Sunday, April 28, 2024

-->

पूर्णिमाको हिमाल यात्राको कथा

नेपालका आठ हजार मिटरभन्दा माथिका आठ हिमालमध्ये ‘चोयु’बाहेक सबै आरोहण गरिसकेकी पूर्णिमा संसारकै १४ अग्ला शिखर चढ्ने यात्रामा छिन्।

पूर्णिमाको हिमाल यात्राको कथा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको बुधबार जेठ २९ गते बिहान ६.१७ बजे पूर्णिमा श्रेष्ठले ट्विट गरिन्, “केटु हिमाल आरोहणको लागि पाकिस्तानको यात्रा, तपाईंहरूको साथ, माया, आर्शीवाद र सहयोगका लागि धन्यवाद।”

नेपालको आठ हजार मिटरभन्दा माथिका अधिकांश हिमाल आरोहण गरिसकेकी पूर्णिमा संसारभरकै अग्ला १४ हिमाल आरोहण गर्ने तयारीमा थिइन्। त्यसै क्रममा संसारकै अग्लो शिखर सगरमाथाभन्दा २३८ मिटर होचो शिखर केटु चढ्न पाकिस्तानतर्फ जाँदै थिइन्। आरोहणका हिसाबले विश्वकै सबै अग्ला हिमालको तुलनामा केटूको आरोहण कठिन मानिन्छ।

विश्वका १४ अग्लामध्ये आठ नेपालमा, पाँच पाकिस्तान र एक तिब्बतमा पर्दछ। नेपालको चोयू हिमालबाहेक सात वटा हिमाल पूर्णिमाले आरोहण गरिसकेकी छन्।

सगरमाथा लगायतका हिमाल आरोहणको वसन्तकालीन सिजनको दुई महिनापछि पाकिस्तानका हिमाल आरोहणको सिजन शुरू हुन्छ। पर्वतारोही विवेक पाण्डेका अनुसार नेपालकै आरोहण कम्पनीहरू पाकिस्तानी कम्पनीसँग मिलेर आरोहीहरूलाई हिमाल चढाउने गतिविधि शुरू गरिसकेका छन्। र, नेपालका शेर्पाहरू त्यसतर्फ लागि सकेका छन्। 

पूर्णिमाको हिमाल यात्रा
‘अंगालो’ नामक पोडकास्टका प्रस्तोता आमोदनाथ प्याकुरेलले गत चैत २३ गते अपलोड गरेको पोडकास्टमा भनेका छन्, “हामी हिमालै हिमालको देश भनेर गर्व गर्छौँ। तर ती हिमालबारे बुझ्न जान्न र हिमाल चढ्नेहरूलाई सम्मान गर्न बारम्बार चुकिरहेका हुन्छौँ। विदेशीले त्यही हिमाल चढेर गर्व गर्न मिल्छ। तर नेपालीले गर्दा, खासै सहयोग नभएको देखिन्छ। पैसा जुटाउनेदेखि प्रायोजक खोज्नसमेत आरोही आफैँले पहल गर्नुपर्ने, अझ महिला भएको अवस्थामा त झनै गाह्रो हुने रहेछ।”

उनी अगाडि थप्छन्, “पूर्णिमा श्रेष्ठले नेपालको सबैजसो आठ हजार मिटर प्लस शिखर चढिसक्नु भएको छ। अब १४ पिक्सतिर आँखा लाउनु भएको छ, अब केटू उहाँको लक्ष्य रहेकोले त्यसलाई स्रोतसाधन जुटाउन लागिरहनु भएको छ।”

पूर्णिमा केटू चढ्ने सम्पूर्ण स्रोतसाधन जुटाएर बुधबार त्यसतर्फ प्रस्थान गरिसकेकी छन्।

