Tuesday, June 18, 2024

-->

रामरहिम २.० रामलाल
रतनपुरका रामलाल, सिरसाका रामरहिम

जंगलमा कात्तिकदेखि शुरू भएको भिडभाड पुसको उत्तरार्धदेखि घट्दै गइरहेको थियो। फागुनमा रामलाल टोड्कोबाट हराए। केही समयपछि चारकोसे झाडीकै हलखोरिया दहनेर ‘प्रकट’ भएको खबर आयो।

रतनपुरका रामलाल सिरसाका रामरहिम

राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरिरहेको समय थियो। शासनको नौ महिना जति बितिसकेको त्यसबखत दरबार भर्सेज दलहरूको द्वन्द्व उत्कर्षउन्मुख थियो। राजा स्थानीय चुनाव गराउन होस्टे गरिरहेका थिए भने दलहरू त्यसो हुन नदिन हैँसे गरिरहेका थिए। २०६२ सालको कात्तिक महिना, महेन्द्र राजमार्गबाट उत्तरतिर बारा जिल्लामा उहिलेको चर्चित चारकोसे झाडीमा एक जना किशोर महिनौँदेखि निराहार तपस्यारत रहेको खबर वीरगन्जतिर बाक्लै सुनिन थाल्यो।

कान्तिपुरको वीरगन्जमा संवाददाता म, क्षेत्राधिकार पर्सा जिल्ला। जिल्लाबाहिरको रिपोर्टिङ गर्दा क्षेत्राधिकारको प्रश्न उठ्नसक्थ्यो। सम्बन्धित जिल्लाको रिपोर्टरले माथि मौखिक गुनासो मात्रै गर्दिए मौखिकै सही स्पष्टीकरण दिनपर्ने हुनसक्थ्यो। कान्तिपुर टेलिभिजनले चाहिँ क्षेत्रीय संयोजक (मध्यमाञ्चल) को पगरी दिई गतिलो क्यामेरासहित क्यामरापर्सनको सुविधा दिएको थियो। क्षेत्राधिकार काठमाडौँ उपत्यकाबाहेक मध्यमाञ्चलभरि। क्यामरापर्सन पंकज श्रेष्ठसहित लागियो तपस्यास्थल भनिएको ठाउँतिर। वीरगन्जबाट जाँदा राजमार्गको निजगढ बजार पुग्न एक किलोमिटर वरैबाट जंगलको बाटो सात किलोमिटर पर तपस्यास्थल थियो, साविक रतनपुर गाविसमा।

दृश्य आश्चर्यचकित पार्न यथेष्ट थियो। जंगलको बीचोबीच मेलाझैँ देखिन्थ्यो, अझ भनौँ बाल्यकालमा देख्ने गरेको तामाङ समुदायको मानेमेला। बुद्धमार्गी झल्किने खादा, झण्डा ध्वजापताका, अगरबत्तीको मगमग। मानिसको बाक्लो आवतजावत। मानेमेलामा अपरिहार्य ठानिने जाँडरक्सी र माछामासुको खोलोचाहिँ थिएन। बसका बस रिजर्भ गरेर हेर्न मान्छे ओइरिइरहेका थिए। जंगलको बाटो छेउछाउ चियानास्ताका दोकानहरू। अनुहारले नै तामाङहरू उल्लेख्य देखिन्थे।  

पिपलको टोड्कोमा एउटा सुकुमार किशोर (रामलाल बम्जन) एकै मुद्रामा ध्यानस्थ देखिन्थे। २५ मिटर परबाट तारबार गरी घेरा बनाइएको थियो। पछि त ५० मिटरजति परैबाट दोस्रो घेरा लगाइयो। दर्शनार्थी/रमितेलाई तथाकथित निराहारी तपस्वी खुट्याउन पनि मुस्किल भई विरोध भएपछि दोस्रो घेराबाट एकचोटीमा पाँचजनामा नबढ्ने गरी पहिलो घेरासम्म जाने अनुमति थियो, ३० सेकेण्डभन्दा बढी पहिलो घेरामा रोकिन पाइन्थेन। तपस्यामा बाधा पुग्छ भनेर स्वयंसेवकहरूले तानिहाल्थे। पुजारी प्रेम लामा जो किशोरकै मामाका छोरा थिए, मात्र टोड्कोसम्मै पुग्न पाउने अधिकारप्राप्त अधिकारी थिए। 

