Tuesday, April 30, 2024

-->

साहित्यकार, संगठक र विचारक मित्रलाई अन्तिम बिदाइ

प्राडा पाण्डेयको मूल व्यक्तित्व मार्क्सवादी समालोचक र साहित्य चिन्तकको हो। उहाँ राम्रो कवि पनि हुनुहुन्थ्यो। नेपालको मार्क्सवादी समालोचना क्षेत्रको थोरै उल्लेखनीय व्यक्तित्वहरूको लहरमा पर्नुहुन्छ।

साहित्यकार संगठक र विचारक मित्रलाई अन्तिम बिदाइ

दुर्घटनामा परेर प्राडा ताराकान्त पाण्डेयको मृत्यु भएको खबर शुरूमा त विश्वासै लागेन तर विश्वास नगरी सुख पनि थिएन। १०–१५ दिनअघि उहाँसँग कुराकानी भएको थियो। 'प्रवर्तक'को समालोचना अंकका निम्ति माघ १५ गतेसम्म समालोचना उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो। डेढ महिनाअघि समालोचनाका निम्ति आग्रह गरिएको थियो। मैले सकेसम्म निर्धारित समयमै आलेख उपलब्ध गराउने बताएर फोन राखेँ। लामो कुरा भएन। फोनमा लामो कुरा गर्ने बानी उहाँको थिएन। कमसेकम मसँग फोनमा लामो कुरा गरेको मलाई थाहा छैन।

प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँ सुदुरपश्चिमको कैलाली जानु भएको थियो। इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष र क्रान्तिकारी कम्युनिष्ट पार्टीको स्कुलिङ विभागसँग सम्बद्ध हुनुहुन्थ्यो। स्कुलिङ विभागले आयोजना गरेको कार्यक्रममा प्रशिक्षकका रूपमा सहभागी हुन कैलाली पुग्नुभएको थियो। प्रशिक्षणपछि बाँके खजुरामा रहेका आफन्तहरूलाई भेटेर काठमाडौँ फर्किदा दाङको भालुवाङमा बस दुर्घटनामा परेर उहाँको निधन भयो। चालकको लापरबाहीका कारण उहाँसहित १२ जनाले ज्यान गुमाए। भालुवाङको राप्ती पुल दुर्घटना हुने ठाउँ नै होइन। चौकीमा इन्ट्री नगरी हुँकिएको बस तीव्र गतिकै कारण पुलबाट तल खसेको थियो।

उहाँको मृत्युको अप्रत्यासित खबरले गहिरो चोट लाग्नु स्वाभाविक थियो। खबर पाएपछि आफूलाई सम्हाल्नै गाह्रो भयो। उहाँ मेरा नजिकका मित्र हुनुहुन्थ्यो। हामी समवयी थियौँ। उहाँभन्दा म १० दिनले जेठो थिएँ। उहाँ मेरो विद्यावारिधिको शोध निर्देशक पनि हुनुहुन्थ्यो तर हाम्रो सम्बन्ध गुरु-शिष्यको जस्तो थिएन। पारिवारिक स्तरमै राम्रो सम्बन्ध थियो। 

उहाँसँगको मेरो संगत धेरै पहिले देखिको हो। हामी एउटै राजनीतिक, सांस्कृतिक आन्दोलनका सहयात्री थियौँ। ने.क.पा मशाल, नेकपा एकता केन्द्र र नेकपा माओवादीसँग सम्बद्ध रहेर हामीले भूमिका सम्पादन गर्‍यौँ। जनयुद्ध आरम्भ हुनुभन्दा केहीअघि मात्र म त्यस आन्दोलनबाट अलग भएको थिएँ। राजनीतिक, वैचारिक रूपमा फरक ठाउँमा उभिए पनि हाम्रो सम्बन्ध बिग्रिएन। व्यक्तिका बारे टिप्पणी गर्ने कुराबाट सकेसम्म बच्ने उहाँको बानी पनि सम्बन्ध यथावत रहनुको महत्त्वपूर्ण कारण थियो। राजनैतिक, वैचारिक विमति राख्ने उहाँको तरिका पनि शिष्ट र मर्यादित थियो।

नजिकको मित्र र एउटै आन्दोलनको सहयात्रीका कारण २०४२ सालमा प्रगतिशील ढंगले साहित्यकार शीला योगीसँग भएको विवाहको म साक्षी मात्र थिइनँ, वक्ता पनि थिएँ। २०४७ सालमा मेरी जीवनसँगीनीको पित्तथैलीको अप्रेशन वीर अस्पतालमा हुँदा उहाँ र शीलाले गरेको सहयोग मेरो जीवनको सुन्दर स्मृतिका रूपमा सुरक्षित छ। त्यसबेला कृष्णसेन इच्छुक र यदु गौतमले गरेको सहयोग पनि बिर्सनै नसकिने खालको छ। दुवै जना आज हुनुहुन्‍न। 

