Monday, April 29, 2024

-->

वायु प्रदूषण संकट: स्रोतमै नियन्त्रण गर्नुपर्छ

खासगरी विपन्न, बालबच्चा र वृद्धलाई साह्रै मर्का पार्ने वायु प्रदूषण ठूलो संकट हो। वायु प्रदूषणका अनेकन् आयाम भएकाले एकाध प्रयत्नभन्दा पनि सबै तहका सरकारको सक्रियता यसमा आवश्यक छ।

वायु प्रदूषण संकट स्रोतमै नियन्त्रण गर्नुपर्छ

काठमाडौँ उपत्यकाभित्र हुने प्रदूषणका धेरै आयाम छन्। झन्डै ४५ लाख मान्छे उपत्यकामा बस्छन्। यहाँ अत्यन्तै धेरै सवारीसाधन, संरचना निर्माण तथा इँटाभट्टालगायत कलकारखानासमेत भएकाले उत्सर्जन पनि धेरै हुन्छ। काठमाडौँ कचौरा आकारको भूगोलका कारण पनि सहजै यहाँको प्रदूषण उडेर बाहिर निस्कँदैन। समयमै सडक निर्माण नगर्दा पनि त्यसले धेरै धुलो निम्त्याइरहेको हुन्छ।

चिसो मौसमको बिहान ६ बजे आसपासको समयमा प्रदूषण धेरै हुने रहेछ। सवारीको चाप धेरै हुने बेला पनि प्रदूषण बढ्छ। त्यसको मतलब दिउँसोतिर सवारीसाधन धेरै चल्दा प्रदूषण बढ्ने भयो। कुहिरो या हुस्सु लागेको बेलाचाहिँ प्रदूषण तल्लो सतहमा थुप्रिएर मानव स्वास्थ्यमा असर बढी गर्छ नै। 

त्यसो हुँदा मर्निङ वाक जाँदा अथवा खुला ठाउँमा शारीरिक व्यायाम गर्दा बढी सचेत हुन आवश्यक छ। बिहानको समयमा केही नगर्नुभन्दा शारीरिक व्यायाम गर्नु राम्रो हो। त्यसो हुँदा अलि कम प्रदूषण भएको दिन बाहिर निस्कने गर्ने अथवा धेरै प्रदूषण भएका बेला अनिवार्य मास्क लगाएर बाहिर जान सकिएला। खासगरी शहरमा बाहिर हिँड्दा, बाइकमा यात्रा गर्दा, त्यसमा पनि सवारी जाममा रहँदा प्रदूषणबारे झनै ख्याल राख्नुपर्छ। 

तथ्य के हो भने, हामी बाहिर या भित्र जहाँ बसे पनि श्वास फेरिहाल्छौँ। फेरि हावामा अहिले पीएम २.५ भन्दा मसिना कणहरू हुन्छन्, जुन भाइरसजस्तै हुन्छ, जसलाई सामान्य सर्जिकल मास्कले पनि छेक्न सक्दैन। झ्यालका जाली र ससाना प्वालले छेक्न सक्ने कुरै भएन। त्यसो हुँदा प्रदूषणबाट बच्ने साँच्चिकै चुनौतीपूर्ण छ। 

मुख र नाक हुँदै प्रदूषित हावा शरीरभित्र पस्छ। मसिना कणहरू फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमा प्रवेश गर्दै शरीरभरि पुग्छन्। मुटु र टाउकोमा प्रदूषण पुग्छ, जसका कारण हृदयाघात तथा शरीरको विभिन्न भागमा क्यान्सरसमेत हुनसक्छ।

दम, हृदयाघात र मस्तिष्कघात आदि गरी प्रदूषणकै कारण एक वर्षमा ४२ हजारको मृत्यु भएको देश हो नेपाल। प्रदूषणका कारण काठमाडौँ उपत्यकावासीको आयु सरदर चार वर्षले घटिरहेको छ। सरदरमा यो अवस्था छ भने कसै कसैको त ४० वर्षले पनि घटेको होला। 

