Saturday, April 27, 2024

-->

परशु प्रधान: मर्निङ वाकमा छुटेको एउटा कथा

२०३७ सालमा नवौँ संस्करण प्रकाशन भएको ‘सामान्य ज्ञान: डाइजेष्ट’ का लेखक नेत्रबहादुर थापा र पीआर प्रधान हुन्। वास्तवमा यो किताबका मूल लेखक नेत्रबहादुर थिए र उनको मृत्युपछि परशुको नाम जोडियो।

परशु प्रधान मर्निङ वाकमा छुटेको एउटा कथा

उताबाट ट्याम्केलाई तिमीले हेरिरहेछौ
मैले यताबाट हेरिरहेछु
परशु!
निःसन्देह हामी एउटै कुरालाई दुईतिरबाट हेरिरहेछौँ। 

(ट्याम्के, परशु र म –जसराज किराती)

भोजपुर र खोटाङको बीचमा ट्याम्के डाँडा ठिंग उभिइरहकै छ। तर ट्याम्केलाई उताबाट हेर्ने परशु प्रधान छैनन्। उनी पारिको भोजपुरबजार छाडेर शहर पसेको धेरै वर्ष भइसकेको थियो।

यता खोटाङको बुइपाबाट जसराज किरातीले धेरै वर्ष ट्याम्केलाई एक्लै हेरिरहे। परशुले चैत ५ गते धरती छाडेको दिन जसराज संयोगले खोटाङमै थिए। परशु बितेको तेस्रो दिन चैत ७ गते बिहान मात्र उनले खबर पाए र फेरि एकोहोरिएर ट्याम्केलाई हेरिरहे।

परशु र जसराज कुनै बेला हस्तलिखित पत्रिका निकाल्थे। ट्याम्केवारि दिक्तेल आसपासका रचना संकलन गर्ने काम जसराजले गर्थे। उता पारि भोजपुरतिरका रचना परशु बटुल्थे। अनि ‘गोरेटो’ नामको त्यो पत्रिका हातैले लेखेर धेरै प्रति तयार गरिन्थ्यो र हुलाकबाट घरघर पठाइन्थ्यो।

पत्रिका कहिले प्रकाशन भयो र नाम के थियो जसराजले बिर्सिसके। त्यो कथा कहन परशु पनि छैनन्। तर जसराजका जेठा छोरा कवि देवान किरातीले पत्रिकाको नामसम्म याद राखेका छन्। इतिहास हो, बिर्सिएर उसै हराउन दिन भएन।

उमेरले ७८ वर्षमा हिँडिरहेका जसराज परशु (८० वर्षमा निधन भएका)लाई ‘दाइ’ सम्बोधन गर्छन्। “दाइ बित्नुभएको सुन्दा म खोटाङमै छु। मेरो त आँसु आयो। म घाँसदाउरा गर्ने गाउँले मान्छे। कविता मन पथ्र्यो। दाइले नै मलाई यतिको बनाउनुभयो,” उनले भने। 

परशु प्रधानको खोटाङ सम्बन्ध यति मात्र होइन। उनले २०२० सालमा खोटाङको रेग्मी बाहुन परिवारकी कल्पनालाई भगाइदिए। त्यही विवाहले उनी गाउँ बस्न सकेनन्। भागेर वनारससम्म पुगे। ५–६ महिना उतै बसे।

पछि सरकारी जागिरे भएपछि २०३० को दशकको अन्त्यतिर सीडीओ बनेर खोटाङ पुगे। अनि फेरि जसराज किरातीसँग कुम जोडे। त्यति बेला पनि जसराज गाउँमा खेतीकिसानी नै गरिरहेका थिए।