यो पनि : पृथ्वीतलको उचाइमा मृत्यु जित्ने खेल

बाल्यकाल, एक महिला आरोहीले सामना गर्नुपर्ने सामाजिक, सांस्कृतिक मूल्य–मान्यताका बाधादेखि हिमाल यात्राका अनुभवबारे पोडकास्ट प्रस्तोतासँग पर्वतारोही पूर्णिमाले गरेको लामो कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ। 

बाल्यकाल
म गोरखाको आरुघाटमा जन्मेकी हुँ। मेरो बाल्यकाल अरूको जस्तो हुन्छ, त्यस्तै थियो। हाम्रो संयुक्त परिवार थियो। ५/६ वर्षको हुँदा बाजेहरूसँग छुटिएको हो। सानै उमेरदेखि नै खाना पकाउँथे, खाना पकाएर स्कुल जाने, आमा अति नै मिहिनेती, कहिले खाली बसेको देखिनँ आमालाई सघाउँथेँ, स्कुल जान्थेँ।

बाल्यकालबाट किशोरावस्था पुग्दा खाना राम्रोसँग पकाउने, घर सफा गर्ने, आफ्नो कल्चर फलो गर्ने, आज्ञाकारी हुने, त्यो केका लागि भने, अर्काको घर जाने जात हो भनेर सिकाइएको थियो। त्यसरी म हुर्केकी हुँ।

पर्वतारोहणमा आकर्षण
एसएलसीपछि कलेज पढे पनि नपढे पनि केटी मान्छे भएपछि बिहेकै लागि होला भन्ने लाग्थ्यो। त्यही नै माइन्डमा थियो– एउटा राम्रो केटासँग बिहे गरिदिन्छन् होला। तर, मलाईचाहिँ कताकता जिन्दगीमा केही खत्रा गर्छुजस्तो लाग्थ्यो। साथीहरूको नजरमा नडराउने, जे पनि काम गर्न सक्ने।

सानै उमेरमा गाग्रीमा पानी ल्याउनु पर्थ्यो, मेरो साथीहरूले गाग्री उचाल्न सक्दैन थिए। मचाहिँ उचाल्न सक्थेँ। बोराहरू बोक्ने, यसले त गर्न सक्छ भनेपछि म झन् हौसिन्थेँ, राति हिँड्दा पनि नडराउने। अरूले भन्थे– तिमी छोरी मान्छे भएपछि डराउनु पर्छ, घिनाउने हुनुपर्छ, लजाउने हुनुपर्छ। मलाई न लाज लाग्थ्यो, डर पनि त्यति कसैसँग लाग्दैन थियो, न घिनै लाग्थ्यो। आफ्ना लागि म जे पनि गर्ने सक्छु भन्ने बच्चादेखिको स्वभाव थियो।

हिमाल चढ्न जाँदा आमाबुवाको प्रतिक्रिया
उहाँहरूको अनुहार देख्न पाइनँ, फोनमा कुरा गरेँ। छोरीले हिमाल चढ्छ भनेर सोचेका पनि थिएनन्। एक छिन अक्क न बक्क हुनुभयो होला। नबोलीकन बस्नु भएको थियो। दसैँ आउने बेलामा हो म मनासलु गएको। कहिलेकाहीँ ट्रेकिङ गर्ने, हिमालको कुरा सुनाएको भए ममीबाबालाई थाहा हुन्थ्यो होला। हिमाल के हो र हिमाल कसरी चढिन्छ, के हुन्छ भन्ने नै थाहा थिएनजस्तो लाग्छ उहाँहरूलाई।

मनासलु जाँदाको कष्ट
मनासलु जाँदा गाउँ भएर गइनँ। भर्खर भूकम्पले भत्केर बनाएको घर थियो। म दुई अफिसमा काम गर्थेँ। घरमा २ लाख रुपैयाँ सहकारीबाट निकाल्नु महिनाको किस्ताचाहिँ त्यस्तै १० हजार थियो, त्यो म तिर्छु भनेकी थिएँ।

