Friday, April 26, 2024

-->

हरिदेवी कोइरालाको दैनिकी: हजार गीतको आर्काइभ तयार पार्दै, आत्मकथा लेख्दै

लमजुङबाट हरिदेवी श्रीमानलाई साथ लिएर काठमाडौँस्थित रेडियो नेपाल पुगिन्। २०४०/४१ सालतिर ‘पाइनँ खबर’ गीत रेकर्ड भएर बजारमा आयो। एकदमै ‘हिट’ भयो। उनले पहिलो गीतबाटै प्रसिद्धि कमाइन्।

हरिदेवी कोइरालाको दैनिकी हजार गीतको आर्काइभ तयार पार्दै आत्मकथा लेख्दै

पोखरा– लोक गायिका हरिदेवी कोइराला (६३) अहिले गीत गाउने चटारोमा छैनन्। बरू छिट्टै उनी लेखकको रूपमा आउँदैछिन्। उनी आफ्नो ६ दशक जीवन यात्राका भोगाइलाई पुस्तकमा उतार्ने तयारी गरिरहेकी छन्। 

पोखरा गणेशटोल नजिकै सिद्धार्थचोकस्थित पुरानै शैलीको घरमा नातिनातीना खेलाएर रमाउँदै गरेकी उनले भनिन्, “चार पुस्तक निकाल्ने तयारीमा छु। एउटा मेरै जीवनमाथि लेखिएको छ, तीन कृतिचाहिँ रेकर्ड भएका गीत संकलित रचना हुन्।”

शिक्षण पेशामा २५ वर्ष काम गरेर सेवानिवृत्त भएकी उनी घरैमा परिवारसँग बस्छिन्। तर आफ्नो रुचि कला/साहित्य, गीत/संगीतको क्षेत्रमा भने अझै क्रियाशील छिन्। 

दुई छोरा र एक छोरीमध्ये कान्छा छोरा र पतिका साथमा दिनहरू बिताइरहेकी उनी तिनै आफ्ना पुराना गीतको व्यवस्थापनमा व्यस्त छिन्। “कसैले कार्यक्रममा निमन्त्रणा गरे मात्र जान्छु, नत्र घरैमा लेखपढ गर्छु। पुराना सबै गीतलाई व्यवस्थित गरिरहेकी छु,” उनले भनिन्। 

आफ्ना पुराना भाकालाई नयाँ स्वरूप दिने सोच पनि उनको छ। “मेरा पुराना रचनालाई नयाँ स्वरूपमा ढाल्दै छु। कतिपय गीत रेकर्ड मात्रै गरेर थन्किएका छन्। त्यसको भिडियो बनाउनु पर्नेछ,” उनले भनिन्, “लगभग ३५ प्रतिशत काम बाँकी छ।” 

उनले लेखेका र गाएका ८०० भन्दा बढी गीत छन्। कविता संग्रह, बालगीत कविता, तीज गीत संग्रहका आधा दर्जनभन्दा बढी किताब प्रकाशित छन्। 

हरिदेवीको मानवीय संवदेनाले भरिएको कर्णप्रिय स्वर गण्डकी क्षेत्र हुँदै, देशैभरि नै फैलियो। निकै ख्याति कमाइन् र लोकगीतको क्षेत्रमा एकछत्र राज गरेकी थिइन्।  

२०४० सालतिर ‘घर फर्की आउनु है मेरो हजूर’ बोलको लोक भाका उनको सबैभन्दा चर्चित गीत हो। मुग्लानमा बेखबर बसेका खसमलाई घर आउन अनुरोध गर्दै गाएको उनको गीत निकै लोकप्रिय भएको थियो। गीतमा हरेक गृहणीको सुस्केरा र पीडा थियो। यसैबाट उनले देशव्यापी ख्याति बटुलिन्।

ख्याति कमाउने उनको यात्रा सहज थिएन। त्यसैले उनी आफ्ना संघर्षपूर्ण विगत भुल्न सक्दिनन्। त्यतिखेर खेप्नु परेका दुःख, कठिनाइ, सामाजिक आक्षेप, सकसपूर्ण थिए।

बिहे नभएकी छोरीले गीत गाओस्, कविता लेखोस्, मञ्चमा गएर वाचन गरोस् भन्ने परिवारले सोच्नसम्म सक्दैनथ्यो। समाज संकुचित थियो। उनी भन्छिन्, “हाम्रो समाज बाहुन/क्षेत्रीको समाज थियो, धेरै परम्परावादी। बाहिर गएको रुचाउने कुरै भएन।” 

