Tuesday, April 30, 2024

-->

इतिहास
सुवर्णप्रभाले पाएकी थिइन् राजा गीर्वाणयुद्धको पहिलो नायबी

जेठी महारानी राजराजेश्वरीलाई ताँवापत्र गरेर नायबीको अख्तियारी दिइनुअघि नै रणबहादुर शाहले आफ्नी माहिली रानी सुवर्णप्रभालाई नाबालक राजाको नायबीको अख्तियारी दिएको लालमोहर फेला परेको छ।

सुवर्णप्रभाले पाएकी थिइन् राजा गीर्वाणयुद्धको पहिलो नायबी

राजा रणबहादुर शाहको समयदेखि राजदरबार आन्तरिक रूपमा असाध्यै अशान्त रहन पुग्यो। मनमौजी स्वभावका राजा रणबहादुरले पशुपति दर्शनका लागि आएकी तिरहुतिया मिश्र ब्राह्मणी ‘बालविधवा’ कान्तवतीप्रति देखाएको आशक्तिका कारण नेपालको राजनीति र शासन व्यवस्था नै उथलपुथल हुन पुग्यो। त्यहाँबाट शुरू भएको गडबडपूर्ण शासन ब्यवस्थाको मार निर्दोष नेपाली जनताले निरन्तर रूपमा भोगिरहन परेको छ।

आफ्नी प्राणप्रिया रानी कान्तवती क्षयरोगले ग्रस्त भएर जीवनकै अन्तिम दिनगन्तिमा रहेको अवस्थामा पूर्ववाचाअनुसार राजा रणबहादुर कान्तवतीतिरका छोरा गिर्वाणयुद्धविक्रम शाहलाई राजगद्दी सुम्पन तयार भए। त्यति बेला युवराज गिर्वाणयुद्धविक्रम केवल डेढ वर्षका थिए। उनलाई राजा घोषणा गर्नुअघि नेपालका प्रमुख भारदारहरूलाई धर्म भाक्न लगाएर ताँवापत्र गर्न लगाइयो। १८५५ फागुन सुदी २ रोज ६ मा गरिएको तावाँपत्रमा तत्कालीन ९५ जना भारदारहरूले आफ्नो नाम लेखाएका छन् (चित्तरञ्जन नेपाली, ‘श्री ५ रणबहादुर शाह’–२०७५ः१०९–११)

सो ताँवापत्रमा तत्कालीन भारदारहरूले गर्नुपर्ने कर्तव्यहरूबारे राजा रणबहादुरले स्मरण गराएका छन्। ताँवापत्रको शुरूमा ‘मैले राज्यको भोग जतिगर्ना हो सो गर्‍या अब उप्रांत संसार त्याग गरि परलोक सुधारना निमित्त देवता पर भक्तिलाई तपस्या गर्दछु राज्यका संभारलाई मेरा इच्छाले श्रीकान्छा रानीतिरका पुत्र श्री गिर्वाणयुद्ध विक्रम साहलाई मेरा भरमुलुकको रजाञिगादि बक्स्याँ यो जान्या बुझ्न्या नहुंन्ज्याल सम्म कत्र्ता जेष्ठ रानिले राज श्री गिर्वाण विक्रम साहलाई काषमा नायविगन्याको अषतियार बक्याँ...’ भन्ने उल्लेख गरेका छन् (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, ‘शाहकालको अभिलेख’ पहिलो भाग –२०३७ः२८४)। 

सोही धर्मपत्रको आधारमा केही दिनपछि १९५५ फागुन २८ गते पाल्पाका राजा पृथ्वीपाल सेनलाई बोलाएर गिर्वाणयुद्धविक्रम शाहलाई नेपालको राजा घोषणा गरियो। महारानी राजराजेश्वरी बालक राजाकी संरक्षकको रूपमा नियुक्ति गरिइन् (बाबुराम आचार्य, ‘अब यस्तो कहिल्यै नहोस्’–२०६८ः२७–२८)

