Saturday, April 27, 2024

-->

लक्ष्य चिन्न चुकेको क्यान: प्राथमिकतामा टी२० क्रिकेट, कहिले बन्ने टेस्ट राष्ट्र?

नेपालको ओडीआई मान्यताको भविष्य आगामी तीन वर्षसम्म हुने क्रिकेट विश्वकप लिग–२ ले निर्धारण गर्नेछ। त्यसमाथि टेस्ट मान्यता पाउने चुनौती छँदैछ। तर क्यानले यो लक्ष्य बिर्सिएर वार्षिक क्यालेन्डर बनाएको छ।

लक्ष्य चिन्न चुकेको क्यान प्राथमिकतामा टी२० क्रिकेट कहिले बन्ने टेस्ट राष्ट्र

काठमाडौँ– घरेलु क्रिकेटमा गत वर्षभरि (सन् २०२३ मा) पाँच वटा टी२० प्रतियोगिता हुँदा एउटा पनि ५० ओभरको प्रतियोगिता भएन। त्यसको अघिल्लो वर्ष २०२२ अक्टोबर–नोभेम्बरमा एक दिवसीय स्वरूपको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता भएको थियो।

नेपालले घरेलु क्रिकेटमा कति धेरै ५० ओभरका खेल खेल्छ भन्ने कुराले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सन्दर्भमा अर्थ राख्छ। नेपालले आगामी फागुनदेखि हुने र तीन वर्ष चल्ने क्रिकेट विश्वकप लिग–२ मा गतिलो प्रदर्शन गर्न सके मात्र थप तीन वर्षका लागि ओडीआई मान्यता जोगिने छ।

२०१८ मार्च १५ (२०७४ चैत १ गते) ओडीआई मान्यता पाएपछि नेपालले पहिलो शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध त्यही वर्ष अगस्ट १ र ३ मा दुई वटा खेल खेलेको थियो। नेदरल्यान्ड्समै भएको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रोमा जित हासिल गरेको थियो।

नेपालले ओडीआई मान्यता पाउँदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट क्यान निलम्बित अवस्थामा थियो। आईसीसीले क्यानमाथिको निलम्बन २०१९ अक्टोबर १४ (२०७६ असोज २७) मा सशर्त फुकुवा गरेको थियो। त्यस वर्ष एक दिवसीय स्वरूपका दुई प्रतियोगिता मात्र आयोजना भएका थिए। ती दुवै प्रतियोगिता क्यानका थिएनन्।

सन् २०१९ मा एक दिवसीय स्वरूपमा राष्ट्रिय खेलकुद परिषद्ले गरेको पीएम कप र मनमोहन मेमोरियल क्रिकेट सेन्टरले गरेको एमएम कप आयोजना भए।त्यसबाहेक एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिगजस्ता टी२० प्रतियोगिता भए। यी लिग पनि क्यानका थिएनन्।

अहिले क्यान र निजी क्षेत्र दुवैबाट बढीजसो टी२० क्रिकेट प्रतियोगिता नै आयोजना भइरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो, वीरगन्जमा गत पुस १५ गते सम्पन्न प्रो क्लब च्याम्पियनसिप। यो प्रतियोगिता क्यानले नभई निजी संस्था जोरा इन्टरनेसनलले गरेको हो, जसलाई प्राविधिक सहयोग पर्सा क्रिकेट संघले गरेको थियो।

तर क्यानले भर्खरै सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा सन् २०२४ का लागि यो प्रतियोगिता नै राखिएको छैन। यद्यपि क्यालेन्डरमा टी२० प्रतियोगिताको संख्या अत्यधिक छ। तर वर्षको शुरूआत भने एक दिवसीय क्रिकेटबाट हुँदैछ। शनिबार (जनवरी १३) देखि एक दिवसीय स्वरूपमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुँदैछ। यो प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी १० टोलीले लिग चरणमा एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन्।