२५ मिटर टाढाबाट हेर्दा किशोरले हलचल गरेको नै थाहा पाइन्नथ्यो। पंकजले क्यामरा ‘जुम इन’ गरे, यसो परेला चलेको सम्म देखियो। घण्टौँ अवलोकन गरियो, मान्छेका कुरा सुनियो। सबैजसो ‘अद्भूत’ भनिरहेका थिए, थियो पनि अद्भूत नै। किशोर चल्नुचट्पटाउनु छैन, पलेँटी कसेको कस्यै छ। 

हामी त्यहाँबाट चार किलोमिटर अझ दक्षिण चुरेको काखैमा रहेको किशोरको घर रतनपुर पनि पुग्यौँ। उनको परिवार, छरछिमेकीसँग भलाकुसारी गरियो। आमा माया तामाङ्नी (पछि त मायादेवी नै बनाए) ‘साइँलो छोरो सानैदेखि फरक थियो, मतवालीको घरमा जन्मिए पनि माछा–मासु, जाँड–रक्सी मुखमै पारेन’ भन्दै यस्तै भगवान हुन रैछ भनेर मख्ख थिइन्। अलि पछि त विदेशी पत्रकारहरूको ताँती माया तामाङ्नी खोज्दै पिँढीसम्मै पुग्थे। 

खासमा २०६२ जेठ १३ गतेदेखि उनी ध्यानस्थ भनिए पनि गुमनामै रहेछन्। असार १८ गते स्थानीय वेदबहादुर लामाको अध्यक्षतामा ‘ओम नमोबुद्ध तपोवन संरक्षण सम्वर्दन समिति’ गठन गरिएको रहेछ। किशोरका ठूल्दाइ गंगाले सिमरामा बस्ने पत्रकार रेशम तिवारी (त्योबेला नेपाल टेलिभिजनका स्थानीय समाचारदाता) सहितलाई भाइले कठोर तपस्या गरिरहेको सुनाउँदै ‘मिडियाले चासो दिनुपर्‍यो’ भनेर अनुरोधै गरेका रहेछन्। तिवारीसहित चार–पाँचजना पत्रकारको टोली भदौतिर स्थलगत रिपोर्टिङ गरी फर्किएको रहेछ। समितिको अगुवाइमा दशैँताका पानीसमेत नपिई बुद्धत्वको लागि तपस्यारत भन्दै लाखबत्ती बालिएछ। कम्तीमा दुई मूकव्यक्ति तपस्वीको दर्शनपछि बोल्न थालेको भनेर हल्ला फैलिएपछि ग्वारग्वार्ती भिड चारकोसे झाडीतिर सोझिन थालेको रहेछ। बुद्धत्व प्राप्त गर्न ६ वर्ष तपस्या गर्नुपर्ने बताएपछि समिति गठन गरिएको वेदबहादुर सुनाउँथे। 

दिन ढल्किँदै थियो, हामीलाई अब निस्किनु पर्ने हुन्थ्यो। बिहानदेखि साँझसम्मै एउटै मुद्रामा बस्न त सक्ने नै देखियो, रातमा पनि यसरी नै बस्छन् त? केही खाँदै खाँदैनन् त? कौतूहल बढ्दै थियो। राति पनि यही बसेर अवलोकन गर्न पाइन्छ त? अध्यक्ष बेदबहादुरले रात बिताउने भए स्वयंसेवकहरू आराम गर्न बनाइएको टाँडमा ठाउँ दिइने बताए। सशस्त्र द्वन्द्वको उत्कर्षकाल, उहिल्यैदेखि माओवादी प्रभावित क्षेत्र, त्यो पनि जंगलमा– तैपनि माओवादीको कुनै डर नभएकोमा आश्वस्त भएपछि पंकज र म रात त्यहीँ बिताउने भइयो।

