Saturday, April 27, 2024

-->

पुग्ने होइन त पूर्णिमाको 'पोर्टरी' पसल?

कोभिड–१९ को महामारीका बेला 'लकडाउन' भएपछि त्यत्तिकै घर बसेर समय कटाउँदाको पट्यार भुल्ने उपायस्वरूप पूर्णिमाले 'पोर्टरी'मा लगाब बढाएकी थिइन्।

पुग्ने होइन त पूर्णिमाको पोर्टरी पसल

भक्तपुर– तपाईं भक्तपुरको दरबार स्क्वायर घुम्नुभएको छ? यदि छ भने त्यहाँबाट दक्षिणतर्फको प्रख्यात 'पोर्टरी स्क्वायर' त पक्कै पुग्नुभएको होला। कतिपय त सामाजिक सञ्जाल टिकटकतिर माटोको भाँडो बनाएको भिडियो पोस्ट गरेर भाइरल पनि बनिसक्नुभयो होला। किनभने हिजोआज युवा पुस्तामा पोर्टरी स्क्वायरमा गएर माटोका भाँडाहरू बनाएर टिकटकमा भाइरल हुने ट्रेन्ड जो चलेको छ।

युवाको आकर्षणकेन्द्र बनेको पोर्टरी स्क्वायरमै छ १९ वर्षीया पूर्णिमाको ‘प्रजापति पोर्टरी’ पसल। बहुसंख्यक नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आउन अब धेरै टाढा छैन। तिहार नजिकिएसँगै माटोका भाँडाकुडा बनाउन यतिबेला व्यवसायीहरू निकै व्यस्त छन्। पूर्णिमा प्रजापतिलाई पनि यही मेसोमा भ्याईनभ्याई छ। 

तीन वर्ष देखि पोर्टरी स्क्वायरमा माटोका भाँडा बनाउँदै आएकी पूर्णिमा कोभिड–१९ को महामारीका कारण पोर्टरीतिर तानिएको बताउँछिन्। हरेक चुनौतीमा अवसर लुकेको हुन्छ भनेजस्तै उनले महामारीकालमा त्यत्तिकै घर बसेर समय कटाउँदाको पट्यार भुल्ने उपायस्वरूप पोर्टरीमा आफ्नो लगाब बढाएकी थिइन्। "कोरोनकालमा घरमै बसेर समय कटाउन गाह्रो भएको थियो। के गर्ने कसो गर्ने भइरहेका बेला हातमा माटो पर्‍यो," पूर्णिमाले भनिन्। उनले आफ्ना हातहरू माटोमा रंगाउन थालेपछि समय मात्रै बितेन, पुर्ख्यौली पेसा पनि अगाडि बढ्यो।

बाल्यकाल सम्झिँदै उनले भनिन्, "म सानो हुँदा बुवाआमाले माटोका भाडाहरू बनाउनुहुन्थ्यो। बुवाको हातमा माटो देख्दा मलाई यस्तो फोहोरमा किन चलेको होला जस्तो लग्थ्यो। त्यसरी माटो खेलाएको मलाई खासै मन पनि पर्दैनथ्यो।" तर कोभिडको विश्वव्यापी महामारी फैलिएका बेला उनीसँग समय बिताउने कुनै विकल्प भएन। अप्ठ्यारो समयमा उनको साथी बनेर आइदियो, त्यही घिनलाग्दो माटो। पहिले बुबाले खेलाएको समेत मन नपर्ने माटोसँग पूर्णिमाको खै कस्तो माया बस्यो, उनले त्यसैलाई साथी बनाउने निधो गरिन्।

