Friday, April 26, 2024

-->

पुस्तक चिन्तन
मायावी तानाशाहहरूको बदलिँदो अनुहार

आजका विश्वमा स्टालीनजस्ता तानाशाह वा इदि अमीनजस्ता मानव संहारक छैनन्। बरू उल्टो मायावी नेताहरू तानाशाहका रूपमा उदित छन्। उनीहरूको प्रमुख माध्यम सूचनाको हेराफेरी र देखावटी लोकतन्त्र हो।

मायावी तानाशाहहरूको बदलिँदो अनुहार

पुस्तक : स्पीन डिक्टेटर्स: द चेन्जिङ फेस अफ टिरानी इन द ट्वेन्टीफर्स्ट सेन्चुरी

सर्गेई गुरिएभ तथा ड्यानियल ट्राइसमन

प्रिन्सटन् युनिभर्सिटी प्रेस २०२२

विश्व इतिहासमा तानाशाहरूको स्वरूप परिवर्तन भइरहेको छ। पहिलाका तानाशाह जनतालाई तर्साएर, हिंसाको प्रयोग गरेर उनीहरूको सार्वजनिक र व्यक्तिगत जीवनभित्र घुस्थे र सम्पूर्ण समाजलाई नियन्त्रण गर्थे। हिटलर, स्टालिन र माओजस्ता तानाशाहहरूको पुरानो जमाना थियो त्यो। उनीहरूको अधिनायकवादको मुख्य माध्यम थियो, दल र सुरक्षा संयन्त्रको हिंसा।

२०औँ शताब्दीको अन्त्यतिर भने केही परिवर्तन देखिन थाले। समाजको आधुनिकीकरण र विश्वव्यापीकरण तीव्र हुन थाल्यो। जनता शिक्षित हुन थाले। त्यस्ता परिवर्तनसँगै जनता र समाजलाई नियन्त्रण गर्ने तानाशाहहरूको शैलीमा पनि परिवर्तन देखा पर्न थाल्यो।

संसारभर लोकतन्त्रको स्खलन र तानाशाहहरूको उदय
तानाशाहहरूको उदयले विश्वमा भइरहेको लोकतन्त्रको उद्भव र विस्तारलाई असर पार्न थालेको छ। सन् १९७४ देखि शुरू भएको लोकतन्त्रको विस्तारलाई तेस्रो लहरका रूपमा चिनिन्छ। यसको उत्कर्ष सन् २०१० लाई मानिन्छ। सो वर्ष लोकतन्त्र भएका मुलुकहरूको संख्या ९८ पुग्यो, जबकि ८० वटा मुलुकहरू अझै तानाशाहहरूकै पकडमा थिए। सन् २०१० मा विश्व इतिहासमा पहिलो पल्ट लोकतन्त्र भएका मुलुकहरूको संख्या अधिनायकवाद भएका देशभन्दा बढी हुन पुग्यो। 

तर सन् २०१० पछि भने बिस्तारै तानाशाहहरू फर्कन थालेका छन्। सन् २०१०-११ पछि बिस्तारै विश्वव्यापी रूपमै लोकतन्त्रको स्खलन हुन थालेको छ। भी-डेमको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२१ सम्म आइपुग्दा उदार लोकतन्त्र र निर्वाचित लोकतन्त्र भएका देशहरूको संख्या ८९ (३४ र ५५) मा झरिसकेको छ, जबकि अधिनायकवाद भएका राष्ट्रहरूको संख्या भने बढेर ९० पुगेको छ। 

यसको अर्थ हो, विश्वमा अहिले ७० प्रतिशत (५ अर्ब ४० करोड) जनसंख्या अधिनायकवादी मुलुकमा बस्छन्, जबकि सन् २०११ मा यो संख्या जम्मा ४९ प्रतिशत थियो। यसको अर्थ हो, गत १० वर्षमा विश्वमा अधिनायकवाद बढ्दै गइरहेको छ र विश्वको लोकतन्त्र सन् १९८९ को अवस्थामा फर्केको छ।

