Tuesday, May 07, 2024

-->

पृथ्वीतलको उचाइमा मृत्यु जित्ने खेल

अनिष्ट र प्रतिकूल परिस्थितिसँग जुध्दै दर्शक र प्रतिस्पर्धाविहीन खेलमा सहभागी यी खेलाडी केवल आफूलाई जित्न, आफैँसित प्रतिस्पर्धा गरिरहेका छन्।

पृथ्वीतलको उचाइमा मृत्यु जित्ने खेल
तस्वीर/भिडियोः  विवेक पाण्डे

पृथ्वीतलकै शिखरको काख, वसन्त ऋतुका यी लामा दिनमा चिसो मृत्युसँग पौठेजोरी खेल्न, संसारभरबाट आएका साहसी खेलाडीहरूले भरिएको छ।

आफूलाई जिताउन क्षणक्षण,पाइलापाइलामा मृत्युलाई पराजित गर्दै अगाडि बढ्नु यो खेलको एक मात्र नियम हो। पाइलैपिच्छे कालमाथि टेक्दै शिखर उक्लनु र त्यतिकै होशियारीले ओर्लनसक्नु विजेताका चिह्न हुन्।

त्यसो त, जीवनसितै मृत्युको खेल स्वाभाविक चलिरहेकै हुन्छ। तर होशपूर्वक आफूलाई मृत्युसँग साक्षात्कार, साहसीले मात्रै गर्न सक्छन्। प्रतिबद्ध इच्छाले सुशोभित मनले मात्र त्यो आँट गर्न सक्छ। त्यसैले त ८ अर्बको दुनियाँबाट पाँच सय अपुग, मृत्यु जित्ने खेलमा छानिएका छन्। आएका छन्।

अनिष्टको आशंकाले मानिसमा आउने घबराहट नै भय हो। र मानिसलाई सबैभन्दा ठूलो भय मृत्युको हुन्छ। जो भयबाट मुक्त छ, ऊ पहिलो श्रेणीको मानिस ठहरिन्छ। टेकेको भुइँ भास्सिएर जतिखेरै जीवन विलुप्त हुनसक्ने अनिष्टमा उभ्याएर आफूलाई परीक्षण गराउनु अभय हुनुका चिनारी हुन्। यस्तो चुनौतीपूर्ण खेलमा सहभागी हुने खेलाडीहरू अवश्य दृढ, अविचलित, धैर्यवान् र एकचित्त हुनुपर्छ। ‘गीता’ भन्छ– मानिसभित्र हुने गुणमध्ये सर्वोत्कृष्ट र पहिलो गुण अभय हो।

रातको समयमा सगरमाथा आधारशिविरबाट देखिएको हिमाल र आकाशको दृश्य।

जीवनमा योभन्दा उत्कृष्ठ खेल म देख्दिनँ, जीवनमृत्युको खेल मञ्चन भइरहेको हेर्न उत्सुक दर्शक म, माटिलो रङको हुस्सुले धुम्म ढाकिएको काठमाडौँ उपत्यकाको आकाशभित्र रोमल्लिएको छु। पातै नरहने गरी सडकका किनारमा बेतोड फुलेका बैजनी रङका ब्राजिलको रैथाने फूल ज्याकारान्डको सुन्दरता पनि धुमिलधुमिल लाग्छन्। तर भौतिक रूपमा खुम्बू पुग्ने हैसियत ममा छैन।

हाम्रो माटोमा नफलेको, आयातित तर यति भन्न सकिन्छ भए भरका अनलाइन न्यूज पोर्टलहरूमा मिनेटमिनेटमा खेलको समाचार जसरी पोस्ट भइरहन्छ, यसको ख्याती यही आधारमा नापौँ। यही खेल हेर्ने वर्गले पढेर अनलाइन पत्रिका चलेका छन्, रफ्तारमा गरेको पोस्ट हेर्दा यस्तै भान हुन्छ।

कीर्तिपुर, त्रिवि क्रिकेट मैदानले खुम्बूक्षेत्रलाई छायाँमा पारिदियो। प्यारापेटबाट हजारौँ दर्शकले बेलाबेला गर्ने हुटिङ, तालीका गढगढाहटबीच एशियन क्रिकेट एशोसिएसन प्रिमियर (एसीसी) कप खेल र तनहुँ, चितवन र बाराको उप–चुनावपछि त्यसका हिसाबकिताब, शंका, उपशंकामा कुदेका कलमको तर्कना र बितर्कनाको आहालमा काठमाडौँ डुबेको छ।

कहाँ गिन्ती हिउँले खायर डढेका काला तीखातीखा ढुंगामाथि पाल टाँगेर बस्नेको। शरीरभन्दा भारी लुगामा, हेर्दा आँखा टिक्नै नसक्ने सेता हिउँ, कालो चश्माको साहराले महिनौँ दिन हिउँसँग आफूलाई अभ्यस्त गराउँदै, पाइलैपिच्छे मृत्युका धराप छल्दै उक्लने र ओर्लनेहरूको।

