Saturday, April 27, 2024

-->

झुपडीअगाडि अम्बानी परिवारको ‘नकच्चरो’ नाच

भारतका विपन्न १२ सय गाउँमा १०-१० करोड भारु पुग्दा त्यसबाट के–के बन्न सक्थे? कति बिरामीको उपचार हुन सक्थ्यो? कति भोका बालकको भोक मेटिन्थ्यो?

झुपडीअगाडि अम्बानी परिवारको ‘नकच्चरो’ नाच

केही दिनपहिले भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानी र भारतीय व्यापारी वीरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टबीचको तीनदिने ‘प्रि-वेडिङ’ (बि‍हेपूर्वको भोज–गाना–बजाना) गुजरातको जामनगरमा सम्पन्न भयो। फेसबुकका मालिक मार्क जुकरबर्गका दम्पती, माइक्रोसफ्टका संस्थापक मालिक बिल गेट्सको जोडी, अमेरिकी व्यापारी/पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का, उनका श्रीमान‍्लगायत विश्वभरका प्रभावशाली व्यापारी तथा भारतकै नाम चलेका सेलिब्रिटी समारोहका निम्तालु थिए। सो तमासामा विश्वचर्चित गायिका रिहानाले गीत गाइन्। उनले दुईघण्टे आफ्नो ‘शो’का निम्ति झन्डै ७४ करोड भारतीय रुपैयाँबराबर ज्याला लिएको बताइन्छ। १२ सयजति निम्तालु डाकिएको सो पार्टीको कुल खर्च भारु १२ अर्बभन्दा बढी भएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पार्टीमा अनन्त अम्बानीले लगाएको भारु १८ करोड पर्ने बताइएको घडी मार्क जुकरबर्ग र प्रिस्किला चानले आँखा च्यातिच्याती हेरे। त्यसलाई लिएर ‘हेर हाम्रो भारतीय इज्जत क्या चुलिएको!’ भन्दै सामाजिक सञ्जालमा चर्चा गरे ‘प्रतिष्ठा’ लुब्ध कतिपय भारतीयले। अनन्तकी आमा निताले लगाएको बहुमूल्य ‘ढुंगेजन्तर’ र राधिकाले बोकेको दुई करोड मूल्य बताइएको ब्याग पनि चर्चाको विषय बन्यो। पार्टीमा सहभागी बिल गेट्स र जुकरबर्गको जोडीको भारतीय पोसाकमा सजिएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै निताले लेखिन्, ‘भारत गरिब देश होइन। यो तस्वीर आफ्नो स्टोरीमा शेयर गर।’ 

बलिउडका नाम चलेका कलाकार स्टेजमा नाच्दै गरेको तस्वीर पोस्ट गर्दै उनले तुजुक देखाइन्, ‘हेर त अम्बानीले मात्रै यसो गर्न सक्छ। सिंगो बलिउड स्टेजमा नाच्दै छ। पैसासँग कत्रो शक्ति छ। यस्तो क्रेज!’ तीनदिने सो धनीमानी–उत्सवमा धन दौलत, गहना, पोसाक झिलिमिलीको अहंकारपूर्ण प्रदर्शन भयो, महँगा भोजन–मदिरा बाँडिए, आतसबाजी भए। हिन्दुस्तान टाइम्सका अनुसार आगन्तुकलाई २५ सयभन्दा बढी ‘विशेष परिकार’बाट खातिरदारी गरिइयो। पार्टीमा कुनै पनि परिकार नदोहोरिएको बताइयो। अनन्त र राधिकाको बिहे भने आउँदो जुलाईमा हुनै बाँकी छ। मूल बिहेमा कति खर्च होला, के पत्तो? 