झमक्क साँझ परेपछि तपस्वी बसेको रुखको टोड्कोमा पर्दा लाग्यो। रातमा पनि केही नखाई बसेको बस्यै गर्न सक्छन् कि सक्तैनन् हेर्न नपाइने भएपछि अब त्यहाँ रात बिताउनुको मतलब थिएन। फेरि रातको समयमा मोटरबाइकमा जंगलको बाटो वीरगन्जतिर निस्किनु झन् जोखिमपूर्ण हुन्थ्यो। मंसिर नजिकिँदै गरेको कात्तिकको रात जंगलमा चिस्चिसै भयो। निद्रा बिगारेर रात बिताइयो। बिहान उज्यालो भएपछि टोड्कोको पर्दा उघ्रियो, हामी पनि वीरगन्जतिर लागियो।  

त्यसपछि आनाजाना चलिरह्यो। टाढाटाढाबाट दर्शनार्थी रमितेको ओइरोले राजमार्गका होटल–लजको व्यापार ह्वात्तै बढाएको थियो। राजमार्गदेखि रतनपुर पुग्ने चारकोसे झाडीको बाटोमा त्यसअघि सार्वजनिक सवारी चल्दैनथ्यो। अब हेटौँडा, पथलैया र वीरगन्जबाट बस नै चल्न थाले। पछि बसलाई निषेध गरी माइक्रोबस सम्मलाई छुट दिइएको थियो। “पथलैयाका लजका ५०/६० कोठा कात्तिकयता कहिल्यै खाली छैनन्,” होटल व्यवसायी (पछि पत्रकार बनेका) प्रकाश लम्सालले मजाकिया अन्दाजमा सुनाएका थिए, “अरूका लागि हुन्–नहुन् हाम्रा लागि त साक्षात बुद्ध नै भएका छन् नि।”  

बीचमा शीतलहर आयो, शीतलहरले मान्छेहरू मरेको खबर छापिइरहे। बम्जन एकधरो लुगामा उही मुद्रामा पलेँटी कसिरहे।

बाहिरबाट आएका पत्रकार बिरादरीका साथीहरूको गाइड भएर पनि गइयो। देश–विदेशबाट ‘लिटिल बुद्ध’बारे सोध्न फोन आइरहन्थे, अपडेट भइराख्न पनि गइयो। आखिर मेलामा पुगेझैँ रमाइलै पनि थियो। सातौँचोटी दर्शन गर्न आएका बाबुलाल स्याङ्तानसँग भेट भएको थियो, जो दीप प्रज्वलन गर्न डेढ क्विन्टल वनस्पति घिउसहित आएका थिए।

मंसिर–पुसमा बमजनलाई हेर्न जानेको संख्या झन्झन् बढ्यो नै, देशीविदेशी सञ्चारमाध्यमको पनि ध्यान आकर्षित भयो। देशीभन्दा पनि अझ विदेशीको। रक्सौलका रिपोर्टरहरूको आनाजाना चलिरहेकै थियो। अब पटनादेखि खबरिया च्यानलका टिम आउन लागे। पश्चिमा सञ्चारमाध्यमका काठमाडौँ बस्ने पत्रकार मात्र होइन दिल्ली ब्यूरोबाटै पनि ओइरिन थाले। एकचोटी म र पंकज मोटरसाइकल पार्किङ गरी टोड्को भएतिर सोझिँदै थियौँ, ‘आजतक’का पटना ब्युरो प्रमुख सुजितकुमार झा ठोक्किए। यसअघि पनि भेट भइसकेका उनी नाम मिल्ने भएकाले मित नै भन्थे।

सुगौली सन्धिअघि नेपाल सरहदमै पर्ने ठाउँमा घर भएका उनी ‘नेपाल–अंग्रेज युद्ध नभएको भए त हामी एकै देशका नागरिक हुन्थ्यौं नि’ भनेर मलाई मक्ख पार्दिन पनि खोज्थे। ‘एक बाइट दिजिये मित’ भनेपछि तयार भइहालेँ। मैले रात बिताउँदा पर्दा ढाकिएकोमा निराहार भन्ने कुरामा शंका पैदा भएको बताउनुका साथै ‘माओवादीको मिलिभगत हुनसक्छ’ के भन्दिएको थिएँ, वरपर भएका ठिटाहरू मैसँग निहुँ खोज्न आइहाले। धन्न ‘नम्बर वान’ कान्तिपुरमा आबद्ध भएको थाहा पाएपछि लाखापाखा लागे, नत्र रामलालका भक्तजनले त्यही दिन रामधुलाइ गर्थे होलान्।   