हिमाल चढ्नु अघि शेर्पाहरूबाट प्रशिक्षण लिँदै।

म दिनैभरि जसो खुम्बूमा चलिरहेको साहसिक खेलमा सहभागी छु। अनिष्ट र प्रतिकूल परिस्थितिसँग जुध्दै दर्शक र प्रतिस्पर्धाविहीन खेलमा सहभागी यी खेलाडी केवल आफूलाई जित्न, आफैँसित प्रतिस्पर्धा गरिरहेका छन्। खेलाडीमा हुनुपर्ने दक्षता, क्षमता भनेको मृत्युलाई जित्ने साहस र दृढता मात्र हो। उमेरको छेकबार छैन, न त शरीरको।

आफैँले आफैँसित प्रतिस्पर्धा गर्नुजस्तो रोचक खेल के होला? जहाँ अरूलाई हराउन प्रतिस्पर्धा होइन आफूलाई जिताउन आफैँसित प्रतिस्पर्धा हुन्छ। दर्शकविहीन मैदानमा विजेता घोषित आफैँले आफैँलाई गर्नुपर्छ। जसले आफूलाई जित्न सक्छ, उसैले त सबैलाई जित्न सक्छ नि!

सारा मानव आफैँलाई जित्ने खेलमा उत्सुक भइदिए संसारको स्वरूप नै बेग्लै हुने थियो कि? यिनै मनोदशाबाट तैरिँदैगर्दा खुम्बूक्षेत्र लाइभ गर्ने तय गर्दैछु।

यो उकालो चढ्ने खेल, हेर्न म पनि उकालोमै उभिएको छु। उकालो भन्दाखेरि कठिनाइ, गारो,मुश्किल र दुःख जोडिन्छन्। तर उपलब्धि, उकालो चढ्ने क्षमतामै निर्भर हुँदो रहेछ। स्वर्गको बाटोसमेत उकालै चढेरै पुग्नुपर्ने यो कथा।

विलक्षण प्रतिभा,तेजस्वी वीर, ज्ञान र बुद्धिका धनी रावणले अकल्पनीय सुन्दरता र वैभवले सिँगारेर सुनको लंका बनाएका थिए। पत्नी हरणको आरोपमा रामले रावणलाई वध गर्नुअघि उनको चाहना सोधे, रावणले भने ‘स्वर्ग जाने सिँढी बनाउने र सुनमा सुगन्ध भर्ने योजना अधुरो रह्यो।’ सिँढी, उकालो चढ्नै बनाइन्छ। म अयोध्या नरेश रामसित निकै निराश छु।

पृथ्वीतलकै अग्लो सगरमाथाको माथा स्वर्ग नै हो। कमजोरहरूले आँक्ने कुरा होइन। दृढ निश्चयी,उत्साही र साहशीहरू माथासम्मको उकालो चढ्न संसारका कुनाकुना अजरबैजान, बोस्निया हर्जगोभिना, क्यूबा, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, ग्रीस, हंगेरी, इरान, किर्गिस्तान, लाद्भिया, लिथुनिया, कतार, रोमानिया, स्लोभाकिया, युगाण्डा, युक्रेन, उरुग्गे र भियतनामलगायत ६१ देशबाट आएका ४ सय ६६ धैर्यवान साहशीहरूलाई नमन गर्दै म अब खुम्बुक्षेत्रतिर लाग्छु।

सगरमाथा आधारशिविरमा टेन्ट टाँगेर बसेका आरोही।

सगरमाथा बेसक्याम्पबाट विवेक पाण्डे
खुम्बू क्षेत्र धेरै पटक पुगिसकेका छन् विवेक पाण्डे। मैल सोधेँ– कतियौँ पटक हो अहिले। ‘दुई सयभन्दा बढी भइसक्यो होला’ उनको जवाफ थियो। आठ हजार मिटरमाथिका तीन र छ/सात हजार मिटरसम्मका नेपाल तिब्बतका अधिकांश हिमाल आरोहण गरिसकेका छन् विवेकले। यसपटक उनले सगरमाथा बेसक्याम्प सतोरी कम्पनीका तर्फबाट आरोहीको व्यवस्थापन गर्ने जिम्मा लिएर एक महिनादेखि सगरमाथा बेसक्याम्पमा छन्।

विवेक र कामीरिता शेर्पा।

सन् २००१ देखि सेता हिँउ बोक्ने चुचुरो आरोहण कर्ममा अविच्छिन्न जुटेका नुवाकोट निवासी ४२ वर्षीय विवेकको सहायताबाट खुम्बूक्षेत्रको यो वर्णन सम्भव भएको छ।

हिमालप्रति मेरो उत्सुकता चरम नै छ, जहाँ कहीँ पुग्दा हिमाल देखिनँ भने झ्यालविनाको कोठाभित्र बस्दाको अत्यास लाग्छ। किनकि जहाँ जन्मेहुर्केँ आधा सर्कल घुम्दा धौलागिरीदेखि अन्नपूर्ण, मनासलु, लमजुङ हुँदै गणेश हिमालको ताँती देखिन्छ। त्यसैले बिहानदेखि राति १० बजेसम्म विवेकसित फेसबुक म्यासेन्जरमा खुम्बूको कुराकानी गरिरहेको हुन्छु। क्षणक्षणको तस्वीर मलाई पठाइराख्छ। ऊ पनि हिमालको कुरा गरेर थाक्दैन। उनले भनेको म टिप्दै जान्छु।

