Wednesday, June 12, 2024

-->

अन्नपूर्ण क्षेत्रमा १० महिनामा पुगे एक लाख ७७ हजार पर्यटक

सन् २०२३ मा १७३ देशका एक लाख ९१ हजार ५५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। यो हालसम्मकै बढी हो।

अन्नपूर्ण क्षेत्रमा १० महिनामा पुगे एक लाख ७७ हजार पर्यटक

गण्डकी– पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा  एक लाख ७७ हजार १८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार २६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। 

उक्त अवधिमा दक्षिण एशियाली मुलुकका ७९ हजार २३२ र अन्य मुलुकका ९७ हजार ९५० पर्यटकले सो क्षेत्र घुमेको आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए। यो भेगमा असोज–कात्तिक र चैत–वैशाख पदयात्राका लागि उत्तम मानिन्छ। मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सतहमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका उनले बताए। 

“मुख्य पर्यटकीय याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ,” प्रमुख डा. कडरियाले भने, “यस क्षेत्रको पर्यटन कोभिड–१९ अघिकै अवस्थामा फर्किदैँछ, पछिल्लो समय तेस्रो मुलुकका पर्यटक बढी आइरहेका छन्।” एक्यापले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र अभिलेख राख्ने गरेको छ। सतहमार्ग भएर मुस्ताङ र मुस्ताङलगायत अन्य स्थानबाट आउने आन्तरिक पर्यटकको संख्या यकिन नै गर्न नसकिने उनको भनाइ छ। 

अन्नपूर्ण चक्रीय पदमार्ग धेरै देशका पर्यटकको रोजाइमा पर्दै आएको छ। अनुसार सन् २०२३ मा १७३ देशका एक लाख ९१ हजार ५५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। यो हालसम्मकै बढी हो। सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले यो क्षेत्रको भ्रमण थिए। 

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङ्ला भन्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत पर्यटकीय गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। 

हिमशृंखलासहितका आकर्षकस्थल, पर्यटनमैत्री पूर्वाधार, अनुकूल हावापानी, स्थानीयवासीको अतिथि सत्कार र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग  विश्वका उत्कृष्ट गन्तव्यमध्येको एक भएको प्रमुख कडरियढा बताउँछन्। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो  पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ। 

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, विविध संस्कृतिले भरिपूर्ण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।


सम्बन्धित सामग्री