उता बाराको सदरमुकाम कलैयामा मात्रै होइन वीरगन्जमा समेत सुरक्षा निकायको निद हराम भइरहेको थियो। रामलालले अड्डा जमाएको ठाउँ चारकोसे झाडीभित्र त थियो नै माओवादीको घना प्रभाव भएको एरिया थियो। ज्यान जाने झडपहरू भइसकेका थिए। दर्शनार्थी दिनकै दशौँ हजार पुगिरहेका थिए। भेटी चढ्थ्यो। साँझ परेपछि परिवार, समितिले बोरामा कोचेर पैसा घर लैजाने गरेको सुनिन्थ्यो। बम्जनका जीवनीका किताब, सीडीहरू परपरका बजारमा पनि छ्याप्छ्याप्ती भइसकेका थिए। सानोतिनो अर्थतन्त्र चल्न थालिसकेको थियो। आम्दानीको मूल अंश माओवादीले नै पाउने गरेको अनुमान सुरक्षा निकायको थियो। 

हुन पनि तिनकै आधार इलाकामा माओवादीले कुनै अवरोध गरेका थिएनन्। दाजु गंगा माओवादीकै मान्छे भएको अनुमान थियो। सुरक्षा निकाय त्यहाँ मान्छेहरूलाई जान निरुत्साहित गर्ने योजना बुनिरहेका थिए। मंसिर ३ गते बारा जिल्ला प्रशासनले तपस्वीलाई पर्दाले ढाक्ने निर्देशन दिएको थियो। समितिलाई आयविवरण पेश गर्न भनिरहेको थियो भने रामलाललाई नमोबुद्ध भनेकोमा आपत्ति जनाउँदै संस्था नै दर्ता गरिदिएको थिएन। स्वयंसेवीका रूपमा माओवादी लडाका नै परिचालित भएको आशंकामा स्वयंसेवकहरूको विस्तृत विरण पठाउन पनि भनेको थियो। महिनाको दुई हजार भत्ता दिने गरी रतनपुरका ३० युवकलाई स्वयंसेवीमा परिचालन गरिएको थियो।  

२४ घण्टा नै अवलोकन गर्न सकिने भनिएपछि जंगलमै रात बिताउन साहस जुटाएका हामीलाई निराश पारिएको थियो नै, पूर्णतया निराहार भन्ने दाबी पत्याउने आधार थिएन। रातको समयमा कुछ गडबड छ, घोटाला छ भन्ने अड्कल गर्न हामीलाई गाह्रो परेन। अरूका लागिचाहिँ रामलाल पहेली बनिरहे। 

स्थानीय टोलीका साथै चिकित्साशास्त्र अध्ययन संस्थान, लुम्बिनी विकास कोष र अरू बुद्धमार्गी संस्थाहरूले पनि अवलोकन गरे। सबैले बिहानदेखि साँझसम्म एकै मुद्रामा पलेँटी मारेर बस्नसक्ने क्षमतालाई त अद्भूत माने, थप निष्कर्ष निस्किन सकेन। प्रशासनले जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामलखन साहको नेतृत्वमा चिकित्सकहरूको टिम पठाएको थियो। पाँच मिटर परबाट अवलोकन गर्दा आधा घण्टामा तीनचोटी मात्र सास फेरेको, एकचोटी थुक निलेको र परेला हल्लिएको रिपोर्ट दिएका थिए। पलेँटी कसाइलाई डाक्टर टोलीले पनि असाधारण नै मान्यो। कडा योगाभ्यासले मात्रै यस्तो शक्ति दिनसक्ने अड्कल काट्यो। टोलीले खाए नखाएको चेक गर्न रक्तपरीक्षण गर्नुपर्ने बतायो। तर समितिले उनलाई घोच्दा तपस्या भंग हुने भन्दै मान्दैमानेन। 

निराहार तपस्याको दाबीमा प्रश्न गर्न सकिने घटना भइरहे। जस्तै पुस २० मा तपस्वीलाई सर्पले टोकेको भनेर चार दिन पर्दा लगाइयो। 

विदेशी पत्रकारहरू केहीबेर अवलोकन गरेपछि भन्थे, ‘अमेजिङ।’ टेलिग्राफका रिपोर्टर टम बेल दुईचोटी पुगेका थिए। नेपालको समेत रिपोर्टिङ गर्ने बीबीसी दक्षिण एशिया रिपोर्टर चाल्र्स हाभिल्यान्डले भनेका थिए, “राति आरामै गर्छन्, खान्छन् भने पनि बिहानदेखि बेलुकीसम्म अनवरत ध्यानस्थ हुनु आफैँमा अमेजिङ छ।”