यद्यपि, यो वर्ष क्यानको क्यालेन्डरमा १० वटाभन्दा बढी टी२० प्रतियोगिता हुने उल्लेख छ। आयोजना अन्योलमा रहेका एभरेस्ट, पोखरा र धनगढी प्रिमियर लिगसमेत कुनै पनि समय क्यालेन्डरमा थपिन सक्छन्। तर एक दिवसीय र बहुदिवसीय प्रतियोगिता भने पाँच वटा मात्र छन्।

जबकि, चतुरबहादुर चन्द २०७६ असोज ११ गते पहिलोपटक क्यानको अध्यक्ष निर्वाचित हुँदा उनले नेपाललाई आफ्नै कार्यकालमा टेस्ट मान्यता दिलाउने लक्ष्य राखेको बताएका थिए। चन्दले भनेका थिए, “एक दिवसीय मान्यतालाई कायम राख्दै नेपाललाई इमर्जिङ कन्ट्रीबाट टेस्ट नेसन्स बनाउने गरी तयारी शुरू भइसकेको छ। यसलाई व्यवस्थित योजना बनाएर मेरै कार्यकालभित्र यो उपलब्धि हासिल गर्ने लक्ष्य छ।”

तर उनी दोस्रो कार्यकाल अध्यक्ष हुँदा पनि क्यानले बहुदिवसीय क्रिकेटलाई लामो समयसम्म चलाउने गरी क्यालेन्डर बनाउन सकेको छैन। हालै सार्वजनिक वार्षिक क्यालेन्डरअनुसार यो वर्ष लामो स्वरूपमा प्रधानमन्त्री कपसहित, एलिट ट्रफी, क्यान प्रिमियर कप, मनमोहन मेमोरियल कप र विभागीय डर्बी प्रतियोगिता हुनेछन्। यीमध्ये प्रधानमन्त्री र मनमोहन मेमोरियल कप एक दिवसीय हुन् र यी प्रतियोगिताको आयोजक क्यान होइन। क्यान प्रिमियर लिग दुई दिवसीय तथा एलिट ट्रफी र विभागीय डर्बी दुई र तीन दिवसीय हुने छन्। यद्यपि, यी दुवै प्रतियोगिता कसले आयोजना गर्ने भन्ने टुंगो लागेको छैन। क्यालेन्डरमा एमएम कपको आयोजना मिति पनि निश्चित छैन।

नेपाल यो वर्ष एक दशकपछि आईसीसी टी२० विश्वकपमा पुगेको कारण त्यसको तयारीका लागि टी२० प्रतियोगिता गर्न आवश्यक भए पनि नेपाली क्रिकेटलाई बलियो बनाउन दुई दिवसीय र त्योभन्दा माथिल्लो ढाँचाको क्रिकेट चाहिने राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्री बताउँछन्। “टी२० आईको मान्यता त स्वतः रहने नै भयो। एक दिवसीय मान्यता पनि एक पटक थप भएको छ। यस्तो अवस्थामा नेपालले आफ्नो लक्ष्य अब क्लियर गर्नुपर्छ,” उनी भन्छन्, “एक दिवसीय मान्यतामा टेकेर टेस्ट नेसन्सतिर लम्किनुको विकल्प छैन।”

पुरानै प्रतियोगिता, नयाँ क्यालेन्डर
क्यानले आफ्नो क्यालेन्डरमा समावेश गरेका प्रतियोगिताहरू नयाँ होइनन्। घरेलु क्रिकेटमा आक्कलझुक्कल दुई दिवसीय प्रतियोगिता पनि भएका थिए। २०७६ पुसमा हिमालयन क्रिकेट एकेडेमीले यू१९ दुई दिवसीय क्रिकेट प्रतियोगिता गरेको थियो। त्यसअघि, सन् २००४ मा इन्टरकन्टिनेन्टल कपमा नेपालले यूएईसँग तीन दिवसीय क्रिकेट खेलेको थियो। त्यसलाई प्रथम श्रेणीको मान्यता थियो।