वज्राचार्य र श्रेष्ठ (२०३७ः२८४) र आचार्य (२०६८ः२८) ले नाबालक राजा गिर्वाणयुद्धविक्रम शाहको संरक्षक अर्थात् नायबी रणबहादुर शाहकी जेठी महारानी राजराजेश्वरीलाई दिइएको उल्लेख गरेका छन्। नेपालको इतिहासमा यो मान्यता नै पूर्णरूपमा स्थापित भएको देखिन्छ। त्यसो त इतिहासकार चित्तरञ्जन नेपाली (२०७५ः११२)ले गिर्वाणयुद्धविक्रमको नायबी रणबहादुर शाहकी कान्छा महारानी अर्थात् कान्तवतीलाई नै दिएको उल्लेख गरेका छन्। यसमा विश्वसनियता छैन।

खासगरी रणबहादुर शाह बनारसतिर भागेका र जेठी महारानी राजराजेश्वरी पनि उनको पछि लागेपछि माहिली रानी सुवर्णप्रभाले नाबालक राजा गिर्वाणयुद्धविक्रम शाहको नायबी सम्हालेको नेपाली इतिहासमा हालसम्म स्थापित मान्यता रहिआएको छ। यस अर्थमा सबैभन्दा पहिले रणबहादुर शाहले आफ्नी जेठी महारानी राजराजेश्वरीलाई आफ्ना छोराको नायबी दिए भन्ने इतिहास नेपालमा स्थापित छ। 

तर ऐतिहासिक प्रमाणले भने जेठी महारानी राजराजेश्वरीलाई ताँवापत्र गरेर नायबीको अख्तियारी दिइनुअघि नै राजा रणबहादुर शाहले आफ्नी माहिली रानी सुवर्णप्रभालाई नाबालक राजाको नायबीको अख्तियारी दिएको लालमोहर प्राप्त भएको छ। यो लालमोहरको छायाँप्रति हालः अमेरिका निवासी ऐतिहासिक पत्रहरूको संग्रहकर्ता मनोज मनुजबाट लेखकले प्राप्त गरेको हो।  

नायबीको अख्तियारीसम्बन्धी यो लालमोहर १८५५ फागुन सुदी १ रोज ५ मा जारी गरिएको छ। लालमोहरको व्यहोरा यस्तो छः आगे माझिली रानीके श्रीमहाराजा गिर्वाणयुद्धविक्रम साहलाई वर्ष १८ को हुन्ज्यासम्म काषमा राषि नायबी गर्नाको अष्तियारीबक्स्यां. राजाको बढ्न्या बन्न्या सप्रन्या.धर्मसम्झि. चौतरिया काजिका सल्लाहले ज्यापरिआयाका छोटा बडा काम. रिझाउन्या लाइ काज अन्सारको प्रसाद र विराउन्यालाइ शास्तिसववालमा लेष्या बमोजीम गर्नु इति संवत १८५५ साल फागुन सुदि १ रोज ५ शुभं भूयात्।

१८५५ फागुन सुदी १ रोज ५ मा राजा रणबहादुर शाहले माहिली रानी सुवर्णप्रभालाई गिर्वाणयुद्धविक्रम शाहको नायबीको अख्तियारी दिएको लालमोहर। स्रोतः मनोज मनुज

यो लालमोहर जेठी महारानी राजराजेश्वरीलाई नयाँ राजाको नायबीको अख्तियारी दिने गरी दरबारका भारदारहरूलाई ताँवापत्र गराएको ठीक एक दिनअघि जारी गरिएको देखिन्छ। यसबाट राजा रणबहादुर शाहले नाबालक राजा गिर्वाणयुद्धविक्रम शाहको नायबीको अख्तियारी पहिलो पटक जेठी महारानी राजराजेश्वरीलाई सुम्पेका थिए भन्ने जुन मान्यता नेपाली इतिहासमा स्थापित छ, त्यो खण्डित हुन पुगेको छ। तत्कालीन नाबालक राजा गिर्वाणयुद्धविक्रम शाहको नायबीको अख्तियारी सबैभन्दा पहिले माहिली रानी सुवर्णप्रभालाई प्रदान गरिएको लालमोहरबाट प्रमाणित हुन्छ।  

