काठमाडौँ– मानिसहरू हिमाल किन चढ्छन्? ‘रोमाञ्चकताका लागि, मनको शान्तिका लागि अथवा कीर्तिमानी राख्न।’ हिमाल आरोहण प्रेमीहरूबाट आउन सक्ने सम्भावित उत्तरहरू यी र यस्तै हुन्छन्। तर पूर्णकुमार शेर्पा (४५) लाई कसैले हिमशिखर आरोहणको कारण सोधेमा उनको जवाफ हुन्छ– ‘हिमाल सफा गर्न।’
ताप्लेजुङमा जन्मिएका पूर्णकुमार (पीके) हाल सीतापाइलास्थित डाँडापौवामा बस्छन्। दुई दशकयता उनी हिमालका फोहोर संकलन गर्दै आएका छन्। अन्य आरोहीले सेताम्मे हिमालका हिउँ र सौन्दर्य देख्दा उनका आँखाले भने तिनै सौन्दर्यमाथि थुप्रिएका फोहोर नियाल्छन्, जसलाई सफा गर्नु उनको आरोहणको मुख्य उद्देश्य हुन्छ। “हिउँ टेक्दा मनमस्तिष्कमा अनेकौँ भावना फैलिएको हुन्छ। त्यतिखेर म आफूलाई बिर्सन्छु,” उनले भने, “आफै हिउँ बनेको हुन्छु।” हिमालमा पाइला राख्दा हरेक पटक उनका आँखा रसाउँछन्।
गत अक्टोबरमा उनी लार्के पासबाट मनास्लु क्षेत्रमा पुगेका थिए। त्यहाँबाट करिब २५ बोरा फोहोर ल्याए। यसअघि २०२३ अगस्टमा दक्षिण अफ्रिकाको माउन्ट किलिमन्जारो आरोहण गरेका थिए। त्यसको शिखरमा फालिएका अक्सिजनको सिलिन्डर, क्याम्प ग्यास इत्यादि संकलन गरेर ल्याएका उनले ती ‘फोहोर’लाई आफ्नो बैठक कोठामा सजाएका छन्। हिमालका फोहोर जम्मा गर्नु उनको २५ वर्ष अघिदेखिको बानी हो।
कुनै समय एक्लै हिमाल सरसफाइमा लागेका शेर्पालाई गत शुक्रबार (माघ २६ गते) सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिकाले गरेको एउटा निर्णय साह्रै मन पर्यो। ‘हिमाल आरोहीले आफ्नो मलमूत्र फिर्ता ल्याउनुपर्ने’ भनी गाउँपालिकाले गरेको निर्णय उनले समाचारमार्फत थाहा पाएका थिए। यो निर्णयको स्वागत गरिरहेका उनी भन्छन्, “म एक व्यक्तिले कति गर्न सक्छु र! सरकारी स्तरबाट आउने यस प्रकारका नीतिगत निर्णयले भने हिमालको सरसफाइमा पक्कै प्रभाव पार्छ।”
यसको प्रभावकारी कार्यन्वयन हुनेमा भने उनको शंका छ। जनस्तरमा चेतनासँगै नीतिनियममा कडाइ पनि उत्तिकै आवश्यक ठान्ने शेर्पा खरो सुनिन्छन्, “यस्ता संवेदनशील विषयमा जनचेतनाले मात्र पुग्दैन, छडी नै लगाउनुपर्ने हुन्छ।” २५ वर्षमा शेर्पाले हिमालबाट टनका टन फोहोर ल्याइसकेका छन्। हिमाल आरोहणका लागि उनीकहाँ आउने अधिकांश पर्यटक पनि हिमालको फोहोर सोहोर्ने मनसायले नै आएका हुन्छन्।
हिमालमा के कस्ता फोहोर छन्?
