गोर्खा राज्य विस्तृतीकरण हुँदै जाँदा नवनेपाल निर्माण भयो। तत्पश्चात् नेपालमा धेरै प्रधानमन्त्रीहरू (मुख्तियार, प्राइम मिनिस्टर र मन्त्रिपरिषद् अध्यक्षसमेत) देखा परे। तीमध्ये सन् १८४६ भन्दा अगाडिका प्रधानमन्त्रीहरूमा एकादुईको मात्र कालगतिबाट निधन भयो। अधिकांश त षड्यन्त्रकारी राजनीतिको चपेटामा परेर मारिए। कोत पर्व, भण्डारखाल र अलौ पर्व जस्ता संंगीन घटनाबाट शक्तिशाली भई जंगबहादुरले जहानियाँ राणाशासन प्रारम्भ गरे।
सन् १८४६ देखि १९५१ सम्म १० जना राणा प्रधानमन्त्रीहरूले नेपालमा शासन गरे। त्यसमा सर्वाधिक महत्त्वपूर्ण मानिएको समय सन् १९०१ देखि १९२९ बीचको थियो। त्यस समय श्री ३ महाराज चन्द्रशमशेरले रजगज गरे। यसै समयमा पहिलोपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा केही क्षेत्रमा नेपालको मौलिक पहिचान बन्यो। यस आलेखमा यिनै प्रसंगहरूबारे चर्चा गरिनेछ।
राणा ‘प्राइम मिनिस्टर’हरूले आफूलाई प्रधानमन्त्री भन्न रुचाएनन्, श्री ३ महाराज भन्थे। जहानिया राणा शासनमा सबैभन्दा लामो समय श्री ३ महाराज बन्ने व्यक्ति चन्द्रशमशेर नै हुन्। शरीरका कारण ‘फिस्टे’ भनिएका चन्द्रशमशेर नेपालको शक्तिशाली प्राइम मिनिस्टर बन्न पुगे। आफ्नै दाजु देवशमशेरलाई ११४ दिनपछि बर्खास्त गरी उनी शासनसत्तामा आएका थिए। राणा शासकलाई नै बर्खास्त गर्ने पहिलो राणा शासक पनि चन्द्रशमशेर नै हुन्। हुन त रणोद्वीपसिंह पनि आफ्नै भतिजाहरूबाट मारिएका थिए, सत्ताबाट निष्कासित हुने र चारभन्ज्याङ काटिने पहिलो राणा प्रधानमन्त्री चाहिँ देवशमशेर नै हुन्। पछि प्रधानमन्त्री भएका जुद्धशमशेरले राज्य त्याग गरेका थिए भने पद्मशमशेरले राजीनामा दिएका थिए।
राणा प्रधानमन्त्रीहरूमा पहिलोपटक मेट्रिक पास गर्ने चन्द्रशमशेर नै हुन्। कलकत्ता विश्वविद्यालयका उनका शिक्षकहरूले उनको विलक्षण प्रतिभाको प्रशंसासमेत गरेका थिए। अंग्रेजका दूत एवं पदाधिकारीसँग दोभासे नराखी कुरा गर्ने पहिलो प्रधानमन्त्री उनै हुन्। उनको अंग्रेजी बोलीचालीको प्रशंसा तत्कालीन भारतका भाइसराय लर्ड कर्जनले गरेका थिए। शिक्षाप्रतिको उनको लगावकै कारण नेपालको पहिलो महाविद्यालय त्रिचन्द्र कलेज स्थापना भएको थियो। उनकै पालामा नेपाली भाषामा लेखिएका विभिन्न विधाका पुस्तक छपाउन उचित प्रबन्ध गर्ने हेतुले गोर्खा भाषा प्रकाशनी समितिको स्थापना पनि भएको थियो।
श्री ३ चन्द्रशमशेरले चार जना नेपालीलाई आयुर्वेद पढ्न छात्रवृत्ति दिई पहिलोपटक भारत पठाएका थिए। उनकै पालामा नेपालबाट आठ जना विद्यार्थी विभिन्न प्राविधिक विषयमा पढ्न जापान गएका थिए। हुन त नेपाली विद्यार्थीलाई जापान अध्ययन गर्न पठाउने सोच देवशमशेरको थियो, जुन उनको कार्यकालमा पूरा भएन। जापान पढेर आएका तिनै विद्यार्थीहरूले सिंहदरबार तथा चुरेको सुरूङ निर्माणमा ठूलो भूमिका खेलेका थिए। हेटौँडा नजिकको चुरे पहाड खोपेर सन् १९०४ मा सुरूङ मार्ग बनाइएको थियो। यो सुरूङ मार्ग नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो थियो।
