Sunday, April 28, 2024

-->

यसपालिका दुई गोप्य निर्देशन

बालुवाटारमा ‘रअ’ प्रमुख गोयललाई ‘गुपचुप’ भेटेझैँ यसपालि द्वारिकाज् पुगेर 'पालोक्रम'मा ओलीले जयशंकर भेटे। दोस्रो किस्तामा ओली–जयशंकरको गुपचुप १५ मिनेट भेट पनि भयो। सो भेटबारे कसैलाई अत्तोपत्तो छैन।

यसपालिका दुई गोप्य निर्देशन 

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७७ कात्तिक ५ बालुवाटारमा मध्यरातमा भेट गरेको सूचना जति बल गरे पनि लुक्न सकेन। चर्को संशय र सरोकार बढ्दै गएपछि सो शिष्टाचार भेटबारे भोलिपल्ट प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोटमार्फत सूचना सार्वजनिक गरे। अघिल्लो बुधबार दिउँसो भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौँ उत्रिएका गोयलको त्यो संशयपूर्ण यात्रा र ‘शिष्टाचार’ बरु केही दिनमा सेलायो। तर त्यसअघि र पछिको राष्ट्रवादी चेत तथा भू–राजनीतिक डंका भने अनौठो देखियो— देखाउने दाँत र चपाउने दाँत। 

यसको पृष्ठभूमिमा स्मरण गर्नैपर्छ, २०७७ जेठ ३१। नेपालको प्रतिनिधिसभामा सर्वसम्मत बैठकले लिम्पियाधुरासहितको भूभाग समेटिएको नयाँ राजनीतिक र भौगोलिक नक्साको निसाना छाप पारित गरेको दिन थियो त्यो। त्यस दिनसम्म पढिएको र बुझिएको नेपालको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किलोमिटर पनि स्वभावतः संशोधनमा पर्‍यो नै। विडम्बना! अबको नयाँ क्षेत्रफल के कति हो भनेर भूभाग संशोधित भएको तिथिमिति साढे तीन वर्ष पुरानो भइसक्दा पनि अझै पत्तो छैन, यो बेग्लै कुरा हो।

कतिसम्म भने अब त ‘चुच्चे नक्सा’को नयाँ भूगोल नेपालका राष्ट्रपति र प्रधानमन्त्री कार्यालयका कार्यकक्षहरूमा पनि मुस्किलले पहिल्याउन सकिने स्थानमा भेटिन्छ। अथवा, चुच्चे नक्सा कुनै पनि तस्वीरको फ्रेममा नआउने–नअटाउने गरीको प्रपञ्च कार्यान्वयनमा आइसकेको छ, यसबारेको ‘निर्देशन’ बिस्तारै बिस्तारमा थाहा हुँदै जाला।

अघि भनियो–देखाउने दाँत र चपाउने दाँतको रमिता। राजनीतिक र भौगोलिक आकारै बदलिने गरी नक्सा आउनुअघि र पछि अनेक प्रकरण चलिरहे। भगवान् रामको जन्म वीरगन्ज पश्चिमको ठोरीमा भएको बयान आयो। चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरियो। वाल्मीकि ऋषि यतैकतैका हुन् भनेर महापुराणै चल्यो। ‘सत्य मेव जयते कि सिंह जयते’ भन्ने 'ओलीवाणी'मा चर्को ताली र गालीको शृङ्खला पनि जारी रह्यो। यी र यस्ता कति अनुमानित, कति सम्भावित र कति हावादारी तथ्यतथ्यांक जोडजाडमा पनि जोडतोडले भजन–कीर्तन चलिरह्यो। चर्को राष्ट्रवादको भुलभुलैया यतिसम्म चल्यो कि विवाद–विग्रहको वर्षौं पुरानो भूगोल सुस्ता–कालापानीभन्दा धेरै अगाडि हाम्रो देश पुगिसकेको भान सबैमा पर्‍यो, अझै परिरहेकै छ। 

आपसी सम्बन्ध, विवेक र मर्यादा तातिरहेका बेला एकाएक रअ प्रमुख सामन्तकुमार बालुवाटार आइपुगेका थिए। अघि भनियो, अनि देखाउने दाँतको काम बल्ल देखियो। सामन्तकुमार आएर गएको अर्को साताबाटै नेपालको नयाँ राजनीतिक–भौगोलिक नक्सांकनको चुच्चे नक्साबारेको विद्यालय पाठ्यक्रम खोतल्ने काम शुरू भयो। पाठ्यक्रम विकास केन्द्रले छापेका थोरतिनो पुस्तकमा चुच्चे नक्सा भेटियो, धेरैजसोमा छोपियो। हाम्रो भूगोल, आयतन र क्षेत्रफलको ठाउँमा ‘नेपालको नक्सा कसरी बनाउने’ भन्ने खालको गोलमटोल पाठ्यांश राखियो, जुन अझै छँदैछ। गोयल भ्रमणलगत्तै शुरू भएको संसद् विघटनसम्मको ओली प्रपञ्चमा चुच्चे नक्साको आकार प्रकार क्रमशः धुमिल बन्दै गयो, स्वाभाविक रूपमा। 