शेर्पाका अनुसार हिमाल सफा गर्ने क्रममा भेटिने फोहोर ‘प्लास्टिकजन्य, टिनजन्य, सिसा र कागजलगायतका कुहिने गरी चार प्रकारका हुन्छन्। तीमध्ये सिसा र टिनजन्य फोहोरलाई छुट्ट्याएर काठमाडौँ ल्याउने गर्छन् उनी। कुहिने फोहोरलाई जमिनमा पुरिदिन्छन् भने संकलन भएका फोहोरमध्ये प्लास्टिकजन्यलाई खाल्डोमा राखेर त्यसमाथि बिरुवा रोपिदिन्छन्। यसो गर्नुको आशयबारे उनी भन्छन्, “प्लास्टिकलाई पुरेर बिरुवा रोप्दा बिस्तारै जराले प्लास्टिकलाई समात्छ र बाहिर फैलिन दिँदैन।”
“बेस क्याम्पमा चकलेट, चाउचाउ, बिस्कुटका फोहोर धेरै हुन्छन्। त्यसभन्दा माथिल्लो भेगमा स्नोबार, ब्याट्री, टर्चलाइट, टेन्ट, जुत्ता (क्याम्पुन) जस्ता व्यक्तिगत प्रयोगमा ल्याइएका सामग्री हुन्छन्,” उनले भने, “शिखरमा भने डोरी, ब्याट्री, अक्सिजनको बोतल, कपडा, पञ्जा लगायतका सामग्री पाइन्छ।”
शेर्पाका अनुसार आरोहीहरूले दोस्रो शिविरसम्म दालभात पकाएर खान सक्छन्। त्यहाँसम्म लगेर प्रयोगपछि फालिएका स्टोभका सरसामान पनि भेटिने गरेको उनले बताए। दोस्रो शिविर कटेपछि भने ‘ड्राइफुड’ र उसिनेको चामललाई पानीमा भिजाएर गोलभेँडाको सुपसँग खाइन्छ। आरोहीले लगेर छाडेका फोहोरबाहेक उद्योग–कलकारखानाबाट निस्कने धुलो–धुवाँले पनि हिमाल प्रदूषित भइरहेको बताउने शेर्पा भन्छन्, “हिउँमा देखिने कालो–कालो धब्बा त्यसको प्रमाण हो।”
हालसम्म आरोहण गरेका हिमालहरूमा उनलाई दक्षिण अफ्रिकाको माउन्ट किलिमन्जारो निकै सफा र सुन्दर लागेको छ। बेस क्याम्पदेखि नै सफासुग्घर देख्दा अचम्मित भएको उनले बताए। यद्यपि शिखरमा भने रित्तिएका अक्सिजन ग्यासका सिलिन्डरलगायत सामग्रीका अवशेष भेटिए।
शेर्पाले आफ्नो २५ वर्षको अनुभवमा नेपालका हिमालहरू सर्वाधिक फोहोर हुने गरेको देखेका छन्। आफूले आरोहण गरेका सात हिमालमध्ये सगरमाथा सबैभन्दा बढी फोहोर रहेको उनी बताउँछन्। त्यहाँ तेन्जिङ नोर्गे र एडमन्ड हिलारी गएदेखिकै फोहोर बाँकी रहेको उनको अनुमान छ। अन्यको तुलनामा अन्नपूर्ण सर्किट सफा छ। दक्षिण अफ्रिकी हिमशिखर किलिमन्जारो सफा हुनुको जस भने निकुञ्जले गरेको व्यवस्थापनलाई दिन्छन् उनी। हिमालमा संकलित अथाह फोहोर सफा हुन अझै कति वर्ष लाग्ला उनी आफैँसँग जवाफ छैन।
‘कुल्ली’बाट शुरू भएको आरोहणयात्रा
ताप्लेजुङका पूर्णकुमार शेर्पा आठ वर्षको उमेरबाट अनायासै प्रकृति प्रेमतर्फ धकेलिएका थिए। सामान्य किसान परिवारका उनको बाल्यकाल बुवाआमालाई खेतीपातीका काममा सघाउँदै बित्यो। त्यसबेला माटोमा पाइने किराफट्यांग्रालाई उनी खुब माया गर्थे। जानी नजानी ती जीवहरूलाई आफूबाट चोट नपुगोस् भन्ने उनको मनसाय हुन्थ्यो।