परशुलाई भोजपुरले कवि/कथाकार बनाइसकेको थियो। २०१३ सालदेखि कविता लेख्न थालेका उनले २०१६ सालमा १६ वर्षकै उमेरमा पहिलो कविता संग्रह ‘जीवनपथ’ प्रकाशन गरे। २०१८ सालमा आईएको परीक्षा दिन काठमाडौँ दोस्रो पटक आउँदा यता साहित्य–साइनो जोडियो। यसअघि २०१४ सालमा एसएलसी दिन पहिलो पटक आएका थिए। दोस्रो पटकमा नयाँ सडकको पिपलबोटतिर कथाकार दौलतविक्रम विष्ट, रमेश विकल, कवि बासु शशी र ‘रूपरेखा’का सम्पादक बालमुकुन्ददेव पाण्डेसँग हिमचिम भयो। उनले पाण्डेलाई ‘मेरो कोठाको आँखा’ शीर्षकको कथा छाडेर भोजपुर फर्किए। त्यो कथा २०१९ सालमा रूपरेखामा प्रकाशित भयो। अनि उनको कथा–यात्रा शुरू भयो।

परशुको काठमाडौँ साइनोका कथा एउटै बान्कीका छैनन्।

एसएलसी दिनुअघि नै गाउँमा शिक्षक भइसकेका थिए। २०२२/२३ सालतिर भोजपुरको कुलुङस्थित वीरेन्द्र हाइस्कुलको हेडमास्टर भए। त्यति बेला परशुका विद्यार्थी थिए साहित्यकार पवन आलोक। यसबीचमा उनको काठमाडौँ–भोजपुर आउजाउ चलिरहेको थियो।

२०२२ सालमै उनले रत्न पुस्तक भण्डारसँग बालसाहित्यको पुस्तक लेख्ने सम्झौता गरे। सम्झौताअनुसार परशु र कृष्णप्रसाद पराजुली भएर दुई वर्षमा २० देखि ३२ पेजका १२ पुस्तक लेख्नुपर्ने थियो। त्यसबापत उनीहरूले ३६ सय रुपैयाँ पाउने सहमति थियो। सम्झौताकै दिन १८ सय पाएका थिए। सुनको भाउ तोलाको २३२ रुपैयाँ भएको समय थियो त्यो।

२०२४ सालमा भने उनी ढुक्कै बस्ने गरी काठमाडौँ आइपुगे।

परशु २०२३ सालमा एउटा कथा प्रतियोगितामा प्रथम भएका थिए। तत्कालीन यातायातमन्त्री रहेका कवि केदारमान व्यथित प्रमुख हर्ताकर्ता रहेको संस्था ‘साहित्य संस्थान’ले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानसँग मिलेर झापामा साहित्यिक कार्यक्रम गरेको थियो। परशुलाई पुरस्कार लिन झापा नै बोलाइएको थियो। त्यहाँ भेट भएपछि कवि व्यथितले ‘यस्तो प्रतिभा भएको मान्छेलाई त काठमाडौँमा अवसर छ, म व्यवस्था गरौँला’ भनेर बोलाए। 
यसरी उनी पुर्खाले छाडेको भूमिमा फेरि फर्किए।

उनका पुर्खा काठमाडौँ असनका बासिन्दा थिए। १९३८ सालमा उनका बाजेका बाजेले कर्णेल इन्द्रजित सिंहकी १७ वटी श्रीमतीमध्ये एउटीलाई भगाए। त्यस बेला इन्द्रजितले जार काट्न पाउँथे। तर भण्डारखाल पर्वमा उनी मारिएपछि परशुका पुर्खा बाँचे र सन्तानले हाँगा हाले। परशुभन्दा अघिका चार पुस्तासम्म हुलाकका जागिरे थिए। राणाको चाकरी गरेर हुलाकीको काम पाएका थिए। भोजपुरमा उनीहरू ‘हुलाकीका सन्तान’का रूपमा चिनिन्थे। घरमा नै हुलाकको कार्यालय थियो (भोजपुरे हुलाकीका सन्तान, शैलेन्द्र साकार)

६ पुस्तापछि परशु काठमाडौँ फर्किए।

काठमाडौँ आउनेबित्तिकै कवि व्यथितले साझा यातायातमा जागिर लगाइदिए। २०२७ सालमा त उनले लोकसेवा परीक्षा दिएर शाखा अधिकृतमा पहिलो नम्बरमै नाम निकाले। 

शहर भनेको असन, नयाँ सडक र आसपासलाई चिनिन्थ्यो। नयाँ सडकको पिपलबोट साहित्यकारहरूको जङ्क्सन थियो। मरुदक्षशाला (वसन्तपुर) बस्ने परशु त्यता धाउन थाले। पोषण पाण्डे, दौलतविक्रम विष्ट, विजय मल्ल, शंकर लामिछाने, हरिभक्त कटुवाललगायतसँग दोस्ती जम्यो (२०७७ असार ३१ गते परशु प्रधानसँगको कुराकानीका आधारमा)