मलाई मेरा सबल-दुर्बल पक्षहरूको योगमा हेर्ने, राम्रोलाई राम्रो भन्ने र कमजोरीलाई हटाउन आग्रह गर्ने, मबाट कमजोरी भए पनि मलाई माया गर्ने मित्र हुनुहुन्थ्यो उहाँहरू। इच्छुक र यदुको अभाव आज पनि मलाई गहिरो गरी खट्कन्छ। ताराको असामयिक निधनले यो अभाव अझ बढेको छ। आफूलाई खुलस्त राख्‍न सक्ने, त्यसको मर्मलाई बुझिदिने र समस्याहरूप्रति संवेदनशील र सहयोगी भइदिने मित्रहरू नै वास्तविक मित्र हुन्छन्। जीवनलाई पोख्‍ने ठाउँ पनि चाहिन्छ। आफूलाई आत्मीय मित्रहरूका माझमा खुलस्त राख्‍न सक्दा नै मन झरीपछिको आकाश जस्तै सफा र सुन्दर हुन्छ। त्यस्ता मित्रहरू गुमाउँदा गहिरो चोट लाग्छ। एउटा असल मित्र सधैँका निम्ति जाँदाको पीडालाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। 

सामान्य परिवारमा जन्मनुभएका ताराको जीवन संर्षपूर्ण रह्यो। भारतमा मजदुरी गरेर भए पनि पिताले उहाँलाई पढाउनुभयो। उहाँ आफैले पनि काम गर्नुभयो। आईए भारतबाटै गर्नुभयो। बुटवलबाट बीए गर्नुभयो। त्यसपछि उहाँ काठमाडौँ निस्कनुभयो। 

काठमाडौँमा आर्थिक रूपले अझ गाह्रो थियो। काम गर्दै र पढ्दै गर्नुभयो। नेपालीमा एमए त्रिविबाटै गर्नुभयो। प्रथम श्रेणीमा प्रथम भएर एमए उत्तीर्ण गर्नुभएको थियो। त्रिविमा पढाउन थालेपछि उहाँलाई आर्थिक रूपले थोरै सजिलो भयो। पछि उहाँले २०१७ देखि २०४६ सालसम्मको प्रगतिवादी नेपाली कवितामा अभिव्यञ्‍जित यथार्थका विषयमा विद्यावारिधि गर्नुभयो। उहाँ श्रमबाट निर्मित प्रतिभा हुनुहुन्थ्यो। निरन्तरको अध्ययन र लेखनबाटै उहाँको लेखकीय व्यक्तित्वको निर्माण भएको थियो। मिहिनेत र लगनकै कारण उहाँले कठिनाइका बीचबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो। सरल, स्वभिमानी र क्रान्तिकारी चेतनाका धनी उहाँ साँच्चिकै अनुकरणीय व्यक्तित्व हुनुहुन्थ्यो। 

नेपाली विषयका गम्भीर र अध्ययनशील प्राध्यापकका रूपमा उहाँलाई लिइन्थ्यो। विद्यार्थीहरूका निम्ति प्रिय र सहयोगी शिक्षक हुनुहुन्थ्यो। धेरैका विद्यावारिधिका शोध निर्देशक रहनुभयो। शोध निर्देशकका रूपमा उहाँको भूमिका सधैँ सहयोगी, उत्प्रेरक र हार्दिक रह्यो। भोलि–भोलि भनेर झुलाएको, समय दिन गाह्रो मानेको वा यो भएन त्यो भएन भनेर दु:ख दिएको टिप्पणी अहिलेसम्म कसैले गरेको मलाई थाहा छैन। 

मैलेजस्तै अरू शोधार्थीहरूले पनि उहाँप्रति सकारात्मक धारणा राखेको र आदर व्यक्त गरेको पाएको छु। शोध निर्देशकका रूपमा अनुसन्धान खँदिलो होस् भन्ने उहाँको चाहना हुन्थ्यो। म आफैँ यसको उदारण हुँ। कवितामा वर्गद्वन्द्वको अभिव्यक्तिबारे विद्यावारिधि शोधपत्रको रूपरेखा तयार गर्दा उहाँले अन्तर्वस्तुमा मात्र होइन रूपमा पनि वर्गद्वन्द्व हेरौँ भन्नुभयो। मैले अलि गाह्रो हुन्छ कि भनेँ। छलफलपछि हेर्न सकिने निष्कर्षमा पुगियो। रूपमा वर्गद्वन्द्वको अभिव्यक्ति हेर्न सजिलो थिएन। उहाँको भनाइ थियो- विद्यावारिधि अलिकति कठिन र नयाँ त हुनुपर्‍यो नि। अन्तवर्स्तुमा मात्र त त्यति उपलब्धिमूलक नहोला।