गिर्वाणयुद्धविक्रमको जन्मअघि नै सुवर्णप्रभाबाट दुई छोरा जन्मिसकेकाले उनलाई थामथुम गर्न पनि राजा रणबहादुर शाहले यस्तो अख्तियारीको लालमोहर दिएको हुनसक्छ। अस्थिर स्वभावका राजा रणबहादुरले अघिल्लो दिनको निर्णय परिवर्तन गरी त्यसको भोलीपल्टै कुँदिएको ताँवापत्रमा नाबालक राजाको नायबीको अख्तियारी फेरि जेठी महारानीलाई सुम्पेको पनि हुनसक्छ।  

तर ऐतिहासिक प्रमाणले एक दिनअघि भए पनि माहिली रानी सुवर्णप्रभाले राजा गिर्वाणयुद्धविक्रमको नायबी पाएको स्पष्ट पार्छ।

दोहोरो शासन र गृहयुद्धको तयारी
आफ्ना नाबालक छोरालाई राजा घोषणा गरिसकेका र आफूले सन्यासी भएर ‘स्वामी’ कहलाइसकेका रणबहादुर शाहले राजकाजको लोभ भने गर्न छाडेनन्। उनको यस्तो हर्कतबाट नाबालक राजालाई जोगाउन भारदारहरूलाई मुस्किल परिरहेको थियो। भर्खरै आफ्नी प्राणप्रिया रानी कान्तवतीको देहान्तले विछिप्त बनेका उनले अनेकौँ अप्रिय कामहरू गरिरहेका थिए।

राजा गिर्वाणयुद्धविक्रमलाई नुवाकोट दरबार लैजादा रानी सुवर्णप्रभा पनि आफ्ना छोराहरूका साथ त्यहाँ पुगेकी थिइन्। उनीबाट जन्मिएका दुई छोरामध्ये चार वर्षका राजकुमार रणोद्योतलाई प्रमुख चौतारा र उनका भाइ शमशेर शाहलाई राजाको प्रमुख सहायकमा नियुक्त गरिएको थियो (आचार्य, २०६८ः२८)। 

स्वामी महाराजले अचाक्ली गर्न थालेपछि नवनियुक्त काजी कीर्तिमानसिंह बस्न्यातले फागु पर्वको बहाना बनाई १८५६ माघ १० गते नाबालक राजा गिर्वाणयुद्धविक्रम शाहलाई नुवाकोट दरबारमा पुर्‍याइदिएका थिए। विछिप्त अवस्थामा रहेका भूतपूर्व राजा रणबहादुर शाह भने बेलाबेलामा नुवाकोट दरबार पुगेर आफ्ना छोरालाई काठमाडौँदेखि भगाएर ल्याएको रिसमा भारदारहरूलाई अनेक किसिमले सताउँथे। यसै क्रममा सरदार अमरसिंह थापा र रणबम पाँडेलाई बेकसुर खुट्टामा बाँधी झुण्ड्याइदिए। परशुराम थापालाई छालामा बसाली बजारमा घिसार्न लगाए। सरदार प्रबल रानालाई उनकी श्रीमतीको पोशाक पहिर्‍याई बजारमा यत्रतत्र घुमाइदिएका थिए। 

