Sunday, April 28, 2024

-->

परशु : जो सधैँ यायावर रहे...

एउटै व्यक्तिको बदलिरहने चरित्र सम्झेर परशु आफूलाई उदेक लाग्ने बताउँथे। जस्तो, एउटा व्यक्ति बिहान ट्युसन मास्टर, दिउँसो क्लर्क, बेलुका कोही फूलमाया नामकी केटीको प्रेमी र राति पत्नीको प्यारो पति हुन्छ।

परशु  जो सधैँ यायावर रहे

काठमाडौँ- अब गाउँ शुरू भएको थियो। हुन त यहाँ शहर नै कहाँ छ र? तैपनि अरू गाउँ हेरी यो धेरै फरक थियो। गोरेटो नाम मात्रको थियो र, हरेक पाइला कठिनतापूर्वक अघि बढ्थ्यो। बाटाका दुवैतिर सिस्नोका प्रशस्त झ्याङहरू उम्रेका थिए। अलिकति यताउती भयो कि सिस्नोले पोल्ने डर थियो। फेरि बाटो उस्तै फोहोर र हिँड्न मन नलाग्ने किसिमको थियो। 
०००
बाटोमा केही बुढाबूढीहरू भेटिए, ती काल पर्खिबसेका थिए। तिनका लुगाहरू हेर्दा बिरक्त लाग्थ्यो। दश ठाउँ टालेका ती लुगाहरू पन्ध्र बीस वर्ष पुराना थिए नै, ती नधोइएका पनि काफी वर्ष भए होलान्। तिनका आँखाहरूमा विषादका छायाँबाहेक केही थिएनन्। 
०००
अर्को बाटो झन् अप्ठेरो थियो। म शंकामा थिएँ— ठीक ठाउँमा पुग्छु कि पुग्दिनँ। तर मलाई पुग्नु नै थियो। बाटोमा सिस्नोका झ्याङहरू अलि बढी थिए। एउटा सिस्नोको झ्याङमा एउटी आइमाई देखा परी। ऊ चिम्टाले धमाधम सिस्नो टिपिरहेकी थिई। अब रात परिसकेको थियो। म उसको छेउमा पुगेँ र मैले नसोधिरहन सकिनँ–

“बहिनी! क्या गर्दै हुनुहुन्छ?”

“सिस्नो टिपेको...” ऊ हतारमा थिई।

“किन टिप्नुहुन्छ?”

“हामीले खाने नै यत्ति हो... अरू केही छैन”, उसले आफ्नो विवशता प्रकट गरी।

“किन, गहुँ पनि हुँदैन?”

“हुन्न...” उसले लाज मानी। लाज मान्नुपर्ने कुनै कुरा थिएन।

मलाई थाहा थियो— ती खालि सिस्नो खान्छन्। 

मैले सोधिहालेँ, “यो गाउँमा तपाईंलाई के चाहिन्छ?”

“...” उसले बुझिन।

“तपाईंले बुझ्नुभएन? तपाईंलाई पानी, बाटो, स्कुल के बढी आवश्यक छ? के चाहिन्छ, भन्नोस्,” मैले अझ स्पष्ट गरेर सोधेँ।

“हामीलाई केही चाहिन्न,” उसले छोटो जवाफ दिई। मलाई उसँग कुरा गर्न रमाइलो लाग्यो। 

“तैपनि...” मैले कर गरेँ।

“हामीलाई सिस्नोसम्म खान भगवानले जुराएन। एक किसिमको किराले यो सिस्नो खाइदिन्छ। सिस्नोमा जम्मै लाइ लाग्छ र पातसमेत रहँदैन। हामीले काँडा मात्र खानुपर्छ...” ऊ रुन खोजी।

“अनि...”

“हामीलाई तपाईंले सिस्नो खाइदिने किरा मार्ने औषधि दिनोस्...हामीलाई आवश्यक यत्ति हो ”,ऊ जाने हतारोमा थिई।

“अरू केही चाहिन्न...?”