अचेल कलिलै उमेरका मान्छेमा पनि हृदयाघात र मस्तिष्कघात हुने गरेको छ। त्यसको कारण धेरैजसो प्रदूषण नै हो। सामान्य रूपमा नियाल्दा पनि पछिल्ला दिनमा बालबालिकामा एलर्जी र दम रोग बढेको देखिन्छ। प्रदूषणले यसरी असर गरिराखेको छ, तर उत्तिकै टड्कारो समस्या के हो भने हामीलाई यसबारे थाहा पनि छैन, सचेतता एकदमै कम छ। 

प्रदूषण  र मास्क
मान्छेको मृत्यु हुने र हृदयाघात हुने स्तरको खतराचाहिँ धुलोका मसिना कणका कारण हुन्छ। ठूला कणहरू त घाँटीतिर गएर अड्केर बस्छन्, त्यस्ता कण फोक्सोभित्र गएर रक्तसञ्चार प्रणालीमा प्रवेश गर्न पाउँदैन। 

सर्किजल मास्क तथा कपडाका मास्कले प्रदूषण छेक्दैन। ठूलो धुलोका कणहरू मात्र रोक्छ त्यस्ता मास्कले। त्यस्तो अवस्थामा बरु दुई वटा सर्किजल मास्क खप्टेर लगाउन सकिन्छ। मास्कको फेब्रिकबाट धुलो छिर्ने होइन, छेउछाउबाट छिर्ने हो। छेउछाउबाट छिर्न रोक्नमा सर्किजल मास्कले प्रभावकारी रूपमा काम गर्दैन। एन ९५ मास्कचाहिँ गालामा टपक्क मिलेर बस्ने भएकाले छेउबाट धुलो छिर्दैन। सर्किजल मास्कलाई पनि हावा नछिर्ने गरी लगाउने तरिका पनि छन्। त्यस्ता तरिका युट्युबहरूमार्फत पनि हामी सिक्न सक्छौँ। 

अर्को कुरा, प्रदूषण बढी भएका बेला झ्यालढोका बन्द गरेर थोरै हावा पास हुने ठाउँ मात्रै राखेर घरमा बस्ने अभ्यास पनि सही हो, तर मसिनो प्रदूषण त्यसले छेक्छ भनेर भन्न गाह्रो छ। तर केही नगर्नुभन्दा त्यति गर्नु पनि राम्रो हो। 

व्यक्तिले आफ्नो तर्फबाट गर्ने सामान्य प्रयासले मात्रै वायु प्रदूषणका प्रभाव रोक्न सम्भव छैन। त्यसका लागि समुदाय, व्यक्ति र सबै तहका सरकारले काम गर्नुपर्ने देखिन्छ। बृहत् रूपमा प्रदूषणका कारण खोजेर तत्काल त्यसलाई घटाउनेतर्फ लाग्नुपर्छ। शहरमा साइकल लेन बढाउनुपर्छ र साइकल चढ्ने संस्कृतिको विकास गर्नुपर्छ। 

त्यससँगै, घर र सडकमा समेत मान्छेहरू जाडोको बेला आगो बाल्छन्, तातो पार्न टायरसमेत बालिरहेका भेटिन्छन्। यस्ता चिज बाल्नलाई निरुत्साहित गर्न आवश्यक छ। त्यसका साथै अधिकांश सवारीसाधनका प्रदूषण जाँच पास भएकै हुन्नन्। त्यसमा राज्यले कडिकडाउ गर्नुपर्छ। काठमाडौँ उपत्यकाभित्रको कुरा गर्ने हो भने थोरै प्रतिशत ठूला गाडीले धेरै प्रदूषण गरिराखेका हुन्छन्। रातिराति विभिन्न नाका हुँदै काठमाडौँ छिर्ने ठूला टिपर र ट्रकले फ्याँकेको धुवाँका आधारमा के भन्न सकिन्छ भने प्राय: ती सबैले जाँच पास गरेकै हुँदैनन्, जबकि तिनले गर्ने प्रदूषणको भार अत्यन्त धेरै छ। 