अम्बानीले ६ वर्षअघि आफ्नो छोरीको बिहेमा पनि यसैगरी खर्च गरेका थिए। भारतको उदयपुर, इटालीको कोमो ताल र मुम्बईको आफ्नै घरमा गरेर गरिएको भोज/पार्टीमा झन्डै सात अर्ब भारु खर्चिइएको बताइएको थियो।

सन् २०१६ मा भारतकै अर्का व्यापारी जी जनार्दन रेड्डीले आफ्नो छोरीको बिहे ६ अर्ब खर्च गराएर गरेका थिए, जसमा सुनको जलपसहितका एलसीडी मनिटर फिट गरिएको कार्ड निमन्त्रणाका लागि प्रयोग गरिएका थिए। अर्बपतिहरू यस्ता तमासा गरिरहन्छन्, मिडिया यस्ता बिहेको बखान गर्दै स्टोरी लेखिरहन्छन्।

रामनगरस्थित धनीमानीको यो धमाकेदार रवाफस्थल छाडेर दुई पाइला मात्रै पर निस्कने हो भने भेटिनेछ, संसारकै गरिबमध्ये पर्ने मान्छेहरू बस्ने झुपडपट्टि। सडकमा माग्नेहरू भेटिनेछन्, जो मागेरै जीवनभर गुजारा चलाउँछन्। ग्लोबल हंगर इन्डेक्स (विश्व भोकसूची) का १२५ देशमध्ये भारत १११औँ स्थानमा पर्छ। भन्नुको अर्थ भारतमा भोकको विषय अझै गम्भीर छ। जबकि फोर्ब्सको अर्बपति सूची २०२४ मा अहिलेसम्मकै धेरै अर्थात् १८६ भारतीय समेटिएका छन्। अम्बानी एशियाकै धनी र विश्वका १०औँ धनीमा गनिन्छन्।

भारतलाई तीव्र गतिमा बढेको अर्थतन्त्रका रूपमा लिइन्छ। स्मरणीय छ, खानै पाउँदा पनि पर्याप्त पोषण नपाउनेहरू भारतमा करोडौँ छन्। ‘फिडिङ इन्डिया’मा आदित्य सिंहले उल्लेख गरेअनुसार भारतमा बाल कुपोषणदर विश्वकै खराबमध्येमा पर्छ। विश्वभरका कुपोषित बच्चामध्ये एक तिहाइ भारतीय छन्।   

संसारभर अनेकौँ मुद्दामा काम गर्ने अक्सफामका अनुसार भारतमा अर्बपतिको कमाई बढ्दै गर्दा ‘भारतीय गरिब बाँच्नकै लागि आधारभूत सामग्री किन्नसमेत असमर्थ छन्।’ मान्छेका अति उपभोग र अन्य मानवीय कारण पृथ्वीकै भविष्यमाथि खतरा आइपरेको वैज्ञानिकहरूले बताउँदै छन्। जलवायु परिवर्तनका कारण विश्व ‘जल्दै गर्दा’ धनीहरू स्रोतको दोहन यसरी गरिरहेका छन्, मानौँ भोलिको सूर्य उदाउने छैन। अनुमानित झन्डै पाँच लाख माग्ने सडकमा हात फिँजाएर ‘अल्लाहके नाम देदे’, ‘भगवान्के नाम देदे’ भन्दै चिच्याइरहँदा यी ‘प्रिभिलेज्ड’ फोसामा पैसा उडाइरहेका हुन्छन्।

नेपालमै पनि फुर्मासी गर्ने धनपतिहरूको संख्या बढ्दो छ। फुर्मासी/धाक/रवाफ र अहंकारको थप प्रवर्द्धन सामाजिक सञ्जालमा हुने गर्छन्। नेपालमा आफूलाई कम्युनिस्ट पार्टीभित्रका पनि खास–खास आदर्शवादीहरूले विसं. २००७ यता जनवादी विवाह या प्रगतिशील विवाह गरेर विवाहका नाममा हुने तडकभडकपूर्ण र कर्मकाण्डी विवाहका विरुद्ध उदाहरण पेश गरे। यस्तो विवाह माओवादी जनयुद्धताका अझै बढ्यो, तर युद्धसँगै आदर्शको विसर्जन हुन थालेपछि अहिले यस्तो बिहे बिरलै हुन्छ। बरु पूर्वकमरेडहरूले अचेल आफ्ना सन्तानका बिहे पनि महँगा होटल र रिसोर्टमा गराउन थालेका छन्।