विश्वस्तरमा लोकतन्त्र र अधिनायकवादको उतारचढाव एउटा पहेली बनेको छ। आजको युगमा पनि किन यति धेरै तानाशाहहरू अस्तित्वमा छन्? र, विश्वमै लोकतन्त्र उल्टो दिशामा बग्न थालेको सन्दर्भमा हाम्रा लागि अर्को पहेली छ। के नेपालमा पनि लोकतन्त्र उल्टोतिर बगेर तानाशाही पद्धतिको पुनर्जन्म हुनसक्छ? यदि अधिनायकवाद फर्क्यो भने त्यो पद्धतिका तानाशाह कस्ता होलान्?

आधुनिक समाजमा समेत अधिनायकवाद लाद्न नयाँ युगका तानाशाहहरू नयाँ शैली अपनाउने गर्छन्। यस पुस्तकका लेखकहरू गुरिएभ तथा ट्राइसमन भन्छन्: “यसको मुख्य साँचो छलकपट हो; आजका धेरैजसो तानाशाह आफ्नो असली चेहरा लुकाउँछन्। त्यसकारण, पहिलो कदम उनीहरू कसरी काम गर्छन् भनेर बुझ्नु हो।”

मायावी तानाशाहहरूको उदय
आजका विश्वमा स्टालिनजस्ता तानाशाह वा इदी अमिनजस्ता मानव संहारक छैनन्। बरु, आजको विश्वमा मायावी नेताहरू तानाशाहका रूपमा उदित छन्। उनीहरूलाई अब हिंसा आवश्यक छैन वा भनौँ उपयोगी छैन। अहिले उनीहरू मायावी जाल प्रयोग गरेर जनतालाई नियन्त्रण गर्न सक्छन्। सूचनाको हेराफेरी र देखावटी लोकतन्त्र उनीहरूको प्रमुख उपाय हो। उनीहरू यस्तो मायावी जाल फिँजाउँछन् कि त्यसमा साधारण जनता सजिलै फस्छन्।

तर मायावी तानाशाहहरूको अर्को पाटो छ। उनीहरू आफूलाई लोकतान्त्रिक देखाउँछन् र जनताको समर्थन लिएर नै राजनीतिक शक्ति हात पार्न सफल हुन्छन्। यो अलग्गै कुरा हो कि उनीहरू लोकतान्त्रिक माध्यमबाट उदित हुन्छन्, तर लोकतन्त्रलाई नै बिस्तारै खान थाल्छन्।

नेपालका लागि यो विश्व परिवेश निकै सान्दर्भिक छ। अहिलेको सन्दर्भमा नेपालको राजनीति र विकासलाई दिशानिर्देश गर्ने सबैभन्दा महत्त्वपूर्ण कारकहरू जनताको मनोभावना र मनोविज्ञान हो। मतदाताहरूको मनोविज्ञानअनुसार नै नेता र राजनीतिक दलहरूको उत्थान र पतन हुने गरेको छ।

भ्रष्टाचार, दण्डहीनता, विकृत राजनीतिक संस्कार र आर्थिक विकासको अभावका कारण हाल नेपाली जनमानसमा लोकतन्त्र र प्रशासनप्रति वितृष्ण बढिरहेको छ। हामीहरू यो अवस्थाका लागि लोकतान्त्रिक पद्धतिलाई नै दोष दिइरहेका छौँ। त्यसैले यो विकृत पद्धतिविरुद्ध कसैले विकल्प प्रस्तुत गर्‍यो भने हामी त्यसलाई सहजै स्विकार्ने अवस्थामा पुगेका छौँ। 

एकातिर हाम्रो समाजमा वितृष्णा बढ्दै गइरहेको छ भने अर्कोतिर राजनीतिक ध्रुवीकरण पनि बढ्दो छ।

एकातिर लोकतन्त्र र समावेशिताको राजनीतिक धार छ भने अर्कोतिर राष्ट्रवाद, लोकप्रियतावाद र द्रुत आर्थिक विकासको धार छ। यो पछिल्लो धारमा वामपन्थी विचारधारा पनि जोडिन पुगेको छ। एकातिर चीनसँग नजिकको धार छ भने अर्कोतिर पश्चिमेली उदार लोकतन्त्रसँग नजिकको धार छ।