कात्तिकदेखि शुरू भएको भिडभाड पुसको उत्तरार्धदेखि घट्दै गइरहेको थियो। फागुनमा रामलाल टोड्कोबाट हराए। त्यहाँ पुग्दा समितिका मान्छेहरू तपस्वी अलप भएको बताइरहेका थिए।

केही समयपछि चारकोसे झाडीकै हलखोरिया दहनेर ‘प्रकट’ भएको खबर आयो। त्यहाँ उनले गुफालगायतका पक्की संरचना निर्माण गराए। घोडामा जंगल विचरण गर्न थाले। उनले तपस्याबाट प्राप्त ज्ञान बाँड्ने कार्यक्रम घोषणा भयो। समितिले खुबै हल्लीखल्ली मच्चायो। बारा, पर्सामा कार्यरत पत्रकार त पुग्ने नै भए, भारतीय खबरिया च्यानलका पत्रकारहरू पटनादेखि आएका थिए। केहीबेरको पर्खाइपछि उनी गुफाबाट माथि उक्लिए। बोल्न थाले। के बोले बुझ्नै सकिएन। अरूले पनि सायदै बुझे। किनकि उनको बोलीमा पूर्णविरामै हुन्थेन। एउटा वाक्य बोल्न थाल्यो, वाक्य पूरा नहुँदै अर्को कुरा शुरू भइसकेको थियो। बौद्धिकस्तर उनको औपचारिक शिक्षा (५ कक्षा) भन्दा उकासिएको पाइनँ। उनमा पलेटी कसेको कस्यै बस्नेबाहेक कुनै क्षमता छैन भन्ने निष्कर्षमा पुगियो। उनलाई ‘फलो’ गर्न चटक्कै छाडेँ।

देशीविदेशी पत्रकारहरूको घुँइचो लाग्न थालेपछि समिति र परिवारले बालै दिन छाडे पनि रेशम तिवारीले करिब २०६६ सालसम्म उनलाई फलो गरे। रातको समयमा सर्पहरू तपस्यास्थलमा भेला हुने गरेको र तपस्वीले नचाउने गरेको हल्ला चल्थ्यो, जंगली हात्तीहरूलाई उनले नचाएको हल्ला चल्थ्यो। क्यामेरामा कैद गर्नेगरी पुग्दा निषेध गरियो। “एकचोटी बीबीसीको टिमले ४८ घण्टा अनवरत उनको गतिविधि खिच्ने प्रस्ताव गर्दा नमानेपछि धेरैथोक अफवाह हो भन्नेमा पुगिसकेको थिएँ,” तिवारी सुनाउँछन्।

आफ्नै क्यामेरा खोसेर फोड्दिएपछि चाहिँ उनले पनि पछ्याउन छाडे। क्यामेरा फोडिनुअघि नै हलखोरिया दह वरपर पुग्नेले कुटाइ खाएको खबर यदाकदा आउँथ्यो। “चियोचर्चो गरेको शंका लाग्नेबित्तिकै आक्रमण हुन्थ्यो,” तिवारी सम्झिन्छन्, “आक्रमण गर्न रामलाल आफैँ पनि अघि सर्थे।” स्थानीय प्रशासन र प्रहरीले दबाब दिई तिवारीको क्यामराको क्षतिपूर्ति दिलाइदिएका थिए। धेरै गुनासो आउन थालेपछि स्थानीय प्रशासनको निर्देशनमा जंगलमा बनाइएका संरचनाहरू भत्काइए। रामलाल पत्थरकोट (सर्लाही) तिर लागे।     

‘सेतोपाटी’मा पाँच वर्षअघि उनका अपराधकर्मबारे प्रकाशित खोजी स्टोरीहरू त्यसअघि नै अदालतबाट दण्डित गर्ने फैसला भइसकेको भारतको गुरमित रामरहिम सिंहकै झझल्को दिनेखाले थिए।   