चन्द्रशमशेरकै कार्यकालमा सबैभन्दा पहिले जापानी पदयात्री इकाई कावागुची नेपाल भ्रमणमा आएका थिए। उनले चन्द्रशमशेरलाई राज्य सञ्चालनमा सल्लाह पनि दिएका थिए। यी जापानीले चन्द्रशमशेरलाई पठाएको अंग्रेजी पत्रको प्रतिलिपि नेपालका केही रोचक ऐतिहासिक प्रसंग (लेखक प्राडा तीर्थप्रसाद मिश्र) मा संलग्न गरिएको छ।
रक्सोलदेखि अमलेखगञ्जसम्म रेलसेवा, ढोरसिंह–चिसापानी–चन्द्रागिरीसम्मको रोपवे तथा फर्पिङबाट बिजुली उत्पादन जस्ता कार्य पनि उनकै राज्यकालमा भयो। यी कार्य भारतस्थित अंग्रेज सरकारको प्राविधिक सहयोगमा भएका थिए। नेपालमा १९६८ सालमा पहिलोपटक फर्पिङमा बिजुली उत्पादन गरिएको थियो। त्यसको नाम चन्द्रज्योति राखिएको थियो।सप्तरीमा नेपालकै पहिलो नहर चन्द्रनहर बनेको थियो। नेपालमा टेलिफोन सेवा शुरू गर्ने उनै हुन्। उनले वीरगञ्जदेखि काठमाडौँसम्म टेलिफोनको व्यवस्था गरेका थिए। सञ्चार क्षेत्रमा उनको योगदान अर्को पनि छ । नेपाली हुलाक टिकट टाँसी विदेशमा पत्र पठाउने व्यवस्थाको शुरूआत उनैले गराएका थिए। उनले त्रिचन्द्र सैनिक अस्पताल पनि स्थापना गरेका थिए। यो नेपालको पहिलो सैनिक अस्पताल हो।
नेपालबाट दासप्रथा र सतीप्रथा अन्त्य गरी सामाजिक रूपान्तरण गर्ने चन्द्रशमशेरले नै हुन्। दासप्रथा उन्मुलन गर्दा सदर टुँडिखेलमा खरीको बोटबाट चन्द्रशमशेरले दिएको भाषण अहिलेसम्मकै पहिलो लामो भाषण भएको छ। ८० पृष्ठको लिखित भाषण चन्द्रशमशेर आफैँले पढेर पूरा गर्न सकेका थिएनन्। अन्तिम अंश नायब बडागुरुज्यू हेमराज पाण्डेले पढेर सुनाएका थिए।
त्यसैगरी पशुपतिको दक्षिणाबाट दासहरूको ऋणमोचन गरिएको थियो। गुठीको सम्पत्ति प्रयोग गरी पहिलोपटक सामाजिक कार्य भयो। पुण्य गर्ने उद्देश्यले दान गरेको रकम पुण्यकार्यमा नै लगाइएको पहिलोपटक हो। अन्यत्र मन्दिरको आयबाट ठूलाठूला आयोजना सञ्चालन भएका छन् हामीले त्यतातिरबाट पनि सिक्न बाँकी नै छ।
चन्द्रशमशेरले निर्माण गरेको सिंहदरबार मुलुकको पहिलो र अहिलेसम्म एक मात्र विशाल प्रशासनिक भवन बनेको छ। यो दरबार पहिले चन्द्रशमशेरको निजी निवास थियो, कालान्तरमा श्री ३ महाराजको आवास बन्न पुग्यो। २००७ सालपछि सरकारी मन्त्रालयहरू यसै भवनमा छन्। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यसै भवनमा छ। त्यसबेला दक्षिण एशियाकै ठूलो भवनका रूपमा गणना गरिएको सिंहदरबारमा १२ सयभन्दा बढी कोठा छन्।
चन्द्रशमशेरभन्दा पहिले मिति उल्लेख गर्दा तिथि र सुदी लेख्ने प्रचलन थियो तर उनले गते र बार लेख्ने चलन चलाए। गोर्खा सरकार भन्ने गरिएकोमा उनैले नेपाल सरकार भन्ने चलन चलाए।