सन् २०१६ मा निलम्बनमा परेपछि क्यानले आयोजना गर्ने प्रतियोगिता रोकिए। निजी क्षेत्रको लगानीमा टी२० फ्रेन्चाइजी लिगहरू हुन थाले। शुरूमा आयोजक आफैँले ठूलो धनराशि खर्चिएको लिगमा दर्शक र प्रायोजकको ओइरो लाग्न थाल्यो। त्यसपछि भटाभट टी२० लिग हुन थाले।

सजिलै प्रायोजक र पर्याप्त दर्शक पाइने भएको कारण आयोजकले यस्ता प्रतियोगिताबाट आर्थिक लाभ पनि उठाए। त्यसैले, निजी क्षेत्र लामो ढाँचाभन्दा टी२० प्रतियोगिता गर्न बढी उत्साहित देखिएको पूर्वकप्तान क्षेत्री सुनाउँछन्। यस्ता लिगले देशभित्र क्रिकेटको माहोल तयार पार्न र व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि अबको आवश्यकता ५० ओभर र त्यसभन्दा माथिको ढाँचाका प्रतियोगिता नै रहेको उनको भनाइ छ।

“दक्षिण अफ्रिका र भारतको खेल हेर्नुभयो भने टेक्निक देखिँदैन। धेरै टी२० स्वरूपमा खेलेर होला, टेक्निक जथाभावी शटमा परिणत भएको छ,” उनी भन्छन्, “हामी अफ्रिका र भारतजस्ता टेस्ट राष्ट्र होइनौँ। हामी त टेस्ट राष्ट्र बन्ने लक्ष्यमा छौँ। त्यसैले लङ फर्म्याटको क्रिकेट ज्यादाभन्दा ज्यादा खेल्नैपर्छ।”

सन् २०२४ मा क्यानले गर्ने घरेलु प्रतियोगिताहरू।


क्यानले क्यालेन्डरमा राखेका अधिकांश प्रतियोगिता पुरानै छन्। प्रधानमन्त्री कप, मेयर्स कप, महेन्द्रनारायण निधि कप, एमएम कप, सप्तरी प्रिमियर कपजस्ता प्रतियोगिता यसअघिबाटै भइरहेका छन्। स्कुल, यू१६ र यू१९ प्रतियोगिताहरू पनि नयाँ होइनन्। एलिट ट्रफी, विभागीय डर्बी, नेसनल क्लब च्याम्पियनसिपजस्ता प्रतियोगिता भने नयाँ हुन्। 

तर क्यालेन्डरमा राखिए पनि तीन दिवसीय स्वरूपमा हुने डिपार्टमेन्टल डर्बीको मिति निश्चित छैन। यो प्रतियोगिता भइहाले विभागीय टोलीमा नरहेका कतिपय राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी तीन दिवसीय खेल्नबाट बञ्चित हुने छन्।

नेपालले ओडीआई मान्यता पाएको करिब साढे पाँच वर्षमा ५९ वटा खेल खेलेको छ। नेपालको प्रदर्शन एसोसिएट राष्ट्रविरुद्धबाहेक अन्यसँग राम्रो छैन। भारत, पाकिस्तान, वेस्ट इन्डिज, जिम्बाबे र आयरल्यान्डजस्ता टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाउँदा ब्याटिङमै समस्या देखिएको छ। अब ब्याटिङमा सुधार ल्याउन पनि लामो ढाँचाकै प्रतियोगिता आवश्यक पर्ने राष्ट्रिय महिला टोलीका प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी मनोज कटवाल बताउँछन्।

“टी२० पनि आईसीसीको नियमअनुसार घरेलु प्रतियोगितामै पर्छ। तर हामी क्रिकेटमा डेभलपिङ फेजमा छौँ। जतिसक्दो लामो स्वरूपको क्रिकेट खेलाउनुपर्छ। दुई या तीन दिवसीय क्रिकेट प्रतियोगिता भइदिए खेलाडीले धेरै खेल्न पाउँथे,” उनी भन्छन्।

