Sunday, April 28, 2024

-->

पोखरामा किन घट्यो पुस्तकको बिक्री?

पोखराका पुस्तक पसल सञ्चालक पाठकले पुस्तकप्रति रुचि नराख्दा बिक्री घटेको बताउँछन्। तर लेखकहरू भने आर्थिक मन्दीमा पुस्तक बिक्री घट्दा पठन संस्कृति हराएको भन्न नमिल्ने जिकिर गर्छन्।

पोखरामा किन घट्यो पुस्तकको बिक्री

पोखरा– पुस्तकसँग सम्बन्धित विषयमा मासिक रूपमा छलफल चलाउँदै आएको समूह ‘ह्वाट द बुक क्लब’ले आफ्नो ७५औँ विमर्श शृंखलासँगै गएको कात्तिकबाट नियमित कार्यक्रम टुंग्यायो। अन्तिमपटक उनीहरूले साहित्यकार सरुभक्तको पुस्तक ‘समय त्रासदी’माथि छलफल चलाएका थिए।

पोखरामा पुस्तक पढ्नेहरूको समूह ह्वाट द बुक क्लबको कार्यक्रम बन्द हुनु दुःखद् भएको लेखक गनेस पौडेल बताउँछन्। “दुर्भाग्यवश प्यासनसहित पढिरहेका समूहको नियमित कार्यक्रम बन्द भयो। युवाहरू थिए, आआफ्नो गन्तव्यतर्फ भविष्य बनाउन हिँडे। त्यस्तो क्लब बन्नुपर्छ,” पौडेल भन्छन्, “पुस्तक पसलहरूले पनि नयाँ आकर्षक कार्यक्रमहरू ल्याउनुपर्छ।”

त्यसैगरी, ‘र्‍यान्डम रिडर्स सोसाइटी’ले पोखरामा हरेक महिनाको अन्तिम शनिबार लेखक नै बोलाएर कृतिमाथि परिचर्चा कार्यक्रम गर्थ्यो। यो संस्थाले कार्यक्रम गर्न नसकेको दुई वर्ष भइसकेको थियो। अहिले नियमित कार्यक्रम गर्न थालेको छ। समता काव्य सन्ध्या, गजल सन्ध्या, अक्षरयात्रालगायत कलासंस्कृति सम्बन्धी कार्यक्रम आयोजना गर्दै आएका पोखरेली युवा सांस्कृतिक परिवार र मुक्तकमञ्च जस्ता संस्था कोभिड–१९ महामारीपछि चुपचाप रहेर बल्ल सक्रिय हुन थालेका छन्।

महामारी नियन्त्रणका लागि सरकारले पहिलोपटक लकडाउन जारी गरेयता पोखरामा पुस्तक र पठनसम्बन्धी कार्यक्रम बन्दजस्तै छन्। देश/विदेशका चर्चित लेखक तथा साहित्यकार आमन्त्रण गरेर पोखरामा भव्य आयोजना हुँदै आएको नेपाल साहित्य महोत्सवको नवौँ संस्करण पनि भर्चुअल गरिएको थियो। अब ११औँ संस्करण फागुन ३ गतेदेखि ७ गतेसम्म पोखरामै हुँदै छ। 

पोखरा साहित्यको उर्वर भूमि मानिन्छ। पोखरेली स्रष्टा कविशिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अली मियाँ, मुकुन्दशरण उपाध्याय, सरुभक्त, भूपि शेरचन, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, गनेस पौडेल, तीर्थ गुरुङले नेपाली साहित्यमा बलियो उपस्थिति देखाइसकेका छन्। दुर्गा बराल ‘वात्स्यायन’को कला साधना छँदैछ। झलकमान गन्र्धव, अरुण लामा, अमृत गुरुङले संगीत विकासको इँटा थपेका छन्। 