स्वामी महाराजको यस्तो हर्कतपछि उनलाई नजरबन्दमा राखेर उपचार गराउनेबारे नुवाकोटमा छलफल हुँदा त्यहाँ कार्यरत चौतरिया बलभद्र शाह भने सहमत भएनन्। बरु उनले रणबहादुर शाहको तत्कालीन मुकाम पुल्चोकमा आएर यसबारे उनको कान भरिदिए (आचार्य, २०६८ः३०–३१)

यसपछि रणबहादुर शाह त्याग गरिसकेको आफ्नो राज्यसत्ता फर्काउने उद्योगतिर अग्रसर भए। उनले नुवाकोटमा रहेको भारदारीलाई विघटन गरेर मुख्य चौताराका रूपमा बलभद्र शाहलाई राखेर मूलकाजीका रूपमा प्रतिमन रानालाई जिम्मेवारी दिए। उनले विदुर शाही, रणकेशर पाँडे, जहरसिंह बस्न्यात, भीमसेन थापाका बाबु अमरसिंह थापा लगायत रहेको समानान्तर भारदारी बनाए। उनले नुवाकोटमा रहेको वैध सरकारविरुद्ध विभिन्न सैन्य कम्पनीहरूलाई आफूलाई सहयोग गर्न आउन आह्वान गरी पत्राचार गरे (आचार्य, २०६८ः३२–३३)। 

त्यसैबेला स्वामी महाराजको स्याहार सुसारमा व्यस्त जेठी महारानी राजराजेश्वरी पनि नुवाकोटमा रहेको वैध सरकारविरुद्ध जुर्मराएर उठेकी थिइन्। उनले गुरुबक्स कम्पनीका सैन्यलाई आफूहरूलाई सहयोग गर्न पत्रमार्फत् आह्वान गरेकी थिइन्। नेपाली (२०७५ः५०)ले प्रकाशित गरेको१८५७ वैशाख वदि १३ रोज २ मा पाटनबाट जारी गरिएको पत्रको व्यहोरा यस्तो छः

स्वस्ति श्री पट्ट राशि जेठा महारानी कस्य रुक्का–
आगे गुरुवक्स कंपनिका जमादार. हवालदार. अम्बलदार. कोत्या मेजर अजिटन सिपाहि गैर्‍हके आसिष उप्रान्त...मान्यौको छ...को र हाम्रो भलो चिताउन्या छौ त हाम्रा रुक्का देषत् सामील हुन आउ...पोछि षेडि कुल्याहा भारालाइ तिम्रा कम्पनीका सुबेदारलाई राजा मानिञुँ भन्छौ त हाँक पारि पठाउ।

यसरी स्वामी महाराज र उनकी जेठी महारानीबाट एकातिर सैन्य मोर्चा तयार गर्दै गरेको अवस्थामा नुवाकोटमा रहेको वैध सरकार पनि चुपचाप लागेर बस्ने अवस्था रहेन। त्यताबाट पनि सैन्य कम्पनीहरूलाई आफ्नो आदेश मान्नका लागि राजा गिर्वाणयुद्धविक्रम शाहको तर्फबाट आह्वान गरियो। 

इतिहासकार ज्ञानमणि नेपालले नेपालको महाभारत (२०५२ः८५–८६)मा प्रकाशित गरेको राजा गिर्वाणयुद्धविक्रम शाहको १८५७ वैशाख सुदी ५ रोज ३ मा तत्कालीन प्रभावशाली भारदारहरूको नाममा जारी गरिएको पत्रमा यस्तो उल्लेख छ, “एकहरा कुरामा पोलाहका आगापिछा रहन्या र जिउ बचाउनाका निमित्य एकाजियले हुँडोलदा येत्रो देश यो ऐश्वर्य बिग्रन्या ढप पारि आपस्मा तकरार गरी कल बढाउन्या काम नगर. यहांका सेवक पनि मेरै हुन्. ताहांको सेवक पनि मेरै हो।”