प्रकृतिलाई गुरु मान्ने उनी भन्छन्, “मानिसहरू चर्को घाम लाग्दा र ठूलो पानी पर्दा रिसाउँछन्। कति पानी परेको होला, भन्छन्। म त प्रकृतिबाट सँधैँ आनन्द लिन्थेँ। जसरी म भारी बोक्ने काम गर्छु, प्रकृतिले पनि त्यसरी नै आफ्नो काम गरिहेको छ भन्ने मलाई लाग्थ्यो र लाग्छ पनि।”
उनका माइला मामाले काठमाडौँमा पर्यटकको भारी बोक्ने काम थाले। त्यसताका विदेशी पर्यटक को कहाँका हुन् भन्ने थाहा नहुँदा सबैलाई ‘जापनिज’ भन्ने चलन रहेको शेर्पा सम्झिन्छन्। उनीहरूको सामान बोक्ने कामलाई ‘जापनिजको भारी बोक्ने’ भनिन्थ्यो। भारी बोक्न गएका मामा र उनका साथीहरू गाउँ फर्कंदा राम्रो कपडा र जुत्ता लगाएको देख्दा उनलाई पनि कुनै दिन ‘जापनिजको भारी बोक्छु’ भन्ने लाग्थ्यो।
शेर्पाको त्यो इच्छा २० वर्षको उमेरमा पूरा हुने भयो, जतिबेला मामाले उनलाई आफूसँगै काठमाडौँ ल्याए। यद्यपि काठमाडौँको डेरामा मामाहरूको आउनेजाने ठेगान नहुँदा ‘जापनिजको भारी’ बोक्न आएका उनी अलपत्रझैँ भए। हप्तादिनको अलमल र बिमारीपश्चात् एक दिन रुमलिने क्रममा उनको भेट साहिँला मामाका छोरासँग भयो, जसले उनलाई एक गलैँचा कारखानामा लगे। त्यहाँ उनकी दिदीले काम गर्थिन्। भारी बोक्ने काम नपाउन्जेल गलैँचाकै काम गर्ने सोच शेर्पाले बनाए।
अलि समयपछि हिमाल आरोहणको सिजनमा मात्र ‘जापनिजको भारी’ बोक्न पाउने गरी ट्रेकिङमा कुल्ली (भरिया) को काम पाए। यो सन् १९९९ को कुरा थियो। ट्रेकिङमा जाँदा उनका आँखा प्राकृतिक सौन्दर्यभित्र लुकेका, फालिएका फोहोरहरूमा पर्थे। ती फोहोरले कताकता प्रकृतिलाई कुरूप बनाइरहेको महसुस भएपछि देखेकामध्ये सकेजति फोहोर टिपेर बोक्न थाले उनी।
त्यसबेला ४०–५० किलोको भारीसँगै थप १० किलोसम्म फोहोर बोकेर हिड्ने गरेको शेर्पा बताउँछन्। “फोहोरको भारी बोकेको देखेर गाइडहरूले भारी पुगेनछ भन्दै अझ थपिदिन्थे,” उनी भन्छन्, “गाउँमा ८० किलोसम्म बोकेको मान्छेलाई ५०–६० किलोको भारी बोक्न गाह्रो हुने कुरै थिएन।”
कुल्लीको काम गर्दा पाइने ८० रुपैयाँ दैनिक ज्याला उनलाई निकै कम लाग्थ्यो। त्यही पैसा बचाएर घर पठाउनुपर्ने भएकाले दिनको एक छाक खाना खाएर अर्को छाक जेनतेन टार्ने गरेको उनी सम्झिन्छन। “त्यतिबेला बेलुकाको खाना खाए मात्र होटलमा सुत्न पाइन्थ्यो,” शेर्पा भन्छन्, “बिहानमा चिउरा र पानी खाएर दिनभर भारी बोक्थेँ। रातको एक छाक चाहिँ भात नै खान्थेँ। अर्को दिन भारी बोक्न तागत चाहिन्थ्यो।”
त्यसरी कुल्लीको रूपमा काम शुरू गरेपछि ट्रेकिङका क्रममा ठाउँठाउँका हिमाली गन्तव्य पुग्दा आँखाअघि देखिने सेता हिमालले उनलाई लोभ्यायो। हिउँ छुन र महसुस गर्न मन लाग्थ्यो। यद्यपि उनले हिमालचुली चढ्ने मौका पाइसकेका थिएनन्।