कथाकार ध्रुव सापकोटासँगको दोस्ती २०२७ मा त्यही पिपलबोटबाट शुरू भयो। ध्रुवको बसाइ पनि काष्ठमण्डप नजिकै चिकंमुगलमा थियो। उनीहरू २०३० सालमा नयाँ बानेश्वर बसाइँ सरे। त्यहाँ ‘मर्निङ वाक’ जाने साहित्यकारहरूको ‘बानेश्वर ग्रुप’ खडा भयो। त्यो ग्रुपले हरेक हप्ता आलोपालो ‘माध्यम’ छलफल कार्यक्रम चलाउँथ्यो। दौलतविक्रम विष्ट, रामदयाल राकेश, हरि अधिकारीलगायतका घर कार्यक्रम स्थल थिए। वक्ताहरूको आवाज टेप रेकर्ड हुन्थ्यो। बोलेको कुरा राखेर ‘माध्यम’ नामकै एक पेजको पत्रिका निकाल्थे। दाम १ रुपैयाँ। जसको घरमा कार्यक्रम हुन्थ्यो उही सम्पादक।

यसरी अघि बढेको परशुको साहित्ययात्रा अनवरत चलिरह्यो। के लेखेनन् र उनले! कविता, कथा, उपन्यास, निबन्ध, बालसाहित्य मात्र भनेर पुग्दैन। उनले लेखेका सामान्य ज्ञान र लोकसेवा परीक्षा तयारी पुस्तक पढेर सरकारी जागिर खाएका कति त अवकाश भइसके। ती किताब चर्चित र अत्यधिक बिक्नेमा पर्थे तर लेखक गुमनामजस्तै थिए। रत्न पुस्तक भण्डारबाट प्रकाशन भएका कतिमा त लेखकको नाम नै थिएन।

२०३७ सालमा नवौँ संस्करण प्रकाशन भएको ‘सामान्य ज्ञानः डाइजेष्ट’ का लेखक नेत्रबहादुर थापा र पीआर प्रधान हुन्। रत्न पुस्तक भण्डारका गोविन्दप्रसाद श्रेष्ठका अनुसार यो किताबका मूल लेखक नेत्रबहादुर थापा (पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाका बाबु) शिक्षा मन्त्रालयका उच्च अधिकारी थिए। थापाको मृत्युपछि पुस्तकको संशोधन र सम्पादन परशु प्रधानले गर्न थाले र गातामा दुवै जनाको नाम राख्न थालियो। त्यस बेला परशु सामान्य प्रशासन मन्त्रालयमा थिए। तर यी पुस्तकमा ‘पीआर प्रधान’ अवतारमा प्रकट भए। २०१६ सालमा विराटनगरबाट प्रकाशित हुने ‘छहारी’ पत्रिकामा उनले यही नामबाट पहिलो कविता ‘हाँसेकी ती चन्द्रमा’ प्रकाशन गरेका थिए।

त्यसो त लेखकको नामै नराखेर रत्नले ‘नायब सुब्बाको गाइड’, ‘शाखा अधिकृतको गाइड’, ‘सामान्य ज्ञानको अनिवार्य गाइड’लगायत पुस्तक निकालेको छ। यी पुस्तक प्रकाशनका लागि रत्न पुस्तकका रत्नप्रसाद श्रेष्ठ र लेखकद्वय परशु प्रधान र रामचन्द्र प्रसाद शर्माले सम्झौता गरेका छन्। सम्झौतामै पुस्तकमा लेखकको नाम नराख्ने र प्रतिलिपि अधिकार रत्न पुस्तक भण्डारमा हुने उल्लेख छ।

यी पुस्तक अत्यधिक बिक्थे। फाट्टफुट्ट बिक्ने साहित्यका पुस्तकभन्दा कमाइ राम्रो हुन्थ्यो। “परशु प्रधान नाम चलेका साहित्यकार थिए। यस्ता (लोकसेवा तयारीका) किताबलाई महत्त्वको नठानेर नाम नराखेका हुन्,” रत्न पुस्तकका गोविन्द श्रेष्ठ भन्छन्।