“केही चाहिन्न...।”

मैले हेर्दा त्यो स्वास्नी मान्छे त्यहाँबाट भागिसकेकी थिई। मैले धेरैबेर केही सोचेँ, सोचिहेरेँ र बिस्तारै उकालो लागेँ।
(परशु प्रधानकृत ‘गाउँमा’ कथाको अंश)
०००
२०७४ पुस मसान्त। सिलिगुढीको मेथीबारी बस्ने दार्जीलिङे प्रखर स्रष्टा इन्द्रबहादुर (आईबी) राईलाई भेट्न पुगेका थियौँ। बुढ्यौली र रोगले थलिँदै गएका आईबीसँग लामै अन्तरंग कुराकानी भयो। सुस्तरी तर स्पष्ट बोलीमा आईबीले रहेभएका जिज्ञासाहरूको जवाफ फर्काइरहे। अब जवाफ दिने पालो थियो हाम्रो।

“मैले तपाईं अस्ति नयाँ सालमा दार्जीलिङ आउनुहुँदा सम्झाएको थिएँ नि, त्यो हाम्रो परशुज्यूको ‘गाउँतिर’ कथा भेट्नुभयो त? त्यो कथाको सार मात्रै मैले सम्झेको छु, वर्षौं भैसक्यो, फेरि पढ्न पाएको छैन। मैले एकपटक शान्ति (ठटाल) बहिनीलाई पनि सुनाएको थिएँ। त्यो कथा त आफैँमा सुन्दर फिल्म जस्तो छ, कानमा गुन्जिरहने संगीत जस्तो पो छ त...।”

यति भनेर ओछ्यानमा ढल्केर बसिरहेका आईबीले कथाको सार पनि सुनाए। जीवन र जगतको विरोधाभाष झल्कने साथै चेतन प्रवाहको गतिलो संकेतले भरिएको कथा भन्दै तारिफ गरिरहे। 

“हजुरले भन्नुभएको त्यो कथा परशु प्रधानको ‘यौटा क्रान्तिपुरुषको जन्म’ संग्रहमा रहेछ, कथाको नाम भने ‘गाउँमा’ रहेछ। मैले भेटेको छु, फोटोकपी पठाउनेछु,” मैले आईबीलाई आश्वस्त पारेको थिएँ। 

विशेषतः २०२४ सालमा राजा महेन्द्रले शुरू गरेको गाउँ फर्क अभियानको आसपासमा गाउँगाउँमा विकासको सपना र आश्वासन बाँढ्दै हिंडेका कार्यकर्ताले खेपेको यथार्थ थियो, ‘गाउँमा’ कथाभित्र। “राजनीतिक नारा र सपनाहरूको यो बजार अहिले पनि उस्तै छ, दशगजा वारिपारि दुबैतिर। परशुज्यूले आफ्नै भोजपुर गाउँको कथा लेख्नुभएको होला। तर यता पनि हेरौं न। यहाँ दार्जीलिङका भित्री कमान बस्तीमा अझै बिजुली, पानी पुगेको छैन। हाम्रो अम्बर (गुरुङ)को बाल्यकालीन थलो मिलिङको चियाबस्ती अझै उस्तै छ। उही सिस्नुको पात खाने किरा मार्नलाई दबाइ खोजेजस्तै पो छ त यता पनि।”

त्यसपछि आईबी दिनानुदिन कमजोर बन्दै गएको र अस्पताल–घरको चक्कर बढेको सूचना आइरह्यो। त्यही साल फागुनको तेस्रो सातामा आईबी राईको निधन भयो, ९० वर्षको उमेरमा। 

बिडम्बना! आईबीको आग्रहमा तयार भएको ‘गाउँमा’ कथाको ‘जेरक्स–कपी’ (आईबी लवज) खामबन्दी बनेर गायक गणेश रसिकको हातमै रहिरह्यो, फिक्कल इलामतिर। 
०००
भोजपुरबाट उदाएका कथाकार परशु प्रधानको सोमबार राति निधन भएपछि स्मृति र भावनामा एकैसाथ डुबेका थिए साहित्यिक पत्रकार रोचक घिमिरे जो परशुसँगको ६० वर्ष पुरानो सम्बन्ध सम्झिरहेका थिए। आफ्नो पुरातात्विक टाइपको सन्दुक खोलेर ‘ती दिन’ उधिनिरहेका रोचकले केही उहिलेका लिखत हातमा थमाए, बाँकी केही सम्झेका क्षणहरू मौखिक सुनाउन चाहे।