ट्रेकिङको क्रममा उनी कुल्लीबाट ‘स्पायर’ भए। कुल्लीले पर्यटकको सबै सामान बोक्ने भए पनि स्पायरले भने खानपिनको भाँडाकुडा, स्टोभ, मट्टीतेललगायत भान्साका सामग्री मात्र बोक्थे। कुल्लीबाट स्पायरसम्म पुग्नु उनको लागि ठूलो उपलब्धि बन्यो। बिस्तारै पदोन्नति हुने क्रममा ‘किचनबोइ’ हुँदै कुक समेत बने।
गाउँमा माध्यमिक तहसम्म पढेका शेर्पाले बिस्तारै अंग्रेजीको स्वाध्ययन गर्न थाले। अंग्रेजी बोल्न थालेपछि उनी पर्यटक घुमाउने ‘असिस्टेन्ट गाइड’ अर्थात् सहयोगी पथप्रदर्शक बने। त्यसबीचमा उनले गरेका संघर्षको लेखाजोखा नै छैन। ट्रेकिङको क्रममा उनले ८५ वर्षकी एक स्विडेनी महिलालाई पोखराबाट पदयात्रा गराएर कास्कीको पुनहिलसम्म पुर्याए। ती वृद्धालाई गन्तव्यसम्म पुर्याएको पल उनको लागि अविस्मरणीय छ।
ट्रेकिङ गाइडमा आत्मविश्वास बढेपछि उनको ध्यान हिमालतिर तानियो। आँखैअघि देखेर मन्त्रमुग्ध भए पनि उनले हिमाल आरोहण गर्न भने अझै पाएका थिएनन्। सन् २००१ अघिसम्म उनले बेलाबेला विभिन्न हिमालय क्षेत्रमा पुग्दा भेटेका फोहोर आफ्नो क्षमताले भएसम्म संकलन गर्दै थिए। त्यसपछि भने यो कामलाई अभियानकै रूपमा अघि बढाए।
“मलाई ज्ञान भएसम्म एउटा प्लास्टिकको खोलले ओगटेको ठाउँमा एक नाङ्लो बराबर हिउँ पग्लिन्छ,” उनले भने, “जथाभावी छाडिएका प्लास्टिकजन्य फोहोरले बेस क्याम्पमै हिउँ पग्लिएको देख्दा दुःख लाग्थ्यो।”
सन् २००४ को खुम्बु हिमपहिरोमा परी बेपत्ता भएर पछि हिमनदीले बगाएर सतहमा निकालेका मानिसका शवहरू पनि उनले ल्याएका छन्। हिमाल आरोहणमा जाने पर्यटकहरूको सम्पर्क र सुविधाका लागि सरकारले ‘लिआइजन अफिसर’ अर्थात् सम्पर्क अधिकारी तोक्ने व्यवस्था छ। त्यस्ता अधिकारीले हिमाल आरोहण दलको निरीक्षण पनि गर्नुपर्छ। आफ्नो व्यावसायिक अनुभवलाई अझ बलियो बनाउन शेर्पाले त्यो काम पनि गरे। त्यससँगै सन् २००५–०६ मा उनले आरोहण पथप्रदर्शकको रूपमा काम गरे।
सन् २०१० मा ‘हाई अल्टिच्युड सुटर’को रूपमा क्यामेराबाट दृश्य छायांकन गर्ने काम पनि उनले गरे। यद्यपि आफूलाई गाइड र आरोहीको रूपमाभन्दा पनि हिमाल सफाइकर्ताको रूपमा चिनाउन रुचाउँछन् उनी। अभियानमार्फत २०० टनजति फोहोर हिमालबाट झारेको उनको अनुमान छ। “अभियान चलाउने मान्छे सधैँ एक्लै हुने रहेछ। कसैले केही सुन्नै चाहँदा रहेनछन्,” सरसफाइको काममा बटुलेको अनुभव साट्दै शेर्पाले भने।
उनले सन् २०१२ मा व्यक्तिगत पहलबाट ट्रेकिङ कम्पनी दर्ता गरे। वर्षौंको अनुभवका क्रममा जोडिएकामध्ये उनको रुचिलाई मन पराउने फाट्टफुट्ट पर्यटक आएर उनीसँग काम गर्न थाले। तर संस्थागत प्रगति उनले सोचेजस्तो भएन। यसबीच सन् २०१७ मा उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सदस्यमा नियुक्त भए। “पर्यटन क्षेत्रमा दिएको योगदान र विज्ञताको कारण कार्यकारी समिति सदस्यको रूपमा बसेँ,” उनी भन्छन्, “त्यहाँ हुनुको मेरो एकमात्र स्वार्थ हिमाल सरसफाइको लागि सरकारलाई घचघच्याउनु थियो। किनभने ठूलो रिजल्टको लागि ठूलै संस्थाको सहयोग चाहिन्छ भन्ने लाग्यो।”
