Saturday, April 27, 2024

-->

कर्णबहादुरको किताब र हराएको राजनीतिक विज्ञान

आफ्नो घरबाट कृष्णकुमार राईले ‘पोलिटिकल साइन्स’ पुस्तक लगेको पत्तो लाग्नु र उनैले निर्वाचन पनि जित्नुको कारण कर्णबहादुरले बुझे। अनि त्यही पुस्तकको कारण चुनाव हारेको सगौरव घोषणा गरेछन्।

कर्णबहादुरको किताब र हराएको राजनीतिक विज्ञान

उहिले पञ्चायतकालको कुरो हो। कर्णबहादुर राई नाम गरेका एक जना जानेमानेका पञ्च नेता थिए। उनको वतन र कर्मथलो कोशी अञ्चलको भोजपुर जिल्ला थियो। पञ्चायती कालखण्डमा मन्त्रीसमेत भएकाले जिल्लामा उनको चल्तीफिर्ती थियो। 

कर्णबहादुर मात्र होइन भोजपुरमा पञ्चायतका एक से एक घागडान अरू नेता पनि थिए– ध्यानबहादुर राई, डम्बरबहादुर बस्नेत आदि। सातसाले क्रान्तिले जन्माएका एक से एक भेट्रान कांग्रेसी नेताहरू लप्टन रामप्रसाद राई, नारदमुनि थुलुङ, डा. भूदेव राई, देवानसिंह राई पनि भोजपुर कै हुन्। देवानसिंह राई त बीपीको मन्त्रिमण्डलमा उपमन्त्री नै भए। अहिले यी सबै पात्रको इहलीला समाप्त भैसकेको छ। 

कुरो २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनको हो। निर्वाचनमा ती कर्णबहादुर राईले पनि उम्मेद्वारी दिए। निर्दलीय व्यवस्था भएकाले व्यक्ति–व्यक्तिबीच चुनाव हुन्थ्यो। पञ्चायतले सरकारी उम्मेद्वार भूमिगत तरिकाले तोक्थ्यो। पुलिस प्रशासनले सघाएको आधारमा सरकारी उम्मेद्वार खुट्याइन्थ्यो। 

कर्णबहादुर पनि मान्छे त सरकारी पक्षकै थिए तर सरकारको प्राथमिकतामा परेनन्। सरकारी उम्मेद्वारले नै जित्ने सोह्रै आना पक्कापक्की त हुँदैन थियो। त्यसैले चुनावमा अरू गैरसरकारी पञ्च उम्मेद्वार पनि बेस्सरी दौडधुप गर्थे। कर्णबहादुरको दौडधुप चलेकै थियो।

भोजपुरलाई चलनचल्तीको लवजमा माझकिरात भनिन्छ। यसर्थ पनि होला प्रायः मतदाताले त्यो क्षेत्रबाट एक जना किराती र एक जना गैरकिरातीलाई जिताउँथे। मतदाताले गरेको यो न्यायिक मतदान अनौठो नै लाग्थ्यो। तर २०४३ सालको त्यो चुनावमा ठीक उल्टो परिणाम आयो।

भोजपुरका दुई क्षेत्र थिए। दुवै क्षेत्रबाट गैरकिराती टंकप्रसाद ढकाल र मुकुन्दबहादुर बस्नेतले चुनाव जिते। ढकालले किराती चेलीसँग विवाह गरेको र सरकारी उम्मेद्वार भएको कारण चुनाव जितेको अर्थ लगाइयो। तर अरू सबै किराती अनुहारका उम्मेद्वारले हारेकोमा एक होइन अनेक अर्थ छरपस्ट भए। धेरैले किरातीहरू अत्याधिक उम्मेद्वार भएकाले चुनावमा भोट काटाकाट भएर पराजित भएको अर्थ लगाएका थिए। 

निर्वाचनमा पराजय हुनुपछिको यो कारणमा कर्णबहादुरलाई भने चित्त बुझेनछ। अहिले जस्तो हार्नेले धाँदली भएको भन्दिएजस्तो आरोप उनले लगाएनन्। राजनीतिशास्त्र नपढे पनि राजनीतिमा आएपछि कर्णबहादुरले ‘पोलिटिकल साइन्स’को किताब किनेर घरमा सजाएका रहेछन। सामान्य लेखपढ मात्र गरेका उनले त्यो पुस्तक आद्योपान्त पढे/पढेनन् वा त्यसबाट राजनीतिको कखरा जाने/जानेनन् त्यो खोजीको विषय हुनसक्छ। ‘पोलिटिकल साइन्स’ पुस्तकबाट राजनीतिमा दाउ मार्ने कति सूत्र भेटाए/भेटाएनन् त्यो पनि आफ्नै ठाउँमा छँदैछ। 

