Saturday, April 27, 2024

-->

यू१९ विश्वकप : बलिङको भर, ब्याटिङमा छैन आत्मविश्वास

विश्वकपअघि दक्षिण अफ्रिकामा भएका चार अभ्यास खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा निराश हुनु पर्‍यो। अहिले मात्र नभई, एक महिनाअघि यू१९ एशिया कपमा पनि ब्याटरको प्रदर्शन गतिलो थिएन।

यू१९ विश्वकप  बलिङको भर ब्याटिङमा छैन आत्मविश्वास

काठमाडौँ– नेपालको यू१९ क्रिकेट टोलीले पछिल्लो समय एसोसिएट राष्ट्र सहभागी हुने प्रतियोगितामा अब्बल प्रदर्शन गरिरहेको छ। गत फागुनमा यूएईमा सम्पन्न आईसीसी एशिया यू१९ विश्वकप छनोट प्रतियोगिता होस् या असोजमा मलेसियामा भएको एसीसी प्रिमियर कप जित्दा नेपालको प्रदर्शन गतिलो थियो।

तर पछिल्लो समय टेस्ट राष्ट्रविरुद्ध नेपाली टोलीले यो लय कायम राख्न सकेको छैन। यू१९ विश्वकप खेल्न दक्षिण अफ्रिका जानुभन्दा एक महिनाअगाडि भएको यू१९ एशिया कपमा भारत, पाकिस्तान र अफगानिस्तानसँगको नतिजा नेपालका लागि निराशाजनक थियो। यस्तो स्थितिमा दक्षिण अफ्रिकामा भइरहेको यू१९ विश्वकपमा नेपालले पुनः टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्यान्ड, पाकिस्तान, अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।

कम्तीमा सुपर सिक्सको यात्रा तय गर्ने लक्ष्यसाथ करिब दुई साताअगाडि नै दक्षिण अफ्रिका पुगेको नेपाली टोलीले कस्तो प्रदर्शन गर्ला त? कप्तान देव खनाल आईसीसीसँग भन्छन्, “नेपाली क्रिकेटको क्रेज बेजोड छ र फ्यान बेस ठूलो छ। त्यही कारण हामी सधैँ प्रेरित हुन्छौँ। हामी खेलाडीको रूपमा जितेर खुशी दिन चाहन्छौँ।”

कस्तो छ नेपाली टोली?
आईसीसी विश्वकप एशिया छनोटमा नेपाल घरेलु टोली यूएईलाई पराजित गर्दै सन् २०१६ पछि यू१९ विश्वकप पुगेको हो। त्यसपछि मलेसियामा भएको एसीसी यू१९ प्रिमियर कपको उपाधि जित्दा नेपाल अपराजित रह्यो। तर यू१९ एशिया कपमा भारत, पाकिस्तान र अफगानिस्तानसँग पराजित हुँदै जितविहीन भएर बाहिरियो।

यू१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटा उक्त प्रतियोगितामा नेपाली ब्याटरले शट बलमा खेल्न नसकेको बताउँछन्। यद्यपि दक्षिण अफ्रिका गएको टोली १० महिनादेखि सँगै रहेको र एशिया कपबाट फर्किएपछि कजोरीमा सुधार गर्ने प्रयास गरेको उनको भनाइ छ।

टमाटाले भनेजस्तै टोलीमा यसपटक खासै परिवर्तन छैन। यू१९ एशिया कप खेलेकामध्ये तीव्र गतिका बलर हेमन्त धामी र स्पिनर मिलन बोहोरा टोलीमा छैनन्। गत पुस १७ गते ‘सिनिअर’ टोलीसँगको अभ्यास खेलमा बलले बायाँ खुट्टामा लाग्दा हेमन्त घाइते भएका थिए। उनको स्थानमा दुर्गेश गुप्तालाई टोलीमा पुनरागमन गराइएको छ। सिनियरबाट अलराउन्डर गुल्शनकुमार झा यू१९ टोलीमा फर्किँदा दुर्गेशले एशिया कपमा आफ्नो स्थान गुमाएका थिए। यस्तै, मिलनको स्थानमा विकेटकिपर ब्याट्सम्यान विपिन रावललाई ल्याइएको छ। 

यू१९ विश्वकपमा नेपाल रहेको समूहमा सबै टेस्ट मान्यता प्राप्त राष्ट्र भएका कारण खेलाडीले आत्मविश्वासका साथ खेल्न गाह्रो हुने राष्ट्रिय टोली छनोट समिति संयोजक दीपेन्द्र चौधरी बताउँछन्। “अरू समूहमा एसोसिएट राष्ट्र पनि छन्। तर हाम्रो समूहमा त्यस्तो राष्ट्र नै पर्दिएन। यदि अर्को एसोसिएट राष्ट्र पनि समूहमा पर्दिएको भए हाम्रा खेलाडीमा कन्फिडेन्ट बढ्थ्यो,” उनी भन्छन्।

