Monday, April 29, 2024

-->

नेपाली उत्पादनमा ‘ब्रान्डिङ’को खाँचो

स्वदेशमै खपत भइरहेका कतिपय उत्पादनले समयसापेक्ष ‘लेबलिङ’ र ‘ब्रान्डिङ’ गर्न नसक्दा आयातित वस्तुले तिनलाई विस्थापित गर्दै लागेको छ। उत्पादनले उचित मूल्य पाउन सकेको छैन।

नेपाली उत्पादनमा ‘ब्रान्डिङ’को खाँचो

कुनै वस्तु तथा सेवालाई बजारमा या उपभोक्तामाझ परिचित गराउने र अन्य वस्तु तथा सेवाभन्दा विशिष्ट पहिचान दिने नाम, सांकेतिक चिह्न या लोगो नै ‘ब्रान्ड’ हो। कोकाकोलाको नाम सुन्नेबित्तिकै उपभोक्ताको दिमागमा आउने यसको बोतलको आकृति होस् या एप्पल प्रडक्टका कुटुक्क टोकिएको स्याउको ‘इमेज’ किन नहोस्, यी कम्पनी आफ्नो ब्रान्डमार्फत संसारमा विशेष प्रभाव जमाउन सफल उत्पादन हुन्। 

संसारमा ‘ब्रान्डिङ’को शुरूआत धेरै पहिलेदेखि हुँदै आए पनि सन् १८७६ मा बेलायतमा कानूनी रूपमा ट्रेडमार्क दर्ता भएपछि बियर उत्पादक कम्पनी बास एन्ड कोज् 'रेड ट्रयांगल'लाई संसारको पहिलो आधिकारिक ब्रान्डका रूपमा लिइन्छ। 

आधिकारिक दर्ता नभएको र हाल सञ्चालनमा नरहेको कम्पनीमा जापानी मन्दिर निर्माता समूह कोङ्गो गुमीलाई संसारको सबैभन्दा पुरानो ब्रान्डका रूपमा चिनिन्छ। यदाकदा इजिप्टमा गाईबस्तु चिन्नका लागि ब्रान्डिङ गर्ने गरिएको बारेमा पनि इतिहासमा चर्चा सुनिन्छ। विश्वव्यापी बजारीकरणको यो युगमा ‘ब्रान्डेड’ वस्तु तथा सेवाको प्रयोग गर्नु त्यसको गुणस्तरसँग मात्र नभई व्यक्तिको सामाजिक प्रतिष्ठासमेत जोडिन थालेको छ। 

उपभोगमुखी नेपाली बजार आयातमा निर्भर रहेको दशकौँ भइसकेको छ। चिया, कफी, मह, घिउ, चिज, च्याउ, सुकुटी, अलैँची, अदुवा, गलैँचा, हस्तकलाका विविध सामग्रीलगायत केही उत्पादनबाहेक अधिकांश वस्तु विदेशबाट आयात हुने गरेका छन्। पछिल्ला वर्षमा कृषि पेसाबाट किसान विस्थापित हुँदै गएका कारण आयातको हिस्सामा कृषि तथा खाद्यान्नलगायत वस्तुको मात्रा बढ्दै गइरहेको छ। भन्सार विभागकै चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको तथ्यांक हेर्ने हो भने निर्यातभन्दा १०.३४ गुणा बढी आयात छ। 

विभागले यस अवधिमा झन्डै ९ खर्ब बराबरको आयात गरिरहँदा करिब ८७ अर्बको मात्रै निर्यात भएको देखाएको छ। केही उत्पादनको निर्यात मात्रा बढेको देखिए पनि अधिकांश वस्तु निर्यातको मात्रा ओरालो लागिरहेको देखिन्छ। देशभरका २९ भन्सार कार्यालयको तथ्यांकमा आधारित उक्त आवधिक प्रतिवेदनमा यसअघि विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासका कारण नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेको र केही वस्तुको आयातमा आएको कमीको कारण मात्रै व्यापार घाटाको दरमा सुधार देखिएको प्रस्ट हुन्छ। 

नेपाली उत्पादनको निर्यात बढ्न नसक्नु, आयात दिनानुदिन बढ्दै जानु या व्यापार घाटाको दीर्घकालीन सुधार हुन नसक्नुका कारण केलाउँदै जाने हो भने यसको फेहरिस्त लामै हुनेछ। पुराना उद्योगधन्दा कलकारखानालाई नवीन/आधुनिक पद्धतिबाट सञ्चालन गर्न नसक्नु, नयाँ उद्योग स्थापनामा सरकारी उदासीनता, निजी क्षेत्र अल्पकालीन नाफामा रुमलिनु, कृषि क्षेत्रको समयसापेक्ष आधुनिकीकरण/व्यावसायिकीकरण हुन नसक्नु नै व्यापार घाटा न्यूनीकरण नहुनुको प्रारम्भिक कारण हुन्। 

