Sunday, April 28, 2024

-->

राममाया च्यामिनीलाई सम्झने कसले?

राममाया एउटा हातमा कुचो र अर्कोमा बोरा बोकेर सरसफाइ गर्न नियमित आउँथिन्। चलाखीपूर्वक राजबन्दीको खबर परिवारतिर र परिवारको राजबन्दीतिर पुर्‍याउँथिन्। पहरा दिन खटिएका सिपाही उनीसँग छिल्लिएर कुरा गर्थे।

राममाया च्यामिनीलाई सम्झने कसले

जसको श्रम र सीपले नेपालको माटो भिजेको छ, उनै श्रमिक र शिल्पीहरूले जन्मेको दिनदेखि नै जीवनभर ‘अछुत’ भएर बाँच्नु परिरहेछ। मनुस्मृतिले परिभाषित गरेको वर्णव्यवस्थाको जाँतोमा पिल्सिएर बाँच्न विवस दलित, उत्पीडित यी शिल्पीहरूको पीडादायक अवस्थाकाबारेमा लेखिसाध्य छैन।

वर्णवादीहरूले दर्शनको मूल आधार मान्दै आएको मनुस्मृति भन्छ–
लोकानां तु विवृद्ध्यर्थ मुखबाहूरूपादतः।
ब्राह्मणं क्षत्रियं वैश्यं शूद्रश्च निरवर्तयत्।।३१।।
(।।श्री।। मनुस्मृति–२०७८ः८)

(ब्रह्माले सृष्टि बढाउन वा चलाउन मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय, तिघ्राबाट वैश्य र गोडाबाट शूद्रलाई सृष्टि गर्नुभयो। अनुवाद– मोहनप्रसाद सापकोटा)

भारतमा जुन कानून छ, त्यो मनुस्मृतिमा आधारित रहेको तर्कका साथ जातिभेदविरोधी भारतीय नेता भीमराव अम्बेडकरले सन् १९२७ डिसेम्बर २५ (वि.सं. १९८४ पुस १० गते) मनुस्मृति जलाएका थिए। मनुस्मृतिलाई वर्ण व्यवस्थाविरोधीले तारो बनाउँदै आएकोमा आम्बेडकर मनुस्मृतिको विरोधमा अग्रगण्य भएर निस्केका थिए (महेशराज पन्त, हिमालखबर २०७९ जेठ २७)

मनुस्मृतिमा आधारित वर्णवादी परम्परालाई नेपालमा संहिता बनाएर वैधानिकता दिने राजा हुन्, स्थिति मल्ल। वि.सं. १४११ मा विदेशबाट स्थिति मल्ललाई भक्तपुरमा झिकाइयो। यसको पाँच महिनापछि राजकुमारी राजल्लदेवीसँग उनको विवाह भयो। यसपछि उनले नेपालको राजकाजमा हात लगाउने अवसर पाए। त्यतिखेर राजगद्दीमा राजदेव थिए। वि.सं. १४१७ को अन्त्यतिर राजदेवको मृत्यू भएपछि १४ वर्षका अर्जुन मल्ल राजा भए। यसपछि स्थिति मल्लको शक्ति बढ्दै गयो। वि.सं. १४३७ मा राजा अर्जुन मल्ललाई कैद गरी स्थिति मल्लले राज्यको सम्पूर्ण शक्ति आफ्नो हातमा लिए (नयराज पन्त, पूर्णिमा, पूर्णांक २–साउन २०२१ः१–२)

उनै राजाले चार वर्ण र ३६ जातको व्यवस्था गरी उनीहरूको काम कर्तव्य तथा दण्ड सजायको थिति बाँधिदिए (देवीप्रसाद लंसाल, सम्पा. भाषा वंशावली, भाग २–२०२३ः३७)

जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि उनले वि.सं. १९१० मा मुलुकी ऐन लागू गर्दा पनि वर्णभेद र दण्डको व्यवस्था गरिएको छ। यसले दलित, उत्पीडित र शिल्पीहरूबीच पनि तल्लो र माथिल्लो जातिको रूपमा विभेदको व्यवस्था गर्‍यो। 

