Saturday, April 27, 2024

-->

महाकवि देवकोटाको घरको कथाः जोगाउनुपर्ने प्रज्ञा प्रतिष्ठानले नै भत्काएर बनाएको ‘संग्रहालय’

ढुंगामाटोले बनेको महाकवि देवकोटा बस्ने घर २०७२ सालको भूकम्पले क्षति पुर्‍याए पनि संरक्षण गर्न सकिने विज्ञहरूको सुझाव बेवास्ता गरेर प्रज्ञा प्रतिष्ठानले जगैदेखि भत्काई लिफ्टसहितको आधुनिक भवन बनाएको छ।

महाकवि देवकोटाको घरको कथाः जोगाउनुपर्ने प्रज्ञा प्रतिष्ठानले नै भत्काएर बनाएको ‘संग्रहालय’
पुरानो घरको तस्वीर साभार हाम्राकथा डटकम

काठमाडौँ– प्राज्ञ अमर न्यौपाने २०६४ सालमा मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर पुगेका थिए। त्यो अहिले संग्रहालय बनाइएको नभई महाकवि देवकोटा बसेको पुरानो घर थियो। 

‘नेपाली इङ्लिस राइटर सोसाइटी’का तत्कालीन अध्यक्ष तथा महाकवि देवकोटाका छोरा पद्मप्रसाद देवकोटाले त्यस घरमा एउटा कार्यक्रम राखेका थिए। सोसाइटीका महासचिव न्यौपानेकै साथी साहित्यकार गोपी सापकोटा थिए। सापकोटाले नै उनलाई देवकोटाको घर पुर्‍याएका थिए।

पद्मप्रसाद देवकोटाले घरको माथिल्लो तलामा कार्यक्रम राखेका थिए। “त्यहाँ १५/२० जना लेखक साहित्यकार भेला भएका थिए। सबैलाई गुन्द्रीमा राखेर कार्यक्रम गरिएको थियो। माटाको भुईं थियो। काठको भर्‍याङ उक्लिएर गएका थियौँ,” न्यौपाने भन्छन्, “त्यही कोठामा बुवा (लक्ष्मीप्रसाद देवकोटा)ले बसेर लेख्ने गरेको उहाँले बताउनुभएको थियो। घरमा सानासाना कोठा थिए।”

त्यसलाई संग्रहालय बनाउन सरकारले देवकोटा परिवारसँग उक्त घर २ करोड ५० लाख रुपैयाँमा किनेको थियो। आर्थिक वर्ष २०७६/७७ मा किनेर सरकारले घर र जग्गा संग्रहालय निर्माणको लागि प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो। देवकोटा परिवारले मैतिदेवीस्थित १२ आना जग्गा र घर सरकारलाई बेचेको हो। यो घर २०७२ सालको भूकम्पमा क्षति भएर पनि नभत्केको उपत्यकाको पुरानोमध्ये थियो।

२०४० सालमा खिचिएको तस्वीरका आधारमा तयार पारेर संग्रहालयमा राखिएको देवकोटाको नमूना घर। तस्वीर: उकालो

संग्रहालय बनाउने जिम्मा पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त घर २०७८ साउनमा पूरै भत्कायो। त्यही ठाउँमा नयाँ भवन बनाएर अहिले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ बनाइएको छ।

“त्यो पुरानो घर भत्काइएको सुन्दा धेरै दुःख लाग्यो। म केही समयअगाडि पुगेको पनि थिएँ। अब त्यो नयाँ भवन बनाएर देवकोटाको फिलिङ आउँछ त?” प्राज्ञ न्यौपानेले उकालोसँग भने, “त्यो देवकोटाको घर रहेन, घडेरी मात्र देवकोटाको हो।”

सम्पदा संरक्षक रवीन्द्र पुरीले उक्त घरलाई ‘रेट्रोफिटिङ’ गरेर जस्ताको तस्तै राख्न सकिने सुझाव प्रज्ञा प्रतिष्ठानलाई दिएका थिए। “रवीन्द्र पुरीले १ करोड रुपैयाँमा नै रेट्रोफिटिङ गर्न सकिने बताउनुभएको मैले मिडियामा हेरेको थिएँ। विश्वमा सयौँ वर्ष पुराना घर जोगाइएका छन्। बेलायतमा न्युटन र सेक्सपियरका घर अझै छन्। तर देवकोटाको घर अब रहेन,” न्यौपानेले भने।

