Saturday, April 27, 2024

-->

‘बाह्र भाइ’ बिम्ब बनाउने पत्रकार सम्मेलन

पीत पत्रकारिताको बिम्ब बनेको १२ भाइको ‘मार्केटिङ’ त रविले गज्जबले गर्दिए, जुन कलामा उनी माहिर पनि छन्। यसको उत्पत्ति कसरी भयो भन्नेचाहिँ पत्रकार बिरादरीमै धेरैलाई थाहा नहोला, अरूलाई के थाहा हुनु!

‘बाह्र भाइ’ बिम्ब बनाउने पत्रकार सम्मेलन

रवि लामिछानेले उपप्रधानसहितको गृहमन्त्रीबाट माघ १३ गते नै राजीनामा गरिसकेका थिए। अघिल्लै दिन ‘मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला मेरो मौनता आजसम्मको लागि मात्र हो। म अभिमन्यु होइन’ भनेर ट्विट गरेकाले पनि गत वर्ष माघ २२ गतेका लागि निर्धारित पत्रकार सम्मेलनप्रति कौतूहल ह्वात्तै बढाइदिएको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पत्रकार त बेलैमा भेला भइसकेका थिए, रास्वपाका मन्त्रीहरूलाई फिर्ता बोलाउने कि नबोलाउने निर्णय गर्न बसेको केन्द्रीय कार्यसमितिको बैठक लम्बिएपछि कुर्नपरेको थियो। ढिलोगरी पत्रकारसमक्ष उपस्थित रविले राँक्किँदै ललकारेका थिए, “मिडियाले चाहेअनुसार देश चलाउने? देश चलाउने हो भने चितवन–२ मा मसँग चुनाव लड्न आउनूस्। कैलाश सिरोहिया आउने हो कि, रामेश्वर थापा आउने हो कि, अमित ढकाल आउने हो कि, शिव गाउँले आउने हो कि, को–को आउने हो, आउनुस्। तर देश तपाईंहरूले चलाउने होइन।”

‘पत्रकारिता तपाईंहरूले चलाउने, देश हामीले चलाउने’ भन्दै उनले धर्मराज भुषाल, कनकमणि दीक्षित, दिलभूषण पाठकलाई पनि आफूसँग चुनाव लड्न चुनौती दिएका थिए। मिडियाप्रति आलोचनात्मकभन्दा गालीगलौजको वर्षा भएको त्यो दिन रविले ‘१२ भाइ’ बारम्बार उच्चारण गरे। 

“अब मलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर लागेका छन्। पासपोर्ट दुरूपयोगमा त फौजदारी लाग्यो भने जिन्दगीभर चुनाव लड्न पाइँदैन भनेर भनिरहेका छन्। त्यहाँ हान्नुपर्छ भनेर १२ भाइ मिलिसके होला। मिटिङ भइसक्यो” उनी मुर्मुरिएका थिए।

त्यही पत्रकार सम्मेलनमा अर्को प्रसंगमा उनले भनेका थिए, “१२ भाइ पत्रकारलाई त यो पच्दैन। उनीहरूलाई त टक्क बसेर जाँड खाँदै ‘यसलाई ठोकौँ’ भन्ने हुन्छ। लेखाउनुस्। यिनले ठोकेर नेपाली राजनीति सधैँ ठोक्किने?”

आफ्नो पासपोर्ट विवाद चार वर्षअगाडि आफैँले खुलासा गरेको दाबी गर्ने रविले त्यही विषय हेडलाइन बनिरहेकोमा क्रोधित सुनिन्थे। “१२ भाइ पत्रकार जम्मा गरेर घरी एउटाले एकातिरबाट, घरी अर्कोले अर्कोतिरबाट प्रहार गरिरहे,” उनको आक्रोश थियो।

आफूलाई पत्रकारै नस्वीकारेका पत्रकार बिरादरी उपप्रधानसहितको गृहमन्त्री भएपछि आरिसले तड्पिएको उनको आरोप थियो। “आउने चुनावमा रास्वपाले सरकार बनाउने गरी, अब उपप्रधान तथा गृह हैन, प्रधानमन्त्री हुनेगरी हामी लागिपरेका छौँ,” उनले भनेका थिए, “मैले यसो भनेपछि त १२ भाइलाई पासपोर्ट भन्ने लागिहाल्छ। त्यहाँ त ढ्याम्मै फसाइन्छ भन्ने छ।”