“साहित्यिक चौमासिकका रूपमा रचना २०१८ सालमा निस्कन थालेपछि देशैभरका कवि–लेखक सम्पर्कमा आउने क्रम शुरू भएको थियो। २०१९ सालको शुरूआतदेखि नै परशुसँग पत्राचार हुन्थ्यो। पत्रमा धेरैजसो साहित्यिक कुराहरू र रचनामा छपाउन आफ्ना तथा अरूका सिफारिससहितका कथा–कविता आदि आएका हुन्थे,” रोचकले सम्झिए, “धेरैजसो पत्रमा सम्बोधन ‘मेरो रोचक’बाट शुरू हुने भएकाले भैरव अर्याल, उत्तम कुँवरहरू ‘लौ तिम्रो प्रेम पत्र आयो’ भनेर जिस्क्याउने गर्थे। मसँग पत्राचार हुँदा शुरूआती दिनमा तपाईं भनेर सम्बोधन गर्ने परशु २०२३ सालपछि भने तिमीमा झरेका थिए।”

अरूभन्दा पनि ‘रचना’ पत्रिकाको भोजपुर र आसपासका पहाडी जिल्लाहरूमा ग्राहक बनाएर परशुले ठूलो सहयोग गरेको रोचक सम्झिरहेका छन्। शुरूमा चौमासिक र पछि त्रैमासिक भएको ‘रचना’ पत्रिकाको वार्षिक ग्राहक शुल्क ५ रुपैयाँसम्म हुने गरेको थियो। परशुकै सिफारिसमा त्यसबेला कृष्ण जोशी, शैलेन्द्र साकार (परशुका भाइ), मेघराज नेपाल (मन्जुल) आदिका सृजना ‘रचना’मा आइपुग्ने गरेका थिए।
०००
२०१६ सालमा १६ वर्षको उमेरमै परशुको कविता संग्रह प्रकाशित भएको थियो— ‘जीवन पथ’ शीर्षकमा। भोजपुर छँदै २०२४ सालमा ‘सबै बिर्सिएका अनुहारहरू’ उपन्यास निकालेका थिए। त्यसपछि काठमाडौँ भित्रिएका परशुका ‘फेरि आक्रमण’ ( २०२५), ‘बक्ररेखा’ (२०२५), ‘यौटा अर्को दन्त्यकथा’ (२०२८), ‘असंबद्ध’ (२०३२), ‘समुद्रमा अस्ताउने सूर्य’ (२०३५), ‘प्रतिनिधि कथाहरू’ (२०४१), ‘यौटा क्रान्ति पुरुषको जन्म’ (२०५०), ‘धनियाँ’ सहितका एक दर्जन कथा संग्रहहरू प्रकाशित छन्। उनको कृति ‘केही अनुहार केही क्षण’ले २०५१ सालमा उत्तम–शान्ति पुरस्कार पाएको छ। 

उनका समयवी आख्यानकार ध्रुवचन्द्र गौतम मोफसल बासिन्दा भएर पनि परशुले २०२०/२२ सालभित्रै काठमाडौँ केन्द्रमा आफ्नो नामकाम देखाइसकेको अनुभव सुनाउँछन्। “म पनि वीरगन्जको लेखन, साहित्यिक माहोलमा थिएँ। तर, रुपरेखामा एउटा कविता छपाउनै पनि भूपी शेरचनको सिफारिस लिएर अघि बढ्नेमा म पर्थें,” गौतमले सम्झिए, “मभन्दा अलग परशुजीको सक्रियता र साहित्यिक सम्पर्क राख्ने स्वभाव भिन्न थियो। नेपालको आधुनिक कथा लेखन विधामा शैलीगत र बिम्बात्मक रूपमा पनि परशुको नाम अग्रपंक्तिमा छ, यो अकाट्य छ।”