मुलुकी ऐन १९१० मा 'उपल्ला जातदेषि पोढ्या तकको जुठो षानाले सबै जातभन्दा सानु च्याम्हा षलकको जात, अरुको जुठो षान्या च्हाम्हा षलकको हातको नषान्या हुनाले च्याम्हा षलक भंदा ठूलो पोढ्याको जात...पोढ्याभन्दा ठूलो वादिको जात, वादि भंदा ठूलो गाइन्याको जात, गाइन्या भंदा ठूलो दमाईको जात, दमाइ भंदा ठूलो कडाराको जात, कडाराभन्दा कामि सार्कीको ठूलो जात, कामि दमाइ सार्की भंदा ठूलो कडाराको जात' भनी स्पष्ट रूपमा वर्णव्यवस्थामा आधारित जातिभेदलाई कानूनी रूपमा संस्थागत गरियो (प्राडा जगदिशचन्द्र रेग्मी, नेपालको वैधानिक परम्परा–२०७७ः११२–१३ )

मुलुकी ऐन आउनुअघि वि.सं. १९०१ मा पनि 'श्री ५ महाराजाधिराजबाट तजवीज हुदा ठहर्‍याका आजकल पानी नचलन्या जातको तपसील्' भन्दै नेपालका २४ जातलाई यस्तो सूचीमा राख्दा तीमध्ये 'सबैभन्दा सानो च्यामाखलक र सबैभन्दा ठूलो कसाहीको जात' भनी उल्लेख गरिएको छ (महेशराज पन्त, पूर्णिमा, पूर्णांक ७९–फागुन २०४७ः४३–४४)

यसरी संहिताबद्ध गरेर जातिभेदलाई संस्थागत गरेको नेपालमा छुवाछुतलाई दण्डनीय घोषणा गरिए पनि छुवाछुत प्रथाको गहिरो जरो उखेलिनु त के राम्ररी हल्लनसमेत सकिरहेको छैन। नेपालका शासकहरू स्थिति मल्ल, राजेन्द्रविक्रम शाह र जंगबहादुर राणाले 'सबैभन्दा सानो जात' घोषणा गरेको नेवारभित्रको च्यामखलः अर्थात् च्यामे जातिभित्र जन्मेकी राममायाले नेपालमा राणा शासनजस्तो क्रूर व्यवस्थालाई ध्वस्त बनाएर प्रजातन्त्रको सुनौलो बिहानी ल्याउन कतिसम्मको योगदान दिएकी थिइन्, यसै सरोफेरोमा यो लेख तयार पारिएको छ।

राणा शासनविरुद्ध आन्दोलन
जहानियाँ राणा शासनको जग हाल्ने तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले शासन गरिरहेकै समयमा पनि उनीविरुद्ध बेलाबेलामा जनविद्रोह भएका थिए। वि.सं. १९१४ मा कालीबहादुर पल्टनका एक जमदारको विद्रोह प्रयास, वि.सं. १९३३ को लखन थापा मगर, सुकदेव गुरुङ तथा रामलिहाङ र रिदामा राईको विद्रोह ऐतिहासिक रूपमा स्मरणीय छन्। पछि मकैको खेती, आर्य समाज, चर्खा आन्दोलन, प्रचण्ड गोरखा, पुस्तकालय पर्व, महावीर स्कुलको स्थापना, नेपाल नागरिक अधिकार समितिको स्थापना आदिले राणा शासनको जग क्रमशः हल्लन शुरू गरेकोमा नेपाल प्रजा परिषदको स्थापना र सक्रियतापछि राणाशासनविरुद्ध आँधी हुरीकै सिर्जना हुन पुग्यो।  

आर्य समाजी शुक्रराज शास्त्रीले इन्द्रचोकमा गरेको भाषण र उनलाई गंगालालले दिएको साथ राणाशासनविरुद्धको आन्दोलनको पहिलो र औपचारिक घोषणाजस्तै भएको थियो। भारतमा महात्मा गान्धी र सुवासचन्द्र बोसलाई भेटेर फर्केपछि नेपाली भाषा प्रकाशिनी समितिबाट शुक्रराजको जागिर खोसिएको थियो। उनी घरमै नजरबन्दमा परेका थिए।

आफ्नो घरको आर्थिक अवस्थाका साथै आफ्नो स्वास्थ्य बिग्रँदै गएपछि नजरबन्दबाट मुक्त हुन उनले राणाशासकसमक्ष 'मानिसले मानिससँग मानिसको किसिमले व्यवहार गरियोस्, त्यो पनि कमसेकम भगवानको लागी' भनी निवेदन दिँदा सोचेजस्तो जवाफ पाएनन्। त्यसपछि उनले नागरिक अधिकार समितिको तर्फबाट अध्यक्षको हैसियतले वि.सं. १९९५ मंसिरको एक दिन आमभाषण गरी नजरबन्दी तोड्ने विचार गरे। उनले भाषणमा राणा सरकारको र व्यवस्थाको आलोचना गरी समयको मागअनुसार चल्न सरकारलाई अनुरोध गरेका थिए।