गाउँ भएर जानुका कारण त्यही किस्ताको पैसा छाडेर जानु मात्र थियो। पैसा त मसँग थिएन। त्यतिचाहिँ तिर्छु भनेकी थिएँ। आमाहरूको आशीर्वाद लिएर जाने भन्ने कुरा हो, तर उहाँहरूलाई नराम्रो हुन्छजस्तो लाग्यो।

धादिङबेसीबाट ३० मिनेट जति हिँडेपछि गाडी नै गएन। त्यहाँदेखि मनासलुसम्म पुग्न धेरै लामो बाटो छ, हिँड्न त धेरै गाह्रो हुन्थ्यो। आरुघाटबाट जाने ट्रेल हो। हामीले योजना बदल्यौँ। त्यसपछि बेसीशहर हुँदै मनाङ गयौँ।

मलाईचाहिँ खुलदुली त्यही १० हजार पैसा दिन पाइनँ भन्ने भयो। मसँग त्यति नै मात्र पैसा थियो। त्यो किस्ता कसरी तिर्छन् भन्ने लाग्यो। माथि जाउन्जेलसम्म पनि मसँग १० हजार रुपैयाँ थियो। मनासलुका धेरै कुराहरू छन्। एकदम दुःखले चढेको हो त्यो हिमाल। धेरै कुरा सिकाएको हिमाल हो। मलाई कन्फिडेन्ट दिने हिमाल पनि हो मनासलु।

फोटो खिच्ने धुनले पर्वतारोही
हो, फोटो खिच्ने धुनेले नै माउन्टेनर भएकी हुँ। अर्थात् फोटो आर्काइभ बनाउँछु भन्ने लोभले हो।

फोटो पत्रकारिता गर्दाखेरी हामीलाई तान्ने सुन्दरताले पनि हो। संसारले हामीलाई चिन्ने हाम्रो हिमालले पनि हो। हिमालमा म धेरै पछि गएकी हुँ। सगरमाथा चढ्ने बेला एउटा माहौल बन्छ, संसारले हेर्ने र देख्ने कुम्भ मेलाजस्तै लाग्छ। संसारका मान्छेहरूका लागि एकदम साहसिक क्रियाकलाप के होला त? सबैभन्दा महँगो र साहसिक ठाउँ सगरमाथा नै हो। संसारका कैयन् मान्छेका सपना पनि हो सगरमाथा।

त्यो न नेपाली पत्रकारिताले चिनेको छ, न हाम्रा फोटोग्राफरले, न राज्यले नै चिनेको छ। कसैलाई यसबारे मतलब नै छैन, वर्णन पनि गर्न सक्दैन। त्यो कुराचाहिँ त्यहीँ गएपछि मात्र थाहा हुन्छ भनेर नै हो म चढेको। मलाई लाग्छ– सगरमाथा नहेरीकन कोही मान्छेको मृत्यु हुन्छ भने उसले ठूलै कुरा गुमाएर मरिरहेको छ। हाम्रो देशमा सगरमाथा नभएर अरू देशमा भएको भए कति महँगो हुन्थ्यो होला नेपालीलाई।

पर्वतारोही क्षेत्रमा लाग्दा झेल्नुपरेका सामाजिक समस्या
मान्छेहरू कामै नभएर हिमाल चढेको भन्ने सोच्छन्। चढेर कस्तो भएर आयो, मबाट के सिक्ने हो, कस्तो हुँदो रहेछ भन्ने बुझ्नै खोज्दैनन्। कसैलाई मतलब नै छैन। हिमालले भन्दैन तँ केटा आइस्, केटी आइस्, तँलाई गाह्रो हुन्छ भनेर, तर केटी भएर त्यहाँ जाँदा धेरै समस्या सामना गर्नुपर्ने हुन्छ। पिरियडको (महिनावारी)अवस्था हुन्छ। हामी महिनौँसम्म केटा मान्छेसँग संगत गरेर हिँड्नु पर्छ। उनीहरूले केही बोलिदिए मनमा लाग्न सक्छ, त्यस्तो कुराहरू मैले सामना गर्नु पर्छ। म गाउँमा जन्मेकी, कहिले केटा साथी बनाएर हिँडेनौँ। अब अहिले पो केटाकेटी साथी हुन्छन्। स्कुलमा पढ्दा खेरी पनि केटाकेटा केटीकेटी छुट्टै बस्थ्यौँ। कहिले पनि कुनै केटालाई सिधा नजरमा हेर्दैनथ्यौँ। त्यस्तो संस्कारमा हुर्केको मान्छे माउन्टेनेरिङ पार्टमा चाहिँ एउटै टेन्टमा शेर्पासँग बस्नुपर्छ भन्ने कुराचाहिँ मलाई कस्तो नराम्रो लागेको थियो शुरूमा।