किन चाहिन्छ लामो स्वरूपको क्रिकेट?
पछिल्लो समय नेपालले एक दिवसीय मान्यता जोगाएपछि क्रिकेटको माहोल तातिन थालेको छ। जिल्ला र प्रदेशमा क्रिकेट सिकाउने एकेडेमीहरू खुलेका छन्। क्रिकेटर बनेर नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने लक्ष्यका साथ बालबालिका त्यस्ता एकेडेमीहरू खोज्न काठमाडौँसम्म पुग्ने गरेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल बताउँछन्। खेलाडी उत्पादन गर्न अहिले खासै समस्या नरहेको उनको बुझाइ छ। 

“क्यान निलम्बन हुँदाताका ट्यालेन्ट हन्टबाट ल्याएर बेन्च सेट गर्ने परम्पराले उमेर समूहमा राम्रो नतिजा आएको थिएन। तर क्यान आएपछि यू१६ र १९ प्रतियोगिताबाट खेलाडी आएका छन्,” सिग्देल भन्छन्, “डेडिकेसन भएका खेलाडी त छन् तर एकै पटक माथिल्लो लेभलमा गएर राम्रो प्रदर्शन गर्न सकेका छैनन्।” 

क्यानको केन्द्रीय समितिमातहत प्रादेशिक र जिल्ला क्रिकेट संघ छन्। प्रदेश र जिल्लाले गर्ने प्रतियोगिताबाट छानिएका खेलाडी राष्ट्रिय टोलीको ‘ब्याकअप’ बन्ने भए पनि त्यसअनुसार खेलहरू हुन नसकेको गण्डकी अध्यक्ष सिग्देल स्वीकार गर्छन्। 

गण्डकी प्रदेशको क्रिकेट टिम। फाइल तस्वीर


अहिले क्यानले सार्वजनिक गरेको क्यालेन्डरले प्रदेशलाई सक्रिय बनाएर विभिन्न प्रतियोगिताको जिम्मेवारी दिएको उनको भनाइ छ। यद्यपि, कलेजका विद्यार्थीलाई नेपालमा टिकाउनै गाह्रो परिरहेको उनले बताए। दश जोड दुईसम्म परिवारकै हेरचाहमा खेलिरहने र त्यसपछि आफैँले जिम्मेवारी उठाउनुपर्ने बाध्यता युवापिँढीमा छ। 

“क्यानले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू दिने हो, जिल्ला र प्रदेशले पनि अवसर दिने हो भने यू१९ का खेलाडीलाई देशमै अल्झाइराख्न सकिन्छ। क्यानले ए टिम पनि बनाउने भएको छ। ए टिममा पुगेपछि खेल्न पाउने हुँदा खेलाडी क्रिकेटमा टिक्न सक्छ। हाम्रो प्रयास पनि कतै मन नडुलाई खेल्न आओस् भन्ने हो,” उनी भन्छन्।

यद्यपि क्रिकेटको संरचना भने लामो ढाँचामै लानुपर्ने सिग्देलको भनाइ छ। आफू क्रिकेटमै भिजेको कारण टेस्ट क्रिकेट नै हेर्न मन लाग्ने उनी बताउँछन्। टेस्ट क्रिकेटमा मात्र ब्याट्सम्यानहरूको ‘क्लासिक’ शैली देखिने उनले बताए। जति लामो ढाँचाको प्रतियोगिता भयो, उति नै ब्याटरको ‘इनिङ्स बिल्डअप’ हुने उनको बुझाइ छ।