यसरी बाबु र छोराबीच युद्धको तयारी भइरहेको बेला काजी कीर्तिमानसिंह बस्न्यातको निर्देशनअनुसार काजी दामोदर पाँडेको नेतृत्त्वमा एउटा सैनिक दल नुवाकोटबाट काठमाडौँतिर प्रस्थान गर्‍यो। यो सैनिक दल बालाजुनजिक मुड्खुसम्म आइपुगेको समाचार पाएपछि स्वामी महाराज अत्तालिए। उनी यति धेरै आत्तिए कि आफ्नी रानी राजराजेश्वरीलाई अलपत्र छाडी १८५७ वैशाख ३० गते बनारसतिर पलायन भए (आचार्य, २०६८ः३३–३४)

स्वामी महाराजको बनारस पलायनपछि तत्कालको लागि सम्भावित गृहयुद्ध टरेर गयो। 

सत्तामा सुवर्णप्रभा
आफ्नी सौता जेठी महारानी राजराजेश्वरी र स्वामी महाराज बनारस पलायन भएपछि रानी सुवर्णप्रभा शक्तिशाली रूपमा सत्तामा आइन्। अब नुवाकोटबाट शासन सत्ता चलाइरहनु परेन। नाबालक राजा गिर्वाणयुद्धविक्रम शाहलाई चार महिनापछि काठमाडौँ ल्याइयो।

१९५७ वैशाख सुदी ११ मा भारदारहरूले नाबालक राजा गिर्वाणयुद्धविक्रम शाहलाई नुवाकोटबाट काठमाडौँ ल्याउँदा प्रजाले महारानी सुवर्णप्रभाको पनि ठूलो स्वागत सत्कार गरे। उनी जनताले गरेको सिन्दुरजात्राका साथ दरबारमा भित्रिइन्। उनले हुकुम चलाएर परपजनी गर्न शुरू गरिन् (‘प्राचीन नेपाल’, संख्या २४–साउन २०३०ः८)

महारानी सुवर्णप्रभाले राजा रणबहादुर शाहको तिरहुतिया बालविधवा ब्राह्मणी कान्तवतीप्रतिको आशक्तिबाट उत्पन्न सौता मात्र सहेकी थिइनन्, राजगद्दीका उत्तराधिकारीका रूपमा पहिल्यै दुई छोरा पनि जन्माइसकेकी थिइन्। तर कान्तवतीलाई दिएको वचनअनुसार उनीबाट जन्मेको छोरालाई राजउत्तराधिकारी बनाउनुपर्दा सुवर्णप्रभाबाट जन्मिएका रणोद्योत शाहले परम्परागत राजगद्दीबाट वञ्चित रहनुपर्‍यो।

योगी नरहरिनाथले इतिहास प्रकाशमा सन्धिपत्र संग्रह भाग १ (२०५५ः६६२)मा राजकुमार रणोद्योत शाहका वंशवृक्ष प्रकाशनमा ल्याएका छन्। सोअनुसार रणबहादुर शाहपछि रणोद्योत र उनीपछि वीरवृन्द शाह नेपालको राजगद्दीमा बसेका हुने थिए। उनीपछि शम्शेरजंग, त्यसपछि केशरीजंग, उनीपछि छत्रजंग राजा हुने थिए। त्यसपछि जगत्प्रकाशजंग र उनीपछि नविनप्रकाशजंग शाहलाई नेपालको राजाको रूपमा देख्न पाइने थियो।

मूलकाजीसँग व्यभिचारको आरोप 
स्वामी महाराज रणबहादुर शाह र जेठी महारानी राजराजेश्वरीको काशीबास हुँदा बालक राजा गिर्वाणयुद्धविक्रमका नायबी लिएकी रानी सुवर्णप्रभाको दरबारमा ठूलो हैकम थियो। उनले शासनको सम्पूर्ण अधिकार मूलकाजी कीर्तिमानसिंह बस्नेतको हात सुम्पिएकी थिइन्।

