Monday, April 29, 2024

-->

शहरमा बढिरहेको खतरनाक प्रकाश प्रदूषण (तस्वीर कथा)

वातावरण र जनस्वास्थ्यमा असर पर्ने गरी बिजुली बत्तीको अत्यधिक प्रयोग गर्नु प्रकाश प्रदूषण हो। अहिले हाम्रा शहरहरू यस्तै प्रदूषणको मारमा छन्।

शहरमा बढिरहेको खतरनाक प्रकाश प्रदूषण तस्वीर कथा

काठमाडौँ– चारैतिर झिलिमिली उज्यालो। अचेल शहरमा रात पर्दैन। यसले हामीलाई क्षणिक रूपमा सुरक्षित त महसुस गराएको छ, तर दीर्घकालीन रूपमा फाइदाजनक नभएको विभिन्न अनुसन्धानहरूले देखाएका छन्। किनभने झट्ट हेर्दा रमाइलो देखिने बत्तीको उज्यालो वातावरणीय प्रदूषण पनि हो।

आधुनिकताले हाम्रो जीवनशैली मात्र नभई वातावरणलाई पनि बदलिदिएको छ। नदीनाला, हावापानी पहिलाको जस्तो स्वच्छ छैन। वायु प्रदूषणसँगै, मानवीय फोहोरले जमिन पनि दूषित भएको छ। प्रदूषण भन्नेबित्तिकै सामान्यतया हावा, पानी, जमिन, वायु र ध्वनिलाई मात्र बुझ्ने गरिन्छ। तर हामीले ध्यान नदिने प्रदूषणको अर्को रूप हो ‘प्रकाश’।

अँध्यारो हुनुपर्ने ठाउँमा अनुपयुक्त किसिमले बत्तीहरू जडान गरिएमा प्रकाश प्रदूषण पैदा हुन्छ। अहिले विशेषतः हाम्रा शहरहरू यही प्रदूषणको मारमा छन्। तपाईं शहरको बासिन्दा हुनुहुन्छ र रातमा आकाश हेर्नुभयो भने तीव्र प्रकाशका कारण ताराहरू स्पष्ट देखिँदैनन्, जति गाउँघरबाट देखिन्छन्।

वातावरणविद्हरूका अनुसार वातावरण र जनस्वास्थ्यमा असर पर्ने गरी बिजुली बत्तीको अत्यधिक प्रयोग गर्नु प्रकाश प्रदूषण हो। यसका पनि चार किसिम छन्– लाइट ट्रेसपास, ओभर–इलुमिनेसन, लाइट ग्लेअर र लाइट क्लटर। बाहिर सडकबत्तीलगायत अरू नै प्रयोजनका लागि बालिएको बत्तीको उज्यालो झ्यालढोकाबाट अनावश्यक रूपमा घरभित्र छिर्नु 'लाइट ट्रेसपास'  हो। यो त्यति हानिकारक छ जसले निदाउन बाधा पुर्‍याउँछ, एकाग्रता बिथोल्न सक्छ र आँखालाई पनि असर पार्छ।

त्यस्तै, चम्किला बत्तीहरूको अनुचित प्रयोग 'ओभर–इलुमिनेसन' हो। सडकछेउमा राखिएका होर्डिङबोर्डहरूबाट चम्किने उज्यालोले यसको प्रतिनिधित्व गर्छ। त्यसबाहेक आफ्नो वरपरका पार्क, रंगशाला लगायतका सार्वजनिक स्थलहरूमा राखिने 'ओभर लाइट' पनि आँखाका लागि यस्तै प्रदूषक मानिने उज्यालोका स्रोतहरू हुन्। 

अँध्यारो सडकमा यात्रा गर्दा अघिल्तिरबाट आउँदै गरेको गाडीको 'हेडलाइट'ले एक्कासि आँखा तिरिमिरी बनाउँदा एकछिनसम्म वरपर केही देख्न नसकेको अनुभव गर्नुभएको छ भने सोच्नुहोस्– तपाईं 'लाइट ग्लेअर'को शिकार हुनुभयो। आवश्यकता र चाहनाविपरीत सामना गर्नुपर्ने त्यस्तो कडा चमकले आँखालाई असर गर्छ। कुनै सवारी साधन चलाउँदै गर्दा त्यस्तो असर भोग्नु परेमा त आँखा नठमिएर दुर्घटनासमेत हुन पुग्छ।