निर्वाचन हारेपछि उनले घरमा राखेको त्यही पुस्तकको खोजी गरेछन्। त्यो पुस्तकबाट आफू किन हारिएछ भन्ने पत्ता लाग्न सक्छ भन्ने उनको अन्तरआत्मामा परेको हुँदो हो। धुँइपत्ताल खोज्दा पनि पुस्तक भेटेनछन्। पुस्तक गायब भएको कुरा उनले पत्तै पाएनन्। अलि पढेका छोराहरू बाबुराम राई र गोपाल राईलाई पनि पुस्तकबारे सोधेछन्। उनीहरूले पनि पुस्तक भेटाउन सकेनन्। 

पुस्तक नपाएर थकित कर्णबहादुरले छरछिमेकमा पुस्तक हराएको झ्याली पिटे, तहकिकात गरे। त्यहाँबाट पनि पुस्तकको अत्तोपत्तो लागेन। अन्त्यमा उनले आफ्नी पत्नीलाइ सोध्न पुगेछन्। उनलाई सोधेपछि बल्ल थाहा लागेछ, ‘पोलिटिकल साइन्स’को त्यो पुस्तक त आफ्नै भाइ अर्थात् उनका साला धरानका कृष्णकुमार राईले लगेका रहेछन्।

यता सालो कृष्णकुमार राई चाहिँ सुनसरी क्षेत्रबाट त्यो बखत राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए। कृष्णकुमार राईले पुस्तक लगेको पनि पत्तो लाग्नु उनैले निर्वाचन पनि जित्नु कर्णबहादुरलाई जँचेछ। त्यसैबखत उनले पोलिटिकल साइन्स पुस्तकको कारण चुनाव हारेको सगौरव घोषणा गरेको कुरा भोजपुरको डबलीमा त्यतिखेर खुबै सुन्न पाइन्थ्यो।

कर्णबहादुर र कृष्णकुमारको प्रसंग त एउटा सांकेतिक सन्देश हो। कर्णबहादुरलाई जसरी पोलिटिकल साइन्सको पुस्तक हराएर धोका भएको थियो। यो कुरा सुन्दा ख्यालठट्टा लागे पनि गहिरिँदा अर्थपूर्ण लाग्छ। राजनीतिक गतिविधिमा राजनीतिशास्त्र नै ओझेलमा पर्‍यो भने अथवा राजनीति विज्ञान विपरीत गरियो भने दुर्घटना हुन्छ भन्ने ज्ञान कर्णबहादुरको प्रसंगले दिन्छ। 

इतिहास र विचार
सूचना प्रविधि, ऊर्जा र यातायातको क्षेत्रमा भएको अभूतपूर्व विकासले विश्वको मौजुदा दार्शनिक दृष्टिकोणमा नयाँ तरंग ल्याएको छ। सूचना प्रविधिको विकासलाई चौँथो औद्योगिक क्रान्ति मान्ने हो भने (चौँथो औद्योगिक क्रान्ति नै भनिन्छ) यसलाई सम्बोधन गर्ने वैश्विक दर्शन, सिद्धान्त, राजनैतिक विज्ञानको सर्वथा अभाव छ। वैज्ञानिक विश्व दृष्टिकोणको यही अभावमा यतिखेर राजनीति लोकरिझ्याइँ (डेमागग) प्रवृत्तितर्फ उन्मुख छ।

यहाँ फ्रान्सिस फुकुयामाको विचारलाई स्मरण गर्न जरुरी छ। फुकुयामाले इतिहासको अन्त्य लेखे तर इतिहासको अन्त्य भएन। केहीले भाषाको अन्त्य वा विचारको अन्त्य भनेर लेखे, त्यो पनि भएन। अन्त्य न इतिहासको भएको छ न भाषा, विचारको। यसको अतिरिक्त नयाँ दर्शन विचारको अभाव भने खड्किएको विषय हो। 