छुट्टाछुट्टै टेन्टहरू हुन्छ होला, छुट्टाछुट्टै स्लिपिङ ब्याग हुन्छ होला भन्थे, तर माउन्टेनमा हुँदैन रहेछ। लुगा फेर्ने बेलामा बाहिर निस्कन नमिल्ने। पिसाब गर्न नसकिने, अप्ठ्यारो लाग्ने। पिरियड हुन्छ, लुगाहरूमा लागिराखेको हुन्छ प्याडहरू चेन्ज गर्नुपर्‍यो। सबै माउन्टेनमा जाँदा खेरी अथवा आउँदा खेरी भोगियो। अनि सगरमाथामा पनि त्यस्तै भयो माथि टपमा। मनासलुमा पनि टपमा भयो कहाँ प्याड खोज्ने, कहाँ गाइडलाई भन्ने, कहाँ चेन्ज गर्ने, एकदमै समस्या। पिरियड भएको बेलामा त म किन केटी भएर जन्मेको होला जस्तो फिल भयो।

ड्रेसहरू चेन्ज गर्नुपर्‍यो, बाहिर निस्कनु पर्‍यो, केटाहरू जस्तो सजिलो हुँदैन हिमाल चढ्दा। शेर्पा दाइभाइहरू नेपाली चेली भनेर मेरो समस्या बुझ्नु हुन्छ। माया पनि गर्नु हुन्छ। गाइडसँग सहज लाग्छ सधैँ सँगै हिँड्यो भन्छन्। तिम्रो त के हो अफेयर चलेको हो? लभ परेको छ भनेर सोध्छन्। केटालाई त त्यस्तो सोध्दैन होला जस्तो लाग्छ। यो कुराले पनि हामीलाई मानसिक रूपमा असर गर्छ।

हिमाल आरोहण गर्ने केटी मान्छे त कमै हुन्छन्। केही कामै नभएर, हिमाल मात्रै चढ्ने काम गर्‍यो भन्ने कुराहरू सुनिन्छ। केटी मान्छेको परिपक्व उमेर भयो भने बिहेका लागि मात्र योग्य हो भन्ने ठान्छन्। उसको सपनाहरूको कुनै कदर नै हुँदैन। बिहे नगरेर ठूलो कुरा गुमाइरहेको छुजस्तो फिल गराइरहन्छ यो समाजले। कामको कदरै छैन, उनीहरूलाई बिहे नै महत्त्वपूर्ण छ।

घरछिमेकमा हिमालका सबै कुरा सुनाउँदा
हरेक पटक गाउँ जाँदा मेरा कुराहरू सुनाउँछु। गाउँ लाइनै छ, सबै जना मेरा दाजुभाइ खलक नै छन्। ठूलोबुवा, काकाहरू, हजुरआमाहरू। म आएपछि कहाँ पुगेर आयो, कस्तो भाग्यमानी हो तिमी भनिराखेको हुन्छन्। चिठ्ठा परेर सफलता पाएँजस्तो किसिमले भन्छन्। त्यस पछाडिको मिहिनेत कसैले बुझ्दैनन्। कति कष्टले हिमाल चढिएको हुन्छ कहिले कहिले सुनाउँछु, सबै कुराचाहिँ सुनाउँदिनँ। मेरो कुरा सुनेर आमाको आँखामा आएको आँसुले मलाई चित्त दुख्छ, आमाले दुःख पाएको राम्रो लाग्दैन। त्यही भएर म सबै सुनाउन सक्दिनँ।