तर कलासाहित्यमा पोखराले आर्जेको यो विरासत कमजोर हुँदै जाने संशय रहेको सरोकारवाला बताउँछन्। पोखराको गैरापाटनमा १२ वर्षदेखि ‘बुक मार्ट’ सञ्चालन गरिरहेका ईश्वर पौडेल किताबका पाठक नबढेको बताउँछन्। बुक मार्टमा पहिलेको तुलनामा बिक्री घटेको उनको अनुभव छ। “पुरानासँगै नयाँ पाठक पनि आउनुहुन्छ। तर पुस्तकको बिक्री पहिलेको तुलनामा कम छ,” उनी भन्छन्। 

पढ्ने बानीको विकास स्कूल तहबाटै बढेको नदेखिएको ईश्वरको भनाइ छ। सबै ठाउँमा पुस्तकालय नहुने, भए पनि चाहेजस्तो पुस्तक नहुनेजस्ता समस्या भएको उनी सुनाउँछन्। पढ्नेले पनि फुर्सद नपाएको उनको अनुमान छ। “आफ्नै दैनिकीमा व्यस्त भएर होला, व्यवहारिक कुराले पनि पढ्ने फुर्सद नमिलेको हुनसक्छ। बिदेसिनेको संख्यासमेत बढ्यो, पढ्ने मान्छे बाहिरिए,” उनी भन्छन्।

किताब पढ्ने बानी मोबाइलले खाइदिएको ईश्वर बताउँछन्। प्रविधिको विकाससँगै पढ्ने माध्यम भौतिक किताब नै हुनुपर्छ भन्ने छैन। ई–बुक र पीडीएफ पनि उपलब्ध छन् जसलाई विभिन्न उपकरणबाट पढ्न सकिन्छ।

के पोखरामा पाठक घटेका हुन्?
पोखरामा बसेर साहित्यकर्म गरिरहेका लेखक तीर्थ गुरुङ हरेक कार्यक्रममा पुग्ने गर्छन्। पुस्तकसम्बन्धी कार्यक्रम रोकिँदा उनी नरमाइलो लागेको बताउँछन्। पाठक पनि नबपढेको उनको अनुमान छ। “पहिलो कारण त विद्यार्थीहरू प्लस टु सकाउने बित्तिकै बाहिर जान थाले, पढ्ने वातावरण बनाउन मुस्किल भयो। अर्को, सोसल मिडियाले नै मान्छेलाई व्यस्त बनाइरहेको छ,” उनी भन्छन्, “मेरो हकमा भने मैले पढ्ने काम कम गरेको छैन।”

विदेशीको बढी चहलपहल हुने र अंग्रेजी पुस्तक बिक्ने लेकसाइडका अधिकांश पुस्तक पसल पनि अहिले खुम्चिएका छन्। ३० वर्षअगाडि लेकसाइड क्षेत्रमा २०–२२ वटा पुस्तक पसल भएको र कतिपय अहिले बन्द भएको मण्डला बुक्सका प्रेम शर्मा बताउँछन्। केही पसलले भने किताबसँगै उपहार सामग्री पनि बेच्न राख्ने गरेका छन्। “अहिले धेरैजसोले कोठाभाडा तिर्न नसक्ने भएर व्यवसाय नै छोडिसके,” शर्मा भन्छन्, “हामी कतिपयले बाध्यात्मक हिसाबले पनि गर्नै परेको छ। लगानी यसैमा छ।”

पोखराका पुराना किताब पसल फेवा बुक्स, एभरेष्ट, होली बुक सप र फिस्टेल बुक अहिले पनि चलिरहेका छन्। कुनै समय पसलहरू राति १०–११ बजेसम्म खृुला राखेर पुस्तक बेच्ने गरिन्थ्यो। “किताब बिक्रीमा कमी भएको छ। पोखरा प्रकृतिप्रेमीहरूको शहर त हो नै ध्यान गर्ने शहर पनि हो। साहित्य पनि यहाँको अगाडि हो। तर अहिले रिडिङ कल्चर कम भयो,” शर्मा भन्छन्।

पसलमा आएकामध्ये २०–२५ प्रतिशत पुस्तक त बिक्री नै हुँदैन। कतिपय पुस्तक २० वर्षदेखि पसलमा थुप्रिएको शर्मा सुनाउँछन्।