गौतमले भनेझैँ, पात्र–चयन, शिल्प–संरचना र विचारका दृष्टिमा उत्कृष्ट मानिने कथा ‘आखिर म तेरो लोग्ने हुँ निर्मला’माथि पटकथा लेखेर लेखक अविनाश श्रेष्ठले ‘निर्मला’ टेलिफिल्म बनाएका थिए। नेपाल टेलिभिजनमा देखाइएको यो टेलिफिल्मले निकै वाहवाही पाएको थियो।  

२०१५ सालमा एसएलसी दिनासाथै आफू पढेकै भोजपुरको विद्योदय स्कुलमा सहयोगी मास्टर बनेर परशुले शैक्षिक र साहित्यिक सक्रियता जनाउन थालेका थिए। त्यही विद्यालयमा नेपाली शिक्षक रहेका शरद्चन्द्र शर्मा भट्टराईलाई आफ्नो सृजनकर्मका गुरु भनेर परशुले दोहोर्‍याउँदै भनेका छन्। झर्रोवादी आन्दोलनका एक अभियन्ता डा.गजेन्द्रमणि प्रधानलाई पनि उनले आदर्श मानेका थिए। खास नाम परशुराम श्रेष्ठ भए पनि दार्जिलिङमा खुबै प्रचलित पारसमणि, नगेन्द्रमणिहरूको थर प्रभावमा आफूले ‘प्रधान’ लेख्न थालेको परशुले बातचितमा बताएका थिए। 

साहित्यिक सत्संगकै कारण २०२३ सालमा चन्द्रगढीमा आयोजित वृहत राष्ट्रिय साहित्यिक सम्मेलनमा भाग लिन परशु भोजपुरबाट झापा आइपुगेका थिए। त्यहाँ तत्कालीन यातायातमन्त्री एवं साहित्यकार केदारमान व्यथित आएका थिए, जसले परशुलाई काठमाडौँ लैजान सूत्रधारको काम गरेका थिए। यातायातमन्त्रीसँग चिनजानीकै कारण परशु २०२४ सालमा काठमाडौँ आएर साझा यातायातमा जागिर खान थालेका थिए। त्यही साहित्यिक संगतको विस्तारमा शंकर लामिछाने, बासु शशी, दौलतविक्रम विष्ट, पोषण पाण्डेहरू खानपिन र उठबसका रसरंगी दौतरी बनेका थिए।  

परशु आफूलाई ‘हुलाकी वंश’को सन्तान भनेर चिनाउन चाहन्थे। हुलाक सेवाका जागिरमा जोडिएका आफ्ना पितापुर्खा (६ पुस्ताअघि) काठमाडौँबाट भोजपुर पुगेपछि उतैका रैथाने बनेको परिवार थियो यो। तर लेखन र सृजना जगतमा भने परशु भोजपुरमा ‘कवि कटेरो’को चिनारी फैलाउनेका अग्रज बनेका थिए। “माध्यमिक तहको विद्यार्थी बनेर म छिनामखुबाट भोजपुर सदरमुकाम आउँदा परशु दाइको साहित्यिक सक्रियता र नाम सबैले चिन्ने भैसकेको थियो,” भोजपुरे स्रष्टा गणेश रसिक भन्छन्, “उहाँले कथा लेखनको विषय, शैली र खुराकका बारेमा मलाई भन्नुहुन्थ्यो। जागिरे क्रममा २२/२३ सालमा म राजविराज पुगेपछि पनि कथा लेखेर परशु दाइलाई भोजपुरमा पठाउथेँ, उहाँले कथा पढेर प्रतिक्रिया र सुझाव पठाउनुहुन्थ्यो।”