अहिलेसम्म चढेका हिमालहरू
पहिलो पटक सन् २०१७ मा आफ्नै जिल्लाको मनासलु हिमाल चढेँ। कुनै तालिम लिएको थिइनँ। सगरमाथा चढ्ने भनेर मनासलु चढेको हो। सन् २०१८ मा सगरमाथा चढेँ, २०१९ मा आमादब्लम चढेँ। हिमालको सुन्दरताले मलाई तान्यो। त्यो हिमाल हेरेर म जिन्दगी बिताउन सक्छुजस्तो लागेर आफ्नै पैसाले चढेको हो।

मलाई हिमालप्रति एकदम उत्साहित बनाउने शेर्पा दाजुभाइ नै हुन्। उहाँहरूले नै केटी मान्छेहरू आउनुपर्छ, पासाङ ल्हामुले चढेपछि अरूहरू पनि किन नजाने? सबैको लक्ष्य सगरमाथा मात्र हुन्छ अरू हिमाल चढ्दैन, अरू हिमालको पनि छुट्टै विशेषता छ भन्नुहुन्थ्यो। हिमाल नै चढ्दिन भनेर फिल गरेर बेसक्याम्प पुगेकी थिएँ। महिला नपुगेको हिमालहरू कुन छभन्दा धौलागिरि र अन्नपूर्ण भन्नुभयो।

दुवैमध्ये कुन गाह्रो छभन्दा अन्नपूर्ण भनेपछि त्यही हिमाल चढेँ, धौलागिरि पनि चढेँ। बाँकी तीन वटा किन नचढ्ने भनेर कन्चनजंघा, ल्होत्से, मकालु गएँ। मेरो परिवार साथीभाइले अब त चढ्दैन होला भन्ने ठानेका थिए। कसैले तिम्रो १४ पिकको मिसन हो भन्दा होइन म नेपालको ८ हजार मिटर अग्ला मात्र चढ्ने भन्थेँ तर त्यस्तो हुँदैन रहेछ सपना बढ्दै गयो।

सगरमाथा, मनासलु, धवलागिरि, ल्होत्से, मकालु, कन्चनजंघा, अन्नपूर्ण।

चढ्न गाह्रो लागेको हिमाल
हिमाल चढ्न गाह्रो नै हुन्छ। सगरमाथा चुचुरोमा पुग्ने बेलामा बेस्कन हावाले हानेको थियो, त्यति बेला धेरै गाह्रो भएको थियो। आमादब्लम चढ्दा एकातिर जानुपर्नेमा अर्कोतर्फ लाग्दा म एक छिन मरेजस्तो भएकी थिएँ। शेर्पा नभएको भए कैयौँपल्ट भिरमा झुण्डेर मर्थे होलाजस्तो हुन्छ। मलाई धेरै डर लागेको हिमालचाहिँ अन्नपूर्ण हो। अनि त्यसपछि साँचिकै गाह्रो भएको चाहिँ कन्चनजंघा चढ्दा हो। अबचाहिँ फर्किदिन होलाजस्तो भएको थियो। चढ्दाचढ्दै यस्तो कुराहरू मनमा आउँछन्। मनमा कति कुराहरू खेल्छन्। म पत्रकार भएको हिसाबले समाचारको हेडलाइन आफ्नो मृत्युको बनाएर चढिराखेको हुन्थेँ। मृत्यु कसरी आउँछ त्यो त थाहा हुँदैन, मर्ने बेलामा के कल्पना हुन्छ थाहा छैन, कताकताचाहिँ बाच्नुको धेरै आस पनि हुन्छ। सकारात्मक विचार राख्दै हिमाल चढ्न जाने हो।