शासनको अधिकार पाएपछि कीर्तिमानसिंह बस्नेतले धमाधम पजनी गर्न थाले। उनको शक्ति बढ्न थालेपछि दरबारका अन्य भारदारहरूको मनमा चिसो पस्यो। यसैबीच, रानी सुवर्णप्रभा र मूलकाजी कीर्तिमानसिंहबीच करणी बिराएको गाइँगुइँ चल्यो। यस्तो बात लगाउनेमा चौतरियाहरू कृष्ण शाह, विदुर शाहीलगायत काजी दामोदर पाँडे, प्रबल राना, देवदत्त थापा, प्रतिमन राना, इन्द्रमान खत्री, रणजित पाँडेहरू थिए। १८५८ आश्विन वदी ६ राति दरबारबाट हात्तीसारको बाटो जाँदै गर्दा निरकञ्जन खवास र सामदत्त शाहीलाई प्रयोग गरेर मूलकाजी कीर्तिमानसिंह बस्नेतको हत्या गरियो। त्यतिखेर उनी दरबारबाट निस्केर हात्तीसारको बाटो हुँदै आफ्नो निवासतिर जाँदै थिए (नेपाल, २०५२ः४८)

हत्याराहरू भागे। हत्याकाण्डपछि रानीले ठूलो कचहरी बोलाइन्। कचहरीमा कीर्तिमानसिंहलाई के बापतमा बिनाहुकुम किन काटियो भनेर चौतरिया शेरबहादुर शाही र बम शाहले र्‍याखर्‍याख्ती पार्दा कोही चुइक्क बोल्न सकेनन्। यो काण्डमा आशंका गरिएका चौतरियाहरू विदुर शाही, कृष्ण शाहलाई विभिन्न बाहनामा भगाएर बचाइयो। दामोदर पाँडेलाई जनै छुन लगाई धर्म भकाइयो। उनका दुई छोरा रणजित तथा रणकेशर पाँडेहरू निर्वासित भए। तर सरदार प्रतिमन राना, पुराना खजाञ्ची गर्भु खवास, सरदार इन्द्रसिंह खवास निर्ममतापूर्वक काटिए। प्रबल राना फलामको पिँजडामा कडा कैदमा परे। काजी देवदत्त थापा मगरको आँखा झिकियो। कीर्तिमानसिंहको हत्यामा संलग्न भारदारहरूको मतोमा लागेको भनेर १२६ जनालाई जेलमा कोचियो (नेपाल, २०५२ः४९)

अर्को स्रोतका अनुसार कीर्तिमानसिंह बस्नेतको हत्या हुनुमा चौतरिया शेरबहादुर शाही मुख्य षडयन्त्रकारी थिए। मूलकाजी बस्नेतले चौतरियादेखि चिरुवादारसम्मको रकमकलम पजनी गर्दा त्यसप्रति असन्तुष्ट भारदारहरूले चौतरिया शेरबहादुर शाहीसँग मतो बाँधे र राति रानीसँग एकान्तमा भेट गरी फर्कदा बस्नेतको हत्या गरियो (‘प्राचीन नेपाल’, २०३०ः८)। तर कीर्तिमानसिंहको हत्याको विषयमा आयोजित कचहरिमा शेरबहादुर शाही नै न्यायनिरूपणको लागि अघिसरा देखिएका थिए।