‘डेरा सच्चा सौदा’का गुरु गुरमित रामरहिम सिंह इन्सा हरियाणाको सिरसाको आश्रममा अड्डा जमाएका थिए। उनले सयौंको संख्यामा अनुयायी (त्यसमा कतिपय नाबालिग)को बलात्कार गरेका थिए। गुरमितको अपराधको खुलासा गर्न ‘तहल्का’का लागि ‘स्टिङ अपरेसन’सहित लामो समय अनुसन्धान गरेका पत्रकार अनुराग त्रिपाठीले ‘डेरा सच्चा सौदा एन्ड गुरुमित रामरहिम अ डिकेड लङ इन्भेस्टिगेसन’ किताब प्रकाशित गरेका छन्। ओटीटी प्लाटफर्म ‘एमएक्स प्लेयर’ले गुरमितको गोरखधन्दामा आधारित (सम्भावित कानूनी पचडाले गर्दा निर्माताले यसलाई काल्पनिक दाबी गरेका छन्) ‘आश्रम’ सिरिज नै बनाएको छ।

“बलात्कृत त कति थिए कति” त्रिपाठी एउटा अन्तर्वार्तामा सुनाउँछन्, “धेरैले बिहे गरी जीवनको नयाँ पारी शुरू गरिसकेका थिए, जो आफूमाथिको अत्याचार सार्वजनिक गरी वैवाहिक जीवन खतरामा पार्न चाहन्थेनन्।” कतिपयले जीवनरक्षाकै लागि पनि सार्वजनिक हुन चाहन्थेनन् भने कतिपयलाई अभिभावकले यस्तो नगर्न सख्त चेतावनी दिएका थिए। त्रिपाठीले भेटेकामध्ये एक जना सर्भाइभरले १४/१५ वर्षको उमेरमा बलात्कृत हुँदा गुरमितले जिउभरि टोकेको व्यथा सुनाएकी थिइन्। 

एउटी सर्भाइभरले २००२ मे १३ मा आफूमाथि भएको अत्याचारको बयान गर्दै गुरमितको अपराधकर्मको फेहरिस्त चिठीको रूपमा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई पठाएपछि उनको गोरखधन्दा खुलासा हुन थालेको थियो। आश्रममा पाँच वर्ष बिताएकी सर्भाइभरले पहिलोचोटी बलात्कृत हुँदाको घटना यसरी लेखेकी थिइन, “आश्रम छिरेको दुई वर्षपछि मलाई गुफामा बोलाइएको खबर आयो। परमात्माले बोलाएको सुन्दा पुलकित थिएँ। गुफामा छिर्दा होस हवास उड्ने दृश्य देखियो। त्यहाँ टेलिभिजन स्क्रिनमा ब्लु फिल्म चल्दै थियो। गुरमितको सिरानीमा पेस्तोल थियो। उनले मलाई समाउँदै ‘साध्वी बन्दा नै तिमीहरूले तन, मन र धन  समर्पित गरिसकेका छौ। अब यो तन मेरो भयो’ भने। प्रतिकार गर्न खोज्दा ‘म भगवान हुँ’ भने। के भगवानको काम यही हो भन्दा ‘कृष्णका ३६० गोपिनी थिए, हर साँझ अलगअलग गोपिनीसँग रासलिला मच्चाउँथे’ भन्छन्। अनि ‘चाहे अहिले गोली हानेर दाहसंस्कार गर्दिनसक्छु’ भने,” चिठीमा गुरमितलाई उद्धृत गर्दै यस्तो पनि लेखिएको थियो, “तिम्रा अभिभावकले पनि केही भन्ने छैनन्।” ‘हरियाणा र पन्जाबका सरकार त मेरो चरण स्पर्श गर्छ’ भनेर तर्साएका थिए। तीन महिनामा २० देखि ३० चोटी बलात्कृत भएको उनले लेखेकी थिइन्। 

“हेर्दा देवी देखिन्छौँ, हालत वेश्याजस्तो छ,” चिठीमा लेखिएको थियो, “सबैजसो पढालिखा छन् तर निरीह छन्।” अत्याचार सहन नसकी घर फर्किनेको घरमै पुगेर धम्क्याइएका घटनाहरू पनि सर्भाइभरको पहिचान नखुलाई उल्लेख गरिएको थियो। उनले त ‘सबै साध्वीको मेडिकल परीक्षणै गरियोस्’ भनी माग राखेकी थिइन्। 