त्यसैले विश्वमा हाल भइरहेको राजनीतिक रुझानका आधारमा अनुमान गर्ने हो भने नेपालमा पनि उदारवाद, समावेशिता र लोकतन्त्रको धार कमजोर हुँदै जानेछ। त्यसको ठाउँमा राष्ट्रवाद, लोकप्रियतावाद र आर्थिक विकासको एजेन्डाले ठाउँ लिनेछ। यसको अर्थ हो, हामी जुन दिशामा जाँदैछौँ, त्यस दिशामा जाने समाजले मायावी तानाशाहहरूलाई सजिलै जन्म दिन सक्नेछ।

उदाहरणका लागि नेपाली राजनीतिका अहिलेका लोकप्रिय र चर्चित पात्र रवि लामिछाने र केपी ओली हुन्। दुवै पात्रहरू जनतालाई मनपर्ने कुरा गर्न सिपालु छन्। उनीहरू लोकतन्त्र, राष्ट्रवाद र विकासको कुरा गर्छन् र जनतालाई आफ्नो मायावी जालमा फसाउन सक्छन्।

यदि, ओली र लामिछानेजस्ता नेताहरू लोकप्रियतावादको आडमा भोलि तानाशाह बन्ने कामना गर्न थाले भने के होला? त्यतिखेर नेपालको राजनीति कस्तो होला? अथवा भनौँ भोलिका दिनमा रवि लामिछाने वा केपी ओलीलाई पनि मात दिने डोनाल्ड ट्रम्पजस्तो पपुलिस्ट नेताको जन्म भयो भने के होला?

संसारभरि नै नयाँ युगका मायावी तानाशाहहरूको हल्का राष्ट्रवादी र हल्का समाजवादी रंग हुन्छ। यथार्थमा उनीहरूको कुनै आधिकारिक विचारधारा वा आइडियोलोजी हुँदैन। पहिला भयमा आधारित अधिनायकवादमा 'आइडियोलोजी'को व्यावहारिक प्रयोजन हुन्थ्यो। जस्तै: चीनमा साधारण जनतालाई विकेन्द्रित रूपमा दमन गर्न यो प्रयोग भइरहेको हुन्थ्यो।

अहिलेको युगमा तानाशाहहरू दमनभन्दा पनि छलको माध्यमबाट लोकप्रिय हुने गर्छन्। अर्थात् अहिलेका तानाशाहहरू सेलेब्रिटीजस्ता हुन्छन्। लेखकहरूका अनुसार ४९ प्रतिशत पुराना तानाशाहहरूको आधिकारिक आइडियोलोजी छ, जबकि मायावी तानाशाहहरूमध्ये १५ प्रतिशतको मात्र आधिकारिक आइडियोलोजी छ।

भी-डेम इन्स्टिच्यूटको अध्ययनअनुसार हाल पश्चिमेली राष्ट्रहरूमा बिस्तारै लोकप्रियतावाद बढिरहेको छ भने, पूर्वी गोलार्द्धमा चीनको उदय हुन थालेको छ। सन् २०११ मा विषाक्त ध्रुवीकरण पाँच देशमा थियो भने अहिले ३२ देशमा छ। त्यसैगरी, सन् २०११ मा पाँच देशमा अभिव्यक्ति स्वतन्त्रता गम्भीर संकटमा थियो भने अहिले त्यो स्वतन्त्रता संकट ३५ देशमा छ।

अध्ययनका अनुसार अधिनायकवादको उदयको सबैभन्दा पहिलो तारो नागरिक समाज बन्ने गरेको छ भने दोस्रो तारो सञ्चारजगत्, जहाँ सेन्सरसिप बढेको छ। त्यसैगरी, सहिष्णुताको स्खलन र गलत सूचनाको प्रवाह विश्वभरि नै गम्भीर संकटका रूपमा देखापरेका छन्।

