Saturday, April 27, 2024

-->

टेस्ट मान्यताका लागि अपरिहार्य बलियो घरेलु क्रिकेट

एउटा टोलीले वर्षभरि कुरेर प्रधानमन्त्री कप खेल्थ्यो। धेरै टिम दुई म्याच खेलेर बाहिरिन्थे। अहिले प्रधानमन्त्री कपमा एक टोलीले कम्तीमा नौ खेल खेल्न पाउँछन्। तर यति मात्र पर्याप्त छैन।

टेस्ट मान्यताका लागि अपरिहार्य बलियो घरेलु क्रिकेट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आयोजना गर्ने आईसीसी टी२० विश्वकपमा नेपाल दोस्रो पटक छनोट भएको छ। अबको केही महिनामा आयोजना हुने प्रतियोगिताका लागि नेपालले तयारी गर्नुपर्ने छ। त्यसैले हाललाई टी२० स्वरूपका अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिताहरू खेल्न आवश्यक छ।

नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त देश हो। आईसीसीले क्रिकेट खेल्ने सबै देशलाई टी२० आई मान्यता दिएपछि हामीले पनि स्वतः त्यो मान्यता पाएका छौँ। चार वर्षका लागि प्राप्त ओडीआई मान्यता पनि हामीले एक पटक थप गरेका छौँ। यही मान्यतामा टेकेर अब हाम्रो क्रिकेटको लक्ष्य निर्धारण हुनुपर्छ। त्यसमाथि, पुरुष टोलीको पहिलादेखिकै लक्ष्य भनेकै टेस्ट क्रिकेटको मान्यता प्राप्त राष्ट्र बन्नु हो।

हामीभन्दा पछाडि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको अफगानिस्तान टेस्ट राष्ट्र बनिसकेको छ। हामीसँगको सामान हैसियतबाट माथि उठेको अफगानिस्तानले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रदर्शन गरिरहेको छ। तर नेपाल किन त्यो स्थानमा पुग्न सकेन भनेर बृहत् रूपमा आत्मसमीक्षा गर्नुपर्छ। 

अहिले वार्षिक क्यालेन्डरमा क्यानले सबै स्वरूपका प्रतियोगिताहरू राखेको छ। यो सकारात्मक पक्ष हो तर नयाँ कार्यचाहिँ होइन। नेपालमा २०६०/६१ सालतिर पनि दुई दिवसीय प्रतियोगिताहरू आयोजना हुन्थे। फरक यति थियो, अहिले टर्फमा हुन्छ भने पहिला म्याटमा हुन्थ्यो। अहिले विकेट र परिस्थिति फरक छ। खेलाडी धेरै उत्पादन भएका छन्, प्रतिस्पर्धा बढेको छ। हामीले फरक परिस्थितिमा खेलाडी छनोट गर्न पाएका छौँ। तर त्यो भन्दैमा लामो स्वरूपको क्रिकेटलाई बेवास्ता गर्न हुँदैन। भविष्यलाई मनन गर्ने हो भने दुई र तीन दिवसीय स्वरूपमा जानैपर्छ।

अहिले दक्षिण अफ्रिका र भारतको टेस्ट खेल हेर्ने हो भने अत्यधिक टी२० प्रतियोगिता खेल्दाको नतिजा के हुन्छ भनेर सबैले थाहा पाउन सक्छन्। एक त विकेटको कारण पनि होला तर खेल हेर्दा जथाभाबी शट हानिएका छन्। हामी दक्षिण अफ्रिका र भारतजस्तो टेस्ट राष्ट्र होइनौँ। त्यस्तै मान्यता प्राप्त गर्ने लक्ष्य पूरा गर्न खेलिरहेका छौँ। अहिलेको पूर्वाधार हेर्ने हो भने पाँच दिवसीय क्रिकेट गराउन पिचको हिसाबले सकिँदैन। हाम्रा पूर्वाधार ओडीआई मान्यता जोगाउन निर्माण भएको छन्। टेस्ट खेलका लागि बनाउने पिच धेरै फरक हुन्छ। हामीले तीन दिवसीय क्रिकेटसम्म गराउन सक्छौँ। 