उनले बारम्बार प्रयोग गरेको ‘१२ भाइ’ त्यसपछि एउटा बिम्ब नै बन्न पुग्यो। केही महिनाअघि पत्रकार नारायण वाग्ले अष्ट्रेलियामा वक्ता भएको कार्यक्रममा उपस्थित त्यही प्राध्यापन गर्ने एकजना स्रोता भाषण सकिएपछि नारायण दाइसँग चिनापर्ची गर्न आएछन्। उनले भनेछन्, “कार्यक्रमको निम्तो आएपछि वक्ता १२ भाइमध्येको हो कि, जाउँ कि नजाउँ भा’थ्यो, तर तपाईं मान्छे खराब त नहुनुहुँदो रछ।” नारायण दाइले ‘१२ भाइलाई कसरी बुझ्नु भएको छ’ भनेर सोधेछन्। उनले सगोलमा मदिरापान गरी सेटिङ/ब्ल्याकमेल गर्ने पत्रकारका रूपमा बुझेको उत्तर दिएछन्।

अलिअघि नियमितजसो अड्डा मारिने क्याफेमा छिर्दाछिर्दै बसिरहेका हाल सर्वोच्चमा न्यायाधीश (त्यतिबेला वरिष्ठ अधिवक्ता) बालकृष्ण ढकालले ‘सुजितजी, तपाईं पनि १२ भाइ त हैन नि?’ भनेर प्रश्न तेर्स्याउनु भयो। “१२ भाइमा पर्न पाए त हुन्थ्यो नि,” मुख फर्काइयो, “त्यसमा त मेरा सिनियर र मभन्दा काबिल पत्रकारहरू छन्।”

१२ भाइ भनेको के हो बुझाउन जाँगर चलाइएन, बालकृष्णजी वाल्ल परे। 

अर्को यस्तै रोचक प्रसंग छ। हालै खुट्टो मर्काएर ससुराली घरमा आराम फर्माइरहेका एक जना साथीलाई भेट्न पुगियो। एनसेलमा इन्जिनियर अनि राजनीतिका साथै पुँजीवाद/समाजवाद जस्ता भारीभरकम विषयमा पनि बहस गर्न सुरिने साथीका सालाले गफको क्रममा फ्याट्टै सोधी त हाले “दाइ पनि १२ भाइजस्तै त हैन नि?” मुसुमुसु हाँस्दै उनैलाई सोधियो, “तिमीले बुझेको १२ भाइ के हो?”

उनले पनि पीत पत्रकारिता गर्नेको बिम्बको रूपमा बुझेका थिए। रविको पत्रकार सम्मेलनले समाज र सामाजिक सञ्जाल तातेकै बेला पत्रकार आशीष ज्ञवालीलाई जिममा त्यही सोधिएछ, ‘तपाईं १२ भाइ त हैन नि?’ 

पीत पत्रकारिताको बिम्ब बनेको १२ भाइको ‘मार्केटिङ’ त रविले गज्जबले गर्दिए, जुन कलामा उनी माहिर पनि छन्। यसको उत्पत्ति कसरी भयो भन्नेचाहिँ पत्रकार बिरादरीमै धेरैलाई थाहा नहोला, अरूलाई के थाहा हुनु!

केपी ओली नेतृत्वको नेकपा (नेकपा) को सरकार भएकै बेलाको कुरा हो। डा. गोविन्द केसीको अनशन चल्दै थियो। केपी ओली यसपालि केसीलाई गलाउने आफू सम्झौता नगर्ने सुरमा सुनिन्थे। योगेश भट्टराईको प्रत्यक्ष निगरानीमा काउन्टर अनशनको अभ्यास पनि चलेको थियो।