मूलकाजी कीर्तिमानसिंहको हत्यामा तत्कालीन काजी दामोदर पाँडेको हात हुन सक्ने इतिहासकार डा. विनोद थापाले अनुमान गरेका छन्। उनले नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातहरूको योगदान (२०७४ः११६)मा तत्कालीन राजनीतिक खेलचुक्लीको लेखाजोखा गर्दै आफू अनुभवी र अग्रज भए पनि आफूले मूलकाजी नपाएकोमा दामोदर पाँडे भित्रभित्रै रुष्ट रहेको तथा आफ्नै भानिज भए तापनि सत्तालिप्साका कारण उनी कीर्तिमानसिंहको हत्या गराउन चाहन्थे भन्ने उल्लेख गरेका छन्। यस्तै कीर्तिमानसिंह अंग्रेजको दबदबाको कट्टरविरोधी रहेको उल्लेख गर्दै आफ्नो स्वार्थसिद्धिका लागि अंग्रेजले दामोदर पाँडेलाई प्रयोग गरी हतियार बनाएर आफ्नो बाधकका रूपमा रहेका मूलकाजी कीर्तिमानसिंहको हत्या गरिएको हुनसक्ने अनुमान पनि डा. थापाले गरेका छन्।

वंशावलीअनुसार गोरखाली राजा नरभूपाल शाहसँग काम गरिसकेका र पृथ्वीनारायण शाहको समयमा नाम कमाएका श्रीपाली बस्न्यातहरूमध्ये १५औँ पुस्ताका शिवरामसिंह बस्न्यातका माहिला छोरा केहरसिंह बस्न्यातका तीन छोरामध्ये जेठा जहरसिंह र कान्छा बख्तावरसिंह हुन् भने कीर्तिमानसिंह चाहिँ माहिला छोरा हुन् (हनुमानसिंह बस्न्यात र पूर्णमानसिंह बस्न्यात, श्रीपाली बस्न्यात–परिचय : इतिहास तथा वंशावली, २०५८ः१५१ र १५७)

पृथ्वीनारायण शाहले पाँडे र बस्न्यात खलकको वैवाहिक सम्वन्ध गाँसिदिएका थिए। बाबुराम आचार्य र योगी नरहरिनाथद्वारा सम्पादित बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश (२०६१ः३८)मा पृथ्वीनाराण शाहको भनाइका रूपमा काजी कालु पाँडेको प्रसङ्गमा 'अब पांडे र बस्न्यात्को जुग बादिदिंछु तेरि छोरि सिवराम बस्न्यात्को छोरो केहेर्सिंह बस्न्यात्लाई देउ भनि मागि बिहे गरिदिँञा' भन्ने उल्लेख छ। 

यसबाट दामोदर पाँडे र कीर्तिमानसिंह बस्न्यातबीच मामा-भानिजको सम्बन्ध रहेको स्पष्ट देखिन्छ। तर राजनीतिक खेलमा यस्तो नातासम्बन्धको डोरो पनि काँचो धागोजस्तै कमजोर हुँदो रहेछ भन्ने तथ्य तत्कालीन राजनीतिक परिस्थितिमा यी मामा र भानिजबीचको सम्बन्ध मारकाटसम्म पुगेको अवस्थाले पनि प्रष्ट पार्छ।

कीर्तिमानसिंहको हत्यापछि उनका कान्छा भाई बख्तावरसिंह बस्न्यातलाई मूलकाजीका रूपमा जिम्मवारी दिइयो। सुवर्णप्रभा यथावत शक्तिमा रहेर नायबी चलाउन थालिन्।

सुवर्णप्रभाका कीर्तिहरू
आफ्नो आफ्नो समयमा धर्मकर्मका लागि सुवर्णप्रभाले १८५८मा गोरखनाथ गुफामा र नन्दीकेशर बहालमा अभिलेखसहित घण्टा चढाएकी थिइन्। त्यसताका नेपालका राजकाजमा अनिश्चितताको वातावरण थियो। महिला महारानी सुवर्णप्रभाले आफ्नो स्थिति मजबुत होस् र प्रभाव नगिरोस् भन्ने कामनाले यी धर्मकर्म गरिएका हुन् भन्ने कुरा प्रसंगबाट झल्किन्छ (वज्राचार्य र श्रेष्ठ, २०३७ः३३४)