निर्यात वृद्धिमा जोड दिँदा ध्यान पुर्‍याउन निकै ढिलो भैसकेको पाटो हो नेपाली उत्पादनको ब्रान्डिङ। अघिल्लो कार्यकाल तत्कालीन प्रदेश १ (कोशी) प्रदेशसभा सदस्य रहेकी नेकपा एमाले नेता उषाकला राईले नेपाली रक्सीलाई ‘ब्यान’ (प्रतिबन्ध) होइन, ब्रान्डिङ गर्नुपर्ने विचार व्यक्त गरेकी थिइन्। उनको भनाइमा सकारात्मक प्रतिक्रिया आएका थिए। आवश्यक गुणस्तर र मापदण्ड परीक्षण नभएका घरेलु मदिरालाई नेपालको मदिरा ऐन २०३१ ले अवैध मान्छ। 

यस विषयमा अरूले पनि यसअघि कुरा नउठाएका होइनन् तर नीति निर्माणको काम गर्ने विधायकले नै सो कुरा उठाउनुको अर्थ विशेष थियो। बेलाबखत हिमाली पानी र नेपाली गुन्द्रुक, अचारदेखि नेपालका विविध जातजातिका रहनसहन र संस्कृतिसँग जोडिएका खानेकुरालाई ब्रान्डिङ गर्नुपर्ने आवाज पनि सुनिन्छ। बेलाबेला विदेशमा नेपालमा उत्पादित पानी निर्यात भइरहेका समाचार पनि आइरहन्छन्। रासस सम्प्रेषित समाचारअनुसार २०७८ सालमा ३० करोडको नेपाली पानी विदेशी बजारमा बिक्यो। तर जलस्रोतको धनी मानिने हाम्रो देशमा विदेशको पानीसमेत बिक्छ। एक करोडभन्दा बढीको पानी वार्षिक नेपालमा बिकिरहेको छ। 

मिश्रित अर्थव्यवस्था अनुसरण गरेको नेपाली अर्थतन्त्रले निजी क्षेत्रलाई प्रशस्त अवसर दिए पनि नेपाली उत्पादनले विश्वबजारमा बलियो उपस्थिति जनाउन सकेको छैन। भन्सार विभागको पछिल्लो तथ्यांकमा ७०० भन्दा धेरै थरीका वस्तु निर्यात गर्दै आएको नेपालको विदेशमा सजिलै चिनिने ब्रान्ड भने औँलामा गनिने छन्। हालैका वर्षमा 'गोल्डस्टार'ले आफ्नो निर्यातको मात्रामा उल्लेख्य सुधार गरेको छ भने विदेशी बजारमा यसको माग बढ्दै गइरहेको छ। नेपालमा कफी कल्चरको 'पायोनियर' मानिने हिमालयन जाभा, चाउचाउमा वाईवाई र केही अन्य नेपाली उत्पादनले कछुवा गतिमा बहुराष्ट्रिय बजारको यात्रा अगाडि बढाइरहेका छन्। 

तर नेपालले लामो समययता निर्यात गर्दै आएको नेपाली गलैँचा, पस्मिना, मूर्ति, चाँदीका भाँडाकुँडा, हस्तकलाका सामान, चिया, कफी, घिउ, चिज, छुर्पीलगायत सामानलाई ब्रान्डिङ गर्न नसक्दा या ब्रान्डिङलाई महत्त्व नदिँदा यसको निर्यात खस्कँदो मात्रै होइन, हामीसँग सस्तोमा खरिद गरेर आफ्नो ब्रान्ड प्रयोग गरी बिक्री वितरण गर्दै भारत र चीनजस्ता देशले यसको फाइदा उठाइरहेका छन्। स्वदेशमै खपत भइरहेका कतिपय कृषिजन्य उत्पादनले पनि समयसापेक्ष ‘लेबलिङ‘ र ब्रान्डिङ गर्न नसक्दा आयातित वस्तुले तिनलाई विस्थापित गर्दै लागेका छन्। बिक्री भइरहेका उत्पादनले पनि उचित मूल्य पाउन र उपभोक्ताको विश्वास जित्न सकिरहेको छैन। 

पुस्तान्तरण हुँदै आएका केही नेपाली वस्तुको निर्यात व्यापार अझै पुरानै तरिकाबाट भइरहेको छ। पुराना हस्तकलाका सामानको निर्यातलाई यसैको उदाहरणको रूपमा लिन सकिन्छ। प्रतिस्पर्धात्मक बजारमा ‘ब्रान्ड भ्यालु’ले कति भूमिका खेल्छ भन्ने कुरा अन्तर्राष्ट्रिय बजारका एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजनदेखि सामसुङ, मर्सिडिज, बीएमडब्लू, टेस्लाजस्ता ब्रान्डलाई लिन सकिन्छ। निकै मिहेनेतले सिर्जना गरेको ब्रान्ड भ्यालु बनाउनभन्दा गतिशील बजारमा टिकाइराख्न झनै कठिन छ भन्ने उदाहरण कोडाक, ब्ल्याकबेरी र नोकियाजस्ता कुनै बेला विश्व बजारको ठूलो हिस्सा ओगटेका ब्रान्डलाई लिन सकिन्छ। जर्मनी, बेलायत, जापानलगायत केही चर्चित होटल, रेस्टुरेन्टका ब्रान्ड आज पनि संसारको सबैभन्दा पुराना ब्रान्डको रूपमा सञ्चालनमा छन्। 