त्यस्तै बलरमा एकरूप प्रदर्शन गर्ने क्षमता ल्याउन पनि लामो ढाँचाकै प्रतियोगिता अपरिहार्य रहेको उनले बताए। “हाम्रो पालाको जस्तो रियल क्रिकेट अहिले छैन। विभिन्न प्रदेशको नतिजा हेर्नुभयो भने पनि ५० दुना १०० ओभर खेलेको थोरै म्याचहरू छन्। लामो इनिङ्स खेल्न सकेका छैनन्। प्लानमा खेलेर यति ओभरसम्म टिकेर टिमलाई जिताउँछु भन्ने मनोभाव खेलाडीमा देखिँदैन,” सिग्देल भन्छन्, “अहिले जतिसक्दो मैले छिटो रन बनाएर म्याच सक्नुपर्छ भन्नेमा गएको देख्छु।” 

राष्ट्रिय टोलीबाट खेलिसकेका कतिपय खेलाडी अहिले जिल्ला र प्रदेशमा प्रशिक्षकको भूमिकामा छन्। त्यसैले उनीहरूको सहयोग लिएर लामो ढाँचामा खेलाडीलाई अभ्यस्त बनाउने योजना बनाइरहेको अध्यक्ष सिग्देलले बताए। विद्यालय तहमा पनि सेतो टिसर्ट र रातो बलमा खेलाउनेबारे छलफल थालेको उनको भनाइ छ।

नेपालले पछिल्लो समय माथिल्लो तहको क्रिकेट खेल्न थालेको कारण त्यो स्तरलाई थप मजबुत बनाउने गरी घरेलु क्रिकेटको संरचना बनाउनुपर्ने राष्ट्रिय टोलीका पूर्वखेलाडी शक्ति गौचन बताउँछन्। सन् २०१४ मा बांग्लादेशमा आयोजना भएको टी२० विश्वकप खेलेपछि नेपाली टोलीले लामो समय अन्तर्राष्ट्रिय मञ्चमा संघर्ष गर्नुपरेको थियो। भविष्यमा त्यस्तै समस्या आउन सक्ने उनको भनाइ छ। त्यसैले क्यानले विद्यालय स्तरबाटै क्रिकेटलाई मजबुत गराउने योजना बनाउनु सकारात्मक रहेको उनको भनाइ छ।

शक्ति गौचन।


अहिलेको क्यालेन्डरले ग्रासरुट, विद्यालय तह र टी२० प्रतियोगितालाई जोड दिएको कारण क्रिकेटको लोकप्रियता थप बढ्नेमा आफू विश्वस्त रहेको गौचनले बताए। यसले क्रिकेटलाई बिस्तारै व्यावसायिकतातर्फ बढाउने उनको भनाइ छ। “स्कुल र एकेडेमी क्रिकेटलाई खासै समस्या छैन। एउटा म्याट ओछ्याएर नकआउट प्रतियोगिता गरे पुगिहाल्छ। कुनै स्कुल या एकेडेमीले राम्रो गर्छ भने उसैलाई फाइदा हो। त्यसैले अहिलेको क्यालेन्डरले खेलाडी उत्पादन र व्यावसायिकता बढाउन सक्छ,” उनी भन्छन्।

तर क्रिकेटमा धनीभन्दा न्यून आय भएको परिवारका किशोरकिशोरी धेरै लाग्ने गरेको उनको अनुभव छ। उनीहरूसँग ब्याट, बल, पञ्जालगायत न्यूनतम आवश्यकता पनि पूरा गर्न सक्ने क्षमता हुँदैन। यस्तो अवस्थामा सम्पूर्ण भार विद्यालय र एकेडेमीले नै उठाउनुपर्ने अवस्था छ। तर राष्ट्रिय टोलीमा पुग्ने लक्ष्यसाथ आउने यस्ता खेलाडीमा पछिल्लो समय आफ्नो भविष्य ‘सेट’ गर्ने लामो ढाँचाको क्रिकेटबारे अनभिज्ञता रहेको उनी बताउँछन्।

