काठमाडौँ– “राष्ट्रिय टोलीबाट बाहिर बस्नुको पीडा कस्तो हुन्छ त्यो मलाई राम्ररी थाहा छ। ‘ए’ टिममा परौँ या सिनियर टोलीमा, म को हुँ भनेर प्रमाणित गर्न चाहन्छु,” क्यानडाविरुद्धको तेस्रो खेलपछि अनिल साह लामो समय टोलीबाहिर हुँदाको पीडा पोख्दै थिए।
नेपालले पहिलो पटक २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) खेलेको थियो। अहिलेका कप्तान रोहित पौडेल र स्पिनर ललित राजवंशी बेन्चमा बसेको त्यो खेलमा अनिल साहले ज्ञानेन्द्र मल्लसँग ब्याटिङमा ओपनिङ गरेका थिए। विकेटकिपर ब्याटर अनिलले डेब्यु खेलमा २१ रन बनाए। ज्ञानेन्द्रसँग उनले पहिलो विकेटका लागि १२.२ ओभरमा ५८ रनको साझेदारी गरेका थिए।
तर दोस्रो खेलमा उनी चल्न सकेनन्। तीन बलमा एक चौका प्रहार गर्दै ४ रन बनाएर बाहिरिए। त्यसपछि उनले राष्ट्रिय टोलीमा तीन वर्षसम्म ठाउँ पाएनन्। २०२२ मार्च २५ मा पपुवा न्यू गिनीविरुद्ध भएको तीन ओडीआई शृंखलामा राष्ट्रिय टोलीमा फर्किएका उनले दुई खेलमा २३ बल खेलेर ७ रन मात्र बनाए। त्यसपछि उनका लागि राष्ट्रिय टोलीको ढोका बन्द भयो।
तर गएको महिना भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सर्वाधिक ३८६ रन बनाएपछि अनिलले क्यानडाविरुद्धको तीन ओडीआई शृंखला खेल्ने राष्ट्रिय टोलीमा स्थान बनाए। पछिल्ला दुई इनिङ्समा मौका पाउँदा उनले लगातार करिअरकै पहिलो अर्धशतक र शतक मात्रै बनाएनन् शृंखलाकै सर्वाधिक रनकर्ता (१६२) समेत भए।
अनिल भन्छन्, “पाँच वर्षको बीचमा दुई वटा गेम खेलेको थिएँ। त्यो पनि इन्जुर थिएँ, धैरै जनालाई थाहा थिएन होला। तर पनि खेल्न सक्छु जस्तो लागेको थियो, सकिनँ। यसपटक मौका पाउँदा राम्रो प्रदर्शन गरेँजस्तो लाग्छ।”
अघिल्लो संस्करणको प्रधानमन्त्री कपमा मधेश प्रदेश पहिलो पटक सेमिफाइनल पुगे पनि अनिलले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। आफ्नै लगानीमा भारत गएर प्रशिक्षण गरेका अनिलले यसपटक प्रधानमन्त्री कपमै उत्कृष्ट लयमा रहेको देखाइसकेका थिए। उनले गण्डकी प्रदेशविरुद्ध १२७ रनको इनिङ्स खेलेका थिए। सुदूरपश्चिम र कोशी प्रदेशविरुद्ध अर्धशतक बनाएका थिए।
उक्त प्रतियोगितामा राष्ट्रिय टोलीबाट खेलिरहेका अधिकांश 'स्टार' खेलाडी उनको आसपास पनि पुग्न सकेनन्। यो प्रतियोगिताले उनलाई मात्रै होइन सर्वाधिक रनकर्ताको चौथो स्थानमा रहेका पवन सर्राफ र सर्वाधिक विकेट लिएका सूर्य तामाङलाई पनि राष्ट्रिय टोलीमा पुनरागमन गराइदियो। बागमतीका बलर रिजन ढकालको लागि त यो प्रतियोगिता करिअरको ‘टर्निङ पोइन्ट’ नै भयो।