लेखकहरूका अनुसार पनि मायावी तानाशाहहरू सञ्चारमाध्यमलाई नियन्त्रणमा राख्न चाहन्छन्, किनभने आजको युगमा सञ्चारमाध्यमलाई नियन्त्रण गरेर मात्र लोकप्रियता कमाउन सकिन्छ र लोकप्रियताको माध्यमबाट मात्र राजनीतिलाई नियन्त्रण गर्न सकिन्छ। 

त्यसैले एकपल्ट गुरिएभ तथा ट्राइसमनको पुस्तकलाई थप गहिरिएर मनन गर्नु सान्दर्भिक र उपयोगी देखिन्छ।

मायावी तानाशाहहरूको आधार के हो?
तानाशाहको परिकल्पना नौलो होइन। अरस्तुले धेरै अघि, ग्रीसमा, उदार तानाशाहको परिकल्पना गरेको थिए, 'ऊ आफैँमा राजा पनि हो र सबैको पालक पनि हो। उसले सबैको हितका लागि शासन गर्छ।' पछि मकियाभेलीले पनि तानाशाहहरूलाई नक्कल गर्न र छल गर्न सुझाएका थिए। उनको अर्थ थियो, 'जे गरेर भए पनि जनतालाई आफ्नो पक्षमा राख्नुपर्छ।'

यसकारण कुनै पनि तानाशाह सबैभन्दा पहिला लोकप्रिय हुनुपर्छ। जनतामाझ लोकप्रियताको तथ्यांक के छ, उनीहरूले सधैँ मनन गर्नुपर्छ। लोकप्रियताका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष अर्थतन्त्रको अवस्था हो। त्यसकारण प्रायजसो तानाशाहहरू विकास र अर्थतन्त्रलाई जोड दिने गर्दछन्। जे–जे राम्रो भएको छ, त्यसको श्रेय आफैँ लिन्छन् र आफूलाई क्षमतावान् देखाउने प्रयास गर्छन्। जे बिग्रेको छ, त्यसको दोष अरूलाई दिन्छन्।

जब सत्य र तथ्य उनीहरूको विपक्षमा हुन्छ, तानाशाहहरू त्यसलाई बङ्ग्याउने र तोडमरोड गर्ने काम गर्छन् वा सेन्सरसिपसम्म गर्ने गर्दछन्। उनीहरू केही विपक्षी राजनीतिक दल वा सञ्चारमाध्यमलाई खुला छोड्छन्, तर साँच्चिकै जनमानसमा प्रभाव पार्ने पात्रहरूलाई भने कमजोर बनाउँछन्।

तानाशाहहरूको दोस्रो नियम लोकप्रियताको आधारमा सत्ता कब्जा गर्नु हो। त्यसका लागि उनीहरू आफ्नो मायावी कलाको प्रयोग गर्ने गर्छन्। मायावी तानाशाहहरूको तेस्रो नियम हो, उनीहरू लोकतान्त्रिक देखिनुपर्छ। चौथो, उनीहरू बाहिरको विश्वसँग खुला सम्बन्ध राख्दछन् र त्यसलाई समेत प्रभावित गर्ने प्रयास गर्छन्। र, अन्तिम नियम भनेको सकेसम्म हिंसाको प्रयोग नगर्नु हो र यदि हिंसाको प्रयोग भयो भने पनि त्यसलाई छद्म भेषमा लुकाउनु हो।

उनीहरू प्रत्यक्ष रूपमा कसैमाथि हिंसा प्रयोग गर्दैनन्, बरु फरक आवरणमा उनीहरूमाथि आक्रमण गर्छन्। उदाहरणका लागि हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बीबीसीमाथि कर छलेको आरोप लगाएर उसका कार्यालयहरूमा तीन दिनसम्म छापा मार्न लगाए। 