काठमाडौँका चल्तीका मिडियाको सम्पादकीय नेतृत्वमा रहेका वा रहिसकेका केहीको ‘लुज नेटवर्क’ छ। जुन विशेषगरी केसीको अनशनलाई सत्ताले बेवास्ता गर्दा मागमा ऐक्यबद्धता जनाउँदै उनको जीवन रक्षाको आवाज उठाउने गर्थ्यो। ओलीको अडानमा ‘केसीलाई केही भैहाल्यो भने’ भन्ने आशंकाबीच सम्पादकहरूको त्यो नेटवर्कले विज्ञप्ति जारी गर्‍यो। विज्ञप्तिमा सहीछाप गर्नेमा एकाध संख्या तलमाथि हुने गर्थ्यो, त्योपालि सहीछाप गर्ने सम्पादक १२ जना थिए। उनीहरूको ऐक्यबद्धता पहिलेजस्तो विवादमुक्त किन भएन भने, पहिले सत्ताले साइबर सेना बनाएर आलोचकलाई ‘ट्रोल’ गर्ने परिपाटी त्यसअघि शुरू भएको थिएन। ओलीका साइबर सैनिकले ‘१२ भाइ’ भन्दै ट्रोल गरे। त्यही १२ भाइ रविले टपक्क टिपेर प्रयोग गरेका थिए।

‘सोसल मिडिया’को जमानामा यसै पनि हरेक प्रयोगकर्ता नै एउटा मिडिया भएको छ। सोसल मिडियामार्फत ‘मास मिडिया’को आलोचना, गालीगलौज तीव्र भइरहेकै थियो। नेताहरूले पनि संगठितरूपमै आफ्ना आलोचकलाई ठीक लाउने अभ्यास थालिसकेकै थिए। मिडियाका आफ्नै कमजोरी त थिए र छन् नै। “रविले मूलधार मिडियाका हस्तीहरूलाई नै १२ भाइको बिम्ब बन्नेगरी खलनायकीकरण गरिदिए,” प्रतीक प्रधान भन्छन्।

वर्ष दिनअघिको रविको त्यो आक्रामक पत्रकार सम्मेलनपश्चात् केही दिन सोसल मिडियामा पत्रकारिता/पत्रकारप्रतिका आलोचना, असन्तुष्टि, कुण्ठा अनि भँडास पोखिए। संविधानका विरोधी (हिन्दू राष्ट्र, राजसंस्था चाहने)हरूले पनि यही मौकामा २०६२/६३ सालले ल्याएको परिवर्तनलाई आत्मसात् मात्र हैन स्वामित्व नै लिने नेपाली पत्रकारिताको मूलधारविरुद्ध ‘हात/मुख साफ गर्ने’ मौकाको रूपमा प्रयोग गरे। 

रवि र रास्वपालाई नै हौस्याउने गरी भएको यस्तो असन्तुष्टि र आलोचना स्वाभाविक अनि जायज थिए त? के नेपाली पत्रकारिता त्यस्तो पत्रु भइसकेको हो र? ‘चौथो अंग चुत्थो अंग’ भन्दिदा हुने भइसकेको हो त?

रविका अधिकांश आरोप लाञ्छना मात्र थिए, पुष्टि गर्ने झिनो आधार पनि थिएन। नितान्त व्यक्तिगत, आपत्तिजनक र अशोभनीय पनि थिए। जस्तै, पत्रकार सम्मेलनको उत्तरार्द्धतिर ‘१२ भाइ बसेर जाँड खाने बेला हुन लाग्यो होला। कति बज्यो? अर्काले दिएको रक्सी खान्छन्, किनेको होइन। सिंगलमल्ट खान्छन्, सानोतिनो खाँदैनन्’ भनेका थिए। “रविले हामी १०/१२ जना सम्पादक दिनदिनै भेटेर जाँड खाँदै भोलिको एजेन्डा सेट गर्ने जसरी आरोप लगाए,” खोज पत्रकारिता केन्द्रका प्रधान सम्पादक किरण नेपाल भन्छन्, “यत्रो संख्यामा सम्पादक भेला हुने विरलै हुन्छ। हामी १२ भाइ नभेटेको वर्षौं वर्ष भइसक्यो।”

‘जाँड खान्छन्’ भन्नु नेपाली समाजमा अति सामान्यीकरण भइसकेको र भइरहेको आरोप भयो। नेताले अरूले ख्वाएको रक्सी खान्छन्। पुलिसको त जातै सित्तैमा वा अरूले ख्वाएको खाइदिने हो। कर्मचारीको पनि त्यस्तै। उहिल्यै अति सम्मानित मानिने डाक्टरलाई पनि अचेल औषधि कम्पनीको खाने भनिहाल्छन्। इन्जिनियरलाई पनि ठेकदारले खुवाएको खाने ठानिन्छन्। यसैले यो अरूको रक्सी खाने भन्ने कुरा पेसासापेक्षभन्दा व्यक्तिसापेक्ष हो। खानेले त भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा पुग्दा झनै खाइदिन्छन्। 