नेपालको लक्ष्य भनेको टेस्ट मान्यता भएको कारण विद्यालय तहदेखि नै यसको ‘कल्चर’ बसाउनुपर्ने शक्तिको भनाइ छ। “उनीहरूलाई टी२० बाहेक अन्यको ज्ञान नै छैन। टी२० इन्टरटेनमेन्टजस्तो छ, गाह्रो पनि छ। धेरै कुरा ब्याटरको फेभरमा हुन्छ। तर लङ टर्ममा यस्तो प्रतिस्पर्धाले फाइदा गर्दैन,” उनी भन्छन्, “अर्को कुरा भनेको हाम्रो लक्ष्य टेस्ट नेसन्स् बन्नु हो। हाम्रो लक्ष्य त्यही हो भने अहिलेदेखि नै कल्चर सेट गरेर जानुपर्छ।”

क्यानको ध्यान : एसोसिएट राष्ट्रमा पहिलो
सन् २०१४ मा टी२० विश्वकप खेलेपछि त्यही मञ्चमा पुग्न नेपाललाई एक दशक लागेको क्यान सचिव पारस खड्का सुनाउँछन्। त्यसैले ‘यति वर्षमा नेपाललाई टेस्ट राष्ट्र बनाउनुपर्छ’ भन्नेमा आफू नरहेको उनले सुनाए। अहिले आफूहरूको ध्यान जतिसक्दो धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेर एसोसिएट राष्ट्रमा ‘नम्बर वान’ बन्नु मात्रै रहेको उनको भनाइ छ। 

यसअघि नेपालभन्दा माथि रहेका अफगानिस्तान र आयरल्यान्डले एसोसिएटमा नम्बर वान भएको र ‘इन्टरनल गभर्मेन्ट’मा राम्रो गरेकै कारण टेस्ट राष्ट्रको मान्यता पाएको सचिव खड्का तर्क गर्छन्। “हाम्रो पहिलो प्राथमिकता अन्तर्राष्ट्रिय मञ्चमा जसरी भए पनि स्थापित गर्नु हो। नेपाललाई केही समयपछि विश्वकपमा देख्नुहुन्छ, त्यसले पनि ठूला राष्ट्रहरूबीच स्थापित हुने मौका छ। अहिले हामीले क्यालेन्डर बनाएर केही प्रयास मात्रै गरेका हौँ,” उनी भन्छन्। 

वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यान सचिव पारस खड्का (बायाँबाट चौँथो) सहितका पदाधिकारी र सदस्य।


तर क्रिकेट प्रतियोगिताका लागि नेपालसँग पूर्वाधारकै अभाव रहेको खड्का बताउँछन्। अहिलेको पूर्वाधारले धान्ने गरी बढीभन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आईसीसीको रिपोर्ट कार्डमा पनि सुधार हुने उनको भनाइ छ। वार्षिक समीक्षामा सुधार भए आईसीसीसले अतिरिक्त ‘फन्डिङ’ गर्ने उनको दाबी छ।

अहिले क्यानले आफ्नै प्रतियोगिता गर्न नसके पनि ८० प्रतिशतभन्दा बढी खर्च गरेर प्रधानमन्त्री एक दिवसीय कप आयोजना गरिरहेको खड्काले बताए। घरेलु संरचनालाई बलियो बनाउन यस्तै प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखे पनि क्यानले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता राखेको हुनाले बजेटका कारण बढी घरेलु प्रतियोगिता गर्न नसकिने उनी बताउँछन्। त्यसैले जिल्ला र प्रदेशले जुनजुन प्रतियोगिता गर्न सक्छन् त्यसको जिम्मेवारी दिएर क्यालेन्डर बनेको उनको भनाइ छ।

“लगानीकर्ता पाउछौँ भने अन्य प्रतियोगिता पनि आयोजना गर्छौँ। क्यान प्रिमियर कप हामीले क्यालेन्डरमा राखेका छौँ। निजी क्षेत्रले सहयोग गरे नेसनल च्याम्पियनसिप पनि आयोजना हुन्छ,” सचिव खड्का भन्छन्।


सम्बन्धित सामग्री