Friday, April 26, 2024

-->

आयोगले सातवटै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका राजधानीस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग-अलग रूपमा प्रतिवेदन बुझाएको छ।

आयोगले सातवटै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन

काठमाडौँ– निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रमुखसमक्ष प्रस्तुत गरेको छ।

आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम शनिबार दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रतिवेदन प्रस्तुत गरेको जनाएको हो। आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका राजधानीस्थित प्रदेश प्रमुखको कार्यालयमा अलग-अलग रूपमा प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझाउन प्रदेश-१ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकीमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिममा आयुक्त डा. जानकीकुमारी तुलाधर, मधेशमा आयुक्त सगुन शमशेर जबरा, बागमतीमा सचिव गोकर्णमणि दुवाडी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो। टोलीबाट प्रदेशगत निर्वाचनको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिकतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने व्यवस्था रहेको छ।


सम्बन्धित सामग्री