कान्तिपुर मिडियाप्रति बढी नै खनिएका रविले ब्ल्याकमेल गरी सित्तैमा शेयर लिएको आरोप गढेका थिए। 

“चन्द्रागिरि हिल्सका विषयमा कान्तिपुरले निरन्तर समाचार र फलोअप गर्‍यो। तर अकस्मात बन्द भयो। चन्द्रागिरिमा के भयो? हरेक मान्छेले राजालाई दाम चढाएजस्तो उहाँलाई चढाउनुपर्ने,” आक्रामक हुँदै आरोप लगाएका थिए, “कसैले व्यापार गर्नै नहुने उहाँलाई चढाउनुपर्ने। कसैले इन्सुरेन्स खोल्यो, उहाँलाई नै चढाउनुपर्ने। कसैले उद्योग खोल्यो, उहाँलाई चढाउनुपर्ने।”

समाचारको विषयलाई लिएर चोकचौतारामा चिया चुस्क्याउँदै, खैनी माड्दै, भट्टीमा रक्सी घुट्क्याउँदै, क्याफेमा कफी सुर्क्याउदै अनेकन आशंका गरिने उहिल्यैदेखिको चलन हो। सोसल मिडियाको उदयसँगै निराधार आरोप, गसिप पनि सार्वजनिक रूपमै आउन थालेकै हो। माघ २२ गते पूर्व उपप्रधानमन्त्री र उदीयमान पार्टीको अध्यक्षले यस्तै आरोप पार्टी कार्यालयको प्रांगणबाट पत्रकार सम्मेलनमार्फत नै लगाइदिए। 

चन्द्रागिरि हिल्समा कान्तिपुरले लेनदेन गरेको अहिलेसम्म अफवाहमै सीमित छ। यसकै साहु चन्द्र ढकालले यो आरोप खारेज गर्ने गर्छन्। चन्द्रागिरिको निर्माणमा वातावरणीयलगायतका कानून ‘कम्प्लायन्स’ नगरेको कुरा छ, त्यो त अहिले देशैभरि केबल कार विस्तारमा लागेका ढकालमाथि भोलि पनि उठ्नसक्छ। अझ केबल कारको अनुमति दिन कानून नै ‘संशोधन/परिमार्जन’ भएका तथ्यहरू सप्रमाण आउनसक्छन्। निरन्तर फलोअप गर्दा पत्रकार/मिडियालाई हात धोएर पछि लागेको, पैसा झार्न खोजेको आरोप गढ्ने उही व्यक्तिले फलोअप नहुँदा सेटिङ गरेको भन्नु/लेख्नु सामान्य सुनिन्छ।

रविले इन्सुरेन्स भनेर औँला ठड्याएको हिमाल रिइन्सुरेन्स हो। यसको लगानीकर्तामा शुरूमा कैलाश सिरोहिया थिएनन्। हिमालयन रिइन्सुरेन्सको लगानीको जिम्मा सुलभ अग्रवाल (शंकर ग्रुप) तथा इजाजतको नेतृत्व दीपक भट्टले गरेका थिए। भट्टले नै सोल्टी होटलको भोजभतेरमा भेट हुँदा व्यवसायी विकास राणालाई १० करोडबराबरको शेयर अफर (सित्तैमा हैन,  खनखन नगदमा) गरेका थिए। राणाले घनिष्ठ मित्र सिरोहियालाई समेत १० करोडबराबरको शेयर दिन भनेपछि भट्टले सहर्ष स्वीकारेका हुन्। बकाइदा चेकमार्फत भुक्तानी गरी किनिएको शेयर हो, उधारो पनि हैन।   

मध्यरातमा माइतीघरमा भएको कार दुर्घटनामा रविले सम्भव स्वाँर सिरोहियालाई मुछेका थिए। दुर्घटनाग्रस्त कार सम्भव सिरोहियाले ‘ड्राइभ’ गरेको आरोप सही थिएन, गाडीमा सवारचाहिँ थिए। “उहाँलाई हामीले नवराजा बनाएको हो? गाडीको तस्वीर हामीसँग छ,” उनी कुर्लिएका थिए, “यो घटना कसले लुकायो? किन लुकायो? यसको खोजी गर्न कसैले सक्छ?”