पढ्ने समूह जम्मा हुने र अनौपचारिक छलफल पनि गर्ने पोखराको ‘रिडर्स कर्नर’का सञ्चालक विजय भण्डारी पाठक जुन अनुपातले बढ्नुपथ्र्यो त्यो दरमा नबढेको बताउँछन्। स्कूल, कलेज पढ्नेहरू वर्षेनी बढे पनि किताब बिक्री वृद्धि हुन नसकेको उनको ठम्याइ छ।

पाठक लोभ्याउन भण्डारीले नयाँनयाँ जुक्ति निकालिरहन्छन्। रिडर्स कर्नरमा सभाहलसँगै पाठक कुनो छ। पाठकले पुस्तकालयमा जस्तै किताब छानीछानी दिनभर पढ्न पाउने व्यवस्था छ। सँगै चिया, कफीको लागि क्याफे पनि छ। 

“अहिले ठाउँ ठूलो छ, पहिले सानो ठाउँमा थिएँ। एक जना स्टाफ राखेर पुग्थ्यो। त्यसलाई परिस्कृत गर्दै ल्याएको हुँ,” भण्डारी भन्छन्, “किताब यति ओपन वस्तु हो कि मूल्य नै टाँसेर आएको हुन्छ। हामीले यति महिनासम्म राख्यौँ, त्यसकारण मूल्य बढ्यो भन्न पाउदैनौँ। नबिके पनि राखेर पछि त्यही मूल्यमा दिनुपर्छ।”

कतिपय पुस्तकको ‘स्टक क्लियरेन्स’ गर्नको लागि पनि बढी छुट दिनुपर्ने भण्डारी बताउँछन्। ढुवानी खर्च, लगानीको व्याज, गइसकेको भुक्तानीलगायत कारण पुस्तक बिक्री नहुँदा व्यवसाय परिस्कृत गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। 

समयअनुसार मान्छेको रुचि बदलिँदा किताब खरिदबिक्रीमा घटीबढी हुनु स्वभाविक भएको भण्डारी बताउँछन्। “जुन हिसाबले १५ वर्षअघि मैले किताब बेच्थेँ, त्यो हिसाबले बिक्री बढ्दो छ। अहिले कार्यक्रम पनि बढिरहेका छन्,” उनी भन्छन्, “मान्छेको क्रय शक्ति घटिरहेको हो। क्रय शक्ति घट्दा पुस्तकसँगै अत्यावश्यकबाहेकका अन्य वस्तु पनि कम बिक्छ।”

पोखराकी साहित्यकार सरस्वती प्रतीक्षा पछिल्लो समय देखिएको आर्थिक मन्दीको असर पुस्तक बिक्रीमा पनि परेको हुनसक्ने तर यही कारण पठन संस्कृति कम भएको भन्न नमिल्ने बताउँछिन्। अन्य क्षेत्रका क्रेताहरू पनि घटिरहेको अवस्थामा किताब बिक्रीमा त्यसको असर देखिनु स्वाभाविक हुने उनको मत छ। “पोखरामा रिडिङ कल्चर घट्यो भन्ने मलाई लाग्दैन। २०८० सालमा पोखराबाट नयाँ तथा पुराना लेखकहरूको किताब धमाधम निस्किरहेको देखिन्छ,” उनी भन्छिन्, “किताबसम्बन्धी विमर्श कार्यक्रमहरू पनि प्रशस्त भइरहेका छन्। मन्दीको कारण क्रयशक्तिमा ह्रास आएको भने अवश्य हो।”

लेखक गनेस पौडेल किताब बिक्रीमा संसारभरि नै कमी आइरहेको दाबी गर्छन्। कोभिड–१९ महामारीले ल्याएको आर्थिक मन्दीको असर सबै क्षेत्रमा परेको उनको भनाइ छ। “पहिलेभन्दा मान्छे रेष्टुरेन्ट कम जान्छन्। कपडा पनि कम किनेका छन्। गाडी कम बिकेको छ। आर्थिक मन्दीको प्रभाव सबैतिर छ,” उनी भन्छन्। 