तल सप्तकोशीदेखि उक्लेको कुहिरो त्यसैको शाखा नदी दुधकोशी हुँदै यहाँ हिमालमा आएर ठोक्किएपछि माथि आकाशमा उड्न थाल्छ। जे गर्ने हो त्यही बादलले गर्छ, वर्षा, हिमपात। बेसक्याम्पमा बिहान साढे सात बजेतिर झुल्किएको घामलाई १२ बजेतिरको कुहिरोले ढाकेपछि साँझ ६/७ बजे मात्र कुहिरोबाट मुक्ति पाइन्छ। यहाँको आकाश खुल्छ। हिमाल नजिकै भएका कारण रातमा आकाशका तारा पनि त्यति स्पष्ट देखिँदैनन्।

झन्डै डेढदेखि दुई महिना (चैत–वैशाख)को अवधिसम्मको यहाँको बसाइँ हुन्छ। बिहान, दिउँसो घाम र हुस्सु, रातमा सोलार र जेनेटरको उज्यालोमा बुद्धिस्ट ध्वजापतंगा उनिएका डोरीमुनि रंगीविरगी टेन्ट गाडेर बसेका देख्दा बेसक्याम्प मोहक लाग्छ। १५ सय हाराहारीको मानववस्ती निर्माण भएको छ। दैनिकी बिहानको ८ बजे ब्रेकफास्ट, त्यसपछि आरोहीहरू कालापत्थर  र गोरक्षतिर हाइकिङमा जान्छन्। त्यसबाहेक रोटेसन भनिन्छ, ७ हजार ३ सय मिटरमाथिसम्मको उचाइ,(क्याम्प ३ ) सम्म पुगेर शरीरलाई हिँउसँग अभ्यस्त गराउने कर्ममा आरोहीहरू व्यस्त  हुन्छन्। उक्लने र ओर्लने उनीहरूको दैनिकी हुन्छ।

हरेक क्षण चुनौतीपूर्ण र भिन्नभिन्न स्वभावका आरोही

सबै आरोहीहरूलाई एउटै चिन्ताले सताएको देखिन्छ। त्यो हो मौसम। बेसक्याम्पका सबै दिनैभरि नै मौसमसम्बन्धी जानकारी लिइरहेका हुन्छन्। त्यसपछि मात्रै उनीहरूको पाइला अगाडि बढ्छ। यहाँ मौसमको जानकारी दिने युरोप, अमेरिका, नर्बे, अस्ट्रेलिया लगायत विभिन्न निकाय छन्। तर नेपालीहरू कृष्ण मानन्धरले दिने जानकारीमा विश्वास राख्छन्। उनको फरकास्ट विश्वासिलो मानिन्छ। कसले कस्तो पूर्वानुमान गरेको छ, त्यो चासोको साथ हेरिरहेका हुन्छन्। अहिले त्यति फरकास्ट मिलिरहेको छैन। सबैभन्दा धेरै काम भनेको मौसमी रिपोर्ट हेर्नु हो।

सबैभन्दा ठूलो असुविधा सञ्चारको छ। टेलिफोन, मोबाइल वाइफाइ सेवा धेरै महँगो छ। यद्यपि, भरपर्न सकिन्न। कामै गर्दैन। फोनै टिप्दैन। एन्ड्रोइडले कामै गर्दैन। पुरानो मोबाइल सेटले थोरै भए पनि काम गर्छ। यहाँ आउन रामेछापबाट उडान भर्नुपर्ने हुन्छ। उडान समयको नभई, मौसममा भर पर्छ। असुविधाको लिस्टम यो पनि पर्छ।

त्योबाहेक मौसम राम्रो भएमा काठमाडौँको सडकमा पाइने ट्याक्सीसरह हेलिकप्टरको सुविधा छ। रंगीविरगी हेलिकप्टर क्षणक्षणमा फन्को मार्दै, सामान ल्याउने लैजाने गरिरहेको हुन्छ। याक, चौरी, घोडा र जोक्पे (याक र बेँसीको गाइको क्रस)लाई सामान बोकाएर ल्याउने लैजाने गरेको देखिन्छ।

सगरमाथा आधारशिविरमा मालसामान ढुवानी गर्दै याक र हेलिकप्टर।

हिउँ पर्नु, हुरी चल्नु सामान्य हो। बादल आयो कि त हिउँ परिहाल्छ। यहाँ भुइँचालोमा जस्तो जमिन कम्पन भइरहन्छ। जमिनमुनिको हिउँ बेलाबेला पड्किरहन्छ। वरपर हिउँ पहिरो ठूल्ठूलो आवाजमा जतिखेर पनि गइरहेको हुन्छ। जमिन थर्की रहन्छ। हामी सुत्ने आइस माथि हो। घाम नलाग्ना साथ चिसो भइहाल्छ। त्यसबाहेक हरेक क्षण कति बेला के हुन्छ भन्ने भयले गाँजी रहेको हुन्छ। अनिश्चित जस्तै हुन्छ जीवन। सुत्दा र बिउँझिँदा पनि डरै हुन्छ।

किचेन डाइनिङमा ग्यास हिटर बालिन्छ। पानी राति जमेर हिउँ बनेको हुन्छ। बिहान घाम आएपछि पग्लिन्छ। पानी तताएर नुहाउने, कपडा धुने गरिन्छ। साँझ ६/७ बजे नै सबै आ–आफ्नो टेन्टभित्र छिरिसकेका हुन्छन्। टावर राम्रो हुँदा डाउनलोड गरेको युट्युब भिडियो हेर्ने, किताब पढेर बस्छौँ।