गाडीबाहेक कसैलाई क्षति नभएको यो दुर्घटनाको खबर कान्तिपुरबाटै ‘अंश छुटी भिन्न भएको’ अखबार नागरिक दैनिकमा प्रकाशित भएको हो। अनि रविले ‘हामीसँग छ’ भनेको फोटो पनि त्यही अखबारमा प्रकाशित हो। सबै मिडियाले प्रकाशन/प्रसारण गर्ने महत्त्वको न्यूज थियो वा थिएन भन्नेमा फरक फरक विचार हुनसक्छ।     

रविले माघ २२ गते लगाएका गम्भीर प्रकृतिका सबैजसो आरोप निराधार थिए। एकएक गरी खण्डन गर्न सकिन्छ। तैपनि मिडिया आलोचनाको अचानोमै छ। फेरि फुर्किन/फुक्र्याउन तयार भइहाल्ने  हाम्रो समाज निराश हुन, गाली गर्न पनि बेर लगाउँदैन। उकालोले खुलासा गरेको ‘बाँसबारीको १० रोपनी जग्गा काण्ड’मा अरुण चौधरी पक्राउ परेपछि तारिफ गर्ने उत्तिकै छन्। फेरि पनि कतिपय कुरामा मूलधार भनिने मिडिया वा १२ भाइहरूले प्रतिनिधित्व गर्ने मिडियाले रविको राजनीतिक उडानलाई हजम गर्न नसकेको चाहिँ पक्का हो।

गृहमन्त्री रवि पासपोर्टको वितरण हेर्न पासपोर्ट विभाग पुग्दा परराष्ट्र मन्त्रालयअन्तर्गतको अड्डामा गएर ‘क्षेत्राधिकार मिच्यो’ भनेर समाचार बन्नु पूर्वाग्रह नै हो, समाचारका लागि समाचारै हो। ७७ वटै जिल्लाबाट पासपोर्ट वितरण गर्ने गृह मन्त्रालय, अनि गृहमन्त्रीले पासपोर्ट विभागमा खुट्टै राख्न नपाइने भन्ने पनि हुन्छ र?

मेयरले समेत एयरपोर्टमा भीआईपी सुविधा (भीआईपी रुममा बस्ने, एयरलाइन्सको भ्यानमा चढेर विमान चढ्ने) खोजेर सुरक्षाकर्मी र विमान कम्पनीका कर्मचारीलाई हत्तुहैरान पारिरहेको देशमा गृहमन्त्रीले नै ‘भीआईपी सुविधा प्रयोग नगरी विमान चढ्छु’ भन्नु तारिफकै कुरा थियो, मिडियाले यसलाई पनि ‘स्टन्ट’ भनेर आलोचना गरेकै हुन्। अनि त उनले त्यो चर्चित पत्रकार सम्मेलनमा चित्त दुखाएका थिए, “हरचिज स्टन्ट लाग्छ। लाइनमा लाग्दा स्टन्ट गरेको भन्नुहुन्छ। कत्रो पिर, म के गरूँ अब! एयरपोर्टमा जाँदा बस चढेँ, स्टन्टबाज, पपुलर हुन खोजेको भने।”

जनक शिक्षाले गर्दा समयमा पाठ्यपुस्तक नपुगेको देखेपछि शिक्षामन्त्री शिशिर खनालले जनक शिक्षाका साथै निजी प्रेसलाई पनि पाठ्यपुस्तक छाप्न दिने निर्णय गरे। अनि केही मिडियाले सेटिङमा सरकारी जनक शिक्षा डुबाउन खोजेको भन्दै समाचार बनाए। खनालको त्यही निर्णयले गर्दा गत वर्ष धेरै वर्षपछि समयमै पाठ्यपुस्तक पुगेको खबर आयो।