स्थानीय स्तरका खेलाडी क्रिकेटमा ल्याउन विद्यालय र साना एकेडेमीहरूले प्रतियोगिता गर्दै आएका छन्। खेल्छु भनेर आउने खेलाडीको प्रतिभालाई उनीहरूले मर्न दिएका छैनन्। यसबाट खेलाडीले मौका पाउँछन्। जिल्ला, प्रदेश र केन्द्रका क्रिकेट संघले प्रतियोगिताहरू पनि राखिरहेका छन्। यसबाट राष्ट्रिय टिमका लागि छनोटमा विविधता हुन्छ। क्यानले क्यालेन्डर पनि ल्याएपछि प्रतियोगिताहरू सुनिश्चित हुने दिशामा गएको छ। अब सबै दायित्व क्यानको नियन्त्रण र अनुगमनमा हुने भयो। यसले बढीभन्दा बढी प्रतिभालाई छनोट गर्ने आधारशिला खडा गर्छ।

तर म पहिलादेखि नै के जोड राख्छु भने अब हामीले क्लबस्तरका प्रतियोगिता राखिरहँदा पनि टी२० लाई भन्दा ३० वा ४० ओभरलाई फोकस गर्नुपर्छ। केटीहरूको पनि कम्तीमा ३५ ओभरसम्म लैजानै पर्छ। लामो स्वरूपमा जाँदा उनीहरूमा रहेको धैर्य, सहनशील, विकेटमा टिक्ने कुरा र टेक्निकमा धेरै सुधार हुन्छ। ‘सस्टिनेबल’ क्रिकेट र ‘लङ टर्म भिजन’ राख्नै पर्छ।

क्यानले क्यालेन्डरमा दुई दिवसीय क्रिकेट राखेर लामो स्वरूपको खेलको शुरूआत गरेको छ। दुई दिवसीय क्रिकेट गराउँदा यसबाट खेलाडी छनोट गरेर अर्को तीन दिवसीय प्रतियोगिता पनि गराउन सकिन्छ। सात प्रदेश र तीन विभागीय टोली समावेश गरेर १० टिम बनाऔँ। ती १० टिमबाट उत्कृष्ट ६० खेलाडी छनोट गरौँ। ती ६० जना खेलाडीलाई २०/२० मा विभाजन गरेर विभिन्न टोली बनाऔँ र तीन दिवसीय क्रिकेट खेलाऔँ। 

१० टोलीबाट १४/१४ जना राखेर दुई दिवसीय क्रिकेट आयोजना गराउँदा १४० जनाबाट हामीले ६० जना त अवश्य छनोट गर्न सक्छौँ। त्यसलाई नेपाल ‘ए’, नेपाल ‘बी’ र नेपाल ‘सी’ टोली बनाऔँ। त्यो टोलीका खेलाडी फुर्सदमा भएको बेला फ्रेन्ड्ली म्याच खेलाऔँ र एक्सपोजर दिऔँ। त्यसबाट खेलाडीले मौका पाउँछन्। राष्ट्रिय टोलीमा खेलिरहेका खेलाडीसँग प्रतिभावान नयाँ खेलाडी मिसिएर खेल्दा नयाँले केही सिक्न पाउँछन्। जसले गर्दा टोलीमा पनि मित्रवत् वातावरण निर्माण हुन्छ। 

यो पनि: लक्ष्य चिन्न चुकेको क्यान: प्राथमिकतामा टी२० क्रिकेट, कहिले बन्ने टेस्ट राष्ट्र?

नेपाल सरकार र नेपाल आउने विदेशी उच्चपदस्थको नजर अहिले क्रिकेटमै छ। भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा पनि क्रिकेटको कुरा भयो। त्यसैले अब भविष्यमा लक्ष्य बनाएर त्यसलाई पूरा गर्ने चुनौती क्यानलाई छ। पूर्वाधार, प्रशिक्षक र एक्सपोजरसँग क्रिकेटको भविष्य जोडिन्छ। यी सबै पक्ष बलियो हुँदा मात्र नेपाललाई क्रिकेटको अन्तर्राष्ट्रिय मानचित्रमा उभ्याउन सजिलो हुन्छ। 

हिजोको दिनमा हामीले कम काम गर्‍यौँ। त्यसैले अब बढी काम गर्नुपर्ने छ। कसरी क्यालेन्डरलाई कार्यान्वयन गरेर लामो स्वरूपको क्रिकेटलाई लिएर जाने भन्ने चुनौती क्यानसँग छ। क्यालेन्डरबाट अहिलेलाई त्यस्ता खाले प्रतियोगिताको शुरूआत हुन खोजेको देखिन्छ। विगतमा क्यानले के काम गर्छ भन्ने कुरा नै बाहिर आउँदैन थियो। अहिले क्यालेन्डर सार्वजनिक हुनु सकारात्मक छ। तर यतिले मात्र पुग्दैन। हाम्रो लक्ष्यअनुसारका प्रतियोगिता चाहिन्छ।