त्यतिबाट स्कुलबाट धेरै ठाउँमा घरमा नभनी कार्यक्रममा गएको उनी बताउँछिन्। “मेरो प्रतिभा,देखेर प्रोत्साहन दिने कोही थिएनन्।” उनी भन्छिन्, “गीत कवितामै लाग, भनेर भन्नु त कहाँकहाँ बरू निरुत्साहित बनाउँथे।”

त्यो परिवेशमा घरपरिवार, समाजको सीमारेखा नाघेर हिँड्ने आँट गर्नु दुस्साहस मानिन्थ्यो। विवाह गर्ने बेला भएको छोरी नाँचगान गर्नतिर लाग्नु विद्रोह नै थियो।आफ्नो चाहनाभन्दा पनि समाजले केही भन्ला भन्ने ठूलो चिन्ताको विषय हुन्थ्यो। मुख फोरेर भनी नहाले पनि नकारात्मक आशय झल्किन्थ्यो। 

'हुर्केकी छोरी घरमा धेरै राखिरह्यो भने बिग्रन्छ' भनेर चाँडै बिहेबारी गरिदिने प्रचलन थियो। हरिदेवीको बिहे २०३४ सालमा भएको हो। त्यतिबेला उनी १९ वर्षकी थिइन्। एसएलसी परीक्षा दिएर बसेकै समयमा उनको बिहे भएको हो।

बिहेपछि आफ्नो रहरले गीत गाउँन, कविता वाचन गर्न हिँड्न मिल्ने अवस्था भएन। माइतीमा हुँदा जस्तो नभनी हिँड्न पनि मिलेन। त्यसपछि घरव्यवहारमा व्यस्त हुँदै गइन्।

गीत रेकर्ड गराउने रहर त थियो, तर घरमा त्यो कुरा भन्ने कसरी? संकट आइलाग्यो उनलाई।

उनका श्रीमान् रामबहादुर कोइराला जागिरे थिए। लमजुङस्थित कृषि विकास बैंकमा काम गर्थे। उनीचाहिँ स्कूलमा पढाउँथिन्। उनी स्कुलबाट दुई वर्षे बेतलबी बिदा लिएर लमजुङ नै गइन्। त्यहाँ सुन्दरबजारस्थित कृषि क्याम्पसमा पढ्न थालिन्। 

लमजुङमा छँदा आयोजित एक कार्यक्रममा उनले आफ्नो प्रस्तुति राख्ने अवसर पाइन्। पोखरा बाटुलेचौरका कुलबहादुर केसी, देवी गुरुङलगायत कलाकारहरू कार्यक्रममा उपस्थित थिए। हरिदेवीले आफ्नो प्रस्तुति दिइसकेपछि उनीहरूले गीत रेकर्ड गराउन प्रोत्साहन गरे। “तपाईंको स्वर त राम्रो रैछ,” यो वाक्य उनी अहिले पनि सम्झन्छिन्। 

उनका श्रीमान् पनि कार्यक्रममा थिए। पतिले घरमै पनि  कुराकानी हुँदा उनलाई आफ्नो प्रतिभा देखाउन सुझाव दिइरहन्थे।

त्यति बेला ‘घर फर्की आउनेको पाइनँ खबर’ भन्ने गीतमा काम गरिरहेकी थिइन्। लय पनि संकलन थियो। उनले धेरैलाई त्यो गीत सुनाइन्। सबैतिरबाट उनको प्रशंसा भयो। “गीत त्यसै राख्नुहुन्न, मीठो स्वर रैछ। आफैँ लेख्नुहुँदो रैछ। आफैँ गाउनु हुँदोरैछ, बरू रेकर्ड गराउनू,” धेरैले सुझाव दिए।

गीत रेकर्ड गराउने ठाउँ रेडियो नेपाल थियो। लमजुङबाट उनी श्रीमानलाई साथ लिएर काठमाडौँस्थित रेडियो नेपाल पुगिन्। २०४०/४१ सालतिर ‘पाइनँ खबर’ गीत रेकर्ड भएर बजारमा आयो। एकदमै ‘हिट’ भयो। उनले पहिलो गीतबाटै प्रसिद्धि कमाइन्।

रेडियो नेपालमा श्रीमानका मामा प्रेमराज महत काम गर्थे। कलाकार बमबहादुर कार्की पनि थिए। पहिलेदेखिको चिनाजानीले त्यहाँ जान उनलाई सजिलो भयो। गीत रकेर्ड गराउन संगीतकार नारायण रायमाझीले धेरै सहयोग पुर्‍याएको उनले बिर्सेकी छैनन्।  

रेडियो नेपालबाट आयोजित अन्तरसंस्थान गायन प्रतियोगितामा उनी तृतीय भएकी थिइन्। प्रथम, दोस्रो, तेस्रो हुनेले स्वर परीक्षा दिनु पर्दैनथ्यो। तर, उनले स्वर परीक्षा दिएरै पास गरेकी थिइन्। 

