Sunday, April 28, 2024

-->

'वास्तविक जीवनका पात्रले कथा लेख्न प्रेरित गर्छन्'

‘म अरूले लेखेका कथा र नाटकलाई प्रदर्शन गर्न/गराउन रुचाउने मान्छे, तर आफैँले कथा रच्ने काम धेरै नै कठिन लाग्यो। कथा लेखनकै क्रममा 'जति धेरै लेख्यो, उति तिखारिने विषय रहेछ यो' भन्ने बोध पनि भयो।’

वास्तविक जीवनका पात्रले कथा लेख्न प्रेरित गर्छन्

मोरङको लेटाङमा जन्मेका प्रवीण खतिवडा २०५८ सालमा काठमाडौँ छिरे। त्यसयता दुई दर्जनभन्दा बढी नाटक निर्देशन, ४० भन्दा बढी नाटकमा र २० वटाजति फिल्ममा अभिनय गरे। उनी अभिनीत फिल्म 'रंगेली' आउँदो हप्ता रिलिज हुने बताइएको छ। प्रतिभावान् र सक्रिय रंगकर्मी खतिवडा अब कथाकारका रूपमा उदाएका छन्। फागुन १९ गते उनको कथा संग्रह 'अकथ्य' सार्वजनिक हुँदैछ। सो कथासंग्रहबारे खतिवडासँग उकालोले गरेको कुराकानी:

कथावस्तु र पात्रको चयन कसरी गर्नुहुन्छ? 
वास्तविक जीवनका पात्रले नै कथा लेख्न प्रेरित गर्दो रहेछ। ती पात्रका काँधमा टेकेर म कल्पना गर्दो रहेछु। केही 'भिजिबल' पात्रलाई साथमा लिएर तिनका आडमा कल्पना गर्दा रमाइलो हुने रहेछ। यसो गर्दा आफूलाई भन्न मन लागेका कतिपय सामाजिक सन्तुष्टि र असन्तुष्टिलाई नयाँ पात्र जन्माएर तीमार्फत भनाउन पनि पाइयो। 

म अरूले लेखेका कथा र नाटकलाई प्रदर्शन गर्न/गराउन रुचाउने मान्छे, तर आफैँले कथा रच्ने काम धेरै नै कठिन लाग्यो। त्यससँगै, कथा लेखनकै क्रममा 'जति धेरै लेख्यो, उति तिखारिने विषय रहेछ यो' भन्ने बोध पनि भयो। रंगमञ्चमा अभिनय गर्ने क्रममा जे जति जानियो, तिनै कुरालाई लेखनमार्फत अहिले बाहिर ल्याउन खोजेको हुँ।     

आफ्नो 'करियर' र जीवन संघर्षबीच ९ वटा लामा कथा लेख्ने फुर्सद कसरी मिलाउनुभयो?  
भागदौडका बीच यी कथा लेखेँ। अभिनय र निर्देशनका समय चुँड्दै लेखिएका कथा हुन् यी। दिमागमा ६-७ वर्षयता बसेका प्लटहरू पनि मैले कथाका रूपमा उनेँ। 

फलानो विषय नाटकमा उतार्न पाए हुन्थ्यो भन्ने लागेका कतिपय विषय पनि कथामा आइपुगेका होलान्, होइन? 
हो। अर्को कुरा, मैले लेखेका कथामध्ये केही नाटक र सिनेमा बन्न योग्य छन् जस्तो लाग्छ। भोलि साँच्चै फिल्ममा नै यी कथा उतार्ने भइयो भने तिनको पुनर्लेखन त गर्नै पर्ला। नाटक या फिल्मको स्ट्रक्चरमा त स्वतः ढाल्नैपर्‍यो।   

आफ्नो जीवनका कुन अवधिका कथाहरू यसमा लेख्नुभएको छ? 
यसमा मेरा बाल्यकालका सम्झना पनि छन्। उतिखेर देखेको मेरो गाउँसमेत उतार्ने कोसिस गरेको छु। अहिले फर्केर गाउँ हेर्दा केके फरक देखिन्छन् भन्ने विषय पनि अटाउन खोजेको छु। आफ्ना पेरिफेरिभन्दा बाहिर गएर भड्किला कथा लेखेको छैन मैले।     