आक्रामक पत्रकार सम्मेलनको वार्षिक तिथि नजिकिँदै गर्दा गएको माघ ८ गतेचाहिँ रवि मिडियाप्रति नरम सुनिए। जबकि कतिपयले पोहोरको पत्रकार सम्मेलन सम्झिँदै टेलिभिजन/मोबाइल स्क्रिनअघिल्तिर बसेका थिए। अघिल्लो पत्रकार सम्मेलनमा ‘आवेशवश व्यक्तिगत आक्रमण गरेको छु,’ भन्दै क्षमा चाहे। डा. रामेश कोइराला, धर्म भुषाल, सम्भव सिरोहियाको नामै लिएर व्यक्तिगत आक्रमण भएकोमा माफी मागे। ‘अरू पनि नाम छुटाएँ होला’ भनेर त्यस्तरी प्रस्तुत नभइदिनपर्थ्यो भनेर उनको व्यक्तिगत निशानामा परेका सबै ज्ञात/अज्ञातप्रति क्षमायाचना गरे। वर्ष दिनअघिको ‘मसालेदार’ पत्रकार सम्मेलन सम्झिएर मुख मिठ्याउँदै स्क्रिन अघिल्तिर बसेकाहरूलाई पछिल्लो पत्रकार सम्मेलन लसुन, प्याजसमेत नहालेको शुद्ध शाकाहारी थियो। भविष्यमा पनि त्यस ढंगले प्रस्तुत नहुने प्रतिबद्धता व्यक्त गरी ‘१२ भाइ २.०’ चाहनेहरूलाई निराश नै बनाइदिए।

“आफ्नो शरीरमा लागेको आगोको ज्वाला बोकेर १२ भाइ मिडिया मठ सल्काइदिएका छन्,” पत्रकार विजयकुमारले ट्विट गरेका थिए, “उनका कयौँ कुरा आवेगी भए पनि मिडियालाई आत्मनिरीक्षणको मौका पनि हो।” समयले यसरी गुलाटी मार्‍यो कि मिडियाले आत्मनिरीक्षण त के गर्‍यो होला र, बरु रवि स्वयंले आत्मनिरीक्षण गरेको सुनियो। विजय दाइको युट्युब च्यानलमा घोषित ‘१३ भाइ डटकम’ पनि हेर्न/सुन्न पाइएको छैन।

गएको वैशाखमा भएको उपचुनावमा चितवन–२ मा रेकर्डतोड जितसँगै लोकप्रियताको चुचुरोमा पुगेका रविको रापताप सेलाउने क्रममा छ। “गाउँघरतिर पहिले पुराना पार्टीको तारिफ गर्दा ठाउँको ठाउँ कुटाई खाइनसक्ने हदको आक्रोश थियो,” काठमाडौँबाहिर भ्रमण गरिरहने  रामेश्वर खनाल (पूर्व अर्थसचिव)ले अलि अघि भनेका थिए, “अब त रास्वपाको तारिफ पनि नसहने अवस्था बनिसकेछ।” खनालले यसो भनिरहँदा रवि सहकारीवाला पछिल्लो लफडामा परेकै थिएनन्।      

“मसँग पनि सत्कर्मले जोडिएका साथी छन्। गलत हेडलाइन र समाचार लेख्नुभयो भने सबैलाई लिएर घेर्न आउँछु। खबरदार, आई विल नट टोलरेट दिस। सही ढंगले लेख्नुस्, ठीक छ। गलत ढंगले लेख्नुभयो भने मान्दिनँ,” भनेर गर्जिने अवस्थाले गुलाटी मारिसकेको छ। अब सहकारीमा बचत गुमाएका पीडितहरू उनकै घर/अफिस घेर्न आउने सम्भावनालाई खारेज गर्न सकिँदैन। 

“केपी ओली डराउलान्– कान्तिपुरले ठोक्ला, अन्नपूर्णले ठोक्ला, अनलाइनखबर, सेतोपाटी र रातोपाटीले सिध्याउला। तर म डराउदिनँ। तपाईंहरू गलत मान्छेको हातमा पर्नुभयो। मसँग चल्दैन। अर्गनाइज्ड तरिकाले पेल्दैपेल्दै गएर सिध्याउन खोज्नुभएको हो। म अभिमन्यू होइन। मलाई युद्धभित्र छिरेपछि निस्कन पनि आउँछ,” उनले भनेका थिए।

तर उनी ‘चक्रव्यूह’मा त परिसकेका छन्। अब हेर्नपर्ने हुन्छ, उनी निस्किन्छन् कि मुद्दामामिला, प्रहरी हिरासत, जेलमै पुग्छन्।


सम्बन्धित सामग्री