संसारभर केही मानिसको सम्पत्ति द्रुततर बढ्दै जाँदा विपन्नहरू झनै विपन्न हुँदै छन्। धेरैजसो मान्छेको सम्पत्ति र कमाई खुम्चँदै छ। सामान्यभन्दा सामान्य उपचार गर्न आममान्छेलाई कठिन पर्दै जाँदा अनेकन् जालझेल, कपट, राज्यशक्ति र प्रशासनमा रहेकाहरूसँगको साँठगाँठबाट धनीमानीले प्रशस्त कमाउने मौका पाएका छन्। नेपालका धनपतिहरूको पछिल्ला केही घटना/परिघटनाले त्यसलाई झनै प्रस्ट पार्छ। तिनका लागि कल्पनाको ‘इन्द्रलोक’ झुपडपट्टिकै अगाडि खडा छ। 

‘ट्र्याजेडी’ के छ भने यी तमासेहरूको चमकधमकपूर्ण जीवन आफ्ना मोबाइलका स्क्रिनमा देखेर दंग पर्दै जीवनमा यसै गरी धन उडाउने र महँगा गरगहना र ‘ब्रान्ड’ले जीवन सजाउने सपना धेरैजसो युवापुस्ता देख्ने गर्छन्। संसारमा किन अति थोरै धनी र धेरै जनसंख्या विपन्न हुन्छन् भन्ने समाजको विज्ञान बुझ्ने चासो तिनमा छैन, हुँदैन। मोबाइलका ‘एडिक्टिभ’ खेल, मद्यपान, धूमपान र क्लबमा अल्झेर ती केबल ‘नार्सिसिस्ट’ जीवन जिइरहेका हुन्छन्। बजारका ‘स्क्याम’मा अल्झिएर नयाँ ‘प्रडक्ट लन्च’को प्रतीक्षामा रहन्छन्। आमजनलाई त ज्ञान र शिक्षाको 'प्रिभिलेज' नहुने हुनाले बजार र धनपतिका पासोबारे पनि तिनले कसरी बुझून्?

हामी त्यस्तो संसारमा बाँचिरहेका छौँ, जहाँका युवा मिर्गौला बेचेर भए पनि आइफोन बोक्ने सपना देख्छ। सन् २०११ मा चीनका वान सान कुङ नामक युवकले आफ्नो एउटा मिर्गौला बेचेर आइप्याड र आइफोन किनेको खबर इन्टरनेटमा छाएको थियो। अवैध ढंगले सर्जरी गराएर मिर्गौला बेचेका ती युवाको शल्यक्रिया गरेको घाउमा बिस्तारै संक्रमण फैलेर अर्को मिर्गौलामा असर गरेकाले जीवनभर ओछ्यानमै रहनुपर्ने भन्ने खालका समाचार सन् २०२० आएको थियो। यो हाम्रो युगको ठूलो विडम्बना हो कि नयाँ र जागरुक ठानिएको पुस्ता नै ‘साइन्स इम्पावर्ड'’चमकधमकपूर्ण बजारको पासोमा परिरहेको छ। सामाजिक सञ्जाल र बजारका ट्रेन्डमा ‘क्रिटिकल र क्रियटिभ’ नयाँ पुस्तासमेत लठ्ठिरहेका छन्, आफैँलाई बजार र बजारिया ट्रेन्डले 'बेवकुफ' बनाएको तिनलाई पत्तो छैन। 

बजार हाँक्ने अम्बानी, अदानी, मित्तल र गोयलहरूलाई त कुनै पनि हालतमा पैसा कमाउनु छ। बाँचुन्जेल बेफिक्र खर्च गर्न पैसाको खानी त निर्माण गर्नै पर्‍यो। तर संसारको धनदौलतको मूल स्रोत एउटै भएकाले धनाढ्यका लागि मनलाग्दी खर्च गरिबको खल्ती काटेरै उपलब्ध हुन्छ। यिनै कारणले कतिपय समाजशास्त्री/अर्थशास्त्री धनीमाथि निर्मम करको माग गर्छन्। 