भूकम्पबाट ७० प्रतिशतसम्म क्षतिग्रस्त भएको भवन जस्ताको तस्तै बनाउन सकिने पुरी बताउँछन्। “देवकोटाको घर मैले हेरेको थिएँ, त्यसमा ३० प्रतिशत मात्र क्षति भएको थियो। त्यसलाई सजिलै बनाउन सकिन्छ भनेर हामीले भनेका थियौं,” पुरी भन्छन्।

भत्काइँदै गरेको देवकोटाको घर।

सम्पदा संरक्षक पुरीले प्रतिष्ठानलाई घर संरक्षणका लागि प्रस्ताव दिएको एक हप्ता नबित्दै त्यसलाई भत्काउन शुरू गरिएको थियो। प्रज्ञा प्रतिष्ठानका तत्कालीन सदस्य–सचिव जगतप्रसाद उपाध्याय सार्वजनिक खरिद ऐनअनुसार पुरीले ठेक्का लिन नमानेको र लिखित रूपमा बनाउन दिनुपर्ने मौखिक माग मात्र गरेको कारण कानूनी रूपमा त्यसरी दिन नमिलेको बताउँछन्।

“देवकोटाको घर प्रतिष्ठानको संरक्षणमा आएपछि पटकपटक विशेषज्ञ प्राविधिक र सरोकारवालासँग बसेर पुरानो संरचनालाई नै संग्रहालय बनाउन सकिने वा नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको थियो,” तत्कालीन सदस्यसचिव उपाध्याय भन्छन्, “त्यो सम्भव नहुने देखेर प्रतिष्ठानले त्यस्तै स्वरूप देखिने नयाँ संग्रहालय बनाउने निर्णय गरेको हो।”

नयाँ भवन बनाएर स्थापना गरिएको संग्रहालयको २०७९ असोज १४ गते प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए। नयाँ भवन तीनतले छ।

महाकवि देवकोटाको पुरानो घर भत्काउन थालिएपछि विरोध पनि भएको थियो। सामाजिक सञ्जालहरूमा धेरैले असन्तुष्टि पोखेका थिए। महाकविका छोरा पद्म देवकोटाले पनि फेसबुकमा दुःख व्यक्त गरेका थिए। ‘सम्पदा पुनर्जागरण अभियान’ नामको संस्थाले पुरातत्व विभागलाई ध्यानाकर्षण पत्र लेखेर मौलिकता मास्न नदिन आग्रह गरको थियो।

संग्रहालयमा राखिएका देवकोटाले प्रयोग गरेका सामग्री।

देवकोटाको घर भत्काउने कामको सर्वत्र विरोध भएपछि २०७८ साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानले स्पष्टीकरणसमेत दिएको थियो। “उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको हो,” प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो। 

पुरातात्विक महत्त्वको घर भत्काउन थालेको भन्दै प्रज्ञा प्रतिष्ठानविरुद्ध अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदनसमेत दिएका थिए। सर्वोच्चले घर भत्काउनुपर्नाको कारण पेश गर्न २०७८ साउन २८ गते प्रज्ञा प्रतिष्ठानका नाममा आदेश जारी गरेको थियो। तर सर्वोच्चले घर भत्काउन रोक लगाउन अन्तरिम आदेश नदिएका कारण नयाँ संरचना निर्माणका लागि जगैसम्म भत्काइएको थियो।

ढुंगामाटाको घर भत्काएर ‘लिफ्ट’
महाकवि देवकोटा पुर्ख्यौली घर डिल्लीबजारबाट २००४ सालमा मैतीदेवी सरेका थिए। उनले त्यसअघि नै त्यहाँ घरसहितको दुई रोपनी जग्गा किनेका थिए। देवकोटाले उक्त घरलाई ‘कविकुञ्ज’ नामकरण गरेका थिए। २०१६ भदौ २९ गते निधन हुनु अघिसम्म देवकोटा त्यही घरमा थिए। 

आफ्नो जीवनको अन्तिम १२ वर्ष गुजारेको त्यो घरबाट उनी साइकल लिएर निस्किने गरेका थिए। उनी २०१४ सालमा तत्कालीन प्रधानमन्त्री डा. केआई सिंहको मन्त्रिमण्डलमा शिक्षा तथा स्वायत्त शासनमन्त्री भएका थिए। उनको घरसम्म गाडी पुग्दैन थियो। डिल्लीबजारसम्म पुग्न साइकल नै चढ्थे र त्यहाँबाट गाडीमा सिंहदरबार जान्थे। पछि उनी डिल्लीबजारस्थित गेहेन्द्रबहादुर शाहको घर ‘सल्यानी हाउस’मा सरेका थिए।