विचारमा खिया लागेको शब्दावली केही समयदेखि सुनिँदै आएको हो। परम्परागत दर्शन र विचारहरू युगीन नेतृत्व गर्न अक्षम भएको वर्षौंं बित्यो। वैज्ञानिक विचारहरू पनि परिमार्जन हुन नसक्दा तिनको उपयोगितामा प्रश्नहरू उठ्न थालेका छन। उदारवाद मात्र हैन मार्क्सवाद वा मालेमावादमा पनि प्रश्नहरू उठेका छन्। 

मार्क्सवाद, लेनिनवाद हुँदै माओ विचारधारा/वादमा आएर यो राजनैतिक दर्शन टक्क अडिएको छ। एउटा काल्पनिक युटोपियायी जिवनमा बाँच्न मानव समाज अभिसप्त छ। आजको विश्व समाजको नेतृत्व गर्न यो वैचारिक धारमा बगे्रल्ती प्रश्नहरू उठेका छन्। प्रश्नहरू भने उत्तरित छैनन्। यहीँनेर नयाँ दर्शन र विचारको आवश्यकता भएको हो भन्ने बहसले विमर्श खोजेको हो।

‘प्याराडाइम सिफ्ट’
केहि वर्षदेखि विश्व अर्थ राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ शब्दको खुबै प्रयोग हुँदै आएको छ। यो शब्दलाई नेपाली भाषामा लगभग ‘प्रतिमान परिवर्तन’ भन्ने अर्थ लगाउँदा हुन्छ। प्रतियोगितात्मक काम कारबाहीहरूमा नमूनाको रूपमा कायम गरिएको माथिल्लोस्तरको दृष्टान्त नै प्रतिमान परिवर्तन हो। 

प्रख्यात लेखक थमस कुहनले आफ्नो पुस्तक ‘स्टक्चर अफ साइन्टिफिक रिभोलुसन’मा प्याराडाइमको व्यापक चर्चा गरेका छन्। कुहनले प्याराडाइमलाई विज्ञानसम्मत विश्वास र मान्यताको प्रणाली भनेर वर्णन गरेका छन्।

प्रसिद्ध लेखक जेरेमी रिपिकनका पुस्तकहरू ‘कामको अन्त्य’, ‘तेस्रो औद्योगिक क्रान्ति’ र पछि लेखिएको ‘शून्य सिमान्त लागतमा आधारित सहयोगी समाज’ (सन् २०१४) मा आजको पुँजीवादको अन्त्य सन्निकट भएको तर्क गरिएको छ। तर यो पुँजीवादको अन्त्यपछि आउने दार्शनिक धारको बहस गर्न नकार गर्नु पर्ने अर्थ छैन। यसकारण युरो औपनिवेसिक धारको अन्त्य अमेरिकी लेखकले यहीँनेर आएर गर्नु अर्थपूर्ण छ।

यसर्थ आजको वैश्विक समस्या भनेको दर्शन, सिद्धान्तको वैचारिक अभाव हो। औद्योगिक क्रान्ति र औपनिवेशिक जमिनमा उभिएको राजनीतिक विज्ञान, दर्शन, सिद्धान्तले वैश्विक समसामयिकतालाई सम्बोधन गर्न नसकेको परिस्थिति हो। यस मानेमा आजसम्मका दर्शन, सिद्धान्त, विचारमा परिमार्जन वा भाष्यमा नयाँ आयामको खोजी जायज भएको हो। राजनैतिक विज्ञानमा नयाँ रचना जरुरी भएको हो।

फेरि उही कर्णबहादुरलाई सम्झियौँ। कर्णबहादुर जत्तिको बुद्धि र कृष्णकुमारको जत्तिको जुक्ति एउटा प्रसंग मात्र हो। यतिखेर त दर्शन, सिद्धान्तको खडेरी लागेजस्तै भएको छ। पुरानो राजनीतिक विज्ञानले औपनिवेशिक र तेस्रो औद्योगिक क्रान्तिपछिको परिस्थितिलाई जेनतेन सम्बोधन गर्‍यो। तर सूचना प्रविधिको विकाससँगै नयाँ राजनीतिक विज्ञानको नयाँ सूत्र खोजी भएको छ। त्यो गर्भमा लुकेको राजनीतिक विज्ञान भेटेको दिन मात्र आउने राजनीतिको रेशम मार्ग भेटिनेछ।


सम्बन्धित सामग्री