शरीरका कति पार्टहरू चल्दैनजस्तो लाग्ने। अब म त थाकिसकेँ अब सक्दै सक्दिनँ भन्ने मनमा आउँछ। फेरि यही मनमा तैँले चढ्नु पर्छ भन्ने कुराहरू आउँछन्। हिमाल चढ्नका लागि के बलियो हुनुपर्छ भनेर सोधिराखेको हुन्छन्। म भन्छु– मन नै बलियो हुनुपर्छ।

हिमालको टाकुरामा पुगेपछि आउने सोच
हिमालको चुचुरोमा पुग्दा आउने सोच त आफ्नै बारेमा हो, लक्ष्य पूरा गरेँ भनेर। त्यसपछि कसरी फर्किने भन्ने टेन्सन हुन्छ। त्यहाँ पुगेपछि अनायासै रुन मन लाग्छ। यति धेरै नरमाइलो लाग्छ, यति धेरै थाकेको हुन्छ, केही कुराको कल्पनै गर्न मन लाग्दैन। यति भावुक भइन्छ कि त्यहाँ पुग्ने सबै ज्यान लगाएर, ध्यान लगाएर, जबरजस्ती आफूलाई त्यहाँ पुर्‍याएको हुन्छ। के पायो त्यो आफूलाई थाहा छैन, के लिएर आयो त्यो पनि थाहा छैन, के हुन्छ पनि आफूलाई थाहा छैन। तर, त्यो अर्कै मज्जा हो।

चुचुरोमा पुगेर बिताउने समय
मेरो पहिलो उद्देश्य भनेकै फोटो खिच्नु हो। त्यसपछि स्पोन्सरको ब्यानर राख्ने हो। टेन्सन के हुन्छ भने मेरो फेस राम्रोसँग आएको छ कि छैन, मैले अक्सिजन मास्क खोलेँ कि खोलिनँ, त्यो खोल्न पनि सकिन्न कसैले खोलिदियोसजस्तो लाग्छ। हावा बेस्सरी आउँछ, स्पोन्सरको ब्यानर पनि राम्रोसँग देखिँदैन। गाइड पनि रिसाउँछन् कति धेरै ब्यानर ल्याएको भनेर।

चुचुरामा पुग्नु भनेको आधा सफलता हो। अब त्यहाँबाट फर्कन धेरै बाटो छ। धेरैजसो आरोहीले ज्यान गुमाउने भनेको फर्किने बेलामा हो। जानेबेला उत्तेजित भइन्छ, तर फर्कने बेलामा हिँड्न पनि सकिँदैन। अक्सिजन पनि कम भइसकेको हुन्छ। मौसम पनि परिवर्तन भइरहेको हुन्छ। थकानले बसेपछि हामीलाई उठ्नै मन लाग्दैन। मलाई त सगरमाथा ५ मिनेट मात्र सुतेँ भने पनि स्वर्ग पुग्थेँ होलाजस्तो लाग्छ।

हिमाल चढ्न गर्नुपर्ने कसरत र दुःख
मैलेचाहिँ सगरमाथाका लागि एक वर्ष छुटाएकी थिएँ। एक वर्ष मैले केही पनि हेरिनँ। कुनै प्लान बनाइनँ। कतिपय मान्छेहरूको धेरै पैसा लाग्छ, सबै कुराहरू उनीहरूको बचतदेखि लिएर आफ्नो शरीरलाई कसरी बनाउने, माइन्ड मेन्टेन गर्न। हिमाल चढ्नु भनेको सजिलो कुरा होइन। ब्यागप्याक लिएर जाने कुरा होइन। सगरमाथा चढ्ने बेलामा मनासलु चढाइ एक किसिमको तालिमजस्तै भयो। हिमालको केही ज्ञान भयो। निरन्तर व्यायाम गरेँ। अर्को भनेको मलाई पैसा उठाउन धेरै गाह्रो भयो। हिमाल चढ्नुभन्दा पनि स्पोन्सर खोज्नु एकदम गाह्रो भएको थियो।