शुक्रराज शास्त्रीले बोल्न सिध्याएपछि समितिकै सदस्य गंगालाल बोल्ने क्रममा सरकारविरुद्ध संघर्ष गर्न पनि आह्वान गरे। यसको भोलिपल्टै शुक्रराज पक्राउ परे र अर्को दिन उनलाई तीन वर्षको कैद सजाय सुनाइयो।

गंगालालले पनि शुक्रराज शास्त्रीपछि असनमा राणाविरोधी भाषण गरेका थिए जुन राणाहरूका लागि अप्रिय थियो। त्यसपछि गंगालाल भागेर हिँड्न लागे (डा. राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका, भाग १- २०६२ः७८–७९)। पछि उनलाई उनकै बुबा भक्तलालले सरकारसमक्ष बुझाएर माफी मगाएका थिए। त्यसमा उनी असन्तुष्ट थिए।

भाषणका क्रममा गंगालालले भनेका थिए, “मालिकले च्यैच्यै भन्दै फ्याँकिदिएको एक टुक्रा रोटीमा कुकुरहरू झ्यामिएझैँ राणाहरूको एउटा सानो निगाह र जुठो पाउनका निम्ति झ्याम्मिदै के बाँच्ने?” (सिद्धिचरण श्रेष्ठ, सिद्धिचरणका जेल संस्मरण (सम्पा. सरुभक्त) –२०५२ः४१)

डा. गौतमले उल्लेख गरेअनुसार शुक्रराज शास्त्रीले इन्द्रचोकमा भाणण गरेको मिति १९९५ मंसिरको कुनै एक दिन भनेको दिन मंसिर ११ गते शनिबार रहेको र उनलाई १२ गते पक्राउ गरेर सिंहदरबारको 'कमान्डर इन चिफ'को गारतमा थुनिएको तथा १५ गते नेल ठोकी जेल चलान गरिएको नयराज पन्तको डायरीमा उल्लेख छ (डा. महेशराज पन्त, राजधानी, वर्ष १२ अंक २३०–२०६९ माघ १५ः७)। 

त्यसपछि राणाशासनविरुद्ध नेपाल प्रजापरिषद् भूमिगत रूपमा सक्रिय थियो। प्रजापरिषद्का कार्यकर्ताहरूले राणा शासकविरुद्ध उपत्यकाका विभिन्न सार्वजनिक स्थानमा चार पटक पर्चा छरेपछि उनीहरूको व्यापक खोजी हुन थाल्यो। सरकारले प्रजापरिषद्सम्बन्धी गोप्य सूचना दिने व्यक्तिलाई इनामको घोषणा गर्दै गोरखापत्रमा इस्तिहार नै छपायो। परिषद्कै एक कार्यकर्ता रामजी जोशी (शुक्रराज शास्त्रीका भाइ)ले आन्दोलनकारीहरूबारे गोप्य सूचना चुहाइदिएपछि सरकार प्रजापरिषद्का कार्यकर्ताहरूको व्यापक धरपकडमा उत्रियो।

सबैभन्दा पहिले १९९७ कात्तिक २ गते बिहान धर्मभक्त माथेमा पक्राउ परे (गौतम, २०६२ः१२३)। उनीपछि प्रजापरिषद्का सबैजसो कार्यकर्ताहरू पक्राउ परे। काठमाडौँबाहिर रहेका परिषद्का सभापति टङ्कप्रसाद आचार्यलाई पछि झुक्याएर पक्राउ गरियो।

व्यापक केरकार, चरम यातनापछि १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय सुनाइयो। अधिकांशले सर्वश्वसहित जन्मकैदको सजाय पाए। यी क्रान्तिकारीहरूले काराबासको कठोर सजाय भोगिरहेको बेला कारागारमा सरसफाइ मजदुरको रूपमा काम गर्ने राममाया च्यामिनीले उनीहरूको दुःखसुखमा ठूलो साथ दिएकी थिइन्। 