माथि धेरै हुरी चल्छ। हुरीचाहिँ अलि डरलाग्दो हुन्छ। अनुहार ‘फ्रोजन’ हुने डर हुन्छ। हात, खुट्टाका औँला, नाक, कान झरेको पत्तै हुँदैन।

खुम्बुक्षेत्रमा पाइने काग
खुम्बू क्षेत्रमा पाइने काग।

यसो भनिरहँदा उनले २०७२ वैशाख १२ को भूकम्प स्मरण गरे। जतिबेला १५ शेर्पा र ४ विदेशी आरोहीले ज्यान गुमाउनुका साथै ७० जनाको अंगभंग भएको थियो। त्यतिखेर उनी नाम्चेबाट उक्लदै थिए। भूकम्प गएको १० मिनेटपछि गएको पहिरोले त्यति ठूलो क्षति हुन पुगेको थियो। 

पहिलेको तुलनामा हिउँ कम भएको हो कि जस्तो लाग्छ। जहाँ पहिले हिउँ हुन्थ्यो अहिले कालो ढुंगा मात्र देखिन्छ। रुखपात विरुवा केही छैन। सेता हिउँ र काला ढुंगाको पृष्ठभूमिमा बेलाबेला पहेँला र राता ठोँड भएका काग उडेको देखिन्छ। जुन कागले लास ठुँगेर पनि खान्छ। पहेँलो ठोँड भएका कागचाहिँ क्याम्पनजिकै आउँछ तर रातोचाहिँ आउँदैन।

आरोहीहरू विभिन्न स्वभावका भेटिन्छन्। उनीहरूको गतिविधिले नै बजेट अड्कल गर्न सकिन्छ। पैसा धेरै हुनेहरू हेलिकप्टरबाट नाम्चे ओहोरदोहोर गरिरहन्छन्, काठमाडौँ पुग्छन्।  कोही त आफ्नो देश पुगेर पनि फर्किने हुन्छन्। कम बजेट भएकाहरू बेसक्याम्पतिरै अलमलिरहेका हुन्छन्। कोही हिँडेरै नाम्चे पुग्छन् र हिँडेरै बेसक्याम्प आउँछन्। गत वर्ष भारत गुजरातका एक डाक्टर आएका थिए, किड्नीका। उनका बिरामीहरूको चापले गर्दा गुजरात पुगेर अपरेसन (शल्यक्रिया) गरी बेसक्याम्पमा फर्किन्थे। त्यसरी उनले सगरमाथा आरोहण गरेका थिए।

लुक्लाबाट बेसक्याम्पसम्म १०/१२ मिनेटको माउन्टेन फ्लाइट हो। त्यसरी उडेर मात्र हेर्नेहरू पनि आइरहेका हुन्छन्। यहाँ ओर्लिए भने धेरैबेर बस्न सक्तैनन्। केही बेरमै लुलो भइहाल्छन्।

सेवाप्रदायकबीच बढी सेवा दिन तछाडमछाड
यहाँ तछाडमछाड भनौँ वा प्रतिस्पर्धा निकै हुन्छ। त्यो अस्वस्थचाहिँ होइन। आरोहीहरूलाई सेवा र सुविधा कमी हुन नदिने प्रतिस्पर्धा। यहाँ आरोही लिएर आएका चार दर्जनभन्दा बढी कम्पनी, सगरमाथा समिट गर्ने माउन्टेनरलाई कसले बढी सेवा र सहजता उपलब्ध गराउने भन्ने होडमा हुन्छन्। हामी आरोहीलाई कुनै कमी हुन दिँदैनौँ। उनीहरूले खोजेका सबै बस्तु चिज, खाना समयमै जोहो गरिदिन लागी परेका हुन्छौँ।

विदेशी कम्पनी प्रत्यक्ष यहाँ आउन पाउँदैनन् सबैले नेपालका कम्पनीसँग सहकार्य गरेका हुन्छन्। झन्डै पन्ध्र जति अन्तर्राष्ट्रिय कम्पनी आरोहणमा आबद्ध होलान्। विदेशी कम्पनीहरूले चाहिँ आरोहीहरूसँग धेरै रकम लिएर बुकिङ गरेका हुन्छन् तर नेपाली कम्पनीलाई थोरै रकममा बेच्छन्। प्रति आरोही एक लाख डलरसम्म लिएका हुँदा रहेछन् तर नेपाली कम्पनीहरूलाई ३०/४० हजार मात्रै दिन्छन्। यहाँ कुराकानीमा यस्ता प्रसंग निकै उठ्छ।

आफ्नो क्याम्पबाहेक अरू ग्रुपका क्याम्पमा गएको, आएको मन पराइन्न यहाँ। एक त कोभिडका कारणले हो। अर्को क्लाइन्ट भड्काउँछ भन्ने आरोप लाग्छ। र प्रतिस्पर्धाको कारण त्यो पनि उचित नै हो।

एशोसिएसन अफ एक्सपिडिसन अपरेटर नामक संस्थाले गरेको टेन्डर, प्रतिस्पर्धामा इम्याजिन नेपाल छनोट भएको छ। क्याम्प २ देखि चुचुरोसम्म उसले बाटो खोल्दै छ।