अक्सफाम इन्डियाले पनि अति धनाढ्यमाथि कमाइको आधारमा सम्पत्तिमा कर लगाउन आग्रह गरेको छ, जबकि यी अति धनाढ्यहरू उल्टै सरकारबाट कर्पोरेट कर कटौती, कर छुटलगायत अनेकन् प्रोत्साहन पाउँछन्। भारतीय विपन्नचाहिँ कुल वस्तु एवं सेवा (जीएसटी) करको मार खेपिरहेका छन्। सन् २०२२ को अक्सफामको रिपोर्टअनुसार भारतमा जीएसटीको लगभग ६४ प्रतिशत फेदका ५० प्रतिशत जनताबाट असुलिन्छ, ४ प्रतिशत मात्रै शीर्ष १० प्रतिशत धनीबाट प्राप्त हुन्छ। 

“दुर्भाग्यवश भारत धनीहरूका लागि मात्र बाँच्नयोग्य देश बन्ने द्रुतमार्गमा छ,’ अक्सफाम इन्डियाका सीईओ अमिताभ बेहरले बीबीसीसँगको कुराकानीमा भनेका छन्, “सबैभन्दा धनीहरूको अस्तित्व सुनिश्चित गर्ने प्रणालीमा देशका सीमान्तकृत- दलित, आदिवासी, मुस्लिम, महिला र अनौपचारिक क्षेत्रका कामदारहरू निरन्तर पीडित छन्।” पुँजीवादको क्रूर, अन्यायी, शोषणकारी, अमानवीय र कहालीलाग्दो विषमता भारतमा देखिन्छ। झन्डै अफगानिस्तानको तालिबानी सरकारझैँ प्रश्न  झेल्न नपर्ने हैसियतमा उक्लिरहेको मोदी नेतृत्वको बीजेपीलाई यो सबैसँग मतलब छैन, छ त केबल अकण्टक सत्ताको। 

यो भारतको मात्रै कथा होइन। संसारभर नै गरिब र धनीको दरार बढ्दै छ। बजारिया सामानको उत्पादन, तेल, स्टक, अटोमोबाइल्स तथा बहुमूल्य धातुमा संलग्न धनीहरू उच्चस्तरीय प्रविधिको आगमनसँगै झनै बलिया र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै खेती किसानी र पशुपालनमा समेत लागेका छन्। जसका कारण किसानका उत्पादनको व्यापक अवमूल्यन हुन थालेको छ।

भारतको नेसनल क्राइम रेकर्ड ब्युरो (एनसीआरबी) को सन् २०२२ को रिपोर्टअनुसार भारतमा सरदर दैनिक १५४ जना किसान र दैनिक ज्यालादारी गर्नेहरूले आत्महत्या गरे। वर्षमा झन्डै ५६ हजार किसान र ज्यालादारी विपन्नले आत्महत्या गर्ने देशमा, गरिबकै बस्तीअगाडि संसारका धनीमानी बटुलेर अर्बौंको अत्तरले मुख धुने विषय आफैँमा लाजमर्दो हो। यदाकदा गरिबहरूको हितका कुरा गर्ने जुकरबर्ग र गेट्सका लागि पनि यस्तो निर्लज्ज तमासामा सहभागी हुनु सुहाउने कुरा थिएन। 

अम्बानीको मेजमानीमा १२ सय व्यक्तिले तीन दिनमा १२ अर्ब भारतीय रुपैयाँ उडाए। तीमध्ये कतिपय पात्र टेलिभिजन रियलिटी शोमा विपन्न सहभागीको संघर्षका कथा सुनेर ग्वाँग्वाँ रोएका समेत देखिन्छन्। यो भोजको खर्च हिसाब गर्दा एक व्यक्तिको भागमा झन्डै १० करोड भारतीय रुपैयाँ। भारतका विपन्न १२ सय गाउँमा १०–१० करोड भारु पुग्दा त्यसबाट के–के बन्न सक्थे? कति बिरामीको उपचार हुन सक्थ्यो? कति भोका बालकको भोक मेटिन्थ्यो? कति किसानले आत्महत्या गर्न पर्दैनथ्यो? धत्, धनीमानीको कति घिनलाग्दो हर्कत!


सम्बन्धित सामग्री