उहाँ प्रगतिवादी साहित्यिक, सांस्कृतिक आन्दोलनका अगुवाहरूमध्येका एक हुनुहुन्थ्यो। प्रगतिशील लेखक संघमा रहेर प्रगतिशील साहित्यिक आन्दोलनलाई अघि बढाउन उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको थियो। अन्य साहित्यिक, सांस्कृतिक संस्थाहरूमा रहेर प्रगतिवादी साहित्यिक एवम् सांस्कृतिक आन्दोलनलाई अघि बढाउन उहाँले सम्पादन गरेको भूमिका पनि महत्त्वपूर्ण रहेको छ। उहाँ माझिएका सम्पादक हुनुहुन्थ्यो। उहाँले सम्पादन गरेका कलम, आलोचना, प्रर्वतक आदि साहित्यिक पत्रिकाहरू यसका उदाहरण हुन्। उहाँ राम्रो सङ्‍गठक र प्राज्ञिक क्षेत्रको अगुवा पनि हुनुहुन्थ्यो। प्राध्यापक संगठनमा रहेर पनि उहाँले उल्लेखनीय भूमिका सम्पादन गर्नुभएको थियो।

उहाँको मूल व्यक्तित्व भनेको मार्क्सवादी समालोचक र साहित्य चिन्तकको हो। उहाँ राम्रो कवि पनि हुनुहुन्थ्यो। नेपालको मार्क्सवादी समालोचना क्षेत्रको थोरै उल्लेखनीय व्यक्तित्वहरूको लहरमा पर्नुहुन्छ। नेपालको मार्क्सवादी समालोचनाको इतिहास सात दशकभन्दा लामो छ। उहाँ चालिसको दशकदेखि मार्क्सवादी समालोचनाका क्षेत्रमा सक्रिय रहनुभयो र यो यात्रा निरन्तर परिष्कृत हुँदै अघि बढ्यो।

एक प्रखर मार्क्सवादी समालोचकका रूपमा उहाँले प्रतिध्रुवीय साहित्य चिन्तनविरुद्ध  वैचारिक संघर्षका साथसाथै सैद्धान्तिक एवम् प्रायोगिक समालोचनाका क्षेत्रमा पनि महत्त्वपूर्ण कामहरू गर्नुभयो। मार्क्सवादी समालोचनासम्बन्धी उहाँका आफ्ना बुझाइहरू थिए तर साहित्यसम्बन्धी मार्क्सवादी सिद्धान्तको गम्भीर अध्येता हुनुहुन्थ्यो। मार्क्सवादी साहित्य र साहित्यिक आन्दोलनलाई बलियो कसरी बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर पाइनुहुन्थ्यो। 

मार्क्सवादी सौन्दर्य चिन्तन र समालोचनालाई समृद्ध गर्न उहाँले दिएको योगदान विशिष्ट रहेको छ। 'कला, साहित्य, भूमिका र मूल्याङ्‍कनकन' (२०५३), 'प्रगतिवाद र कविता' (२०५६), 'देवकोटको व्यंग्य कवितत्व' (२०५८), 'अर्थभ्रान्तिको उत्तर चेतना विरुद्ध' (२०६७), 'अर्थको आनन्द' (२०६८), 'समय, सिर्जना र संवाद' (२०६८), 'समकालीन कविताको संरचना' (२०६९) र 'मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र' (२०७३) जस्ता उहाँका कृतिहरू यसका उदाहरण हुन्।

साहित्यको सामाजिक प्रयोजन र पक्षधरता, परिर्वतनमा साहित्यको भूमिका एवमं मनुष्यलाई आत्मिक रूपमा रूपान्तरण गर्न साहित्यले सम्पादन गर्ने भूमिकालाई उहाँले महत्त्व दिएर उठाउनुभयो। उत्तरआधुनिकतावाद, कलावाद लगायत मार्क्सवादी साहित्य चिन्तन विरोधी दृष्टिकोणको उहाँले तिखो आलोचना गर्नुभएको छ। उहाँका साहित्य सम्बन्धी मार्क्सवादी दृष्टिकोणका कतिपय पक्षसँग विमति राख्‍न सकिन्छ तर नेपालको मार्क्सवादी समालोचनाका क्षेत्रमा उहाँले दिएको योगदानलाई न्यून गरेर हेर्न सकिन्‍न। 

उहाँ अब्बल मार्क्सवादी समालोचक हुनुहन्थ्यो र त्यसलाई समृद्ध गर्न निरन्तर लागिरहनुभयो। मार्क्सवादका नाममा मार्क्सवादविरुद्ध उभिने प्रवृत्ति मौलाउदै गरेको बेला उहाँको असामायिक निधन हामी सबैका निम्ति अपूरणीय क्षति हो। उहाँजस्ता माझिएका मार्क्सवादी समालोचक मार्क्सवादप्रतिको गहिरो प्रतिबद्धता र मिहिनेतले मात्र तयार हुन्छन्। उहाँको अनुपस्थिति हामीलाई लामो समयसम्म खट्कनेछ।


सम्बन्धित सामग्री