सरसफाइ र स्वास्थ्यमा निगरानी
नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ। फोहोर संकलन, जोख्ने र त्यसको व्यवस्थापनमा भइरहेका कामहरूको निरीक्षण सेनाले गरेको छ।  फोहोर व्यस्थापनको जिम्मा सरकारी टेन्डरबाटै पिक प्रमोशन नामक कम्पनीले पाएको छ। सगरमाथा पोलुसन कन्ट्रोल कमिटीले बेसक्याम्पमा निस्केको शौचालय लगायत सबै फोहोरको व्यवस्थापन गर्छ। क्याम्प २ सम्म बाटो बनाउने काम पनि कमिटीले नै गर्छ। त्योभन्दा माथिको बाटो ठेक्का पाएको कम्पनीले गर्छ।

सगरमाथा आधारशिविरमा ल्याएर थुपारिएको फोहोर।

एक जना आरोही बराबर ८ किलो फोहोर उनीहरूले प्रयोग गर्ने वस्तु, चिजको आधारमा अनुमान गरिएको छ। यदि त्यति फोहोर बुझाएनन् भने ती आरोही लैजाने कम्पनीले जरिबाना तिर्नुपर्छ। कम्पनीले कति फोहोर ल्यायो त्यसको सबै रेकर्ड राख्ने व्यवस्था छ। प्रकृति र पर्यावरण संरक्षणमा धेरै चासो दिइएको छ। क्याम्प ४ चारदेखि ३/२/१ मा फोहोर जम्मा हुन दिइएको छैन।

सबै क्याम्पहरूमा फोहोर संकलन गरी बोरामा व्यवस्थित तरिकाले प्याकिङ गरेर राखिएका छन्। माथि एक्सपिडिसनका सामान, खाना बोकेर गएका शेर्पाहरूले त्यो बोकेर ल्याउँछन्। अहिले बेसक्याम्पमा ल्याएर थुपारेका छन्। आरोहणपछि नाम्चे पुर्‍याइ ‘रिसाइक्लिनिङ’ गरिन्छ। र, काठमाडौँ लगिन्छ। फोहोर बोकेर ल्याउन प्रतिकेजीका दरले रकम तोकिएको छ। क्याम्प १ बाट ३ सय, क्याम्प २ बाट ५ सय, क्याम्प ३ बाट ७ सय र क्याम्प ४ को १८ सय। शेर्पाहरू र फर्कंदा फोहोर बोकेर ल्याउँछन्। फोहोर संकलन र प्याकिङ गर्न कम्पनीहरूले छुट्टै शेर्पाहरूलाई लगाएका हुन्छन्। व्यवस्थित तरिकाले सिल गरिएका फोहोरका बोरा बोकेर मात्र ल्याउने हो। 

स्वास्थ्य परीक्षण शिविर

बेसक्याम्पमा रहेका सबैको स्वास्थ्य परीक्षणको व्यवस्था छ। हरेक वर्ष झैँ हिमालयन रेक्स्यू एसोसियसनले यहाँ क्लिनिक राखेको छ। नेपाली सेनाका चिकित्सक सहितको टोलीले आरोहीहरूको स्वास्थ्य परिक्षण गछर्न्। क्लिनिकले त्यहाँ आएका आरोहीमा कोभिड–१९ भएको फेला पारेको थियो। र ६ जनालाई फिर्ता गरेको मैले जानकारी पाएको थिएँ। त्यसपछि सेनाले कोभिड–१९ विरुद्ध खोप लगाउन पहल गरेको छ। अहिले सबै शेर्पा र मैले पनि कोभिड–१९ विरुद्धको खोप लगाएँ। 

जताततै शेर्पैशेर्पा
विवेकलाई मैले शुरूमै सोधेको थिएँ– तिमीलाई त्यहाँ सबैभन्दा अनौठो के लाग्छ? उनको स्वाभाविक जवाफ थियो– एभरेस्ट चढाउने शेर्पाहरू नै अनौठा लाग्छ मलाई।

भारी बोक्ने शेर्पा, पानी तताउने शेर्पा, खाना पकाउने शेर्पा, लुगा धुने शेर्पा बाटो बनाउने शेर्पा, आरोहीलाई सगरमाथाको चुचुरोसम्म पुर्‍याउने शेर्पा। सगरमाथाको क्याम्प ४ चारदेखि फोहोर बोकेर ल्याउने पनि शेर्पा। आरोहीका सबै सामान त्यहाँसम्म पुर्‍याउने पनि शेर्पा। हरेक ठाउँमा शेर्पा। मेरो २२ वर्षभन्दा बढी अविच्छिन्न हिमाल यात्राको अनुभवमा, शेर्पाबिना आरोहण असम्भवजस्तै देख्छु। एक आरोहीले शिखरसम्म पुग्न एकदेखि तीन शेर्पालाई सहायक बनाएर लैजान्छन्। उनीहरूको मद्दतबिना ‘दाल गल्दैन’भन्ने जस्तो लाग्छ।