नेपाली बजारमा कृष्ण पाउरोटी, गोरखकाली रबर र हात्तीछाप चप्पलले नेपाली जनमनमा गजबको छाप छोडेको छ। चप्पलमा विश्वसनीय छाप निर्माण छोडेको हात्तीछाप चप्पल उत्पादक कम्पनी किरण सुज हाल गोल्डस्टार ब्रान्डका जुत्ताको अन्तर्राष्ट्रिय बजार बिस्तार गर्दै छ। 

हरेक कमजोरीमा सरकारी क्षेत्रलाई दोषी देखाउँदै आएको निजी क्षेत्रले पनि नेपाली उत्पादनको बजार विस्तार र ब्रान्ड भ्यालु निर्माणमा खास प्रयत्न गरेको देखिँदैन। विभिन्न नाम र उद्देश्यले संगठित निजी क्षेत्रका उद्योग-व्यापार संघ-संगठनहरू दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नेतर्फ भन्दा अल्प कालमा मुनाफा आर्जन गर्नेतर्फ नै आफ्नो ध्यान केन्द्रित गरिरहेको छर्लङ्गै हुन्छ। विश्वस्तरीय वस्तु उत्पादन तथा त्यसको ब्रान्डिङ, लेबलिङ र प्रवर्द्धनमा जोड दिएर स्वदेशी उत्पादनको स्तरोन्नति गर्न सक्ने हो भने निर्यात कटौती र आयात अभिवृद्धि हुनसक्ने प्रशस्त आधार छन्। यसो हुँदा निजी क्षेत्र र सरकारलाई फाइदा पुग्नुका साथै अन्तर्राष्ट्रिय बजारमा देशको प्रतिष्ठासमेत बढ्दै जानेछ। 

भारतले आफ्नो हित अनुकूलमा मात्रै प्रयोग गर्ने सार्कस्तरीय क्षेत्रीय व्यापार संगठन (साफ्टा) करिब-करिब निष्क्रियजस्तै छ र सक्रिय भएको अवस्थामा पनि नेपालले आयात विस्थापन र निर्यात वृद्धिको निमित्त यो संगठनको आफू अनुकूल प्रयोग गर्न सकेको थिएन। सन् २००४ मै विश्व व्यापार संगठनको सदस्यता लिए पनि आयात व्यापारमा धेरथोर सहुलियत लिनुसिवाय निर्यात व्यापारमा कुनै उल्लेख्य सहायता लिन सकेको देखिँदैन। 

हुन त स्वदेशी उत्पादनबाट आफ्नो देशको आधारभूत आवश्यकतासमेत परिपूर्ति गर्न नसकिरहेको समयमा निर्यात अभिवृद्धिको सपना देख्नु एउटा कोणबाट जायज नदेखिन सक्छ, तर यस्ता संघ-संगठनलाई आफ्नो हित अनुकूल सदुपयोग गर्न सके र आफूले निर्यात गर्दै आइरहेको वस्तुहरूको ब्रान्डिङ गरेर मूल्य र विश्वसनीयता बढाउन सके व्यापार घाटा कम हुनुका साथै देश आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्न सक्नेछ। एउटा अवसरले अर्को अवसरको ढोका खोल्छ भनेझैँ सीमित उत्पादनमा हुने यस्ता प्रयत्नहरूले अरू थुप्रै वस्तु तथा उत्पादनका लागि पनि अन्तर्राष्ट्रिय बजारको मार्गचित्र कोर्नेछ। 

यसर्थ विदेश निर्यात हुँदै आएका र निर्यात गर्न सकिने स्वदेशी उत्पादनका वस्तुलाई आवश्यक जनशक्ति ,परामर्शदाता  तथा नवीन प्रविधि 'हायर' गरेरै पनि सरकारको पहल र अग्रसरतामा गुणस्तर वृद्धि गरी ब्रान्डिङ गर्न जरुरी छ। वस्तुको पहिचान र विश्वसनीयतासँग प्रत्यक्ष जोडिने ब्रान्डिङको महत्त्वलाई अझै गहिरोसँग बुझ्न र बुझाउन सरकारका निकायले पहल चाल्नु आवश्यक छ। सूचना बजार विस्तार गर्न र बजारमा अरूभन्दा अब्बल बनिराख्न नभई नहुने तत्त्व हो ब्रान्डिङ, जसलाई नेपाली उत्पादकहरूले अनुसरण गर्न ढिलो भइसकेको छ। यसका निम्ति निजी क्षेत्रले विशेष भूमिका खेल्नुपर्नेछ भने यसमा राज्यको समन्वयकारी भूमिकाको खाँचो पर्छ।


सम्बन्धित सामग्री