प्रशासन र न्याय क्षेत्रको परिवर्तनमा पनि चन्द्रशमशेरले ध्यान दिएका थिए। उनकै पालामा हनुमानढोकाबाट चार अदालतहरू धनसार, टक्सार, इटाचपाली र कोटलिङ डिल्लीबजारमा सारियो। जस कारण त्यस स्थानको नामकरण चारखाल अड्डा रहन पुग्यो। पछि उनले धनसार र इटाचपली खारेज गरी भारदारी अदालत गठन गरे। बिन्तीपत्र निक्सारी अड्डा र खड्ग निशाना अड्डाको स्थापना पनि उनैले गरे। नेपालमा पहिलोपटक खानी अन्वेषण र उत्खनन गर्ने खानी अड्डा खोल्ने श्रेय पनि उनैलाई गएको छ। उनले हजुररिया जर्नल जस्तो नयाँ पद सिर्जना गरी आफ्नो शासनलाई मजबुत बनाउने प्रयत्न गरेका थिए।
चन्द्रशमशेरको प्रयत्न, कार्यकौशल र कूटनीतिबाट नेपाल र अंग्रेजबीच सन् १९२३ को सन्धि हुन पुग्यो। नेपालका लागि समान हैसियतमा गरिएको पहिलो अन्तर्राष्ट्रिय सन्धि यही थियो, जसबाट नेपाल पूर्ण सार्वभौम र स्वतन्त्र मुलुक भएको अंग्रेज सरकारले स्वीकार गर्यो। यस सन्धिका कारण सुगौलीको सन्धिबाट गुमेको प्रतिष्ठा नेपालले पुनः प्राप्त गर्न सक्यो।
चन्द्रशमशेरकै पालामा नेपाल र फ्रान्सबीच दौत्य सम्बन्ध कायम भयो। भारतस्थित फ्रान्सका आवासीय राजदूत नै नेपालका लागि राजदूत हुने भए। अंग्रेज–भोट विवादमा चन्द्रशमशेरकै निर्देशनमा पहिलोपटक नेपालको सहभागितामै संघर्ष समाप्त भयो। नेपालकै मध्यस्थतामा सन् १९०४ को ल्हासा सम्झौता सम्पन्न भएको थियो। यसैगरी पहिलोपटक भोट–चीन संघर्षको विवादमा पनि नेपालले मध्यस्थता गरी विवाद टुंग्याएको थियो। नेपाल–भोट विवादमा सदैव चीनले मध्यस्थता गर्ने गरेकोमा पहिलोपटक नेपालले मध्यस्थता गरी भोट–चीन विवाद मिलाएको थियो। यो घटना सन् १९११ को हो। यी दुई घटनाबाट त्यसबेला नै नेपालले अन्तर्राष्ट्रिय विवादमा सफलतापूर्वक मध्यस्थता गरेका चन्द्रशमशेरको कूटनीतिको प्रशंसा गर्नैपर्ने हुन्छ।
चन्द्रशमशेरकै पालामा सम्राट जर्जले नेपालको भ्रमण गरे। यो नै विदेशी मुलुकको राष्ट्रध्यक्षले नेपाल भ्रमण गरेको पहिलो अवसर हो। हुन त सम्राट अशोकले पनि नेपाल भ्रमण गरेका थिए भन्ने भनाइ छ तर त्यस भ्रमणका विषयमा विवाद छ।
अंग्रेजलाई हरतरहले प्रसन्न गराउने नीति लिने पहिलो सरकारप्रमुख पनि चन्द्रशमशेर नै हुन्। अंग्रेज सरकारलाई प्रथम विश्वयुद्धको समयमा करिब १६ हजार नेपाली फौज पठाएर सहयोग गरे। विदेशी स्वार्थका लागि यति ठूलो फौज परिचालित भएको यो पहिलोपटक थियो। त्यस युद्धमा उनले १ करोड ३७ लाख रूपैयाँ (त्यसबेला ३३ रूपैयाँमा १ तोला सुन आउँथ्यो), ४० हजार पाउन्ड अलैँची, ८५ हजार पाउन्ड चिया, २०० थान ज्याकेट, १२ थान ओभरकोट, थुप्रै नेपाली र तिब्बती कमलहरू, दुई लाख थान रेलको स्लिपर र २२० थान सिसौको रूख पनि सहयोग गरे। यति ठूलो नगद र जिन्सी विदेशीलाई प्रदान गर्ने पहिलो प्रधानमन्त्री चन्द्रशमशेर नै हुन्।
हुन त जंगबहादुरले पनि सन् १८५७ मा सिपाही विद्रोह दबाउन आफ्नै नेतृत्वमा फौज पठाएका थिए। त्यसबाट जंगबहादुर र नेपाल दुवैलाई विशेष लाभ भएको थियो। यही क्रम दोस्रो विश्वयुद्धमा पनि दोहोरियो।