सोलूको तुलनामा आजकल संखुवासभा र दोलखाका शेर्पाहरू धेरै छन्। कहिलेकहीँ त यो शेर्पाहरूको मेला जस्तो लाग्छ। करिब पाँच सयका हाराहारीमा समिटमा जाने पर्वतारोही यहाँ छन्। तर हजार जति शेर्पाहरू आरोहीका व्यवस्थापनमा जुटेका छन्। २ प्रतिशत अन्य जातिका होलान्। भान्सादेखि शिखरसम्मको जिम्मेवारीमा रहेका शेर्पाहरूको यही नै वर्ष दिनका लागि परिवार पाल्ने मेसो पनि हो। 

आरोहणको क्रममा शेर्पाहरूको यो कामचाहिँ निकै चुनौतीपूर्ण, उत्साहपूर्ण, रोचकसँगै गम्भीर लाग्छ मलाई। आरोहीका सम्पूर्ण खाने बस्ने, बाँच्ने अक्सिजन क्याम्प ४ सम्म पुर्‍याउने काम। रातको डिनरपछि दुई सय जना जति शेर्पाहरू आरोहीका सामान बोकेर गएका छन्। क्याम्प २ सम्म गएका उनीहरू बेसक्याम्पबाट रातभरि हिँडेर बिहान पुग्छन्। त्यहाँ दिनभरि सुत्छन्। रातभर उकालो चढेर उज्यालो हुँदा क्याम्प ४ मा बिहान पुग्छन्। बोकेर लगेका सामान त्यहीँ थुपार्छन्। र क्याम्प २ ओर्लन्छन्। त्यहाँ खाना खान्छन् र दिनभरि थकाइ मार्छन् सुत्छन्। रातपरेपछि फेरि भारी बोकेर क्याम्प ४ जान्छन्। त्यहाँबाट ओर्लेर तल बेसक्याम्प नै आइपुग्छन्। टुप्पासम्म पुग्ने बाटो तयार भएपछि सबै जना सगरमाथा चुलीसम्म पुग्ने गरी आरोहीहरू लिएर जान्छन्।

बेसक्याम्पबाट हिँडेर पाँचौँ दिनको बिहान चुलीमा पुग्नका लागि ढेड, दुई महिनासम्म गरिने सम्पूर्ण गतिविधि नै महत्त्वपूर्ण छन्। सबै कामहरू होशियारीपूर्वक गर्नुपर्छ। सानो गल्तीले पनि ठूलो क्षति हुनपुग्छ।

बेखुशी कामीरिता
सन् २०२२ मे ७ तारिखमा बनाएको २६ औँ रेकर्ड यस पटक तोडिने छ। तोड्ने अरू नभई उनै हुने छन् जसले रेकर्ड बनाए। सोलुखुम्बू थामेका ५३ वर्षीय कामीरिता अहिले सगरमाथा बेसक्याम्पमा छन्।

कामीरिता शेर्पा

मैले उनीसँग कुरा गर्न चाहेँ। विवेक उनको क्याम्पमा पुगे। केही छिनमा उनको फोन आयो। ‘उहाँ यतिखेर निकै मुडअफ हुनुहुन्छ। कसैसित कुरा नगर्ने मुडमा हुनुहुन्छ।’

अप्रिल १२ मा खुम्बू आइसफलमा भास्एिर बेपत्ता भएका तीनमध्ये दुई उनका भान्जा रहेछन्। यो विपत्मा उनलाई पनि सगरमाथा नचढ्न बारम्बार घरपरिवारबाट फोन आइरहेका कारण उनी मनोवैज्ञानिक दबाब झेलिरहेका रहेछन्। अन्यौल र दोधारको यो अवस्थामा बोल्न नचाहेको विवेकले मलाई भने। तर त्यतिखेरकै आफ्नो फोटो खिच्नचाहिँ अनुमति दिए।

१२ वर्षको उमेरदेखि पर्वतारोहीको भरिया, भान्छे हुँदै शिखर चढ्नमा निर्वाण नै प्राप्त गरिसकेका कामीरिता यी घटनाले प्रभावित होला भन्ने लाग्दैन। उनले आफ्नो रेकर्ड यो वसन्तमा आफैँले तोड्ने नै छन्। सारा जीवन चुचरोसम्म आरोहीलाई पुर्‍याउने कर्तव्यले डोरिएका उनी आफ्नो टोलीलाई शिखर पुर्‍याउने दायित्वबाट पन्छिने छैनन्।

उनको २६ पटकको रेकर्ड तोड्ने न चाह हो न बाध्यता। त्यो त उनको साधना हो। समर्पण हो। पूजा हो। निर्वाणप्राप्त कामीरिता शेर्पा जसले हरेक पटक अरूलाई डोर्‍याउँदै त्यो असिम,चरमोत्कर्ष शिखरको स्वाद चखाइरहन्छ।

दुवै खुट्टा नभएका, आँखा नदेख्ने र कान नसुन्ने उचाइ चढ्दै

हरि बुढा मगर ।


विवेकले मलाई अदम्य साहसका प्रतीक अर्का आरोहीसँग कुरा गराए। घुँडाभन्दा माथिदेखि नै दुवै खुट्टा गुमाएका हरि बुढा मगर (४३) थिए उनी। रोल्पा घर भएका मगर ब्रिटिस आर्मीमा थिए। अफगानिस्तान पठाइएका उनको तालिबानले बिछ्याएको एम्बुसमा परी दुवै खुट्टा गुमेको थियो।