यसरी दिन बिते, महिना बिते र वर्षहरू बिते। हाम्रो नयाँ भौगोलिक नक्सालाई ‘चीनले मान्यता दिएन, बेइजिङलाई कूटनीतिक नोट पठाइहाल्नुपर्छ’ भनेर कडिकडाउ मन्तव्यबाजी बेलाबेला चलिरहन्छ। हाम्रो चुच्चे नक्साबारे राष्ट्रसंघमा कुरो उठाउनुपर्छ भन्ने बहस पनि जन्मिएको छ। तर चुच्चे नक्सा आएको तीन वर्ष आठ महिना बित्नै लाग्दा पनि हामीसँग हाम्रो देशको कुल क्षेत्रफलको तथ्यांक छैन। कतिसम्म भने अब त चुच्चे नक्साको आकार प्रकारसमेत मानचित्रबाट गायब भइजाला कि भन्ने स्थिति भइसक्यो। जस्तो कि, मधेश प्रदेशको राजपत्रमा चुच्चे नक्सा नरहेकोबारे सूचना र समाचार आउन थालिसकेका छन्। एकपछि अर्को आवरणमा ज्ञात–अज्ञात स्थलबाट निर्देशनहरू आउनुका असर हुन् ती। 

स्मरण गर्नै पर्ने हुन्छ– यो मानचित्र उभ्याउने र देश दुनियाँलाई चकित पार्ने राष्ट्रनिर्माता नेतागणहरू हाम्रैसामु जीवितै हुनुहुन्छ। जनसाधारणले चाहेको विषयको बहस र रोजेको कामको प्राथमिकता के–कता–कहाँ हुनुपर्ने हो, त्यसको पत्तो पाउनै नसक्ने हाम्रा विधाताहरू! देशको राजनीतिक र भौगोलिक नक्सांकन बदल्न सक्ने नेता केपी ओलीले अस्ति भर्खरै भन्नुभयो, "गुप्तचर प्रमुखलाई मैले बालुवाटारमा भेटेँ, प्रखण्डजीले दिल्ली गएर गोप्य मन्त्रणा गरे। कुनलाई सार्वजनिक भन्ने, कुन गोप्य?"

मर्यादा र शिष्टाचार, आचार र संहिताबारेमा बातचित नगरे पनि हुने देखियो अब। बरु यस्तो स्पर्धा शुरू भएको छ यहाँ, "मैले त नाली लुकेर सुँघेको मात्रै हो, त्यसले त हाकाहाकी चाख्यो नै। लौ भन, कुन पुण्य हो कुन पाप?"

यसरी अन्ततः हामी ग्लोबमा मात्रै देखिने एउटा राष्ट्रका नागरिक बनेका छौँ, जसको क्षेत्रफल कहीँ कतै स्पष्ट छैन। 

०००

अब यही ग्लोबमा उभिएको राष्ट्रको नक्सा र निर्देशनतिर लागौँ, एकदमै ताजा हालचाल। भारतीय विदेशमन्त्री जयशंकरले अघिल्लो साता गरेको नेपाल भ्रमणअगाडि मिडियामा केही ज्योतिषवाणी शैलीका समाचारहरू छाइरहे। जस्तो कि; विदेशमन्त्रीसँगको संयन्त्र बैठकमा इपीजी रिपोर्ट र चुच्चे नक्साको विषय प्रवेश नगराइने। स्रोत वा प्रमाण नचाहिने हेडलाइनहरू। अर्को सब–हेड पनि त्यस्तै थियो— ‘काठमाडौँमा चीनका कारण भारत रिसायो।’ 

‘होना हि था’ टाइपका ‘रिक्त स्थानं पुरयत’ समाचार। त्यसो होइन। आउँदै नआएको र ल्याउन नचाहेको (नपाएको) निर्देशन भने अर्कै थियो। विदेशमन्त्रीको भ्रमणमा अघिपछि गर्ने (कोर–ग्रुप) मिडियाकर्मीहरू निकै सीमित थिए। भारतीय दूतावासले खटाएका मात्र। विदेशमन्त्रीसँगका एकदमै औपचारिक तहका भेटघाट मात्रै फोटो–भिडियो खिच्ने र अनौपचारिक चियापान, भेटघाटहरू भने रेकर्डमा नराख्नेजस्ता सामान्य शर्तहरू त रहन्छन् नै। कुरो यत्तिकैमा टुंगिँदैन।   