सबैभन्दा बढी विदेशी तक्मा पाउने पहिलो प्रधानमन्त्री पनि चन्द्रशमशेर नै भए। उनले चीनबाट थोङ लिङ पिम्बाको काङ वाङ स्याङ तथा अंग्रेजबाट जीसीबी, जीसीएसआई, जीसीभीओ र एफआरजीएस जस्ता पदक प्राप्त गरेका थिए। फ्रान्सबाट लिजन अफ अनर पदक पाउने चन्द्रशमशेर नै पहिलो नेपाली भए। बेलायतको विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्ने पहिलो नेपाली पनि चन्द्रशमशेर नै हुन्।
विदेशीलाई बोलाई आफ्नो गुणगान र स्तुतिगान गर्ने कृति लेखाउने कार्य पनि चन्द्रशमशेरले गरे। पत्रकार पर्सिभल ल्यान्डनले चन्द्रशमशेरको जीवनी र कार्य विषयमा नेपाल भन्ने ग्रन्थ लेखाउन लगाई प्रकाशन गरे। चन्द्रशमशेरको स्तुतिगान गर्ने आन्तरिक उद्देश्यले तयार गरिएको उक्त पुस्तकले नेपालको इतिहास लेखन विधामा भने ठूलो गुण लगाएको छ। चन्द्रशमशेरकै अनुसरण गर्दै जुद्धशमशेरले पनि इलाहाबाद विश्वविद्यालयका प्राध्यापक ईश्वरीप्रसादबाट आफ्नो जीवनगाथा गुणानुवर्णन गराई लाइफ एन्ड टाइम अफ जुद्धशमशेर पुस्तक छपाउन लगाएका थिए।
चन्द्रशमशेरमा कुनै खास विषयका अम्बली थिएनन्। उनी अन्य श्री ३ महाराजहरूजस्तो स्त्रीलम्पट पनि देखिएनन्। उनले श्रीमतीहरू बटुलेनन्, दुई विवाह त गरे तर उनले पहिली श्रीमतीको देहवसान भएपछि दोस्रो विवाह गरेका हुन्। गम्भीर प्रकृतिका उनी कहिल्यै हाँसेनन्। त्यसैले भनाइ छ, चन्द्र हाँसे कि नासे।
शमशेर खलकलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन समूहमा वर्गीकरण गर्ने पहिलो व्यक्ति पनि चन्द्रशमशेर नै थिए। यही वर्गीकरण नै कालान्तरमा राणाशासनको अवसान हुने एक प्रमुख कारण बन्न पुग्यो। यस अर्थमा राणा शासनलाई समाप्त गर्ने कदम चाल्ने पहिलो व्यक्ति पनि श्री ३ चन्द्रशमशेर नै हुन्। नेपालमा शासकहरू नै धनीमानी, वैभवशाली र अकुत सम्पत्ति कमाउने भएको ऐतिहासिक पृष्ठभूमिमा राष्ट्रबाट सबैभन्दा बढी धन लिने पनि उनै हुन्। भनिन्छ, उनले आफ्ना छोराहरूलाई सुनचाँदी, हीराजवाहरत, जग्गाजमिनबाहेक त्यसबेला नगद नै सात–सात करोड अंशमा दिएका थिए। यही कारण आज पनि चन्द्रशमशेरका सन्तति धनाड्य छन्।
उनको समयमा पहिलोपटक नेपालले अनुभव गरेका विषयको यो सूची पूर्ण छैन। नेपालको इतिहासमा उल्लेख्य पात्र हुन्, चन्द्रशमशेर। नेपालको शान, मान, सम्मान विदेशमा पनि पुग्यो। सन् १९२३ को सन्धिले नेपालको अन्तर्राष्ट्रिय छवि उच्च बन्यो। एउटा स्वतन्त्र मुलुकको रूपमा पूर्णतः स्थापित हुन पुग्यो। शिक्षा, सञ्चार तथा यातायातका क्षेत्रमा क्रान्तिकारी परिवर्तन भए। संक्षेपमा नेपाल पहिलोपटक धेरै कुराको साक्षी बन्यो।
तर उनले सबै राम्रा कार्य मात्र गरेका छैनन्, एकतन्त्रीय शासन टिकाउन र स्वेच्छाचारी शासन चलाई जनचेतना दबाउन गरेका कार्य किमार्थ सुपाच्य थिएनन्। राणाहरूको वर्गीकरणले त कहिल्यै पुर्न नसकिने खाडल तयार भयो। जसको तुष आजसम्म पनि देख्न सकिन्छ।