तर उनी पुस्तक पढ्नका लागि किन्नैपर्छ भन्ने मान्यता राख्दैनन्। पुस्तक कति बिक्यो भन्ने विषय पसलसँग सम्बधित भए पनि पाठकले सापटी लिएर समेत पढिरहेको बताउँछन्। पाठक नै घटेको कुरा यथार्थ नभएको उनको जिकिर छ। “वास्तविक पाठकलाई जसरी पढे पनि फरक पर्दैन। किताब किन्ने क्रेता र पाठक फरक हो। क्रेताको लागि पढ्न जरुरी भएन,” उनी भन्छन्। 

नयाँ पाठक नतानिएका हुन्?
मण्डला बुक्सका प्रेम शर्मा कोभिडलगत्तै नयाँ पाठक पुस्तक खोज्दै आए पनि अहिले आउन छाडेको बताउँछन्। “युवाहरू बाहिर जाने चलन बढ्यो। अफिसमा राख्न वा झोलामा बोकेर हिँड्नै भए पनि किताब किन्ने चलन थियो। त्यो वर्ग नै अहिले बाहिर गयो,” उनी भन्छन्। 

लेखक गनेस पौडेल गुणस्तरहीन किताबले पनि पाठकलाई आकर्षित गर्न नसकेको बताउँछन्। कमसल खालका किताबले पाठक आकर्षित नगर्ने उनको भनाइ छ। “अनाकर्षक वस्तु बढी भएपछि आकर्षक चिज छायामा परे। नेपालमा किताब प्रकाशनको बाढी आयो, मैले छापेको किताब सबै बिक्री हुनुपर्छ भन्ने छ त!” उनी भन्छन्, “नेपालको औसत पाठक भनेकै २० हजार हाराहारी हो। सिजनल रिडर धेरै छन्, कुनै विधाका किताब किन्नेले अरू किन्दै नकिन्ने पनि छ।”

पठन संस्कृतिको विकास गर्ने हेतुले सरकारले हरेक विद्यालयमा पुस्तकालयको अवधारणा ल्याए पनि विचौलियाले कमसल पुस्तक गाउँगाउँका पुस्तकालय पुर्‍याएको पौडेलको भनाइ छ। ती खराब पुस्तकका कारण पाठकको आकर्षण घट्ने उनको भनाइ छ। 

रिडर्स कर्नरका भण्डारीका अनुसार पोखरामा नियमित पाठक गन्ती गर्न सक्ने मात्र छन्। उनी पनि प्रकाशकले गुणस्तरीय र आकर्षक विषयका पुस्तक ल्याउन नसकेको बताउँछन्। “जे प्रकाशन गरे पनि पाठकले पढ्नै पर्ने होइन। जे निकाले पनि पढिदिने होइन,” उनी भन्छन्, “नयाँ पुस्ताको लेखक पनि आएनन्। पब्लिकेशन हाउसले विषयवस्तुमा मिहिनेत गरेनन्।”

ज्ञानै लिनका लागि पाठकलाई भौतिक पुस्तकबाहेकका माध्यम पनि भएको भण्डारी बताउँछन्। पाठकको ज्ञानको दायरा फराकिलो हुँदै जाँदा लेखकले पनि त्यहीअनुसार ज्ञानको दायरा बढाउने खालका पुस्तक लेख्नुपर्ने उनको भनाइ छ।

लेखक तीर्थ गुरुङ पनि लेखकले ज्ञानको स्रोत र माध्यम फराकिलो बनाउनुपर्ने बताउँछन्। “हामी लेखक भनिसकेपछि, किताब मात्रै पढ्ने, पेन्टिङ हेर्दैै नहेर्ने भयो भने त्यो लेखक पूर्ण हुँदैन,” उनी भन्छन्, “ज्ञान समाजमा गहिरोसँग घुलमिल भएर पनि लिन सकिन्छ। किताब मात्रै पनि अन्तिम सत्य चाहिँ होइन।”


सम्बन्धित सामग्री