सम्पूर्ण सवारीसाधनको दुईतीन प्रतिशत मात्रै तिनको संख्या होला, तर धेरै प्रदूषणचाहिँ तिनले नै निम्त्याएका छन्। ५०–६० प्रतिशत प्रदूषण तिनले गर्छन्। त्यसो हुँदा प्रदूषणका कारकमा हामीले ध्यान दिई तिनको नियन्त्रणमा लाग्नुपर्छ। कोरोनाले तीन वर्षमा १२ हजार जनाको मृत्यु भयो भने एकै वर्षमा त्योभन्दा धेरै व्यक्तिको मृत्यु त प्रदूषणका कारण हुन्छ, तर यति भइसक्दा पनि वायु प्रदूषणको विषयलाई व्यक्ति, परिवार र राज्यले उति गम्भीर रूपमा लिएको देखिँदैन।

हामीले यहाँ काठमाडौँको मात्रै कुरा गर्‍यौँ, नेपालको तराई क्षेत्र त झनै बढी प्रदूषित छ सरदरमा। प्रदूषणका कारण काठमाडौँवासीको सरदर आयु चार वर्ष घट्छ भनियो, मधेश प्रदेशका कतिपय जिल्लामा सरदर ९ वर्षसम्म आयु घट्न जान्छ, जबकि त्यहाँ त धुलोको खासै प्रदूषण पनि हुँदैन। तराईको हावामा धेरै प्रदूषण भएका कारण प्रदूषण धेरै भएको हो। 

जाडोमा आगो, प्रदूषणकै कारक
प्रदूषणसँग यो विषय पनि जोडिन्छ। जाडो बढेसँगै आगो बाल्ने, ताप्ने तताउने गरिन्छ। घरभित्र कोइला बाल्ने गरिन्छ। अचेल ग्यास गिजरको प्रचलन पनि बढ्दो छ। कोइला र ग्यास गिजर प्रयोग गर्दा 'कार्बन मोनोक्साइड पोइजनिङ' भएर परिवारकै ज्यानसमेत गइराखेको हुन्छ। राति कोइला बालेर सुत्दा त्यसले कोठाभित्रको अक्सिजन सकाउँछ र कार्बन मोनोअक्साइडको मात्रा बढाइदिन्छ। कोठाभित्र बसेका व्यक्तिको शरीरमा कार्बन मोनोक्साइड पस्छ। रगतमा त्यसको मात्रा बढ्दै जाँदा मान्छे बेहोस हुन्छ र सुतेको सुत्यै ज्यान जान्छ। हामी जाडो याममा प्राय: त्यस्तै समाचार पढिरहेका छौँ। यही साल पनि त्यस्ता खबर आइसके। 

कोइला प्रयोग र ग्यास गिजरको तुलनामा इलेक्ट्रिक हिटर बढी सुरक्षित हुन्छ, किनभने त्यसले कार्बन मोनोअक्साइड निकाल्दैन। तर इलेक्ट्रिक हिटरले पनि छेउछाउका चिजहरू छोएर बल्न गई त्यसबाट पनि हानिकारक धुवाँ निस्कन सक्छ। त्यसमा पनि सचेत हुनुपर्छ। 

खासगरी विपन्न, बालबच्चा र वृद्धलाई साह्रै मर्का पार्ने वायु प्रदूषण ठूलो संकट हो। वायु प्रदूषणका अनेकन् आयाम भएकाले एकाध प्रयत्नभन्दा पनि सबै तहका सरकारको सक्रियता यसमा आवश्यक छ। निर्माण कार्यमा नियमन, प्रदूषण कम गर्ने गरी इँटाभट्टा निर्माण तथा प्रदूषण गर्ने सवारीसाधनमाथि बन्देज र नियन्त्रण गर्दा धेरै हदसम्म वायु प्रदूषण कम हुन्थ्यो। 


सुवेदी संक्रमणरोग विशेषज्ञ हुन्।


सम्बन्धित सामग्री