राष्ट्रिय टोलीमा रहेका खेलाडी नचल्नु अनि नयाँ तथा पुनरागमन गर्न खोजिरहेका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नुले नेपाल क्रिकेट संघ (क्यान)को छनोट समितिलाई दबाबमा पारेको थियो। समितिले क्यानडाविरुद्धको तीन ओडीआई शृंखलामा अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी तथा गुल्शनकुमार झा र तीव्र गतिका बलर करण केसीलाई विश्राम दियो। विकेटकिपर ब्याटर अर्जुन साउदले पनि विश्राम पाए। ओडीआईमा कीर्तिमानी १०० विकेट लिएका सन्दीप लामिछाने क्रिकेटबाट बाहिरिनु परेपछि नेपाल नयाँ स्पिनरको खोजीमा छ। यिनै कारणले अनिल, पवन, सूर्य र रिजनलाई मात्रै होइन यू१९ टिममा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलरद्वय हेमन्त धामी र आकाश चन्दको लागि पनि सिनियर टोलीको ढोका खुला भयो।
केही स्टार खेलाडीलाई आराम दिइएपछि कप्तान रोहितकुमार पौडेल संशयमा थिए। पहिलो खेलअघि उनले भनेका थिए, “क्यानडा राम्रो टोली छ। तर हाम्रोमा बलिङ अट्याकमा करण दाइ (केसी) र गुल्शन मिसिङ छ। यद्यपि, पीएम कपमा राम्रो गरेका केही खेलाडी टोलीमा छन्। उनीहरूलाई आफूलाई प्रमाणित गर्ने मौका छ।”
भर्खरै एक दिवसीय मान्यता ‘रिटेन’ गरेको क्यानडा कमजोर थिएन। नेपाल उत्रिनुभन्दा चार दिनअघि मात्रै मलेसिया र हङकङसँग त्रिकोणात्मक एक दिवसीय शृंखला खेलेर आएको थियो। समूह चरणको पहिलो खेलमा मलेसिया र हङकङविरुद्ध प्रभावशाली जित निकालेको थियो। फ्रेबुअरी ३ मा हङकङसँग भएको खेलमा त क्यानडाले ५० ओभरमा ३ विकेट गुमाउँदै ३६७ रन बनाएको थियो। यही कारण कप्तान रोहितले क्यानडालाई कमजोर आँकेका थिएनन्। उनले भने जस्तै पुनरागमन गरेका र नयाँ खेलाडी चल्दा नेपालले क्यानडाविरुद्ध तीन खेलको शृंखला ‘ह्वाइट वास’ नै गर्यो।
राष्ट्रिय टोलीमा पर्न प्रतिस्पर्धा
प्रधानमन्त्री कपको नौ इनिङ्समा सर्वाधिक ३० विकेट लिएका स्पिनर सूर्य तामाङ र सोही प्रतियोगिताको सर्वाधिक चार जना रनकर्तामा अटाएका पवन सर्राफ क्यानडाविरुद्ध जम्न सकेनन्। गत अक्टोबरमा घरेलु मैदानमा यूएई र हङकङसँग भएको टी२०आई त्रिकोणात्मक शृंखलाबाट बाहिरिएका भीमले क्यानडाविरुद्ध करिअरको पहिलो शतकसहित १४४ रन बनाए।
क्यानडाविरुद्धको शुरूआती खेलदेखि नै मौका पाएका उनले अन्तिम खेलमा नेपाललाई जित दिलाउन अविजित १०१ रनको इनिङ्स खेले। तेस्रो नम्बरमा उत्रिएका उनले ओपनर अनिलसँग कीर्तिमानी अविजित १८९ रनको साझेदारी गरे।
भीम मात्रै होइन लामो समयपछि पुनरागमन गरेका देव खनालको प्रदर्शन पनि प्रभावकारी भयो। एक इनिङ्स खेलेका उनले ७६ रन बनाए।
