकार वा अन्य कुनै पनि पेसामा भएका भिन्नभिन्न प्रकारका मानिसहरूले नै एउटा समाज निर्माण हुने हो। तर जसरी हरेक व्यक्ति एकअर्का भन्दा फरक हुन्छ, त्यसैगरी उसको ‘वर्ल्ड भ्यु’ वा वैश्विक दृष्टिकोण पनि फरक हुन्छ। सबैले आ–आफ्नो वैश्विक दृष्टिकोणका आधारमा नै आचार व्यवहार गर्ने हुन्।
हरेक व्यक्तिको दृष्टिकोण उसको पृष्ठभूमि के हो, ऊ के काम गर्छ, उसको हुर्काइ, बढाइ, पढाइ कसरी भयो आदिले परिभाषित गर्छ।
माथि उल्लेखित सिनेमाकै कुरा गर्दा ती १२ पात्रले जसरी व्यवहार गर्छन्, लाग्छ ती हामी वरिपरिकै मानिसहरू हुन्– हरेकको आफ्नो दृष्टिकोण छ र करिब डेढ घण्टामै त्यो सिनेमामा थाहा हुन्छ कि हरेक चरित्रको एक प्रकारको दृष्टिकोण छ भने किन त्यस्तो छ। जस्तो कि तेस्रो जुरी सदस्य शुरूआतदेखि नै आरोपीलाई दोषी मान्छ, किनकि ऊ आफ्नो व्यक्तिगत पूर्वाग्रहबाट ग्रसित छ र ऊ उक्त मुद्दाको छलफलको क्रममा पूर्वाग्रहबाट निर्देशित भएर मात्र आफ्नो तर्क गर्छ।
भन्नुको अर्थ के हो भने मानवीय कमजोरी सबैमा हुन्छन् र मान्छेका आआफ्ना पूर्वाग्रह पनि हुन्छन्। तर सामाजिक जीवनमा महत्त्वपूर्ण भूमिकामा रहेका, सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले व्यक्तिगत पूर्वाग्रहका आधारमा मात्र तर्क गर्ने हो भने त्यसले समाजलाई कतातिर लग्ला र आम मानिसले चाहिँ कसरी धारणा बनाउने होला।
मानिस आफैमा पनि दोषरहित त हुनै सक्दैन। आफ्नो जीवनकालमा हरेकले प्रायजसो कुनै न कुनै प्रकारको आरोप, निन्दा वा प्रश्नको सामना गरेकै हुन्छन्। कहिलेकाहीँ ती भलै आधारहीन नै किन नहोउन्। तर सार्वजनिक पद धारण गर्ने र शपथ खाएका व्यक्तिहरूबाट समाजले एउटा न्यूनतम आशा के राख्छ भने उनीहरू यस्तो व्यवहार वा आचरण प्रदर्शन गरून्, ताकि पदमा रहँदा उनीहरूले गर्ने काम कर्तव्यउपर प्रश्न नआओस्। न्यायाधीशकै निष्ठामा, सरकारी कर्मचारीकै अनुशासनमा, राजनीतिज्ञकै आचरणमा वा अन्य पेसा तथा सार्वजनिक पद धारकहरूमा यदि प्रश्नैप्रश्न छन् भने त्यसको निवारण आवश्यक नै हुन्छ।
वर्तमान नेपाली समाज यस्तो मोडमा उभिएको छ कि यहाँ प्रश्नको घेरामा नभएका वा आरोप नलागेका सार्वजनिक पद धारक बिरलै होलान्। प्रश्न कसलाई के आरोप लागेको छ भन्ने हैन। आरोप लाग्नु नै सबै कुरा पनि हैन। तर केही महत्त्वपूर्ण सवालचाहिँ रहन्छन्। लागेका आरोपको प्रतिवाद गर्नलाई उनीहरू उभिएको धरातल ठीक छ वा छैन, अथवा यो पनि कि आरोप लगाउनेकै धरातल पनि कति बलियो छ।
अहिले केही समययता अत्यन्त चर्चामा रहेको विषय हो वर्तमान सरकारका गृहमन्त्रीविरुद्धको सहकारी ठगीको आरोप। आरोप लगाउनेको माग के हो भन्ने ‘प्राविधिक’ कुरा एकछिनलाई छोडौँ। जो आफै भ्रष्टाचार मुद्दामा जेल सजाय पाएका आफ्नो (दिवंगत) नेताको प्रतिमा (त्यो पनि राज्यकोषबाट खर्च गरेर बनाएको)मा माल्यार्पण गरेर आएको छ, उसले सुशासनका लागि गर्ने पक्षपोषण कत्तिको विश्वासिलो होला? वा किन कसैले विश्वास गर्ने? अनि आरोपित आफै पनि अत्यन्त कमजोर नैतिक धरातलमा उभिएका व्यक्ति हुन् भने उनले गरेका खण्डन वा दिएका अभिव्यक्तिचाहिँ किन विश्वसनीय मान्ने? समाचारहरूका अनुसार मुलुकको प्रशासनिक यन्त्रको सबैभन्दा उच्च तहमा बस्ने व्यक्तिमाथि नै भ्रष्टाचारको आरोप छ।
आरोपित यदि शक्तिशाली पद धारक हुन् भने या त प्रमाणसहित आफ्नो निर्दोषता प्रमाणित गर्नुपर्यो वा राज्यका समर्थ निकायहरूलाई स्वतन्त्र रूपमा ती आरोपहरूको पुष्टि गर्न दिनुपर्यो– भलै त्यसका लागि उनीहरूले आफ्नो सार्वजनिक पद नै किन त्याग गर्न नपरोस्।
तर समाजका केही न्यूनतम मूल्य र मान्यता हुन्छन्, समाजले जसलाई आफ्नो विकास क्रममा बिस्तारै–बिस्तारै तय गर्दै गइरहेको हुन्छ। एउटा परिष्कृत समाजको निर्माण तब हुँदै जान्छ, जब समाजका विभिन्न अवयवहरू नैतिक रूपमा बलियो हुँदै जान्छन्। तर यस्तो लाग्छ कि यो देशका राष्ट्रिय र सामाजिक वृत्तमा भएका कोही पनि, केही अपवाद छाडेर नैतिक र आचरणीय प्रश्नबाट अछुतो छैनन्। यो साँच्चै चिन्ताको विषय हो।
‘ट्वेल्भ् एन्ग्री मेन’ सिनेमाका विभिन्न पात्रका तर्कहरू पूर्वाग्रहबाट निर्देशित छन्, तथापि ती आफैमा गलतचाहिँ ठहर्दैनन्, जबसम्म ती तर्कहरूलाई एक जना जुरी सदस्यले विवेकको कसीमा राखेर परीक्षण गर्न चुनौती दिँदैनन्। जसरी समाजमा आजभोलि विवेकपूर्ण तर्कहरू हराउँदै गएका छन् र पूर्वाग्रही तथा आत्मकेन्द्रित सोच र तर्कहरू हाबी भएर गएका छन्, यसले पूरै समाजलाई नै अधोगतितिर धकेल्ने खतरा पैदा गरेको छ।
आखिर जोसुकै होऊन्, ठोकुवा त ‘देखेको नै’ हो भनेर गरे पनि हरेक दाबीकर्ताको दृष्टि यहाँ कमजोर छ– चस्मा लुकाएकै भए पनि नाकको डाँडीको दुवैतिरको दाग त देखिएकै छ।
(लेखक द काठमान्डू पोस्टका पूर्वसम्पादक हुन्।)