पासाङ ल्हामु फाउन्डेसनलाई सोध्दा ५८ जनाको हाराहारीमा महिला सगरमाथा पुगेको थाहा पाएँ। केटाहरू त पाँच हजारजति पुगे होलान्। विश्वभरबाट जम्मा १२ प्रतिशत महिलाले सगरमाथा चढेका छन्।

मैले यतिकै त्यो पैसा लेउ पनि भनेको होइन, म ब्रान्डिङ गर्दिन्छु भनेर धेरै कर्पोरेट हाउसहरूमा पनि गएँ, नेताहरूलाई पनि भेटेँ, मान्छेहरूलाई पनि भनेँ। मान्छेहरूले मलाई तिम्रो काम कति राम्रो भन्छन्, मेरो कामलाई मन पराउँछन्। तर मन फुकाएर त्यो सहयोगचाहिँ अहँ! बजेट छैन भन्छन्।  ७ वटा हिमाल चढ्न कति रोई कराइ गरेर चढेको, कति दुःख गरेर चढेको, कति ऋण गरेर चढेको, सधैँ हिमाल एक्सपिडिसन गएर आइसकेपछि मैले मेरो ऋण छ भन्नुपर्छ।

जोस र सपनाको खानी छ
मलाई एक्सपिडिसन कम्पनीहरूले सहयोग गरेका छन्। एउटा माउन्टेनले त स्पोन्सर नै गर्‍यो। गाइडको र लजिष्टक फ्रि गरिदिन्छु, अक्सिजन र इन्सुरेन्सको पैसा तिरभन्दा पनि स्पोन्सर नै भेटिएन। धौलागिरि र मकालु एक पैसा नलिईकन चढेँ।

मलाई धेरै कुरा गर्ने मन छ। म यति धेरै सपनाको खानी भएको मान्छे हुँ। मैले देखेको सपनाहरू सबै पूरा गर्छु र गरिराखेको छु। अहिलेसम्म सफल भएकी छु। युथ भएपछि जोस हुनुपर्छ। निराश हुने होइन। जहिले पनि जे कुरामा पनि सम्भावना हेर्नुपर्छ। त्यसको खोजीमा हुनुपर्छ। अहिलेका युवा समस्या मात्र सिर्जना गरेर बसिराखेका हुन्छन्। त्यस्तो हुनुहुन्न।

शुरूमा काठमाडौँ आउँदा बस्ने ठेगान नभएकी केटी, मनासलु जाँदा १० हजार किस्ता तिर्न नपाएर मन दुखाउने केटी, त्यो केटीले त करोडौँ रुपैयाँ लगानी गरेर आफ्नो लक्ष्य पूरा गर्‍यो, अरूले त मभन्दा धेरै गर्न सक्छन्।

हिमाल चढ्न खोज्दा त्यत्रो पैसा कहाँबाट लिएर आयौँ, हिमाल चढ्न गाह्रो हुँदैन? ३० लाख रुपैयाँ लगानी गरेर कोही जान्छन् हिमाल चढ्न? म भएको भए त विदेश जान्छु भन्छन्। कतिले मलाई गाली पनि गर्छन् तिमीहरू हिमाल चढेर क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङ, हिमाल पग्लियो फोहोर बनायो भनेर दोष थोपार्छन्।

पर्वतारोहण व्यावसायिक, प्रतिस्पर्धी र विलासी हुन थालेको छ। तर सरकारसँग केही सोच नै छैन। हामीकहाँ एक्सपिडिसन नीति नै छैन। एकदम अप्ठेरो बनाइदिन्छ, केही हिमालहरू चढ्नका लागि खुला होस्।