परशुलाई आफ्ना ‘अदृष्य–गुरु’ भन्न रुचाउने रसिक ‘यसरी सुदूर गाउँमा बसेको व्यक्तिले कथा लेख्न सक्छ र, काठमाडौँका पत्रपत्रिकामा छपाउन सक्छ भनेपछि आफू पनि त्यही प्रेरणाबाट लेखनमा तानिएको’ भन्दै अनौठो परशु–प्रभावको सन्दर्भ सुनाइरहेका छन्। “अक्सर साहित्यिक साहचर्य र छलफल गर्न रुचाउने स्वभाव थियो परशुसँग। एकपटक परशु प्रधानको नाम सोध्दैखोज्दै २०१८ सालमा ‘स्वास्नीमान्छे’ पत्रिकाकी सम्पादक शशिकला शर्मा (लेखक श्यामप्रसाद शर्माकी श्रीमती) भोजपुर आएकी थिइन्,” गणेश रसिक सुनाउँछन्, “मलाई ताजा सम्झना छ, त्यसबेला शशिकलाज्यू परशु दाइकै घरमा सात दिनजति बस्नुभएको थियो। हरेक साँझ हामी स्थानीय कवि–लेखकलाई बोलाएर शशिकलाज्यूको आतिथ्यमा अनेक विषयका साहित्यिक छलफल हुने गर्थ्यो। त्यो स्रोता–सहभागीको हुलमा मसहित पदम सुन्दास, शैलेन्द्र साकार, कृष्ण जोशीहरू हुन्थ्यौँ।”

पछि भोजपुर बजारमा ठूलो अगलागी भएर तहसनहस भएपछि परशुले फेरि घर बनाएका थिए, त्यही पितापुर्खा थलोमा। गायन, लेखनसँगै चित्रकलामा रमाउने गणेश रसिकलाई त्योबेला परशुले एउटा आग्रह गरेका रहेछन्— त्यो घरको अगाडि राम्रो बोर्ड (नेम–प्लेट) राख्ने, आफ्नी हजुरआमा शारदा अजीका नाममा। त्यो बोर्डको डिजाइन रसिकले गरिदिएका रहेछन् जुन ‘शारदा निवास’का नाममा अझै भोजपुर बजारमा छँदैछ। संयोगले रसिकका पिता नरोत्तम राईसँग (उमेर निकै बढी भए पनि) परशुको गहिरो दोस्ती रहेछ। त्यो दोस्ती भने साहित्यिक सहचार्यभन्दा लोकल खानपिनमा बढी जोडिएको थियो।  

परशुका अर्का अन्तरंग दौँतरी हुन्– कथाकार ध्रुव सापकोटा। बानेश्वर क्षेत्रमा झण्डै ३० वर्ष लगातार मर्निङ–वाकमा जाने दौँतरी परशु–ध्रुव, साकार, हरि अधिकारीसहितको टिमलाई धेरैले ‘बानेश्वरी ग्रुप’ भनेर चिन्ने गर्थे। “म २०२७ सालदेखिको साथी हुँ परशु प्रधानसँग,” सापकोटा भन्छन्, “हामीले २०४० सालतिर ‘माध्यम’ नामको साप्ताहिक गोष्ठी चलाएका थियौँ, त्यो एक वर्ष जति चल्यो होला। दौलतविक्रम (विष्ट), परशु, रामदयाल राकेश, मसहितका घरमा पालो मिलाएर बहस गोष्ठी चल्थ्यो। साहित्यका अनेक विधा, विषय वा भर्खर आएका पुस्तकमाथि बहस हुन्थ्यो। त्योबेला भर्खरै आएको बीपीको ‘मोदिआइन’ उपन्यासमाथि निकै तातो बहस भएको थियो।”