उनले ‘अंग्रेजी बोल्न सिकाउने : व्यावहारिक अंग्रेजी बोलचाल’ पुस्तक पनि लेखे। लेखे त के भन्ने र! रत्न पुस्तकले लेखायो। वास्तवमा त्यति बेला भारतमा ‘र्‍यापिडैक्स इंलिस स्पिकिङ कोर्स’ नामको पुस्तक चल्तीमा थियो। रत्नले प्रकाशित गरेको अंग्रेजी बोल्न सिकाउने पुस्तक त्यसैको अनुवाद थियो।

परशु २०५० सालताका उद्यमी बने। उनले नयाँ बानेश्वरमा प्रेस खोलेका थिए। प्रेसको नाम थियो– प्रतिबोध प्रिन्टिङ प्रेस। रत्नसँग सम्झौता गरेर उनले लेखेका केही पुस्तक यही प्रेसबाट छापिएका थिए। उनका साहित्यिक पुस्तकहरू ‘असम्बद्ध’, ‘यौटा अर्को दन्त्यकथा’, उनीसहित १० लेखकले लेखेको उपन्यास ‘आकाश विभाजित छ’लगायत पनि रत्न पुस्तकले नै प्रकाशन गरेको हो।

परशु प्रधानको मृत्युसँगै पुस्तक विमोचन शुरूआतको अर्को एउटा कथा पनि छुटेको छ। २०३४ सालतिर उनी गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी थिए। ऋषिराज बराल भने प्रहरीका जागिरे थिए। उनले ‘भावना’ उपन्यास लेखेका थिए। त्यस बखत पुस्तक विमोचनको चलन थिएन, ‘परिचर्चा’ कार्यक्रम हुन्थे। त्यस्ता कार्यक्रम रक्सी खाने बहाना थिए। बजारमा चर्चा हुने र साहित्यिक पत्रिकाहरूले समाचार पनि बनाइदिने हुनाले केही लेखक कार्यक्रमका लागि पैसा खर्च गर्न तयार हुन्थे (जङ्क्सन पिपलबोट : नयाँ सडकको कथा, प्रकाश गुरागाईं)

बरालले आफ्नो उपन्यासको परिचर्चा होस् भन्ने चाहेको परशु प्रधानलाई बताए। बानेश्वर ग्रुपका कर्मचारी साहित्यकारहरूको पनि नयाँ सडकतिर ओहोरदोहोर चल्थ्यो। यो समूहमा परशुसँग भाइ शैलेन्द्र साकार, ध्रुव सापकोटा, हरि अधिकारीलगायत थिए।

उपन्यासमा एक वाक्यको भूमिका परशुकै थियो– “घामको पहिलो झुल्का, ऋषिराज बराल।” एक बिहान भेटघाटको थलो बानेश्वरको बंगलामुखी मन्दिरमा परशुले ऋषिराज बरालको इच्छा हरि अधिकारीलाई सुनाए। हरि अधिकारीले पुस्तक परिचर्चा होइन विमोचनको ‘आइडिया’ निकाले। यो आइडियाको पृष्ठभूमिमा भारतीय पत्रिकाहरू थिए। नयाँ सडकको सन्देश गृहमा आउने कुनै भारतीय पत्रिकामा भारतीय लेखक यशपालको उपन्यास ‘मेरी तेरी उसकी बातु’ लखनउमा विमोचन भएको समाचार हरि अधिकारीले पढेका थिए। 

बरालको उपन्यासको विमोचन बागबजारको ‘भट्टी’मा हुने भयो, खर्च बरालकै। विमोचन स्थल छानेका थिए शैलेन्द्र साकारले। बागबजार पद्मकन्या कलेजअगाडि गल्लीमा रामभाइ तण्डुकार (नाम रामभाइ भए पनि सबैले रामदाइ भनेर बोलाउँथे) को चर्चित नेवारी खाजाघर। विमोचन कार्यक्रममा दौलतविक्रम विष्ट, परशु प्रधान, ध्रुव सापकोटा, हरि अधिकारी, सोमनाथ घिमिरे, तुल्सीनाथ ढुंगेल, शैलेन्द्र साकार, प्रकाश प्रेमी, सन्तोष भट्टराई, नगेन्द्रराज शर्मा लगायत १५ जना जति भेला भए। पुस्तकको विमोचन दौलतविक्रमले गरे। उनी रेडियो नेपालका उपनिर्देशक थिए। 