पहिला एउटा टोलीले वर्षभरि कुरेर प्रधानमन्त्री कप खेल्थ्यो। कतिपय टिम दुई म्याच खेलेर बाहिरिन्थे। अहिले प्रधानमन्त्री कपको स्वरूप पनि बदलिएको छ। एक टोलीले कम्तीमा नौ खेल खेल्न पाएका छन्। तर यति मात्र पर्याप्त छैन। हाम्रो लक्ष्य भेट्न क्यानले युद्धस्तरमा काम गर्नुपर्छ। 

४० भन्दा बढी जिल्ला संघ गठन भएका छन्। उनीहरूले काम गर्न सकेका छैनन्। उनीहरू ‘भोटर’को रूपमा मात्र प्रयोग भइरहेका छन्। उनीहरूका क्रियाकलापको आधारमा भोट दिन पाउने व्यवस्था लागू गर्नुपर्ने हो। अनि पो जिल्लामा रहेका पनि सक्रिय हुन्छन्। अहिले जिल्ला क्रिकेट संघ गठन गर्‍यो, सकियो भइरहेको छ। 

हरेक जिल्लाबाट त्यहाँको टिम बनाउन क्लबस्तरीय खेल गराएर खेलाडी छनोट हुनुपर्छ। केही खेलाडी बटुलेर टिम बनाउने चलनले प्रदेशका प्रतियोगिता प्रतिस्पर्धात्मक हुँदैनन्। राम्रा खेलाडी छनोट हुँदैनन्। कुन खेलाडी कुन पोजिसनमा खेल्न सक्छन् भन्ने यकिन हुँदैन। तयारी गर्ने बेलामा पनि एक दुई हप्ताको समय दिएको हुन्छ। अनि हतारहतार खेलाडी छनोट गरिन्छ।

जिल्लामा नै कम्तीमा ४० ओभरका खेल खेलाउनुपर्छ। अनि माथिसम्म आइपुग्दा उसले ५० ओभरको म्याच खेल्न सक्छ। हामी २० ओभरको खेल खेलाएर माथि ५० ओभरको गराउछौँ। त्यसले गर्दा खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

जिल्लामा क्लबस्तरीय प्रतियोगिता भए खेलाडीले धेरै खेल खेल्न पाउँछन्। योग्य खेलाडी छानिन्छ। अहिले काम नगर्ने र दुई चार जनाको अगाडि र पछाडि घुम्ने चलन हाबी भइरहेको छ। जिल्लाका पदाधिकारीलाई प्रतियोगिता गर्ने आँट छैन र प्रायोजकले पत्याउने वातावरण पनि छैन। यो अवस्थामा क्रिकेट माथि जाँदैन।

हामीसँग विश्वविद्यालयस्तरिय प्रतियोगिता र क्रिकेट टोली छैनन्। यस्तो प्रतियोगिता भए विद्यार्थीले ‘स्कलरसिप’ प्राप्त गर्छन्। चौतर्फी क्रिकेट विकासका लागि सामान्य योजनाले पुग्दैन। तलदेखि माथिसम्म नै क्रिकेट बलियो बनाउने आधारशीला चाहिन्छ। तर  यसमा हामी चुकेका छौँ।

विश्वकपमा जान हामीसँग धेरै समय छ। त्यसअघि फागुनबाट क्रिकेट विश्वकप लिग–२ शुरू हुँदैछ र हामीले ओडीआई शृंखला खेल्नुपर्नेछ। त्यसैले यो बीचमा क्यानले लामो स्वरूपको खेल खेलाउनुपर्थ्यो। घरेलु प्रतियोगिताको संरचना बनाउँदा हामीले खेल्ले अन्तर्राष्ट्रिय प्रतियोगितालाई पनि ध्यानमा राख्नुपर्छ। त्यसअनुसारका खेलाडी उत्पादन गर्ने र व्यस्त राख्ने गर्नुपर्छ।

क्यानले अब जिल्लालाई ‘ए डिभिजन’ र बी डिभिजनमा विभाजन गर्नुपर्छ। त्यसको आधारमा कम्तीमा दुई दिवसीय क्रिकेट गराउनुपर्छ। यसका साथै एशियामा टेस्ट मान्यता पाएका भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट पनि हामीले फाइदा लिनुपर्ने हो। अब हामीले हाम्रो लक्ष्य प्राप्तीका लागि प्रतियोगिता गर्नुपर्छ। त्यो भनेको टेस्ट राष्ट्र बन्नै नै हो।


एलबी क्षेत्री राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्।


सम्बन्धित सामग्री