माटोसँगको माया सजिलैसँग त कहाँ बसेको थियो र! शुरूआती दिनहरूमा धेरै गाह्रो भयो। सानैदेखि बुवाले माटोबाट चिल्ला भाँडाकुडा बनाएको देखे पनि आफूले बनाउन खोज्दा कहाँ सजिलै बन्थ्यो र! माटोसँग मनदेखि मिसिनु अगाडिको क्षण सम्झिँदै पूर्णिमा भन्छिन्, "एक घन्टामा १२ वटा पाला बनाएँ। त्यसमा एउटा मात्र राम्रो बन्यो, अरू सबै बिग्रिए। उनलाई पहिलो पाला देखेर लाज लाग्यो किनभने उनका भाइले उनलेभन्दा राम्रो पाला बनाउँथे।

पूर्णिमाले लजाउँदै भनिन्, "कहिलेकाहीँ त भाइ र मेरो कम्पिटिसन पनि हुन्छ। तर अफसोच, भाइसँग म जहिले पनि हार्छु। अहिलेसम्म जित्ने मौकै पाएको छैन।" उनका भाइले सानै उमेरमा पाला बनाउन सिके। पूर्णिमाले थपिन्, "उसले दुई वटा बनाउँदा मेरो एउटा पाला मात्र तयार भएको हुन्छ।"

नाथम कलेज (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान) मा पढ्दै गरेकी उनले पारिवारिक पेसालाई बचाउन टुरिजम पढेको बताइन्। पूर्णिमाका अनुसार कोरोनाकालभन्दा अगाडि भक्तपुर दरबार स्क्वायर घुम्न आउने अधिकांश विदेशी पर्यटक माटोका भाँडा बनाउने सीप सिक्न उनैको पसलमा आउँथे।

उनी भन्छिन्, "बुवाले धेरै टुरिस्टहरूलाई माटोका समानहरू बनाउन सिकाउनुभएको छ। कति त फेरि नेपाल आउँदा म तपाईंको स्टुडेन्ट हो नि भन्दै बुवालाई भेट्न पनि आएका छन्। तपाईंले सिकाएर नै मैले यस्तो बनाएँ नि भनेर उहाँलाई फोन गर्नेहरू पनि छन्। त्यो देख्दा एकदम खुशी लाग्छ। त्यही देखेर मलाई टुरिजमप्रति लगाव बढ्यो।"

बत्ती बाल्ने पालाको नेवारी नाम हो पाल्चा। कालो माटोबाट बनाइने पाल्चा घाममा सुकाएर विभिन्न रङ लगाई चिटिक्क पारिन्छ। पाल्चाको साइज हेरेर एउटाको मूल्य पाँच रुपैयाँदेखि २५ रुपैयाँसम्म पर्छ। बोल्चाटोल भनिने भक्तपुरको यो ठाउँ पुस्तौँदेखि पाल्चा उत्पादनको केन्द्र बन्दै आएको छ। बोल्चा टोलका सबै जनाले पाल्चा बनाउने पेसा नै अँगालेका छन्।

आधुनिक प्रविधिका कारण बजारमा सोझै बिजुलीबाट बल्ने लगायतका धेरै किसिमका नयाँ पालाहरू आएको भए पनि पूर्णिमालाई भने हातले बनाएका पाला नै अब्बल लाग्छ। भन्छिन्, "बजारमा आधुनिक प्रविधिसँगको प्रतिष्पर्धा त छँदै छ। तर जति नै आधुनिकताले छोएको भए पनि संस्कृतिलाई माया गर्नेहरू हातबाट बनेका पाला नै लिन आउने गर्छन्।

हातले बनेको पाला बिग्रिने डर हुँदैन। यसलाई खस्न र फुट्नबाट जोगाउने हो भने धेरै वर्षसम्म टिक्छ। खुशीले खुलेका अनुहार धपक्क पार्दै पूर्णिमाले भनिन्, "घरमा पनि हामीले अहिलेसम्म आफैँले बनाएका पालामा नै बत्ती बाल्दै आएका छौँ। मैनबत्ती र बिजुलीका पाला जति नै फैलिए पनि तेलमा बलेको पालाको सुगन्ध नै बेग्लै!"


सम्बन्धित सामग्री