रोचक के छ भने, गत वर्ष छापिएको यस पुस्तकमा यसका लेखकहरूले भनेका थिए, “आलोचकहरूलाई तिनको लेखका लागि समात्नुको सट्टा उनीहरू (तानाशाहहरू) कर छली गरेको वा ठगी गरेको वा–अझ राम्रो–उनीहरूको समर्थकहरू छुटाउने सम्भावना भएको लज्जाजनक काम गरेको भन्दै झुटा अभियोग लगाउँछन्।”

विभिन्न अध्ययनका अनुसार नागरिकहरूको मनोविज्ञानले पनि मायावी तानाशाहहरूलाई सघाइरहेको हुन्छ। उदाहरणका लागि “आफूलाई असुरक्षित गर्ने मानिसहरू आफ्नो नेताका पछाडि एकत्रित हुन्छन्। मृत्युबारे सम्झाउँदा उनीहरू प्रभावशाली आइडियोलोजीप्रति आकर्षित हुन्छन्, अपराधीहरूलाई झन् कडा सजाय दिन चाहन्छन् र बाहिरियाहरूप्रति थप असहिष्णु हुन्छन्। तानाशाहहरू जनताका यस्ता रुझानको दुरूपयोग गर्छन्। उनीहरू कृत्रिम रूपमा असुरक्षा झनै बढाउँछन् र आफूलाई सुरक्षाको एक मात्र स्रोतका रूपमा प्रस्तुत गर्छन्।”

माओवादी द्वन्द्वकालमा प्रचण्डले यही मनोविज्ञानको उपयोग गरेको थिए। जर्मनीमा गोयबल्सको रणनीति नै तनावयुक्त अनिष्टताको वातावरण सिर्जना गर्नु रहेको थियो। उनी यसलाई डिक लफ्ट (बाक्लो हावा)  भनेर सम्बोधन गर्दथे।

भविष्यको बाटो
नेपालमा अहिले सबैजना नागरिक अभियानप्रति वा उदारवाद र समावेशिताको कुरा गर्ने बुद्धिजीवीहरूप्रति खनिएको देख्न सकिन्छ। यस्तो किन हुन्छ त? यसको उत्तर पनि मायावी तानाशाहको शैलीबाट बुझ्न सकिन्छ।

तानाशाहको सबैभन्दा ठूलो शत्रु पढेलेखेका, सञ्चारमाध्यम बुझेका र विश्वजगतसँग जोडिएका व्यक्तिहरू हुन्। तानाशाहको लोकप्रियतामा भ्वाङ पार्न र जनमतलाई तानाशाहका विपक्षमा परिचालन गर्न उनीहरू सक्षम हुन्छन्। यस्ता नागरिक अभियन्ताहरू सधैँ तानाशाही सोच भएका नेताहरूको आँखाको कसिंगर हुन्छन्।

नेपालको सन्दर्भमा कुनै पनि नेताहरू लोकतान्त्रिक अभ्यासमा खासै रूचि राख्दैनन्। उनीहरू सबैजना आफ्नो आफ्नो दलका तानाशाहहरू हुन् र मौका पाएको खण्डमा देशलाई नै आफ्नो पार्टीझैँ नियन्त्रणमा राख्न उद्यत् हुन्छन्। यो विषय हाम्रो लागि महत्त्वपूर्ण छ, तर यसका लागि गर्ने के?

संसारभरि अहिले चलिरहेको लहर हेर्दा कुनै मुलुक किन लोकतान्त्रिक बनेनभन्दा पनि किन कुनै मुलुक अधिनायकवादी बनेन भन्ने प्रश्न रोचक हुन्छ। लेखकहरूको विचारमा यसको एउटा मात्र उत्तर छ, त्यो हो सुसूचित मानिसहरूको सक्रिय प्रतिरोध। 'यस्ता मानिसहरूको सक्रियताबिना राम्रो लेखिएको संविधानले पनि खासै मद्दत गर्न सक्दैन। सुसूचित नागरिकहरूको बलियो प्रतिरोधले नै स्वतन्त्र सरकारका संस्थाहरूको सुरक्षा गर्छ र तिनीहरूलाई काम गराउँछ।'


सम्बन्धित सामग्री