अन्नपूर्ण, धौलागिरि जाने रुट नै राम्रो छैन। सबै हेलिकप्टरमा जान्छन् एक्सपिडिसनको बेला हिँडेर जान रुटलाई प्रमोट गरौँ। सबै युवाहरूलाई हिमाल चढ्नु नै पर्छ भन्ने छैन। मचाहिँ आरोहणले शक्ति दिन्छ भन्छु। वर्षमा एउटा ६ हजार मिटरको पिक अथवा प्रकृतिसँग धेरै नजिक बसी आएर तपाईं डाक्टरी गर्नुस्, हस्पिटलमा काम गर्नूस, टिचिङ गर्नूस, व्यापार गर्नूस् अर्कै ऊर्जा लिएर काम गर्नु सक्नुहुन्छ। अब त्यो जरुरी छ। एउटा थेरापी हो।

पोडकास्ट प्रस्तोताले अन्तिममा दुई युवाहरूले पर्वतारोही पूर्णिमालाई सोध्न पठाएका प्रश्नहरू राखेका थिए।

तपाईले पहिलो हिमाल चढेपछि, तपाईले सोचेको जस्तो थियो कि त्योभन्दा भिन्न पाउनु भयो?

कस्तो राम्रो प्रश्न, धेरैले सोध्दैनन्। हो, एकदम भिन्न। १४ पिक, एभरेस्ट चढेर के गर्छस् भनेर मलाई सोध्छन्। यस्तोउस्तो गर्छु भन्छु, तर हिमाल चढेर आइसकेपछि अर्कै हुन्छ। अर्कै दिमाग हुन्छ। एकदम धेरै फरक हुन्छ, आफूले सोचेको भन्दा धेरै फरक हुन्छ।

मैले हिमाल चढेपछि कुनै कल्पना गरेकै हुन्न। मलाई एउटै फिल हुन्छ म बाँचे भन्ने। रमाउँछु, बाँच्न पाएकोमा खुशी हुन्छु। सानो–सानो कुरामा एकदम खुशी हुन्छु, ठूलो कुरामा जाँदिनँ।

तपाईले पर्वतारोहण गरेर आएपछि तपाईको व्यक्तिगत जीवन अभिवृद्धिका लागि कस्तो पाठ सिक्नुभयो?

एक त कन्फिडन्ट हैन, मोर कन्फिडेन्ट हो है। मलाई संसारमा कुनै कुराहरू मेरो लागि होइनन् भन्ने नै लाग्दैन। मलाई त्योचाहिँ हिमालले दिएको जस्तो लाग्छ। यो संसारमा योभन्दा गाह्रो च्यालेन्ज के छ होला भन्ने लाग्छ। मेरो कुनै ड्रिम अथवा खै के हुन्छु, के गर्न सक्छु त्यो त थाहा छैन। तर मैले चाहेँ भने संसारका केही कुरा पनि नपाउने भन्ने हुँदैन जस्तो लाग्छ। त्यो किसिमको कन्फिडेन्ट लिएर आएँ।

हिमाल चढ्नुभन्दा अगाडि कति कुराहरूमा डराउने, चिन्ता लिने, हुन्थ्यो तर, हिमाल चढिसकेपछि आफ्नो डेली लाइफमा कामहरू गर्दा खेरी मैले यत्रो धेरे गरेको मान्छे मैले यो कुरा सोच्नु हुँदैन। कत्रो  च्यालेन्ज त फेस गरेँ भन्ने कुराहरूले जहिले पनि ताजा बनाउँछ।

हिमालको कुराहरू लिएर जहिले पनि जोसले भरिएकी हुन्छु, जहिले इनर्जी भइराखेको हुन्छ। म जहिले पनि पछि पर्नु हुन्न भन्ने कुराहरूले झसङ्ग झसङ्ग बनाइराखेको हुन्छ।


सम्बन्धित सामग्री