खबर आदान प्रदानको सूत्रधार
राजनीतिक बन्दीहरू राखिएको सिंहदरबारभित्रको स्कुलघर, बरफ बाग, तबेलाघर, बिजुलीघर आदिमा एक सफाइ कर्मचारीका रूपमा कार्यरत रहँदा राममाया २४/२५ वर्षकी थिइन्। उनी एउटा हातमा कुचो र अर्कोमा बोरा बोकेर सरसफाइ गर्न नियमित आउँथिन्। चलाखीपूर्वक राजबन्दीको खबर परिवारतिर र परिवारको राजबन्दीतिर पुर्‍याउँथिन्। त्यहाँ पहरा दिन खटिएका सिपाही उनीसँग छिल्लिएर कुरा गर्थे। उनी पनि सिपाहीहरूसँग लठ्याउने कुरा गरेर कटाक्ष गर्न बाध्य हुन्थिन्। यसमा उनी निपूण थिइन्।

एकदिन उनी गंगालालसँग केही कुरा गरिरहेकी थिइन्। त्यतिकैमा बन्दीहरूको निगरानीमा रहेका सिपाही उनीसँग छिल्लिन थाल्दा उनले भनेकी थिइन्, “मैले फरिया पल्टाएर देखाइदिए पनि तिमीले मलाई के गर्न सक्छौ?”

त्यसबेला सफाइ मजदुर राममायालाई कतिसम्म अप्ठ्यारो थियो भने उनलाई त्यहाँ खटिएका अफिसर तथा सिपाहीहरू चेतावनी दिँदै राजनीतिक बन्दीहरूबारे भन्थे, “यिनीहरू डरलाग्दा हुन्, यिनीहरूसित नचाहिँदा कुरा नगर्नू, जिब्रो थुत्लान्।” (श्रेष्ठ, २०५२ः१०४–५)

तर यस्तो चेतावनीलाई परवाह नराखी खतरा मोल्दै उनी बन्दी अवस्थामा रहेका क्रान्तिकारीहरूमध्ये अधिकांशको परिवारको सम्पर्कमा रहेर खबर घरमा पुर्‍याइदिन्थिन्। घरको खबर बन्दीहरूसमक्ष ल्याउँथिन्। ती बन्दीहरूको परिवारका सदस्यहरूले सिंहदबारको ढोकामा उनैलाई कुरिरहेका हुन्थे। उनीहरू बन्दी अवस्थामा रहेका आफ्ना परिवारका सदस्यलाई पिटे नपिटेको बारे पनि जिज्ञासा राख्थे (श्रेष्ठ, २०५२ः१०६)।

गंगालाललाई सम्झेर रुँदै
त्यसबेला पक्राउ पर्ने क्रान्तिकारीहरूमध्ये सबैभन्दा कलिला थिए गंगालाल। मृत्यूदण्डको सजाय सुनाइँदा उनी केवल २२ वर्षका थिए। कलिलो उमेर मात्रै होइन, घरमा उनकी श्रीमति गर्भवती थिइन्। मृत्युदण्ड दिनु दुई दिनअघि मात्रै उनकी पत्नी हसिनादेवीले छोरो जन्माइन्। जेलमै उनले यो खबर पाएका थिए। 

यस्तो अवस्थाका कारण गंगालाललाई मत्युदण्डको सजाय सुनाइसकेपछि त्यतिखेरका शक्तिशाली जनरल बहादुरशमशेरकी छोरी पुकुमैया र अरू छोरीचेलीहरू तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरकहाँ गई गंगालाललाई माफी दिन अनुरोध गरेका थिए। तर जुद्धशमशेरले कुनै पनि प्रत्यूत्तर दिएनन्। पुनः अर्कोपल्ट उनीहरूले अनुरोध गर्दा 'तिमीहरू त्यसलाई केटाकेटी भन्छौ, त्यसले कस्तो कस्तो काम गर्‍यो थाहा छैन? तिमीहरू नै केटाकेटी छौ, बुझ्दैनौ, जाऊ' भनी गाली गरी पठाएका थिए। तर जुद्धशमशेरले गंगालालले अन्तिम समयसम्म पनि माफी मागेको खण्डमा माफी दिने गोप्य निर्णय गरेका र सोहीअनुसार निर्देशन पनि दिएका थिए (गौतम, २०६२ः१७७–७८)। तर गंगालालले माफी मागेनन्, मृत्युदण्ड नै रोजे।