२०२२ मार्च २५ मा पपुवा न्यू गिनीविरुद्धको शृंखलामार्फत् राष्ट्रिय टोलीमा डेब्यू गरेका देवले ११ इनिङ्समा तीन अर्धशतकसहित ३२९ रन बनाइसकेका छन्। उनीभन्दा नौ इनिङ्स बढी खेलेका भीमले एक शतक र तीन अर्धशतकसहित ६०० रन बनाएका छन्। अहिले यी दुई ब्याटरलाई तेस्रो नम्बरमा खेल्ने प्रतिस्पर्धीको रूपमा लिइन्छन्।
अनिल साहको प्रभावशाली प्रदर्शनसँगै ओपनिङमा पनि उत्तिकै प्रतिस्पर्धा छ। अनिल दुई इनिङ्समा चल्दा नियमित सदस्य आशिफ शेखले शृंखलाका दुई खेलमा १८ रन मात्रै बनाउन सके। अर्का ब्याटर विकेटकिपर अर्जुन लिग२ खेल्ने टोलीमा छन्। ओपनर कुशल भुर्तेलले भने क्यानडाविरुद्ध पहिलो खेलमा अर्धशतक बनाएका थिए।
भीम क्यानडाविरुद्ध महत्त्वपूर्ण खेलाडीलाई विश्राम गराउँदा पनि राम्रो प्रदर्शन भएको कारण अब टिममा पर्न प्रतिस्पर्धा बढेको बताउँछन्। अहिलेको अवस्थाले भविष्यमा बेन्च बलियो बनाउने उनको भनाइ छ। “सबै खेलाडी नहुँदा पनि गेम जितिरहेका छौँ भने यो नेपाली टोलीको लागि राम्रो हो। कुनै बेला कुनै खेलाडी घाइते हुँदा पनि अब समस्या हुँदैन। जुन खेलाडीले मौका पाइरहेको छ त्यसले सदुपयोग पनि गरिरहेको छ,” उनी भन्छन्।
तीव्र गतिको बलिङमा यही शृंखलाबाट डेब्यु गरेका खेलाडीको प्रदर्शन पनि गतिलो रह्यो। सिनियर खेलाडी सोमपाल कामीभन्दा यू१९ टोलीबाट आएका हेमन्त धामी र आकाश चन्दले उत्कृष्ट प्रदर्शन गरे। दुई इनिङ्समा १४ ओभर बलिङ गर्दै सोमपालले २ विकेट लिन ८४ रन खर्चिए। क्यानडाविरुद्धको अन्तिम खेलमा डेब्यू गरेका हेमन्तले ८ ओभरमा ४९ रन खर्चिएर ३ विकेट लिए। यता, १३ ओभर बलिङ गरेका आकाशले भने दुई इनिङ्समा २ विकेट लिन ८२ रन खर्चिए।
क्यानडासँगको शृंखला सकिएसँगै नेपालले बिहीबारदेखि घरेलु मैदानमा आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक शृंखला खेल्दैछ। नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ। सन् २०२७ को एक दिवसीय विश्वकपमा पुग्ने खुड्किलोको रूपमा रहेको शृंखलाअघि क्यानडासँगको खेल प्रतिस्पर्धात्मक भएको रोहित बताउँछन्। यस शृंखलामा गरिएको ‘एक्सपेरिमेन्ट’ले ‘ह्यापी ड्रेसिङ रुम’लाई अझ ठूलो बनाउने उनको तर्क छ।
“सबैलाई मौका दिएर नेपाली क्रिकेटलाई ग्रो गर्ने माइन्ड सेट थियो। लिग२ हाम्रो महत्त्वपूर्ण प्रतियोगिता हो। त्यसभन्दा अगाडि हामी एक्सपेरिमेन्ट गर्न सक्छौँ। ह्याप्पी ड्रेसिङ रुमलाई अझ ठूलो बनाउँदै जाऔँ। खेलाडीहरू कम्फिडेन्ट लिएर आउँदा नेपाली क्रिकेटलाई नै राम्रो गर्छजस्तो लाग्छ,” उनी भन्छन्।