यद्यपि उनले सोचजस्तो भएन। चाहेको काम गर्न ठूलै संघर्ष गर्नुपर्यो। हिमालको हिउँ बचाउनको लागि सरकारसँगको लबिइङका लागि उनी पटक–पटक वन तथा वातावरण मन्त्रालय गए। फलतः हिमाल सरसफाइको लागि मन्त्रालयले पाँच करोड रुपैयाँ बजेट छुट्यायो। तर त्यो योजना सोझै नेपाली सेनालाई दिइयो।
“हिमालको सरसफाइ नै प्रमुख उद्देश्य भएको हुँदा मेरो काम सरकारलाई चेतना दिनु र ध्यानाकर्षण गर्नु थियो,” उनले भने, “आर्मी हेडक्वाटरमा जानकारीको लागि पुग्दा मलाई टेन्डर हाल भनियो। त्यसपछि त्यो योजनाबाटै निस्किएँ।” विशुद्ध रूपमा सेवाका लागि हिमाल सरसफाइ अभियान शुरू गरेकाले आफूलाई टेन्डरको मामिलामा चित्त नबुझेको उनले बताए। सरकारी तवरबाटै हिमाल सरसफाइको योजना आएकोमा भने उनलाई सन्तोष लागेको थियो।
सन् २०२० मा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय अन्तर्गत नेपाल माउन्टेन एकेडेमीको बोर्ड सदस्य पदमा नियुक्त भएका उनको पदावधि केही महिनाअघि मात्रै सकिएको थियो। यसबीच नीतिगत तहमा रहेर हिमालको अध्ययन–अनुसन्धानका लागि सरकारलाई पटक–पटक घचघच्याएको शेर्पाले बताए। अपि हिमालबारे भएको अनुसन्धानलाई आफ्नो कार्यकालको उल्लेखनीय उपलब्धिको रूपमा उनी लिन्छन्।
२५ वर्षअघि आफूले शुरू गरेको हिमाल सरसफाइको काममा हाल नेपाली सेना र स्थानीय पालिकादेखि टान र एकेडेमीसम्म सहभागी भएकोमा सन्तुष्ट रहेको बताउने उनी हाल एशियाको सगरमाथा, अफ्रिकाको किलिमन्जारो, उत्तर अमेरिकाको माउन्ट डेनाली, युरोपको माउन्ट इल्ब्रसलगायत संसारका सात महादेशका सात शिखरबाट प्रकृति संरक्षणको सन्देश दिने अभियानमा लागेका छन्। त्योसँगै प्रकृतिको तापमानलाई बढ्न नदिन वृक्षारोपणमा पनि उनको सक्रियता छ।
हिमाल सरसफाइबाट वृक्षारोपणतर्फको झुकावमा लाग्न एउटा तथ्यांकले प्रेरित गरेको उनी बताउँछन्। “विश्वको वातावरणमा सबैभन्दा प्रदूषण सवारी साधनबाट ४२ प्रतिशत, उद्योग कलकारखानाबाट १४ प्रतिशत, इन्धनबाट २१ प्रतिशत र वातावरणीय फोहोरबाट ५–७ प्रतिशत रहेछ,” उनी भन्छन्, “म प्रकृति बचाउँछु भनेको मान्छे जम्मा पाँचदेखि सात प्रतिशतभित्रको काममा मात्र कुदिरहेको रहेछु।”
प्रकृति संरक्षणको ९३ प्रतिशत क्षेत्रमा हात हाल्नै बाँकी रहेको महसुस भएसँगै शेर्पाले हिमाल सरसफाइलाई निरन्तरता दिँदै वृक्षारोपण अभियानमा होमिएर अर्को चुनौतीको यात्रा अंगालेका छन्, जुन लामो र जटिल छ भन्ने उनलाई राम्ररी थाहा छ।