यसैगरी, उनले आफू बिनाविघ्नबाधा शासन सञ्चालनमा व्यस्त राख्ने अवसर पाएपछि उनले आफ्नो नाममा सुकी मुद्रा पनि प्रचलनमा ल्याइन्। यस मुद्राको अघिल्लतिर मुखमा–बीचमा फूलका मालासहित सिन्दुरदानी छ। शिरमा 'श्री ३' छ। छरिएका अक्षरमा 'सुवर्णप्रभा देवी' लेखिएको छ। मुद्राको पछिल्लतिरको मुखमा दुई धर्का छन्। पहिलो हरफमा दायाँबायाँ चन्द्रमा भएको 'श्री' छ। बीचमा 'त्रिशूल' छ, 'श्रीभवानी' लेखिएको छ (सत्यमोहन जोशी, नेपाली राष्ट्रिय मुद्रा–२०४२ः१०७)

चाँदीको नेलसहित पक्राउ
बनारसमा रहेका स्वामी महाराजलाई सकेसम्म उतै राखिराख्न अंग्रेजहरूसँग सम्झौता गर्दै उनीहरूसँग वाणिज्य सन्धि गर्नेदेखि पूर्वतिरको उठ्तीबाट स्वामी महाराजको खान्कीको प्रबन्ध गर्ने जोरजाम सुवर्णप्रभाको नायबीमा हुँदै थियो। उता ऋणमा चुर्लुम्म डुबेका स्वामी महाराज नेपाल फर्केर फेरि सत्तासिन हुने प्रयासमा थिए।

स्वामी महाराजको बिलाशी हर्कतदेखि वाक्कदिक्क भएर जेठी महारानी राजराजेश्वरी १८५९ को हिउँदमा जबरजस्ती नेपाल फर्किन्। सुवर्णप्रभाबाट उनलाई बाटोमा रोक्ने प्रयास पनि भयो। तर आफूमाथि आइपरेको अवरोधलाई नाघ्दै अगाडि बढ्दा उनलाई रोक्न गएका सिपाहीहरूले नै डोलीमा चढाएर ल्याए। उनी राजनीतिक परिस्थिति बुझ्दै आठदश दिन किमडोलमा अडिदा दामोदर पाँडेको नेतृत्त्वमा गएका भारदारहरूले उनलाई सिन्दुरजात्रा गर्दै दरबारमा ल्याए। सुवर्णप्रभालाई विस्थापित गरेर एकाएक शक्तिमा आएकी जेठी महारानी राजराजेश्वरीले विदुर शाहीलाई मुख्य चौतरिया र दामोदर पाँडेलाई मूलकाजी बनाएर शासनसत्ता हातमा लिइन्। उनले आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा सुवर्णप्रभालाई चाँदीको नेलसहित सुन्दरचोकमा कैदमा गरिन्। उनका दुवै छोरा पनि खोसुवामा परे (नेपाल, २०५२ः५२–५३)

जेठी राजराजेश्वरी विभिन्न अवरोधहरू पन्छाउँदै काठमाडौँ आउदै गर्दा सुवर्णप्रभाले भने नाबालक राजा गिर्वाणयुद्धविक्रम शाहलाई देवपतन लगेर राखेकी थिइन्। राजराजेश्वरी आफैँ त्यहाँ पुगी राजालाई ल्याएर दरबार प्रवेश गराएकी थिइन् भने सुवर्णप्रभा पक्राउ परेकी थिइन् (प्राचीन नेपाल, २०३०ः९)।  

यसरी राजनीतिको अनेकौँ खेलचुक्लीहरूमा रणबहादुर शाहकी माहिली रानी सुवर्णप्रभाले आफ्नो समयमा शक्ति र सौर्य देखाएकी थिइन्। नेपाली इतिहासकारहरूले भने गिर्वाणयुद्धविक्रम शाहको नायबी राजराजेश्वरीले भन्दाअघि नै सुवर्णप्रभाले पाएकोबारे भने चर्चा गरेको पाइँदैन।


सम्बन्धित सामग्री