चिठीको कपी हरियाणा–पन्जाब हाइकोर्ट, दुवै प्रान्तका पुलिस प्रमुख, सिरसा जिल्लाका पुलिस प्रमुखका साथै केही अखबारमा पनि पुग्यो। २००२ मे ३० मा स्थानीय अखबार ‘पूरा सच’ मा चिठी नै छापिएपछि हल्लीखल्ली मच्चियो। उच्च अदालतले संज्ञानमा लिएर सिरसा सेसन कोर्टका न्यायाधीश एमएस सुल्लरलाई मामिला छानबिन गर्न अह्रायो। न्यायाधीशले आश्रममा गडबड भएको बताउँदै केन्द्रीय एजेन्सीमार्फत अनुसन्धान गराउनुपर्ने सुझावसहित प्रतिवेदन दिए। २००२ जुलाई १० मा आश्रममा म्यानेजर रहिसकेका रञ्जित सिंहको हत्या भयो। सिंहकै बहिनीले प्रधानमन्त्रीलाई चिठी लेखेको र सो चिठी भाइरल बनाउन सिंह सक्रिय रहेको गुरमितका गुर्गाहरूको आशंका थियो।   

२००२ सेप्टेम्बर २४ मा पन्जाब–हरियाणा उच्च अदालतले सीबीआईलाई मामिलाको अनुसन्धान गर्न आदेश दियो। उक्त चिठी प्रकाशित गर्नुका साथै डेरा आश्रमको कर्तुतबारे रिपोटिङ गर्ने पत्रकार रामचन्द्र छत्रपतीको २००२ अक्टुबर २४ मा हत्या भयो। “छत्रपतिको परिवार गुरमितको आदेशमा हत्या भएको भन्दै न्यायको लडाइँमा थियो,” त्रिपाठी भन्छन्, “विडम्बना मिडिया गुरमितकै किर्तन भजन गर्दै थियो, माथा टेकाइरहेको थियो।”

पाँच करोड अनुयायीका गुरु भनिए पनि गुरमितको बौद्धिकस्तर रामलाल बम्जनको भन्दा खासै माथ्लो थिएन। उनी पढालिखा अनुयायीहरूका विचार सुनेर तिनैकुरा प्रवचनमार्फत अरूलाई सुनाउँथे। हिंसा/हत्या, हातहतियारका सोखिन गुरमितले गुरु शाह सतनामको कञ्चटमा पेस्तोल सटाएर जबर्जस्ती उत्तराधिकारी घोषणा गराएको आरोप अनुरागलगायत कतिपयको छ। यो प्रयोजनका लागि उनले खालिस्तानी अभियानमा लागेका गुरजनसिंह राजस्थानीलाई प्रयोग गरेका थिए, जसलाई सुरक्षा निकायले २००७ मा ‘इन्काउन्टर’ गरेको थियो। उनलाई पक्राउ गर्ने सिलसिलामा आश्रममा छापा मार्दा एके–४७ बरामद भएको थियो। यता रामलाल पनि हातहतियार संकलनको सोखिन रहेको, तरबार घुमाउन सिपालु आदि खबरहरू प्रकाशित भएका छन्।

हरियाणा र पन्जाबको चुनावमा गुरमितको आश्रमको भूमिका निर्णायक हुनेगथ्र्यो। उम्मेदवारहरू उनको आशीर्वाद लिन पुग्थे। आश्रमको राजनीतिक मामिला हेर्ने इकाई नै थियो, जसले चुनावमा कहाँ कसलाई सघाउने निधो गरी ‘ह्विप’ जारी गर्थ्यो। मुख्यमन्त्रीलाई कुर्सी नै नभएको ठाउँमा एक घण्टा पर्खिनु भनेपछि भूईंमै गुरमितलाई कुरेको जस्ता किस्सा पनि प्रचलित छन्। सोधपुछ गर्न आउन लागेको सीआईबीको टोलीलाई समेत आश्रमबाट ४५ मिनेटको मात्र समय दिइएको भनेर सूचित गरिएको थियो। रामलालको उस्तो राजनीतिक प्रभाव देखिन पाएन। राजाको प्रत्यक्ष शासनमा राजावादी भएका मणि लामा राजा नै नरहेपछि रामलालको भक्त हुन पुगेका थिए। उनी पक्राउ परेपछि केही नेताहरू सीआईबी पुगेका थिए। रामलाल कुनै डिग्रीको मायामोहमा परेनन्। गुरमितले त युनिभर्सिटी अफ वल्र्ड रेकर्डस, लण्डन (जो आफैँमा कुनै विश्वविद्यालय हैन) को पीएचडी पगरीधारण गरी नामको अगाडि डा. पनि लेख्ने गर्थे। 