यो घटनाको लामो समयपछि कवि सिद्धिचरण श्रेष्ठ २०४३ कात्तिक ८ गते कवि दुर्गालालका साथ राममायालाई भेट्न विष्णुमतिको पुल नाघेर डल्लु जाने बाटोमा रहेको डेरामा पुगे थिए। त्यसबेला कुराकानीमा पनि राममाया जेलमा बन्दी अवस्थामा रहेका क्रान्तिकारी र मृत्युदण्ड पाई शहीद भएकाहरूलाई सम्झँदै, रुँदै, भक्कानिँदै र आँसु पुछ्दै गरेकी हुन्थिन्। राममायाले त्यसबेला गंगालालका बारेमा श्रेष्ठलाई भनेकी थिइन्, “गंगालालले नेलसिक्री बजाएर गाइरहेको पनि हिजोअस्तिजस्तो लाग्छ। उनी मलाई 'दिदी तपाईं आउँदा यो जेल होइन, घरजस्तो लाग्छ' भन्थे। धर्मभक्त उस्तो बोल्दैनथे, एक दिन उनलाई ल्याएको रोटी मलाई खानू भनेका थिए। देवताजस्ता गंगालाललाई गोली हानी मारिएको सम्झेर म बारम्बार झस्किरहन्छु” (श्रेष्ठ, २०५२ः१०६–७)

मारिने दशरथ, रोइदिने राममाया
शुक्रराज शास्त्री र धर्मभक्त माथेमाले शहादत प्राप्त गरिसकेका थिए। शहादतको पालो पर्खेर बसेका थिए, दशरथ र गंगालाल। तीमध्ये अधिकांशको पारिवारिक सदस्यहरू काठमाडौँमै थिए। तर दशरथ परे पश्चिम बैतडीका। उनीसँग भेट गर्न आउने आफन्तहरू पनि थिएनन्।

काठमाडौँमा आएर त्रिचन्द्र क्याम्पस पढिरहेको बेला तत्कालीन कमाण्डर इन चिफ रुद्रशमशेरकी भित्रिनीतिरकी छोरी जुलियासँग दशरथ चन्दको विवाह हुने तय भएको थियो। रुद्रशमशेरको चारबुर्जा दरबारमा रहेको गाईगोठको नजिकैको एक बंगलामा दशरथ चन्द बस्ने गरेका थिए (पुरुषोत्तमशमशेर जबरा, सम्झेका र सुनेका कुराहरू –२०६३ः९४)

तर पछि रुद्रशमशेर पाल्पा धपाइए। उनकी प्रेमिका जुलियाको पनि पाल्पामै क्षयरोगले निधन भयो। त्यसपछि उनी पकनाजोलस्थित आफ्नी कान्छी आमाको घरमा बसेका थिए (गौतम, २०६२ः६०)। अनि उनी क्रान्तितिर लागे। जेलनेल र यातना भोगिसकेपछि मृत्युदण्ड पर्खेर बसिरहेका थिए।

भेटघाटको क्रममा कवि सिद्धिचरणले राममायालाई 'दशरथले आफू मारिएमा आफ्नो लागि रोइदिने कोही नभएकोले तपाईंलाई एकछिन भए पनि रोइदिनु है भनेको साँच्चै हो?' भनेर जिज्ञासा राखे।

सिद्धिचरणको यस्तो जिज्ञासा आएपछि राममायाको आँखा भरिएर आयो। नियमित रूपमा बन्दीहरू राखिएको स्थानमा सरसफाइका क्रममा जाँदा राममायालाई दशरथले भनेका थिए, “यहाँ मेरा साथीहरूको त घर छ, तर मेरो घर पुग्नलाई महिना लाग्छ। मेरो लागि रुने कोही छैन राममाया, तिमी दाइ दशरथ भनेर एकछिन भए पनि रोइदिनू है !”

दशरथबाट यस्तो सुनिसकेपछि तत्कालै राममाया रुन थालेकी थिइन्। दशरथले उनी रोएको देखेर उनलाई नरुन र रोए राणाहरूले आफ्नै जस्तो गति पारिदेलान् भनी सम्झाएका थिए। दशरथ चन्दहरू मारिएपछि उनले सपनामा पनि उनीहरूलाई देखिरहिन्, महिनौँसम्म खान पनि मन लागेन। विगतका यी स्मृतिमा डुब्दाखेरि राममाया आँसु पनि पुछ्दै जान्थिन् (श्रेष्ठ, २०६२ः१०५–७)

प्रजातन्त्रका लागि बलिदान हुने ती शहीद र अन्य बन्दीहरूको पीडाको समयमा यसरी साथ दिन त्यसबेलाकी सरसफाइ मजदूर राममाया च्यामिनीलाई सम्झने फुर्सद आज कसलाई होला?


सम्बन्धित सामग्री