तपाईं त स्कुलदेखि कलेज कालसम्म बेलाबेला राजनीतितिर पनि लाग्नुभयो। 'गुरुकुल' नाट्यशाला छिरेयता भने अभिनयमै समर्पित हुनुभयो। राजनीतिलगायत केके विषय समेटिएका छन् कथामा?
यसमा मायाप्रेम, राजनीति, राजनीतिक सचेतता, आर्थिक अभावका कुरा छन्। आजसम्म आइपुग्दा आफूले भोगेका कुरा नै कथाका रूपमा उतारिएका छन्। आफूले भन्न नसक्ने कुरा पनि कथामा उल्लेख भएका छन्। त्यस कारण पनि कथा संग्रहको नाम 'अकथ्य' रोजेको हुँ।  

कथा, उपन्यास र नाटकमा तपाईंलाई मन परेका लेखक को हुन्? 
मलाई शंकर लामिछाने एकदमै प्रिय लाग्छन्। बीपी कोइराला, गुरुप्रसाद मैनालीका कथा  र विजय मल्ल र बालकृष्ण समका नाटक मन पर्छन्। म स्वयं १९९६ मा लेखिएको बालकृष्ण समको नाटक गर्दै छु अहिले।  

आत्मसन्तुष्टि र आत्मरतिका लागि लेख्ने कि समाज बदल्न लेख्ने? 
सबैभन्दा पहिला त लेखकले आफ्ना कुरा अभिव्यक्ति गर्न नै लेख्ने हो। समाजभन्दा पर रहेर आफ्ना कुरा व्यक्त गर्नै सकिँदैन। कथा लेखिसक्दा यी सबै आयाम जोडिने रहेछन्। हामीले भन्ने गरेको 'रूपान्तरणको अभियान'मा पनि यसले थोरै टेवा गर्दोहोला। कहीँ न कहीँ म पनि थिएँ है यो 'संसार नाट्य'मा भन्ने अस्तित्वबोध पनि कथामा व्यक्त अवश्य हुन्छ। मेरो हकमा त्यही हो।  

तपाईंले कुनै अन्तर्वार्तामा 'अभाव नहुनु जीवन नहुनु' भन्नुभएको थियो। अभावका विषय पनि कथामा आएका होलान्? 
शुक्रवारको बिहान साथीहरूबीच हामी यही कुरा गर्दै थियौँ। तोड नपरीकन मान्छे त मान्छे बन्दैन रहेछ भन्दैथियौ। चोट खप्नेहरू नै बलिया हुन्छन्। डार्बिन बाजे पनि त्यही भन्छन्। कथामा अभावका विषय पनि आएका छन्। 

फिल्म र नाटकहरू यथार्थभन्दा अलि पर हुन्छन् भन्ने गरिन्छ। कथामा चाहिँ कल्पना र यथार्थको भेद कति हुँदो रहेछ?
यथार्थमै टेकेर कल्पना गरिने हो। सम्भव होला तर अस्तित्वभन्दा बाहिर रहेर कल्पना गर्न अहिलेसम्म मैले जानेको छैन। त्यसो हुँदा कल्पना पनि यथार्थ नै हुने रहेछन्।

मान्छेहरूले तपाईंका नाटक र फिल्म हेरे। तर तपाईंका कथा किन पढ्ने भनेर कसैले सोधे तपाईं के उत्तर दिनुहुन्छ? 
'के लेखेछ यो मूलाले भनेर पनि मेरा कथा पढिदिनूस्' एकचोटि। यो मेरो पहिलो लेखन पनि भएकाले कथा पढेपछि ‘लेखनमा भन्दा अभिनयमै तिम्रो क्षमता छ’ भन्नचाहिँ पाइयो। यत्रो वर्ष सिनेमा र रंगकर्ममा रहेको मान्छेले कथामा कस्तो कर्म गरेछ भनेर जान्नका लागि मेरा पढ्नुहोला। अर्को कुरा, पाठकलाई पढ्न बोझिलो हुने खालका कथा लेखेजस्तो लाग्दैन। सरल छन् कथा, त्यस कारण पनि पढ्न अनुरोध छ।


सम्बन्धित सामग्री