भर्खरै मेरापिक आरोहण गरी फर्केका उनमा भरपूर जोश छ। गत वर्ष बेसक्याम्प पुगेका उनलाई शरीरको अवस्था देखेर सरकारले चढ्न अनुमति नदिएपछि उनले त्यसविरुद्ध मुद्दा लडेका थिए। मुद्दा जितेर यस पटक उनी सगरमाथा आरोहणका लागि खुम्बू क्षेत्रमा छन्। मसित फोनमा उनले भने, “असहज र असुविधाबारे के कुरा गर्नु सहज बनाउनु पर्‍यो। जब सगरमाथा चढ्दै छु। ६ हजारमाथिसम्म पुगेर फर्किएँ। लास्ट इयर आएको थिएँ। मलाई चढ्न दिइएन, यसपटक चढ्दै छु। कृत्रिम खुट्टा लगाएर स्काइ डाइभ गर्ने सम्भवत म पहिलो हुँ। सानोतिनो कुरामा कम्प्लेन गर्ने कुरा भएन।”

उनीजस्ता फरक क्षमताका अरू पनि आएका उनले बताए। “एक खुट्टा नभएको अमेरिकन महिला आएको छ। तीन जना आँखा नदेख्ने र दुई जना कान नसुन्ने आएको जानकारी पाएको छु,” उनी कुरा टुंग्याउँछन्।

‘फिल्ममा हेरेको भन्दा पूरै फरक पाएँ’
भारत मुम्बईका १८ वर्षीय युवा डेढीया मिथहिल राजु सम्भवत: कान्छो आरोही नै हुन् कि? जब विवेकले मसित कुरा गराए, उनले पहिलो अनुभव सुनाए, फिल्म हेर्दा, किताब पढ्दा र कुराकानी गर्दा मलाई सजिलै चढ्न सक्छुजस्तो लागेको थियो। तर त्योभन्दा धेरै फरक रहेछ। यति धेरै चुनौती, यति धेरै कठिनाइ धेरै गारो रहेछ। खाना खान मन लाग्दैन तर खानुपर्छ, शरीरलाई यहाँको वातावरणसँग घुलमिल गराउन कहिले माथि कहिले नाम्चे पुगिरहनु पर्छ।

भारतीय आरोही डेढीया मिथहिल राजु

उनी ६ हजारसम्मको उचाइ चढ्न नसकेपछि निकै निराश भएका थिए। अब चढ्न सक्तिन भन्ने पनि लाग्यो। तर दोस्रो पटकको कोशिशपछि उनी सफल भए। अब सगरमाथा चढ्ने तयारीमा उनी छन्। उनलाई आरोहण टिममा शेर्पाहरूले गरेको सहयोग र राति क्याम्पमा हुने नाचगान खुबै रमाइलो लागेको बताए। उनी यसअघि लद्दाखका केही हिमाल चढेका थिए। उनका मामा पनि पर्वतारोही हुन्। “म मामाजस्तै बन्छु” आफ्नो इच्छा जताए।

बीसौँ वर्षको हिमाल यात्राको अनुभव
मैले विवेकलाई यो प्रश्न सोध्नु आवश्यक ठानेँ, बीसौं वर्षदेखि हिमालसँग साइनो गाँसेका छौ। तिम्रो अनुभूति सुनाउ। उसको अनुभव सुनेर म एक छिन टोलाएँ। मैले सोचेभन्दा फरक र फराक पाएँ।

हिमालले मधेश, तराई र पहाडलाई जोड्ने हैसियत राख्छ। सबैलाई हिमाल चढाएर। त्यसो गर्न सकियो भने पूरै देश सगरमाथा जस्तै उच्च बन्छ। फोनबाट मलाई भन्दै गए, तीन कक्षादेखि विद्यालय शिक्षाको पाठ्क्रममा हिमाल पढाउनु पर्छ। हिमालप्रति बालकालदेखिनै उत्सुकता भर्नुपर्छ। १६ वर्षदेखि हिमाल चढ्ने प्रशिक्षण दिनुपर्छ। त्यो सबै प्रशिक्षण शेर्पाले दिनसक्छ।

पाइलापाइलामा मृत्युको धराप हुँदै कठ्याङ्रिएर जुनसुकै बेला शरीरका अंग झर्नसक्ने चिसो पर्वतमा कसरी चढ्नुपर्छ? मिनेटमिनेटमा आइपर्ने आपतलाई कसरी सामना गर्नुपर्छ? कठिनाइ, अप्ठ्यारो र मुस्किल के हो? त्यो प्रतिकूल परिस्थितिमा साहसपूर्वक संघर्ष गरेर धैर्य र दुःख सहनसक्ने क्षमता शारीरिक र मानसिक दुवै रूपमा ग्रहण गर्न योग्य बनाउन प्रशिक्षण दिन सकियो भने निडर, निर्भिक विद्यार्थी उत्पादन हुने छन्। नेपाललाई माया गर्ने एक ‘सुपर ह्युमन’ चरित्रको विद्यार्थी तयार हुन्छन् भन्ने मलाई लाग्छ।

हिमाल, देशको वैभव त हुँदै हो, हरेक नेपालीलले आफूलाई पनि चिन्ने छन्। जीवन के हो बुझ्ने छन्। जसले जीवन बुझ्ने छन्, आफूलाई चिन्ने सामर्थले भरिएका मानिस बसेको ठाउँ के संसारकै उच्च स्थान हुने छैन त?