गीत रेकर्ड भएर बजारमा आइसकेपछि घरमा रेडियो खोलेर र क्यासेट बजाएर आफ्नै गीत सुन्न पनि उनलाई लाज लाग्थ्यो। गीत रेडियोमा बज्न थालेपछि भने प्रोत्साहनभन्दा पनि हतोत्साही बनाउने खालका प्रतिक्रिया बढी आए। 

“म काठमाडौँमा बसेको भए झन् बढी कुरा काट्थे। घरबाटै आफ्नो श्रीमानसँग जाँदा/आउँदा पनि मानिसहरूलाई यो राम्रो क्षेत्र होइन भन्ने धारणा थियो,” उनी भन्छिन्।

श्रीमान् पनि उनको प्रतिभा फैलियोस् भन्ने सोच राख्थे। घरमा सासुले त्यतिकै माया गर्थिन्। “घर परिवारले माया गरेपछि अरूले कुरा काटे पनि केही नहुँदो रैछ,” हरिदेवी सम्झन्छिन् “श्रीमानले सधैँ हौसला दिनुहुन्थ्यो। आफ्नो कलालाई मार्नु हुन्न। उजागर गर्नुपर्छ भनेर उत्साह दिनुहुन्थ्यो।” 

फुर्सदमा गीत रचना गर्ने, लय भर्ने गर्थिन्। गीत तयार भइसकेपछि असार/साउनको वर्षे बिदामा रेकर्ड गराउन काठमाडौँ जान्थिन्। 

“साझाको रात्रिबस चल्थ्यो। हामी दुवै जना जागिरे। शुक्रबार रात्रिबसमा जान्थ्यौँ,” उनी सम्झिन्छिन्, “आइतबार सम्पर्क गर्न रेकर्डिङ स्टुडियोमा जान्थ्यौँ, दुईदिनमा ४/५ वटा गीतसम्म रेकर्ड गराएँ।"

यसरी नै एक हजारभन्दा बढी गीत उनको आवाजमा रेकर्ड भइसकेको छ। पछि भने पोखरामा नै रेकर्डिङ स्टुडियो खुलेपछि सजिलो भएको उनी बताउँछिन्।

सबैजसो गीतमा उनी आफैँले लय, शब्द बनाएकी छन्। साहित्यिक कृति गीत, कविता गरी १० वटा किताब नै प्रकाशित छन्। १० वटा बालगीत रेकर्ड भएका छन्। बजारमा बिक्ने गीतभन्दा पुराना गीत संकलन गर्दा सन्तुष्टि मिल्ने उनी बताउँछिन्।

पछिल्लो समय गीत/संगीतमा विकृति भित्रिएर मौलिकता हराए झैँ देखिन्छ। ठेट र झर्रा भाषा लोकगीतमा आउनसकेका छैनन्। “कतिपय हिजो हामीले गाएका गीतको शब्द आजका पुस्तालाई थाहा छैन। हामी भाषामा धनी छौँ,” उनी भन्छिन्, “लोकगीत भन्ने बित्तिकै त्यहाँको भाषा, परिवेश, पहिरन सबै आउनुपर्थ्यो। तर, अहिले हामीले लोकगीतलाई आधुनिकीकरण गर्दै आइरहेका छौँ। चाडपर्वका गीत पनि फिल्मी हुँदैछन्।”

कुन पर्वमा कुन गीत गाउने? कुन पर्वको गीत कुन अवधिबाट शुरु भएर सकिन्छ भन्ने अहिलेको पुस्तालाई जानकारी दिनै नसकिएको उनी बताउँछिन्।सञ्चारमाध्यम पनि सजग नहुँदा यस्तो विकृत भित्रिएको उनलाई लागेको छ। “असारमा असारका गीत बज्दैनन्। साउनमा कोदो रोप्ने गीत बज्दैनन्। पर्वका गीत पनि हामी कहाँ विकृत भइसकेका छन्,” उनी भन्छिन्, “मौलिक भाका हराइरहेका छन्। रातो लगाएपछि तीज हुन्छ भन्ने भ्रम आइरहेको छ। यसलाई चिर्नुपर्छ।”

लोकगीत क्षेत्रबाट प्रसिद्धि कमाएकी हरिदेवी कोइराला व्यावसायिक रुपमा भन्दा पनि शौखले गीत संगीत क्षेत्रमा लागेकी थिइन्। उनी भन्छिन्,“तर, पनि जति उपलब्धि पाएँ, निकै खुसी छु।”


सम्बन्धित सामग्री