द्वारिकाज् भेटवार्ताको नियमित आकस्मिकताजस्तो योपालिको संयोगलाई एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले गजबको व्याख्यान सुनाउँदै मिडियासामु भनिसकेका छन्– “जयशंकर बसेको म्यारियटमा हो। उनीहरूले भेटघाटका लागि द्वारिकाज् होटलमा भेन्यु तयार गरे। बाहिर सहज हुन्छ भनेर 'न्युट्रल भेन्यू' तयार गरेको होला। विगतमा पनि त्यस्तो भेटघाट गर्ने गरिएको रहेछ। अरू पूर्वप्रधानमन्त्रीहरूले पहिले गएर भेटघाट गरिरहेको हिसाबले मचाहिँ जान्नँ भन्ने कुरा आएन। बसेकै ठाउँमा जानेचाहिँ अभ्यास छैन। तर, अर्को ठाउँमा भेट्नेचाहिँ अभ्यासमा छ।”

०००

अब अन्तिममा भनिहालौँ, यसपाला नसोचिएका थप दुई निर्देश पनि थिए। र, ती प्रायोजित र आशययुक्त थिए: 

१) राष्ट्रपति, प्रधानमन्त्री वा अरू विशिष्ट तहका भेटघाटमा कहीँकतै पनि नेपालको चुच्चे नक्सा देखिने तस्वीर (पृष्ठभूमि) क्यामेरा फ्रेममा आउन नमिल्ने।

२) पूर्वप्रधानमन्त्री ओलीसँगको द्वारिकाज् होटलको एकल भेटवार्ताको तस्वीर नलिने र यसबारेको सूचना बाहिर नल्याउने। जसअन्तर्गत पहिलो चरणको भेटवार्तामा रहेका भारतीय राजदूत नवीन श्रीवास्तव र एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईलाई पनि बाहिर निकालेर ओली–जयशंकर १५ मिनेट गोप्य मन्त्रणा भएको थियो।

र, यो घडी मिल्छ भने प्रश्न गरौँ– एउटा आमन्त्रित विदेशमन्त्रीभन्दा तलको ओहोदामा ओर्लिएर लामबद्ध हुँदै भेटघाटमा जाने हाम्रा पूर्वप्रधानमन्त्रीहरूलाई–के तपाईंहरूले बुझेको मानचित्र, भूगोल र राष्ट्रवाद भनेको यही हो? 

र, योबेला चिवाभन्ज्याङको चिसोमा मुठ्ठी उज्याउँदै चुच्चे नक्साको हुँकार फुक्ने एमाले कमरेडहरूलाई पनि सोधिहेरौँ– “विगतको यस्तै बालुवाटार गोप्य–मन्त्रणापछि संसद् विघटन गरिएको नजिर छँदैछ। यसपाला  द्वारिकाज्‌मा ‘वन–अन–वन’पछि के हुँदैछ? कि राजा आऊ देश बचाउ?”

अन्ततः आमआदमीको हुलिया–हविगत भने उस्तै छ। रिस, आवेग र निराशाको घडा जति नै भरिए पनि रमिते बन्ने र बनिरहने। विद्रोह गर्‍यो वा चर्को बोली निकाल्यो भने जयशंकर साह (सर्लाही), सुजन राउत (दैलेख) र वीरेन्द्र शाह (अछाम)को हालत हुन सक्छ। छातीमा गोली दाग्ने, शहीद भनिदिने र यसरी ज्यान दिएबापत १० लाख रुपैयाँ क्षतिपूर्ति दिने हाम्रो सरकारको निगाह हामी जो कोहीमाथि पनि पर्न सक्छ। 

त्यही भएर दौरा–सुरुवाल लगाएर र नागरिकता हातमा बोकेरै जहाँ छौँ, त्यहीँ चुपचाप बसौँ, कवि मीनबहादुर विष्टले भनेझैँ-   

तिनीहरूले–

हाम्रा देख्ने आँखाहरू खोसे

सुन्ने कानहरू खोसे

सोच्ने मस्तिष्कहरू खोसे

त्यसको बदला

एउटा टोपी

एउटा दौरा

र, एउटा सुरुवाल दिँदै भने:

अब तिमीहरू नेपाली नागरिक हौ।

@registandiary


सम्बन्धित सामग्री