हाम्रा हिमालमा संसारभरकै आकर्षण छ, तर हामी नेपाली हिमालको नामसमेत चिन्न खोज्दैनौँ। हाम्रा हरेक बालकबालिकाका सपना र उद्देश्य हुनुपर्छ, जीवनमा एक पटक हिमाल चढ्छु भन्ने। जसरी हिमाल र शेर्पा पर्यायवाचीजस्तै भएका छन्, नेपाली जनता र सगरमाथाको उचाइ बन्नुपर्छ।

विवेकले भने, २१औँ पटक सगरमाथा शिखर टेकेका आप्पा शेर्पाले ‘जियोग्राफी टेलिभिजन च्यानल’ले बनाएको एक डकुमेन्ट्रीमा भनेका थिए, ‘हिमाल हाम्रा देवता हुन्, सगरमाथा देवी आमा हुन्। नेपालको वास्तविक सौन्दर्य हिमालहरू होइनन् ती जनताहरू हुन् जो त्यसको छायाँमा बस्छन्। शिक्षाबाहेक हाम्रो लागि कुनै विकल्प छैन।’ कामीरिताले पत्रकारहरूलाई ‘हामी संसारभर प्रख्यात छौँ। धेरै विदेशीहरूले हामीलाई चिन्छन् तर सरकारले हेर्देन र सहयोग गर्दैन’ भनेका थिए। विवेकले अन्तिममा भने, “हिमाल चिन्नुपर्छ र चढ्नुपर्छ।”

अर्थको आँकडैआँकडा
विवेकले यो पनि भन्न छुटाएनन्। मुलुकका लागि सुनौला अवसर हो, यतिखेर विश्वभर नेपालका हिमालको प्रचारप्रसार गर्ने मौका हो। किनकि ६१ मुलुकबाट आरोहीहरू आएका छन्। ७० वर्षअघि आरोहणका लागि खोलिएको सगरमाथामा यस पटक बढी आरोही आएको भनिएको छ।  कतिलाई नेपालबारे नै थाहा छैन, माउन्ट एभरेस्ट मात्र भन्छन्। आरोहण गरेबापत ती आरोहीहरूबाट ६५ करोडभन्दा बढी रकम सरकारको राजस्वमा जम्मा भएको छ। आरोहणका लागि ४३ आरोही समूहलाई हुने आम्दानी आरोहण गर्न अनुमति लिएका ४ सय ६६ जनाले डेढ दुई महिनाको बसाइँमा गर्ने खर्च। आरोहणका लागि लैजाने कम्पनीहरू। र त्यससँग आबद्ध जनशक्तिलाई पुग्ने फाइदा, उनीहरूलाई दिनको ३ सयभन्दा बढी काठमाडौँ लुक्ला उडाउने उड्यन निकायहरू। खुम्बू क्षेत्रका होटल, लज, स्थानीय जनताका चौरी, याक घोडाबाट हुने आम्दानी। हजारौँ शेर्पा लगायतलाई दिएको रोजगारी। ठूलो रकम देशमा भित्रिएको छ।  

पुछारमाः पिताजस्तै सगरमाथा
त्यो सुन्दर विशाल सगरमाथा, त्यसको उचाइमा पुगेपछि प्राप्त हुने खुशी, विवेकले भनेका थिए, चुचुरोमा पुगेपछि सारा दुःख बिर्सिइन्छ। त्यो क्षणको वयान नै गर्न सकिन्न। खुशी मात्र बाँकी रहन्छ, सधैँका लागि। तर त्यो आर्कषण, त्यो सुन्दर स्निग्ध हिमालभित्र पूरै मृत्युका जाल बिछिएको हुन्छ। यो आलेख लेखुन्जेल यो वसन्तमा चार जनाको इहलीला समाप्त भइसकेको छ।

सगरमाथा खुम्बू क्षेत्रमा हिउँ भास्सिएर बेपत्ता भएका क्रमशः दावा छिरी शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा 

गत चैत ११ गते पिताको ८४ वर्षको अन्तिम दिन, उहाँको अनुहार चहकिलो र उज्यालो देखेँ। मैले आफूलाई सम्हाल्न सकिनँ, पिताको दुवै राता, उज्याला गाला मुसार्न थालेँ। पिताको अनुहारमा देखिएको अभूतपूर्ण चमकको प्रसंशा सँगै बस्नु भएका फुपाजूले गरिरहनुभयो। पिताजी चुपचाप हाँसिरहनुभयो।

चैत्र १२ गते बिहान पिताको त्यो चमकिलो दिव्य अनुहार सगरमाथा जस्तै चिसो भयो, सदाका लागि। सगरमाथाको वर्णन गरिरहँदा सँगै लुकेको त्यो त्रासदीपूर्ण मृत्युको चिसो सम्झना आइरह्यो। पिताको अनुहार सगरमाथामा देखिरहेँ। त्यो भव्य सगरमाथा मलाई पिताको विम्बजस्तै लागिरह्यो। सुन्दरताभित्र लुकेको स्वाभाविक मृत्यु।


सम्बन्धित सामग्री