भट्टीमा भएको पहिलो विमोचन कार्यक्रमको ६ वर्षपछि परशु प्रधानको आफ्नै पुस्तक चाहिँ पाँचतारे होटलमा विमोचन भयो। त्यस बेलासम्म उनका बालसाहित्यका समेत गरी दर्जनभन्दा बढी पुस्तक प्रकाशन भइसकेका थिए। कथासंग्रह पाँच वटा र उपन्यास एउटा छापिइसकेका थिए। तर पहिलो विमोचनको मौका भने २०४१ सालमा छापिएको ‘प्रतिनिधि कथाहरू’ले पायो। पुस्तकको प्रकाशक व्यापारी ओमप्रकाश अग्रवाल थिए। उनैको खर्चमा २०४१ चैतमा दरबारमार्गस्थित याक एन्ड यति होटलमा विमोचन भएको थियो। कार्यक्रममा करिब ४० जनालाई खाना र रक्सीको व्यवस्था थियो। भावना उपन्यासको विमोचन गर्ने दौलतविक्रम विष्टले नै ‘प्रतिनिधि कथाहरू’को पनि विमोचन गरेका थिए (जङ्क्सन पिपलबोट)

परशुले २०५१ सालमा जागिरबाट अवकाश लिए। २०५२ सालमा स्थायी बसोबासका लागि विराटनगर गए। त्यहाँ ‘लेखक बस्ती’ बसाउने उनको योजना थियो। उनकै पहलमा वाणी प्रकाशन सहकारी संस्था सञ्चालन भयो। उनले करिब एक दशक यो संस्थाको नेतृत्व गरे। पाँच हजार रुपैयाँ सदस्यता शुल्क लिएर साहित्यकारहरूलाई सदस्य बनाइएको सहकारीमा ऋण लिनेले तिर्न छाडे। परशुले नेतृत्व छाडेपछि अनेक विवाद पनि देखा परे। त्यसपछि यो संस्था नै विघटन भयो। त्यस बेला वाणीमा आबद्ध भएका साहित्यकार प्रमोद प्रधान भन्छन्, “उहाँ (परशु प्रधान)ले पूर्वाञ्चललाई साहित्यमा चलायमान बनाउनुभएको थियो। उहाँले नेतृत्व छाडेपछि विवाद भयो। त्यसमाथि ऋण उठाउन कडिकडाउ गर्न नसक्दा संस्था नै डुब्यो।”

करिब डेढ दशक विराटनगर बसेपछि परशु फेरि बानेश्वरको उही घरमा फर्किए। अनि ध्रुव सापकोटाहरूसँग फेरि ‘मर्निङ वाक’ शुरू भयो। 

उनीहरूको मर्निङ वाक पाँच वर्ष अघिसम्म चलिरहेको थियो। बुढ्यौलीतिर लम्किँदै गरेको शरीर र रोगका कारण त्यसपछि मर्निङ वाक बन्द भयो। तर हरेक दिनजस्तो ध्रुव सापकोटासँग फोनमा कुरा गर्थे।

गएको चैत ५ गते बिहान १० बजेतिर ध्रुवले परशुको मोबाइलमा फोन गरेका थिए। उनी शौचालयमा रहेछन्। “भाउजूले फोन उठाएर दाइलाई बोल्न मुस्किल हुने बताउनुभयो। पछि दिउँसो साढे २ बजेतिर उहाँले मलाई कल गर्नुभएको रहेछ। उहाँको जिन्दगीको त्यो अन्तिम कल रहेछ। तर मैले थाहा नपाएर उठाउन पाइनँ,” ध्रुव भन्छन्।

त्यही दिन राति १० बजेतिर निवासमै परशुले अन्तिम सास फेरे। ध्रुवलाई विस्मात् र रहस्य छ, “आखिर परशुले जीवनको अन्तिम दिन के भन्न चाहेका थिए?”


सम्बन्धित सामग्री