तमाम अपराध छरपस्ट भइसकेका छन्। दुई जनालाई बलात्कार गरेको अभियोगमा गुरमितविरुद्ध २० वर्ष कैद सजाय तोकेको अदालतले सिंह र छत्रपतीको हत्याको छुट्टाछुट्टै मुद्दामा आजीवन कारावासको सजाय तोकेको छ। गुरमितका भक्तजन अझै उनलाई फसाइएको नै ठान्छन्।

रामलाल समातिएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रहिसकेका युवराज लामा उनको समर्थनमा निरन्तर एक्स (ट्विटर) मा पोष्ट गरिरहेका छन्। कृष्णसिंह बानियाँले सन्दीप बलात्कारी ठहरिनुमा ‘पश्चिमाको षड्यन्त्रमा फसाइएको’ भनेझैँ। सेतोपाटीले बम्जनको बलात्कारको खुलासा गरेको दिन साँझ शहरका एक जना बहुआयामिक चर्चित व्यक्ति नयाँ पत्रिकाको अफिसमा तत्कालीन सम्पादक उमेश चौहानलाई भेट्न आउँदा म पनि थिएँ। “क्रिश्चियन धर्म प्रचारको गति धिमा भएका कारण फसाइएको हो,” उनी भन्दै थिए, “नयाँ पत्रिकाले यो खुलासा गर्नपर्‍यो।” जबकि रामलाललाई रातारात चर्चित बनाउनमा पश्चिमा मिडिया नै निर्णायक थिए। यहाँका पत्रकारभन्दा बढी चासो पश्चिमा मिडियालाई थियो। डिस्कभरीले बनाएको डकुमेन्ट्री युट्युबमै उपलब्ध छ। ‘लिटिल बुद्ध’ शब्द प्रचलनमा ल्याउने नै पश्चिमा मिडिया हुन्। 

सन्दीप लामिछाने बलात्कारी ठहरिएपछि सर्भाइभरको पहिचान खोल्न खोज्ने आपराधिक मनोवृत्ति त्यहाँ पनि देखिएको थियो, एउटा पत्रिकाले दुईमध्ये एक जना सर्भाइभरको पहिचान खुलाएपछि त्यो परिवारै संकटमा पर्‍यो। पुलिसले त्यो परिवारको घर आँगनमै टेन्ट गाडेर ड्यूटी गरी सुरक्षा दिनुपरेको थियो। तैपनि पुलिसको टेन्टै जलाइदिएका थिए। 

फैसला भएको दिन गुरमितका भक्तजनले सिरसा र पञ्चकुलामा जमेर दंगा भड्काए, त्यस क्रममा कम्तीमा ३० जनाको निधन भएको थियो। 

हलखोरियामा तथाकथित प्रवचनपछि रामलाललाई नपछ्याएकोमा अहिले चाहिँ पछुतो छ। दैनिक अखबारमा काम गर्ने हामी हरेक दिनजसो समाचार उत्पादनमा लाग्ने गरिन्थ्यो। भोलि गएर ठूलो घोटाला, अपराधमा परिणत हुनसक्ने यस्ता मुद्दालाई वर्षौं पछ्याउन पर्छ भन्ने चेत नै थिएन। हर्षद मेहता घोटालालाई पछ्याउदै सुचेता दलालले स्क्याम १९९२, गुरमितको गोरखधन्दा पछ्याउदै अनुराग त्रिपाठीले ‘डेरा सच्चा सौदा एन्ड गुरुमित रामरहिम अ डिकेड लङ इन्भेस्टिगेसन’ प्रकाशित गरेको थाहा पाउँदा पछ्याउने कामलाई निरन्तरता दिएको भए आफ्नो पनि एउटा गतिलो किताब हुन्थ्यो भन्ने लाग्दोरहेछ।


सम्बन्धित सामग्री