चौधरीका अनुसार टोलीका सबै खेलाडीले ‘म्याच एक्स्पोजर’ पाइसकेका छन्। तर बलिया राष्ट्रविरुद्धको नतिजा आकलन गर्न कठिन हुने उनी बताउँछन्। “हामीले मिडिल फास्ट बललाई खेल्ने तयारी पनि गरेका छौँ। हामीले ट्रिटोरियामा अभ्यास खेल खेल्यौँ, त्यहाँको पिचमा स्पिन बलिङलाई फाइदा गर्थ्यो। तर हाम्रो म्याच न्यूल्यान्डमा छ। त्यो ट्रिटोरियाभन्दा ७०० किलोमिटर टाढा हो। त्यहाँ पुगेपछि कन्डिसन कस्तो छ थाहा हुन्छ,” उनी भन्छन्।

विश्वकप अगाडि आईसीसीले नेपाललाई दुई अभ्यास खेल खेलाएको थियो। तर दुवै खेलमा वर्षा बाधक बन्दियो। पहिलो खेलमा नेपालले स्कट्ल्यान्डलाई ११४ रनमा रोकेको थियो। जवाफी ब्याटिङमा आएको नेपालले २९.१ ओभरमा ९९ रन बनाएपछि पानी पर्न शुरू भयो। त्यसपछि डकवर्थ–लुइस (डीएल) नियममा नेपाल ७ विकेटले विजयी भयो। वेस्ट इन्डिजसँगको खेल भने नवौँ ओभरको तेस्रो बलपछि वर्षाका कारण रद्द भयो। उक्त खेलमा वेस्ट इन्डिजले ३३ रन बनाउन एक विकेट खर्चिएको थियो।

स्कटल्यान्डविरुद्धको खेलमा स्पिनर तिलकराज भण्डारीले ३ विकेट लिँदा दीपेश कँडेल, देव खनाल र सुवास भण्डारीले १/१ विकेट लिए। बाँकी ४ विकेट तीव्र गतिका बलर गुल्शनकुमार झा र आकाश चन्दले लिए। वेस्ट इन्डिजविरुद्धको खेलमा झरेको एक मात्र विकेट गुल्शनको नाममा थियो।

त्यसअघि नेपालले स्कटल्यान्ड र नामिबियासँग पनि ‘वार्मअप’ खेलेको थियो। नेपालले स्कटल्यान्डलाई १३५ र नामिबियालाई ६ रनले पराजित गरेको थियो। ती खेलमा पनि स्पिनरहरू तिलक, दीपेश र सुवास हाबी भएका थिए। स्कटल्यान्डविरुद्ध तिलकले ३, दीपेश र सुवासले १/१ विकेट लिए। तीव्र गतिका बलर आकाशले २ र गुल्शनले १ विकेट हात पारे। नामिबियासँगको खेलमा भने तीव्र गतिका बलर हाबी भए। गुल्शन र आकाशले ३/३ विकेट लिँदा दुर्गेशले २ विकेट लिएका थिए।

छनोट समितिका संयोजक चौधरी नेपालको बलिङमा कुनै समस्या नरहेको बताउँछन्। “हामीले सोचेरै टिम बनाएका थियौँ। बेन्च पनि राम्रो छ। बलियो बेन्चका कारण नै हेमन्त घाइते हुनेबित्तिकै दुर्गेश आयो। उसले दुईवटा यू–१९ प्रतियोगिता खेलिसकेको छ। नेपालको व्यवसायिक लिग पनि खेलिसकेको छ,” उनी भन्छन्। 

अहिले दक्षिण अफ्रिकामा वर्षाको समय छ। प्रायः वार्मअप खेलहरू वर्षाकै कारण रद्द भएका छन्। त्यसकारण विश्वकपका खेलहरू पनि वर्षाले प्रभावित गर्न सक्ने चौधरी बताउँछन्।

ब्याटिङमा संघर्ष!
ठूला प्रतियोगितामा जानुअघि आयोजनास्थलको वातावरणसँग घुलमिल हुन विभिन्न टोलीले वैदेशिक प्रशिक्षण अनिवार्य लिन्छन्। सिनियर टोलीले पनि ठूला प्रतियोगितामा जानुअघि वैदेशिक प्रशिक्षण लिने गरेका छन्। तर उमेर समूहलाई भने नेपाल क्रिकेट संघ (क्यान)ले यसपटक त्यस्तो सुविधा दिएन। यू१९ एशिया कप खेलेर फर्किएपछि मूलपानी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै अभ्यास गरेर टोली दक्षिण अफ्रिका गएको हो।