'लाइट क्लटर' धेरै बत्तीहरूको कृत्रिम वा अनुपयुक्त सम्मिश्रण हो जसले अनावश्यक उज्यालो र भ्रामक वातावरण सिर्जना गर्दछ। विशेषगरी शहरी क्षेत्रमा असुहाउँदो किसिमले सँगै जोडेर जडान गरिएका बत्तीहरूको प्रकाशले यस्तो प्रदूषणको उदाहरण दिन्छ।

अनावश्यक प्रकाशले टाउको दुख्ने, शरीरमा थकान महसुस हुने, मानसिक तनाव र चिन्ता निम्तिने तथा यौन क्षमतामा ह्रास आउनेजस्ता असरसमेत पर्ने आँखारोग विशेषज्ञ डा. रोहित सैँजु बताउँछन्। प्रदूषित प्रकाशले मनस्थिति पनि खलबल्याइदिन्छ। चिकित्सकहरूका अनुसार रातको समयमा अनुहार र शरीरमा पर्ने अत्यधिक प्रकाशले अनिद्रा, मोटोपना, मानसिक विचलन र मधुमेहसमेत निम्त्याउन सक्छ।

त्यसबाहेक प्रकाश प्रदूषणले बोटबिरुवा र जनावरहरूलाई विनाश गर्न सक्छ भने चराहरूको जैविक 'नेभिगेसन' प्रणालीलाई बिथोल्छ। त्यसकारण शहरी क्षेत्रका स्थानीय सरकारहरूले चम्किला बिलबोर्ड र प्रचार चिन्हहरूको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञानका प्राध्यापक डम्बर चेम्जोङ बताउँछन्।

ट्राफिक प्रहरीले नेपालमा अहिलेसम्म लाइटकै कारणले दुर्घटना भएको भनेर तथ्यांक राख्ने गरेको छैन। तर राति गाडी चलाउने चालकहरूबाट 'ओभर लाइट' भनिने ‘हाइबीम लाइट’ को कारण सवारीसाधन चलाउन गाह्रो भएको गुनासो भने आइरहने गरेको ट्राफिक प्रहरी प्रवक्ता एसएसपी, राजेन्द्रप्रसाद भट्टले बताए।

आँखारोग विशेषज्ञ डा. सैँजुका अनुसार होडिङबोर्डहरूको लाइटले गर्दा आँखालाई मात्र नभई मानिसको जीवनशैलीमा नै असर पार्छ। अरू रङका उज्यालोले भन्दा बढी हानिकारक 'ब्लु लाइट' अर्थात् नीलो प्रकाशले आँखा सुख्खा हुने, पोल्ने, बिझाउनेजस्ता असर पार्छ। त्यस्तै, ओभर लाइटका कारण टाउको दुख्ने, निद्रा नपर्ने, हेर्न कठिन हुने र लगातार त्यस किसिमको प्रदूषित प्रकाश आउने ठाउँमा बसिरहेमा शारीरिक तौलमासमेत कमी आउने हुन्छ।

डा. सैँजु भन्छन्, "केहीबेर उज्यालोमा बसेर अँध्यारोतिर जाँदा एकछिनसम्म केही पनि देख्न सकिँदैन, हामी ब्ल्याक आउट नै हुन्छौँ। त्यस्तै, राति सवारी चलाउने चालकहरूले पनि डिस्प्ले बोर्ड हेर्दै आउँदा अँध्यारोमा फोकस गर्न नसक्दा दुर्घटना हुने चान्स एकदम धेरै हुन्छ।"  प्रकाश प्रदूषणको असरबाट बच्नको लागि 'एलईडी लाइट'को उज्यालो धेरै बेरसम्म नहेर्ने र 'ब्लु लाइट'बाट बच्नको लागि ब्लु रे प्रोटेक्सन ग्लासको प्रयोग गर्नुपर्ने उनको सल्लाह छ।

काठमाडौँ महानगरपालिका भित्रका ठाउँठाउँमा चम्किलो बत्तीसहितका होडिङबोर्ड तथा एलईडी डिस्प्ले बोर्डहरू देखिन्छन्। तर मानिसलाई असर नपर्ने गरी लाइट राख्न पाइने व्यवस्था भए पनि डिस्प्ले बोर्ड र एलईडी लाइटको प्रयोगबारे अहिलेसम्म कुनै पनि मापदण्ड नबनेको महानगरका प्रवक्ता नविन मानन्धरले बताए।


सम्बन्धित सामग्री