विशेषत यौन साहित्य र लेखनमा रुचीपूर्वक बहस गर्न रुचाउने परशु यौन मामलामा भने निकै उदार सुनिन्थे। परशु भन्थे, “यौनलाई बर्जित फल भनर हामी पछि परेका हौँ, एउटा यथार्थ के हो भने हामी यौनका कैदी छौँ। पुस्तौँपुस्तादेखि र यो ब्रम्हाण्ड रहिन्जेल हामी यौनदास नै हुनेछौँ। संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी भने यौनमै गलफत्ती गरिरहेका छौँ।”  
०००
रगतमा हुलाकी–वंश जोडिएकाले हुन सक्छ, स्थिरता र जीवन यात्राका हिसाबमा परशु यायावरझैं रहे, पूरै फिरन्ता। भोजपुर, कुलुङ, पोखरे, दिङ्लाका सरकारी स्कुलहरूमा नेपाली शिक्षक बने। आफ्नै स्वअध्यनको बलबुतामा राजनीतिशास्त्र र नेपाली विषयमा एमए तहको अध्यन गरे। सरकारी जागिरमा प्रमुख जिल्ला अधिकारीदेखि सूचना विभाग महानिर्देशकसम्म बने। छोटै समय भए पनि ‘अस्वीकृत जमात’ साहित्यिक अभियानमा गाँसिए। कविता वा कथा लेखेर र छपाएर जीवन धान्न सकिने कुरै थिएन, त्यही भएर उनले ठेलीका ठेली सामान्य ज्ञानका पुस्तकहरू लेखेर रत्न पुस्तक भण्डारबाट थोरातिनो कमाइ उठाउन सके। ‘जीवन एक प्रयोगशाला’कै शैलीमा परशु प्रधान (नेवार)ले २०१९ सालमा अन्तरजातीय (कल्पना रेग्मी) विवाह गर्दै झण्डै एक वर्ष जति बनारसतिर भूमिगतझैँ पनि रहे, कानूनी र सामाजिक थुनछेकका कारण।  

यसरी जे भोगे, त्यही भोगाइलाई कथा र पटकथा बनाए परशुले। यौनमा फन्को मार्दा ‘मेलाबाट फर्कंदा’ र ‘बक्ररेखा’ लेखे। पिपलबोटमा उभिँदै पिखुवा सम्झेर ‘डल्ले खोला’ लेखे। अरूभन्दा पनि एउटै व्यक्तिको एकै दिनमा बदली भैरहने चरित्र सम्झेर परशु आफूलाई उदेक लाग्ने बताउँथे। जस्तो, एउटा व्यक्ति बिहान ट्युसन मास्टर, दिउँसो अफिसमा क्लर्क, बेलुका कोही फूलमाया नामकी केटीको प्रेमी र राति धर्मपत्नीको प्यारो पति हुन्छ। “एउटै व्यक्तिको यो विचित्र चरित्र सम्झेर मलाई केही लेख्ने उर्जा पलाउँछ”,उनी भन्थे।   

यसरी परशु सधैँजसो आफ्नै भित्री मनको उर्जा र आकांक्षालाई टेवा दिन रुचीकै काममा लागिरहे। लेखक श्याम प्रधानका अनुभवमा, आजको कोशी प्रदेश सदरमुकाम विराटनगरलाई त्यसबेलै ‘साहित्यिक–राजधानी’ बनाउन परशुले निभाएको भूमिका स्तुत्य छ। विराटनगरमा वाणी प्रकाशन खोलेर साहित्यिक–भाषिक अन्र्तसम्वादको गतिलो माध्यम बनाउँदै र मोफसलमा समेत प्रतिष्ठित साहित्यिक पुरस्कार स्थापना गर्ने/गराउने श्रेय परशुलाई जान्छ।

यसरी परशुले पिपलबोटमा उभिएर पिखुवा सम्झिरहे। ट्याम्के, मैंयु, पिखुवालाई सपनामा देखिरहे। यदाकदा लेकाली गायक रसिक–भोजपुरे (हिरण्य) भेट हुँदा उनी सोध्ने गर्थे– “हाम्रो ट्याम्के के गर्दै होला? अनि पिखुवा उसैगरी अविरल होला नि?”

“ट्याम्के धेरै टाढा छ दाइ, हाम्रो जीवनजत्तिकै टाढा...म नि परशु दाइलाई सुन्न मन लाग्ने खालको जवाफ दिन्थेँ” उमेर, अवस्था र रोगले आफैँ पनि छिनामखु–चखेवा सम्झँदै भक्तपुर, बालकोट निवासमा बसिरहेका गायक रसिकले सुनाए।

“आज मेरो घर मदेखि
टाढा छ धेरै टाढा
आज मेरो ट्याम्के मदेखि
टाढा छ धेरै टाढा
मेरो उमेरजत्तिकै टाढा
धेरै टाढा टाढा...”


सम्बन्धित सामग्री