तर नेपालभन्दा दक्षिण अफ्रिकाको विकेट फरक छ। त्यहाँ घाँसे विकेट भएको मुख्य प्रशिक्षक जगत टमाटाले दक्षिण अफ्रिका उड्नुअघि बताएका थिए। यस्तो विकेटमा बल बढी ‘बाउन्स’ हुन्छ। घाँसे विकेटमा शट बलको अभ्यास गर्न नेपाली टोली दुई साताअगाडि नै त्यहाँ पुगेको थियो। “एशिया र अफ्रिकामा कन्डिसन एकदमै फरक छ। त्यसको रिजल्ट इन्डिया र अफ्रिकाको नतिजामा पनि देख्नुभएको थियो। टेस्ट म्याच दुई दिन पनि चलेन,” टमाटाले भनेका थिए, “तर हामी तयार छौँ। नेट प्राक्टिस गर्दा पनि मेसिनबाट शट बलको अभ्यास गरेका थियौँ।”

यद्यपि दक्षिण अफ्रिकामा स्पिनरलाई फाइदा गर्ने पिचमा अभ्यास खेल खेल्दा पनि नेपाली ब्याट्सम्यान खासै चल्न सकेनन्। नामिबियाविरुद्ध नवौँ नम्बरमा आएका दिपक डुम्रेले २२ बलमा ३२ रन बनाउँदा नेपालले १४२ रनको लक्ष्य दिएको थियो। उक्त खेलमा आश गरिएका देव खनाल ‘गोल्डेन डकआउट’ भए भने गुल्शन झाले पनि ३ रनभन्दा बढी प्रहार गर्न सकेनन्। उक्त खेलमा विपिन रावलले २०, आकाश त्रिपाठीले २१, दिपक बोहोराले १५, विशाल केसीले १४ र उत्तम रंगुमगरले १२ रन बनाए। अन्य ब्याटर सस्तैमा पेभिलियन फर्किए।

यस्तै, स्कटल्यान्डविरुद्धको खेलमा पनि ब्याटिङ युनिट जम्न सकेन्। १८.२ ओभरमा ७२ रन बनाउँदा ७ विकेट गुमाइसकेको नेपाललाई गुल्शनले ११४ रनको शतकीय इनिङ्स खेलेर उकासेका थिए। उनले विशाल केसीसँग ५८ र दिपक बोहरासँग १३३ रनको साझेदारी गरेपछि नेपालले २८४ रन बनाएको थियो। 

स्कटल्यान्डविरुद्धकै अर्को खेलमा पनि कप्तान देव र विपिन चल्न सकेनन्। देवले २९ बलमा १२ रन बनाए भने विपिन शून्यमै पेभिलियन फर्किए। उक्त खेलमा अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २८ रन बनाए। छनोट समितिका संयोजक दीपेन्द्र चौधरी अभ्यास पर्याप्त गरे पनि नेपालले टेस्ट राष्ट्रसँग खेल्दा ब्याटिङमा संघर्ष गर्नु पर्ने आकलन गर्छन्। “राम्रो प्रतिद्धन्द्धीसँग हामी ब्याटिङमै स्ट्रगल गर्छौं होला। कन्डिसन, प्रतिद्धन्द्धी र बलरको क्यालिभर हाम्रो अनुकूल नहुन सक्छ,” उनी भन्छन्।

नेपालका प्रतिद्वन्द्वीहरू
नेपाल रहेकै समूहमा परेको पाकिस्तान दुई पटकको विश्व विजेता हो। उसले सन् २००४ र २००६ मा लगातार उपाधि जितेको थियो। यस्तै, सन् १९८८, २०१० र २०१४ मा उपविजेता बनेको थियो। न्यूजिल्यान्ड र अफगानिस्तानले भने उपाधि जित्न सकेका छैनन्। न्यूजिल्यान्ड सन् १९९८ मा उपविजेता भएको थियो भने सन् २०१२ र २०२० मा सेमिफाइनलसम्म पुगेको थियो। अफगानिस्तानको उच्च प्रदर्शन भनेको सन् २०१८ र २०२२ मा गरेर दुईपटक सेमिफाइन पुग्नु हो। 

नेपालले सन् २००२ मा श्रीलंकामा भएको यू१९ विश्वकपमा पकिस्तानलाई समूह चरणमा ३० रनले पराजित गरेको थियो। दोस्रो चरणमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो। सन् २००४ मा बंगलादेशमा भएको यू१९ विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ विकेटको जित हासिल गरेको थियो। सन् २००६ मा श्रीलंकामै भएको प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई प्लेट सेमिफाइनमा २ रन र फाइनलमा न्यूजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो।

सन् २००८ मा मलेसियामा भएको प्रतियोगिताको प्लेट क्वार्टरफाइनलमा पनि नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई ९९ रनले पराजित गरेको थियो। आठ वर्षअगाडि सन् २०१६ मा न्यूजिल्यान्डलाई ३२ रनले पराजित गर्दै नेपालले क्वार्टरफाइनलको ऐतिहासिक यात्रा तय गरेको थियो।


सम्बन्धित सामग्री