संग्रहालयमा राखिएको लिफ्ट।


देवकोटाको घर उत्तर फर्किएको थियो। उत्तरबाटै डिल्लीबजारतर्फ जाने बाटो थियो। त्यही बाटो हुँदै देवकोटा साइकलमा निस्कन्थे। तर अहिलेको घर भने दक्षिण फर्काइएको छ। संग्रहालय बनाइएको उक्त घरमा लिफ्टसमेत राखिएको छ।

अहिलेको भवनअगाडि आधुनिक फोहरा छ। भवन पूर्णरूपमा आधुनिक छ। तत्कालीन सदस्यसचिव उपाध्याय संग्रहालय सुविधाका दृष्टिले आधुनिक र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गरिएको बताउँछन्। फरक क्षमताका अवलोकनकर्ताले संग्रहालयको माथिल्लो तलामा रहेका महाकवि देवकोटाका कोठा र अन्य सामग्री हेर्न सकुन् भनेर लिफ्ट राखिएको उनी दाबी गर्छन्। “देवकोटा प्रकृतिप्रेमी थिए। झरना र छहरा रुचाउँथे। त्यही कारण संग्रहालयको अगाडि फोहोरा राखिएको हो,” उपाध्यायले भने।

ठेक्का रकम खर्च गर्न छुट्टै निर्णय
देवकोटाका कृति, श्रव्य–दृश्य सामग्री तथा उनले प्रयोग गरेका घरायसी सामानहरू राखिएको नयाँ भवन झण्डै ७ करोड रुपैयाँ लगानीमा निर्माण सम्झौता भएको थियो। तर निर्माण सम्पन्न भइसक्दा पनि झण्डै १ करोड रुपैयाँ खर्च हुन सकेको थिएन। “संग्रहालय बनाउने नाममा बढीभन्दा बढी पैसा खर्च गर्न खोजिएको देखिन्छ,” एक प्राज्ञ परिषद् सदस्यले भने, “तीन तला मात्र भएको भवनमा पैसा सिध्याउनैका लागि लिफ्ट राखिएको छ। खुलेर खर्च गर्दा पनि १ करोड रुपैयाँ खर्च हुनै नसकेको अभिलेखबाट देखिन्छ।”

भवन निर्माणका लागि विकोई–एमके जेभी कैलालीसँग ७ करोड ११ लाख ७२ हजार रुपैयाँमा सम्झौता भएको थियो। तर ५ करोड ४६ लाख ७४ हजार रुपैयाँ मात्र भुक्तानी भएको प्रज्ञासभाको ३८औँ बैठकमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।

ठेक्का भएर पनि ठेकेदारले दाबी गर्न नसकेको बाँकी रकम खर्च गर्न प्रज्ञासभाबाट छुट्टै निर्णय गर्नु परेको थियो। संग्रहालय निर्माणका लागि सरकारबाट ६ करोड ८० लाख मात्र प्राप्त भएकोमा ठेकेदारलाई अन्तिम भुक्तानीका अन्य आवश्यक खर्च गर्दासम्म १ करोड रुपैयाँ बाँकी रहन गएको प्रतिवेदनमा उल्लेख छ। “खर्च हुन बाँकी ९७ लाख ९८ हजार १२५ रुपैयाँ सम्बन्धमा छलफल गर्दा देवकोटा संग्रहालयको सजावट र अन्य व्यवस्थापन तथा देवकोटासँग सम्बन्धित ग्रन्थ प्रकाशन, अनुसन्धान आदिका निम्ति थप बजेट आवश्यक हुने भएकाले उल्लिखित खर्च हुन बाँकी रकम खर्च गर्न स्वीकृति दिने निर्णय गरियो,” प्रज्ञासभाको ३८औँ बैठकको निर्णयमा उल्लेख छ।

प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पुरानो समितिले महत्त्वपूर्ण सम्पदा किन मासेको भन्ने आफूले बुझ्न नसकेको बताए। “अघिल्लो कार्य समितिले पुरातात्विक महत्त्वको मौलिक घर नासेर नयाँ बनाउने नियत के थियो थाहा भएन। मेरो चाँहि भनाइ के हो भने, मौलिकता नासेर त्यसरी बनाउनु हुँदैन थियो,” कुलपति राई भन्छन्, “पुरातात्विक दृष्टिकोणले मात्र होइन कि, एक जना महान साहित्यकारसँग जोडिएको सबै सम्पदा नासियो, त्यो राम्रो होइन।”


सम्बन्धित सामग्री